logo

bar

भारतसँग १६० मेगावाट विद्युत् पुरानै दरमा नवीकरण

नयाँ पत्रिका काठमाडौं, १३ पुस | पुष १३, २०७४

नेपाल विद्युत् प्राधिकरणले भारतबाट आयात हुने १६० मेगावाट विद्युत् खरिद सम्झौता (पिपिए) नवीकरण गरेको छ । प्राधिकरणले ढल्केबर मुजफ्फरपुर ४ सय केभिए अन्तरदेशीय प्रसारण लाइनबाट आयात हुने विद्युत् खरिद सम्झौता नवीकरण गरेको हो । यसअघि कात्तिक १० गते भारतको एनटिपिसी विद्युत् व्यापार निगम (एनभिभिएन) सँग भएको खरिद सम्झौता यही डिसेम्बरमा सकिँदै थियो ।

सम्झौता नवीकरण भएसँगै थप ३ महिनाका लागि भारतबाट विद्युत् आयातको सुनिश्चितता भएको दिल्लीबाट प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए ।

सम्झौताको म्याद आगामी चैतसम्म रहनेछ । घिसिङका अनुसार नेपाल–भारत सचिवस्तरीय बैठक (जेएससी)को बैठक बसेर अर्को निर्णय नआउँदासम्म पुरानै दरमा सम्झौता भएको हो । प्राधिकरणले ढल्केबर–मुजफ्फरपुर प्रतियुनिट ५.७५ रुपैयाँ (भारु ३.६०)मा एनभिभिएनसँग विद्युत् खरिद गर्दै आएको छ । एनभिभिएन नेपालमा बिजुली बेच्न भारतले तोकेको सरकारी निकाय (नोडल एजेन्सी) हो ।

यसअघि एनभिभिएनले पुस दोस्रो साताबाट नेपाललाई दिने विद्युत्को महसुल बढाउने बताएको थियो । जेएससीको बैठक अनिश्चित भएसँगै प्राधिकरणले आफ्नै पहलमा सम्झौता नवीकरण गरेको हो । सम्झौतासँगै हिउँदमा लोडसेडिङ नहुने घिसिङले बताए ।

तपाईको प्रतिक्रिया