logo

bar

शंकर भण्डारीका सम्झनामा कलेजका दिन : टाउको फुटेर १६ टाँका लगाएँ

महेश तिमल्सिना काठमाडाैँ | पुष १२, २०७४

शंकर भण्डारी कांग्रेसका युवा नेता हुन् । विद्यार्थी जीवनबाटै सक्रिय राजनीति सुरु गरेका उनी अहिले पार्टीको केन्द्रीय सदस्य छन् । पूर्ववनमन्त्रीसमेत भएका भण्डारीको विद्यार्थी जीवनबारे यहाँ चर्चा गरिएको छ :

पाटीबाटै क, ख सिकेँ

विद्यार्थी बन्ने पहिलो सुरुवाती अक्षर भनेको क, ख नै हो । जुन कुरा पछिल्लो समय कतिपय अभिभावकले आफ्ना छोराछोरीलाई विद्यालय भर्ना गर्नुभन्दा पहिला नै सिकाउँछन् । हाम्रो पालामा भने अहिलेको जस्तो पर्याप्त विद्यालय थिएन र परिवारका सदस्य पनि शिक्षित हुँदैनथे ।

म एउटा सामान्य परिवारमा जन्मिएको हुँ । मेरो जन्मस्थान तनहुँ हो । मैले क, ख घरनजिकै रहेको एउटा पाटीबाट सिकेको थिएँ । त्यो वेलामा अहिलेको जस्तो विद्यालयको भवन थिएन । हामीलाई पढाउने दलबहादुर गुरुङ सर हुनुहुन्थ्यो । उहाँ शारीरिक रूपमा अपांग हुनुहुन्थ्यो । तैपनि हामीलाई उहाँ क, ख सिकाउनुहुन्थ्यो ।

तृतीय श्रेणीमा एसएलसी उत्तीर्ण

केही समयपछि त्यही थलोमा कालिका निमावि सुरु भयो । पछि मावि पनि भयो । म त्यहीँ भर्ना भएँ । त्यहाँबाट नै मैले ०४० मा एसएलसी उत्तीर्ण गरेँ । मैले तृतीय श्रेणीमा एसएलसी उत्तीर्ण गरेको थिएँ । त्यो वेलाको परिवेशमा तृतीय श्रेणीमा उत्तीर्ण हुँदा पनि संसारै जितियोजस्तो हुन्थ्यो ।

कलेजमा राजनीतिक झुकाव

म सामान्य परिवारमा जन्मेको हुनाले राम्रो पढिदिए हुन्थ्यो भन्ने परिवारको चाहना थियो । तर, पढेर यही क्षेत्रमा जानुपर्छ भन्ने बाध्यताचाहिँ थिएन । यसरी गाउँबाट एसएलसी उत्तीर्ण भएपछि म कलेज अध्ययन गर्न काठमाडौं आएँ र सोह्रखुट्टेस्थित सरस्वती क्याम्पसमा भर्ना भएँ ।

म डेरामा एक्लै बस्थेँ । जसले गर्दा पढाइमा भन्दा पनि राजनीतिमा बढी झुकाव हुन गयो । वास्तवमा भन्ने हो भने म विद्यालय तहमा अध्ययन गर्दा नै राजनीतिमा संलग्न थिएँ । कक्षा ८ मा अध्ययन गर्दा नै कालिका माविमा नेविसंघको इकाइ सभापति भएको थिएँ । जसको प्रभाव कलेजमा अध्ययन गर्न थालेपछि पनि पर्न गयो ।

आइए उत्तीर्ण गर्न चार वर्ष लाग्यो

पढाइमा भन्दा राजनीतिमा बढी समय बित्न थालेपछि पढाइ त्यति राम्रो हुन सकेन । मलाई सरस्वती क्याम्पसबाट आइए उत्तीर्ण हुन नै चार वर्ष लाग्यो । त्यसपछि ०४५÷४६ को आन्दोलन सुरु भयो । त्यसको तयारीमा लागेँ ।

कलेजमा कसैसँग झगडा भएन

राष्ट्रवादी विद्यार्थी संगठन र अखिलहरूको सरस्वती क्याम्पसमा त्यो वेलामा दबदबा थियो । यहीबीचमा ०४३ मा स्ववियु निर्वाचन भयो । जसमा नेविसंघले सचिव र ३ सदस्य जितेको थियो । सचिवमा जगदीश्वरनरसिंह केसी निर्वाचित हुनुभयो । त्यो निर्वाचनमा ती पदहरूमा जित हासिल गर्न मेरो निकै सक्रियता रहेको थियो ।

