logo

bar

विद्यालयमा थरीथरी कर्मचारी, यकिन तथ्यांक छैन

नयाँ पत्रिका काठमाडौं, १३ पुस | पुष १३, २०७४

देशभर २९ हजार दुई सयभन्दा धेरै सरकारी विद्यालय सञ्चालनमा छन् । तर, ती विद्यालयमा कति कर्मचारी कार्यरत छन् भन्ने यकिन विवरण तथ्यांक शिक्षा विभागमा समेत छैन । विद्यालयमा कार्यरत कर्मचारीलाई सुविधा दिन अर्थ मन्त्रालयले यकिन विवरण मागेपछि अहिले शिक्षा विभागमा धमाधम तथ्यांक संकलनको काम भइरहेको छ ।

शिक्षा विभागका महानिर्देशक बाबुराम पौडेलले सामुदायिक विद्यालयमा तीनथरीका कर्मचारी कार्यरत रहेको बताए । तर, सबै कर्मचारीको यकिन विवरण भने अझै आइनसकेको उनको भनाइ छ । महानिर्देशक पौडेलले भने, ‘अहिलेसम्म डाटा कलेक्सन भएको रहेछन । हामीले सबै जिल्लाबाट कर्मचारीको विवरण मगाएका छौँ । केही जिल्लाको आउन बाँकी छ ।’ डाटा संकलनका क्रममा जिल्ला शिक्षा समिति, शिक्षा सेवा आयोग र विद्यालय व्यवस्थापन समितिबाट नियुक्त कर्मचारी कार्यरत रहेको पाइएको हो ।

पहिले पनि जिल्ला शिक्षा कार्यालयसंँग डाटा माग गरिए पनि विद्यालयबाट नआएको विभागका कर्मचारीको भनाइ छ । विद्यालय कर्मचारीलाई सुविधा दिने विषयमा उनीहरूको विवरण माग भएपछि मात्र विभाग सक्रिय भएर विवरण संकलनमा जुटेको हो ।

शिक्षाले विद्यालयमा कार्यरत कर्मचारी ६० वर्ष उमेरहदका कारण अवकाश हुने भएपछि उनीहरूको सुविधाका लागि अर्थ मन्त्रालयमा सहमति माग गरेको थियो । अर्थ मन्त्रालयले विद्यालयमा कस्ता प्रकृतिका कति कर्मचारी नियुक्त भएका छन्, के–कसरी सुविधा पाउने गरी नियुक्त गरिएको हो, के–कति सुविधा दिनुपर्ने हो, सोको विवरण माग गरेको छ । पौडेलले सबै विवरण संकलन भएपछि सुविधा पाउने गरी नियुक्त भएका कर्मचारीलाई सुविधा दिएर विदा गर्ने बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचारहरु

लोकप्रिय समाचारहरु