logo

bar

सुरक्षित रणनीतिमा लाभको राजनीति गर्दै फोरम र राजपा

योगेश ढकाल/नयाँ पत्रिका काठमाडौं, १२ पुस | पुष १३, २०७४

संघीय समाजवादी फोरम र राजपाको संसद्मा बलियो उपस्थिति हुँदै छ । यी दुई दल नयाँ सरकारमा सहभागी हुने कि नहुने भन्ने निर्णयमा अझै पुगेका छैनन् । तर, ‘सेभ जोन’मा बसेर फाइदाको राजनीति गरिरहेका छन् ।

अशोक राई
वरिष्ठ नेता, संघीय फोरम

सरकारमा सहभागी हुन फोरम अध्यक्ष उपेन्द्र यादवसँग एमाले अध्यक्ष केपी ओलीले विभिन्न चरणमा छलफल गरेका छन् । यादव कांग्रेस सभापति शेरबहादुर देउवासँग पनि नियमित सम्पर्कमा छन् । तर, राजपा भने अहिलेसम्म सरकार निर्माणबारे ठूला दलसँगको छलफलमा छैन । एजेन्डा मिल्नेसँग सहकार्य गर्न सकिने उसको भनाइ छ ।

संघीय सरकार गठनबारे राजपाभित्र दुईथरी धारणा छ । एकथरी नेताहरू वाम गठबन्धनसहितको सरकारमा जानुपर्ने पक्षमा छन् । संविधान संशोधनलाई आधार बनाएर गठबन्धन सरकारमा सहभागी हुन सकिने उनीहरूको तर्क छ । तर, अर्काथरी भने संविधान संशोधनविना संघीय सरकारमा जान नहुने तर्क गरिरहेका छन् । तर, वाम गठबन्धन विभाजित भएको अवस्थामा भने राजपा सरकारमा जानुपर्ने उनीहरूको भनाइ छ । ‘विनासंविधान संशोधन संघीय सरकारमा जाने जनमत राजपाले पाएको होइन, त्यसकारण सरकारमा जाँदैनौँ, तर वाम गठबन्धन फुटेको अवस्थामा र हाम्रो आवश्यकता महसुस भए सरकारमा जान सकिन्छ,’ राजपा महासचिव मनीष सुमनले भने ।

संघीय समाजवादी फोरम सरकारमा जाने सुरसारमा छ । फोरमले कांग्रेस, एमाले र माओवादीसँग अहिले समदूरीको सम्बन्ध राखेको छ । फोरम अध्यक्ष यादव एमाले अध्यक्ष ओली र कांग्रेस सभापति देउवासँग छलफलमा छन् । यसबीचमा धेरैपटक गोप्य छलफल भएको यादवनिकट स्रोत बताउँछ । ‘एमाले, कांग्रेस वा माओवादी कसको नेतृत्वमा सरकार बन्ने टुंगो नभएकाले समदूरीमै रहेर नेताहरूसँग छलफल भइरहेको छ,’ स्रोतले भन्यो ।

संविधान संशोधनमा वाम गठबन्धन सकारात्मक भए संघीय सरकारमा सहभागी हुन सकिने राजपा महासचिव केशव झाले बताए । तर, सरकार बनाउनेबारे अहिलेसम्म गम्भीरतापूर्वक कुनै दलसँग पनि छलफल भएको छैन ।

प्रदेश २ मा सरकार बनाउन फोरम र राजपाबीच छलफल
प्रदेश नम्बर २ मा सरकार बनाउने विषयमा भने फोरम र राजपाबीच छलफल भइरहेको छ । प्रदेश सभातर्फ प्रत्यक्षमा २० र समानुपातिकमा नौ सिट जितेर फोरम पहिलो पार्टी बनेकाले मुख्यमन्त्रीको दाबी गरेको छ । राजपाले प्रत्यक्षमा १५ र समानुपातिकमा १० सिट गरी २६ सिट जितेको छ । दुई दलबीच मुख्यमन्त्री फोरमले र सभामुख राजपाले लिने सहमति जुटेको छ । मन्त्रिमण्डल भने आधाआधा भागबन्डा गर्नेबारे छलफल भइरहेको राजपा महासचिव केशव झाले बताए ।

प्रदेश नम्बर २ मा कांग्रेससँग सहकार्य हुने सम्भावना भएकाले वाम गठबन्धन प्रतिपक्षमा बस्नेछ । फोरमले मुख्यमन्त्री पाएमा कोषाध्यक्ष विजय यादवलाई बनाउने तयारी गरेको छ । उपाध्यक्ष लालबहादुर राउत प्रतिस्पर्धामा भए पनि प्रदेश २ मा यादव समुदाय हाबी भएकाले विजयको सम्भावना बढी रहेको फोरम नेताहरूको भनाइ छ । राजपाबाट जितेन्द्र सोनल र मनीष सुमन पनि आकांक्षी देखिएका छन् । उनीहरूमध्ये एक सभामुख बन्नेछन् ।

एकल संक्रमणीय प्रणालीमा दुईथरी धारणा
मधेसकेन्द्रित दुई दलबीच राष्ट्रिय सभा गठनमा एकल संक्रमणीय निर्वाचन प्रणालीबारे दुईथरी धारणा आएका छन् । संघीय समाजवादी फोरम अध्यक्ष यादवले आइतबार राष्ट्रपतिसँग भेटेर एकल संक्रमणीय प्रणालीमा जानुपर्ने सुझाब दिएका थिए । तर, राजपाले आफ्नो औपचारिक धारणा राखेको छैन । सोमबार अध्यक्ष मण्डलको बैठक बस्ने तयारी थियो, तर सदस्यहरू काठमाडौं आइनपुगेका कारण बैठक बस्न नसकेको महासचिव झाले जानकारी दिए । तीन दलले गर्ने सहमतिलाई राजपाले समर्थन गर्न सक्ने उनको भनाइ छ ।

