logo

bar

चीनसँग जाेड्ने राजमार्ग निर्माणमा कसले खायाे कमिशन ?

राजकुमार गोले काभ्रे, १२ पुस | पुष १२, २०७४

नेपाललाई चीनसँग जोड्ने सहज नाकाको रुपमा चिनिएको अरनिको राजमार्गमा पिच गरेको हप्ता दिन नपुग्दै भत्किएको छ । विगत एक वर्षदेखि मोड सुधारसहित सडक मर्मत गर्न थालिएको भएपनि एक वर्ष हुँदा समेत धुलिखेल खाँवाको चार किलोमिटर सडक समेत बन्न सकेको छैन ।

स्थानीयको बिरोधपछि पिच भएको सडक हप्ता दिन टिकेन

काममा ढिलासुस्ती भएको भन्दै स्थानीय तथा राजमार्ग आसपासका बासिन्दाहरुले बिरोध गर्न थालेपछि पिच लथालिङग अवस्थामा पुगेको छ । धुलिखेलदेखि खावासम्मको तीन किलो मिटरसम्म सडक छाडेर ओभर डे (कालोपत्रे) गरेर जनताको आँखामा छारो हाल्ने काम गरिएको भएपनि उक्त काम एक साता पनि टिक्न नसकेको हो ।

खावादेखी पाँचखाल सम्मको झण्डै ११ किलोमिटर सडकमा कालो पत्रे गर्ने काम सकेर भुक्तानि लिने कार्य समेत अगाडि बढि सकेको थियो । तर सडकमा कालो पत्रे गरेको ७ दिन समेत कट्न नपाउंदै ठाउँठाउँमा सडक चिर, चिरा पर्ने गरी भासिएकाले भुक्तानी लिन नपाएको हो ।

 गुणस्तरीय निर्माण नहुँदा राजमार्गमा थप समस्या आउने भन्दै स्थानीयले ठेकेदारको काममाथि प्रश्न उठाएका छन् । यस विषयलाई लिएर सम्बन्धित निकायसँग जानकारी लिँदा उक्त कार्यको निरीक्षण गरिरहेका इञ्जिनियर सुदर्शन कार्कीले सात दिन नभई कार्तिक ८ गते तत्कालै पिच गरेको सडकमा टिफर गुडाएका कारणले पनि समस्या भएको दाबी गरे । तर, स्थानीयहरुले भने पिच गरेको एक साता बित्न नपाउँदै २, ३ ठाउँमा पिच भत्केको गुनासो गरेका छन् ।

‘सडकको भित्तापटिको ड्रेन (नालीको वाल) भत्किएकाले पनि झन समस्या आएको हो ।’ इन्जिनियर कार्कीले भने, बिग्रेको ठाउँमा चेकजाँच गरी रातो चिन्ह लगाएको र तत्काल करेक्सन गराउने छौँ पत्रकार मित्रहरुले यो पनि लेखीदिनुस ठेकेदारले अहिलेसम्म एक रुपैया पनि लिएको छैन भनेर ।’

घाम लाग्दा धुलो, पानी पर्दा हिलो

गत मंसिर २८ गतेसम्ममा काम सम्पन्न गर्नुपर्ने भएपनि उक्त राजमार्गको धुलिखेल–खावाको तीन किलोमिटर सडक भने पूर्ण रुपमा कच्ची अवस्थामा छ । ठेकेदारले छ महिना अघिनै सडकमा भएको पिच भत्काएर ग्राभेल गरेर छाडेकाले उक्त क्षेत्रभित्रका स्थानीय र सडकमा यात्रा गर्ने यात्रुहरूसमेत धुलोले सास्ती खेप्न बाध्य छन् ।

चिसोका कारण सडकमा राम्रोसँग पिच नबस्ने भएकाले अब फागुन लागेपछि मात्र काम सम्पन्न हुने डिभिजन सडक कार्यालय भक्तपुरका डिभिजन प्रमुख गुरु प्रसाद अधिकारीले काम गर्दै जाँदा त्रुटि हुन सक्ने प्रतिक्रिया दिए ।

