logo

bar

नृत्यमा रम्दै शर्मिला

नयाँ पत्रिका काठमाडौं, १३ पुस | पुष १३, २०७४

शर्मिला कोइराला व्यावसायिक ब्युटिसियन मात्रै होइनन्, नृत्यमा पनि उत्तिकै अब्बल छिन् । उनलाई शास्त्रीय नृत्य गर्न झन् रमाइलो लाग्छ । नृत्य एउटा कला त हुँदै हो, यसबाट मनमा शान्ति, उत्साह, आत्मविश्वास र खुसी मिल्ने अनुभव उनी सुनाउँछिन् :

म त भन्छु नृत्य केवल कला मात्रै होइन, एउटा तपस्या नै हो । यसले मलाई अनुशासन, दृढ संकल्प, कठोर साधना, मिहिनेत र कडा परिश्रम गर्न सिकाएको छ । नृत्य ऊर्जाशील व्यायम, योग तथा साधना हो । यसले मन, मस्तिष्कलाई स्वस्थ र स्फूर्त राख्छ ।

नृत्य शास्त्रीय होस् या आधुनिक या पाश्चात्य, सबैको आ–आफ्नै नियम र सैद्धान्तिक मान्यता छ । मलाई विशेषतः शास्त्रीय नृत्यमा बढी झुकाव छ । हरेक क्षेत्रजस्तै नृत्यमा पनि सफल हुन स्वयं आफूमा भर पर्छ । परिवारको सहयोगले व्यक्तिलाई अगाडि बढ्न सहज हुने मात्रै हो । मैले पनि आफूसँग भएको प्रतिभा मर्न दिन हुन्न भनेर नृत्यमा लागेको हो ।

हुन त शास्त्रीय नृत्यलाई व्यक्तिअनुसार परिभाषित गर्ने गरेको पाइन्छ । मेरो बुझाइमा आफ्नो मौलिकपनलाई जीवित राख्न र विभिन्न जातजाति, भाषाभाषीको मौलिकता जोगाउन शास्त्रीय संगीतमा आधारित रहेर गरिने नृत्य नै शास्त्रीय नृत्य हो । यो नृत्यमा देवी–देवतालाई सम्झेर शारीरिक हाउभाउ र हस्तमुद्राको प्रस्तुति दिइन्छ ।

बाल्यकालदेखि नै नृत्यमा रुचि भएकै कारण ५ कक्षामा पढ्दा नै बुद्धकला केन्द्र र साधना कला केन्द्रमा नृत्य सिक्न थालेँ । बुबाको पूर्ण साथ रह्यो । उहाँ पनि नृत्यमा झुकाव राख्नुहुन्थ्यो । त्यो वेलादेखि नै विभिन्न नृत्य प्रतियोगितामा भाग लिएर उत्कृष्ट हुँदै आएँ । तर, पछि निरन्तरता दिन सकिनँ । पढाइमा ध्यान केन्द्रित गरेँ ।

तर, स्कुलको पढाइ सकेपछि प्रमाणपत्र तहमा पद्मकन्या क्याम्पसमा नृत्य विषय नै अध्ययन गरेँ । लोक तथा शास्त्रीय नृत्य गर्दा तनाव र थकाइबाट मुक्त भएर शरीरमा ऊर्जा प्राप्त भएको महसुस हुन्थ्यो । तर, आइएको पढाइ सकेपछि फेरि बिएमा विषय परिवर्तन गर्न बाध्य भएँ । यो केवल बाध्यता थियो । तर, नृत्य गर्न सक्छु भन्ने आत्मविश्वास सधैँ थियो । हरेक बाध्यता र रोकावट तोडेरै नृत्यमा लागिरहेँ । यहीँबाट सफलताको बाटो खुल्दो रहेछ भन्ने अनुभव लिएँ । नृत्यका मुद्रा मेरा हातमा छन् । मादल, बाँसुरीका धुन पैतालामा र सुमधुर संगीतका धुन मेरो शरीरको ऊर्जामा छ भन्नेमा सधैँ विश्वस्त भएर लागेँ ।

मास्टर डिग्रीको प्रमाणपत्र चाइल्ड डेभलपमेन्ट एन्ड जेन्डर सोसलाइजेसनको छ । पेसाले ब्युटिसियन छु । तर, म सबैभन्दा अब्बल नृत्यमै छु भन्ने आत्मविश्वास छ । विभिन्न कार्यक्रममा आफ्ना प्रस्तुति देखाइरहेको छु ।

तपाईको प्रतिक्रिया