logo

bar

भारत विश्वकै पाँचाैँ ठूलो अर्थतन्त्र भएको मुलुक बन्दै

एजेन्सी नयाँदिल्ली | पुष १३, २०७४

बेलायत र फ्रान्सलाई पछि पार्दै भारत सन् २०१८ मा विश्वकै पाँचाैँ ठूलो अर्थतन्त्र भएको मुलुक बन्ने एक प्रतिवेदनमा जनाइएको छ । भारत अहिले विश्वको सातौँ ठूलो अर्थतन्त्र भएको देश हो । तर, सन् २०१८ मा दुई स्थान माथि चढ्दै भारत पाँचौँ स्थानमा पुग्ने लन्डनस्थित आर्थिक तथा व्यावसायिक अनुसन्धान केन्द्र (सेन्ट्रल फर इकोनोमिक्स एन्ड बिजनेस रिसर्च)ले सार्वजनिक गरेको वार्षिक प्रतिवेदनमा जनाइएको छ ।

भारतले सन् २०३२ मा आफ्नो अर्थतन्त्रलाई विश्वकै तेस्रो स्थानमा पुर्‍याउने लक्ष्य लिएको प्रतिवेदनमा उल्लेख छ । सन् २०१४ को आमनिर्वाचनपछि नरेन्द्र मोदी प्रधानमन्त्रीमा निर्वाचित भएपछि तीन वर्षमा भारतीय अर्थतन्त्रले चालू आर्थिक वर्षको पहिलो त्रैमासिकमा उच्च आर्थिक उपलब्धि हासिल गरेको छ । प्रधानमन्त्री मोदीले एक वर्षअघि कर प्रणालीमा तीव्र सुधार गर्दै ठूला दरका पुराना नोटमा प्रतिबन्ध लगाएपछि आर्थिक वृद्धिमा प्रगति भएको दाबी गरिएको छ ।

आर्थिक वर्षको सुरुमा भारतीय अर्थतन्त्रमा अस्थायी गिरावट देखिए पनि यसै वर्षको सुरुदेखि नै फ्रान्स र बेलायतको अर्थतन्त्रको हाराहारीमा पुग्न सफल भएको र अर्काे वर्ष दुवै देशलाई उछिन्दै विश्वको पाँचौँ अर्थतन्त्र भएको देशका रूपमा उदय हुने सो अनुसन्धान केन्द्रका उपाध्यक्ष डगलास म्याक विलियम्सले बताए ।

सस्तो ऊर्जा र डिजिटल प्रणालीले ल्याएको परिवर्तनले विश्व आर्थिक विकासलाई माथि उकासेको उपाध्यक्ष विलियम्सले दाबी गरे । विश्व अर्थतन्त्रमा चीन, भारत, जापानलगायतका एसियाली मुलुक हाबी हुन लागेको केन्द्रको निष्कर्ष छ । अहिलेसम्म विश्व अर्थतन्त्रमा संयुक्त राज्य अमेरिका सबैभन्दा अगाडि रहे पनि यसलाई चीनले सन् २०३० सम्ममा उछिन्ने प्रतिवेदनको पूर्वानुमान गरिएको छ । उक्त स्थानमा भारत पनि यस शताब्दीको दोस्रो भागको सुरुमा केही समय पुग्ने अनुमान गरिएको छ ।

तपाईको प्रतिक्रिया