‘यो ठूलो समस्या होइन धुलिखेल देखि पाँचखालसम्म १५ किलोमिटर गर्नु पर्ने हो अहिले सम्म ११ किलोमिटर सम्पन्न गरिसकेका छन उनले भने, बालुवा बोकेर ल्याएको ट्रिफरले पानी चुवाउने गरेका कारणले अलि अलि भत्केको हो यसलाई ठूलो समस्याको रुपमा लिनु हुदै करेक्सन भएपछि ठेकेदारले भुक्तानी पाउँने छन ।’

मर्मतको नाममा राजमार्ग तहस नहस

बिभागको निगरानिमा भएको कार्यको अवस्थालाई मध्यनजर गर्दै सडक मापदण्ड भित्र घर टहरा भएकाहरुले सहज ढंगबाट सडकको मापदण्ड कायम गर्न दिने पक्षमा नरहेको पाईएको छ । सडक मापदण्डमा घर भएका सानु श्रेष्ठले भने, ‘हामीले आफ्नो उठीबास गरेर सडकलाई जग्गा दिएर के गर्नु सडकको गुणस्तरीय निर्माण नहुने भएपछि भने ।’ अति व्यस्त सडकको रुपमा परिचित अरनिको राजमार्ग मर्मतको नाउमा तहस नहस भएको छ ।

दैनिक यात्रुहरु मार्कमा

अरनिको राजमार्ग भएर काठमाण्डौ यात्रा गर्ने यात्रुहरुले दैनिक मर्का परेका छन् । मोड कटिङ्ग, वाल र नाली मर्मत साथै आवश्यकिय स्थानमा ग्रावेल, वेस सहित पुरै कालोपत्रे र मर्मत गरेर हुने स्थानमा ओभर डे गर्ने शिर्षकको नाममा भ्याट बाहेकको १५ करोडमा ठेक्का पाएका द कञ्चनजंगा मोतिदान जेवीको सुस्तताले गर्दा यात्रुहरु मर्कामा परेका हुन् ।

ठेकेदारको चरम लापर्बाही, सम्बन्धित निकाय बेखबर

गत मंसिर २८ सम्म सबै काम सक्ने शर्तमा काम सुरु गरेका ठेकेदारको लापवाहीले गर्दा राजमार्गको माध्यमबाट आवत जावत गर्ने सम्पूर्ण सवारी साधनहरु मारमा पर्दा पनि सम्बन्धित निकायको चासो पुग्न सकेको छैन ।

अरनिको राजमार्ग खण्ड धुलिखेलवाट २ किलोमिटर सडक पुरै कुईरिमण्डल धुलो र १ किलोमिटर सडक अशारमा रोपाईको तयारीमा रहेको खेत जस्तै गरी हिलाम्य अवस्थामा रहेकोले उक्त स्थानहरुमा जोखिमपुर्ण तरिकाले यात्रा गर्न बाध्य भएको खावाका रमेश तामाङले बताए ।

राजमार्गमा हिलोकै कारण दैनिक झण्डै दुइ दर्जन जति मोटरसाईकलहरु पल्टने गरेको छ । सडक बिभागले सडकको माप दण्ड अनुसार, २५, २५ मिटर दायाँ बायाँ खाली गर्न सूचना जारी गरेको छ । जति बजेट छट्टिए पनि मर्मतका नाममा गुणस्तरीय काम नहुँदा समस्या बढ्दै गएको छ ।

कछुवा गतिमा सडक निर्माणको काम

सडक बिभागका अनुसार, धुलिखेलबाट खावा सम्म (५ किलो मिटर) पुरै कालोपत्रे उप्काएर ग्रावेल साथै वेस गरी ६ मिटर चौडा पिच हुने वताएपनि हाल सम्म तीन किलोमिटर सडकमा कालो पत्रे उप्काएर छाडेको छ । कालो पत्रे उप्काएर छोडेको भाग बाहेक ओभर डे गर्ने देखावटी कार्य सकिएको स्थानीय बासिन्दाहरुको गुनासो छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचारहरु

लोकप्रिय समाचारहरु