logo

bar

अमेरिकाद्वारा दुई उत्तर कोरियालीमाथि प्रतिबन्ध

एजेन्सी प्योङयाङ | पुष १३, २०७४

आणविक क्षेप्यास्त्र निर्माणको नेतृत्व गरेको आरोप लगाउँदै अमेरिकाले दुई उत्तर कोरियाली अधिकारीमाथि प्रतिबन्ध लगाएको छ । आणविक क्षेप्यास्त्र निर्माणको काममा प्योङयाङको अगुवाइ गरेको भन्दै अमेरिकाले किम जोङ सिक र री प्योङ चोलमाथि प्रतिबन्ध लगाएको हो । उत्तर कोरियाका नेता किम जोङ उनसँगै क्षेप्यास्त्र परीक्षण गर्दाको समयमा दुवैजना साथमा रहेको तस्बिर सार्वजनिक भएको थियो ।

ठोस इन्धनबाट चल्ने क्षेप्यास्त्र बनाउन किम जोङ सिकले महत्वपूर्ण भूमिका खेलेको बताइएको छ । री प्योङ चोलले अन्तरदेशीय हतियार निर्माण गर्ने प्रयासको नेतृत्व गरेको मानिएको छ ।

उनीहरूलाई प्रतिबन्ध लगाउन गत साता संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्ले सिफारिस पनि गरेको थियो । नयाँ प्रतिबन्धअनुसार दुवैजना अधिकारीले अमेरिकामा कुनै रकम कारोबार गरेमा त्यो रोक्का हुनेछ । त्यस्तै, अमेरिकामा उनीहरूको केही सम्पत्ति छ भने त्यो अचल हुनेछ ।

संयुक्त राष्ट्रसंघले शुक्रबार १६ जना उत्तर कोरियालीमाथि प्रतिबन्ध लगाएको थियो । संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्ले शुक्रबार उत्तर कोरियाले गरेको ब्यालिस्टिक क्षेप्यास्त्र परीक्षणको प्रतिक्रियास्वरूप उसमाथि नयाँ प्रतिबन्ध लगाएको थियो ।

पछिल्ला दिनमा उत्तर कोरियाले शृंखलाबद्ध रूपमा आणविक परीक्षणलाई तीव्र पारेको छ । उत्तर कोरियाका आणविक परीक्षण नियन्त्रण गर्नेबारेमा अमेरिकाले दुई साताअघि प्योङयाङसँग निसर्त वार्ता गर्ने प्रस्ताव गरेको थियो ।

तर, उत्तर कोरियाले त्यसको कुनै जवाफ दिएको छैन । उत्तर कोरियाको आणविक कार्यक्रम रोक्न चीनले हस्तक्षेप गर्नुपर्ने अमेरिकाले माग गर्दै आएको छ । अर्कोतर्फ चीनले वार्ताबाटै कोरियाली प्रायद्वीपको समस्या समाधान गर्नुपर्नेमा जोड दिँदै आएको छ । उत्तर कोरियाको आणविक कार्यक्रमलाई लिएर दुई साताअघि मात्र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनबीच टेलिफोन वार्ता भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचारहरु

लोकप्रिय समाचारहरु