उत्साहजनक उपलब्धि
प्रतिनिधिसभाको समानुपातिकतर्फको सिट औपचारिक रूपमा सार्वजनिक नभएकाले फोरम र राजपाले निर्वाचन समीक्षा गरिसकेका छैनन् । प्रत्यक्षतर्फ राजपाले ११ र फोरमले १० सिट जितेका छन् । प्रदेशसभातर्फ प्रदेश नम्बर २ मा फोरमले २० र राजपाले १५ सिट प्रत्यक्षमा जितेका छन् । यो उत्साहजनक उपलब्धि भएको दुवै दलका नेताको भनाइ छ । ‘हामीले सोचेभन्दा राम्रो उपलब्धि प्राप्त भएको छ,’ झाले भने ।

सरकारबारे औपचारिक छलफल भएको छैन

अशोक राई
वरिष्ठ नेता, संघीय फोरम

सरकार गठनबारे तपाईंहरूले कुन–कुन दलसँग छलफल गर्नुभएको छ ?
सरकार गठनका सन्दर्भमा औपचारिक रूपमा छलफल भएको छैन । सरकारले राष्ट्रपति कार्यालयमा पठाएको राष्ट्रिय सभा गठनसम्बन्धी अध्यादेश स्वीकृत गर्नुपर्छ र छिटो नयाँ सरकार बनाउनुपर्छ भन्ने हाम्रो भनाइ हो ।

वाम गठबन्धनमा मिलेर सरकारमा जानेबारे छलफल भएको बाहिर आइरहेको छ नि ?
निर्वाचनमा हामीले कांग्रेससँग मिलेर लोकतान्त्रिक गठबन्धन बनाएका थियौँ । एमाले र माओवादी वाम गठबन्धनले जनतासँग बहुमत माग्यो र उसले पायो पनि । त्यसकारण ऊ सरकार बनाउन अग्रसर हुनुपर्छ भन्ने हाम्रो कुरा हो । वाम गठबन्धनको सरकारमा हाम्रो सहभागिताको कुरा सैद्धान्तिक र व्यावहारिक रूपले मिल्दैन । हाम्रो सहभागिताविना सरकार बन्नै नसक्ने अवस्था आएमा हामीले पनि जिम्मेवारी लिने कुरा एउटा हो, नत्र विपक्षमा हुन्छौँ ।

 सरकार कहिले बन्छ होला ?
संविधानले प्रस्ट भनेको छ कि राष्ट्रिय सभाको निर्वाचनपछि मात्र प्रतिनिधिसभा पूर्ण हुन्छ । त्यसकारण पहिला राष्ट्रिय सभाको निर्वाचन गर्नुपर्‍यो अनि सरकार बनाउनतिर लाग्नुपर्‍यो । देशलाई अलमलमा राख्न हुँदैन । कामचलाउ सरकार धेरै दिन राख्न हुँदैन ।

प्रदेश २ मा कसको सरकार बन्छ ?
प्रदेश २ मा फोरम र राजपाको प्रस्ट बहुमत छ । दुवै दलको गठबन्धन सरकार बन्छ । निर्वाचनमा कांग्रेससँग तालमेल गरेका कारण मिलेर जाने छलफल चलेको छ ।

संविधान संशोधन के हुन्छ ?
संविधान संशोधन निरन्तर उठ्ने विषय हो । यो सदन र सडकमा पनि निरन्तर उठ्छ ।

प्रदेश २ मा हामी सरकार बनाउँछौँ

महेन्द्र राय यादव
अध्यक्षमण्डलको सदस्य राजपा

प्रदेश २ मा सरकार बनाउने  तयारी के हुँदै छ ?
प्रदेश २ मा राजपा र फोरमको बहुमत छ । त्यसकारण हामी सरकार बनाउँछौँ । जनताले हामीलाई त्यसरी नै जनमत दिएका छन् । प्रदेश २ मा वाम गठबन्धनसहित कांग्रेस प्रतिपक्षमा हुन्छन् । कांग्रेस मधेसको समस्या हो, अब कांग्रेसमुक्त मधेस बनाउने हो ।

संघीय सरकारमा वाम गठबन्धनसँग मिल्न लाग्नुभएको हो त ?
होइन, एमालेले अहिलेसम्म संविधान संशोधनमा साथ दिएको छैन । यस्तो अवस्थामा वाम गठबन्धनको सरकारमा हामी कसरी जान्छौँ र ? जसले हाम्रो मुद्दामा सहमति जनाउँछ, उसैलाई समर्थन गर्ने हो ।

राष्ट्रिय सभा गठनसम्बन्धी अध्यादेशबारे राजपाको धारणा के छ त ?
राष्ट्रिय सभा गठनसम्बन्धी अध्यादेशबारे पार्टीको आधिकारिक धारणा आइसकेको छैन । पहिलाको राष्ट्रिय सभा पनि एकल संक्रमणीय निर्वाचनबाट गठन हुने व्यवस्था थियो, त्यसमै सहमति जुट्छ भन्ने लाग्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचारहरु

लोकप्रिय समाचारहरु