logo

bar

विदेशी संस्थाबाट पुरस्कार लिन बैंकलाई अंकुश

कृष्ण रिजाल/नयाँ पत्रिका काठमाडौं, १२ पुस | पुष १२, २०७४

बैंकरको विदेश भ्रमण कार्यविधि बनाउन राष्ट्र बैंकको निर्देशन –

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई जथाभावी पुरस्कार तथा सम्मान लिन रोक लगाएको छ । राष्ट्र बैंकले मंगलबार निर्देशन जारी गर्दै कुनै पनि विदेशी निकायबाट पुरस्कार वा सम्मान लिन रोक लगाएको हो ।

चन्दा वा सहयोग गरेको प्रतिफलस्वरूप पुरस्कार तथा सम्मान लिने प्रवृत्ति बढेको भन्दै राष्ट्र बैंकले अंकुश लगाएको हो । ‘इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थाले प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा आर्थिक सहायता, चन्दा वा अन्य कुनै पनि प्रकारको शुल्क वा वित्तीय योगदान गरेको आधारमा सोको प्रतिफलस्वरूप कुनै पनि विदेशी निकायबाट पुरस्कार वा सम्मान ग्रहन गर्न पाइनेछैन,’ राष्ट्र बैंकको निर्देशनमा भनिएको छ ।

राष्ट्र बैंकले कुनै पनि विदेशी निकायबाट पुरस्कार वा सम्मान लिनुपूर्व अनिवार्य रूपमा स्वीकृति लिनुपर्ने व्यवस्थासमेत गरेको छ । ‘यसरी राष्ट्र बैंकबाट स्वीकृति लिँदा सम्मान वा पुरस्कार प्रदान गर्ने संस्थाको वैधानिक हैसियत तथा आधिकारिकता पुष्टि हुने गरी कागजातसमेत पेस गर्नुपर्नेछ,’ राष्ट्र बैंकको निर्देशनमा उल्लेख छ । राष्ट्र बैंकको स्वीकृतिपछि पुरस्कार वा सम्मान लिन जाने बैंकका पदाधिकारीको भ्रमण खर्चमा समेत मितव्ययिता अपनाउन राष्ट्र बैंकले निर्देशन दिएको हो ।

विदेश भ्रमणको कार्यविधि बनाