logo

bar

केक नकाटी मनाए सलमानले ५२औँ जन्मदिन

नयाँ पत्रिका काठमाडौं, १३ पुस | पुष १३, २०७४

सलमान खानले बुधबार ५२औँ जन्म दिन मनाए । उनले आफ्नो जन्मदिनको अवसरमा नजिकका साथी तथा आफन्तलाई पनवेल फर्महाउसमा पार्टी दिए । केही दिनपहिले सलमानले मिडियाकर्मीसँग आफू यसपालि बर्थ डे मनाउने योजनामा नभएको बताएका थिए । तर, आफू अभिनीत ‘टाइगर जिन्दा है’ हिट भएको खुसियालीमा भने उनले जन्मदिनको पार्टी दिए ।

पार्टी दिए पनि सलमानले केक नकाटेको भारतीय मिडियाले उल्लेख गरेका छन् । सलमानको बर्थ डे पार्टीबारे अभिनेत्री स्नेहा उलारसँग सञ्चारकर्मीले सोधीखोजी गरेका थिए । स्नेहाले पहिला सलमानले बर्थ डे पार्टी दिने इच्छा नदेखाएको भए पनि दुई दिनपहिले आफूलाई पार्टीका लागि निमन्त्रणा आएको बताइन् । उनका अनुसार सलमानको पार्टीमा आफन्त, साथीभाइ तथा निकट फिल्मकर्मी गरी झन्डै ७५ जना सहभागी थिए ।

सलमानको बर्थ डे पार्टी मंगलबार राति नै सुरु भएको थियो । तर, सलमानले केक भने काटेनन् । सलमानकी बहिनी अर्पिता केक तथा डेजर्टकी सौखिन भएको र उनले आफ्नो जन्मदिनमा आफँैले केक रोज्ने गरेको बताउँदै स्नेहाले पार्टीमा केक ल्याइएको भए पनि सलमानले नकाटेको बताइन् । ‘सलमान आफ्ना साथी तथा आफन्तसँग कुरा गर्नमा यति व्यस्त थिए कि, केक ल्याइएको भए पनि उनले काट्न भुले । पार्टी बिहानैसम्म चलिरह्यो,’ मिडियाले स्नेहाको भनाइ उद्धृत गरेका छन् ।

पार्टीमा उपस्थित अतिथिलाई पुल गेमको समेत व्यवस्था गरिएकाले कतिपयले आफ्नो पालो कुरिरहेका थिए । स्नेहाले आफूले सलमान, तथा उनका भाइहरू अरबाज र सोहेलसँग पुल गेमको मज्जा मज्जैले उठाएको बताइन् । पार्टीमा सोनाक्षी सिन्हा, क्याट्रिना कैफ, मौनी राय, युलिया वान्तुर, साजिद नाडियावाला, टाइगर जिन्दा हैका निर्देशक अलीअब्बास जफर, डेजी शाहका साथै सलमानका बाबु सलिम खान, आमा सलमा र सौतेनी आमा हेलेनसमेत सहभागी थिए ।

तपाईको प्रतिक्रिया