सरस्वती क्याम्पसमा हाम्रो सयजनाजतिको एउटा समूह थियो । त्यसैले गर्दा हामीमाथि अखिलले र मण्डलेहरूले निहुँ खोज्न सक्दैनथे । तर, सरस्वती क्याम्पसनजिकै रहेको अमृत साइन्स क्याम्पसमा चाहिँ अखिलले नेविसंघलाई निकै पेल्न खोज्थे । हाम्रो यो टिमले त्यहाँको नेविसंघलाई सघाउँथ्यो । तर, कलेजका दिनमा कहिल्यै पनि दोहोरो झगडा भएन । त्यसैले आफूलाई भाग्यमानी ठान्छु ।

त्रिचन्द्रमा स्ववियु सभापति

सरस्वती क्याम्पसबाट आइए उत्तीर्ण भएपछि स्नातक तह अध्ययन गर्नका लागि ०४७ मा त्रिचन्द्र क्याम्पस गएँ । त्यहाँबाटै नेता भएँ । म ०४७ मा त्रिचन्द्र गएको थिएँ, ०४८ मा नेविसंघको इकाइ सभापति भएँ । यहीक्रममा ०४९ मा स्ववियु सभापति भएको थिएँ ।

त्रिचन्द्र क्याम्पस त्यो वेलामा विद्यार्थी राजनीतिको केन्द्रबिन्दुका रूपमा थियो । त्रिचन्द्र आफैँ नेविसंघको वर्चस्व भएको क्याम्पस हो । तर, पार्टीभित्रको आन्तरिक द्वन्द्वका कारण त्यो वेलामा मलाई स्ववियु सभापतिमा निर्वाचित हुन धौ–धौ भएको थियो ।

पार्टीभित्र आन्तरिक झगडाका कारण टाउको फुट्यो

विद्यार्थी राजनीतिको नेतृत्व गर्दै गर्दा पार्टीभित्रको आन्तरिक द्वन्द्व थियो । ०५१ पछि कांग्रेस पार्टी ७४ र ३६ मा विभाजित भयो । म ७४ को पक्षमा थिएँ । यसरी पार्टीभित्रको द्वन्द्वका कारण पार्टीभित्रका साथीहरूबीच कीर्तिपुरमा ठूलो झडप भयो । जसले गर्दा मेरो टाउको समेत फुटेर १६ टाँका लगाइएको थियो ।

कलेज नियमित कक्षाकोठामा अनियमित

विद्यार्थी राजनीति गर्ने भएपछि कक्षामा गएर अध्ययन गर्ने वातावरण बनेन । स्ववियु सभापति हुनुभन्दा पहिला त प्रायः कक्षाकोठामा हुन्थेँ । स्ववियु सभापति भएपछि नियमित कलेज जान्थेँ, तर कक्षाकोठामा नियमित हुँदैनथेँ । जसले गर्दा पढाइ त्यति राम्रोसँग अघि बढ्न सकेन । म कलेजमा अध्ययन गर्दा भलिबल खुब खेल्थेँ । कलेजमा हुने भलिबल प्रतियोगितामा धेरैजसो मेरो समूहले जित्थ्यो ।

केटीलाई मनपराउँथे तर, भन्न सकिनँ

कलेज लाइफ भनेको एउटा आनन्दको लाइफ रहेछ । जसको रमाइलो पलहरू अहिले पनि कहिलेकाहीँ सम्झन्छु । ती दिनहरू सम्झँदा आनन्द लाग्छ । जुनवेला विभिन्न कुराले दिनहरू व्यतीत हुन्थे । त्यो उमेर वास्तवमा एउटा चञ्चले उमेर हो ।

उमेरले गर्दा पनि होला मेरा कतिपय साथी गर्लफ्रेन्ड र ब्याइफ्रेन्डका रूपमा रहन्थेँ । यसै सिलसिलामा मैले पनि एकजना केटीलाई मन पराउँथेँ । बोल्ने आँट आएन । तर, पछुतो छैन । किनभने मैले जसलाई मनपराउँथेँ उनीभन्दा राम्री मेरी श्रीमती छिन् ।

तपाईको प्रतिक्रिया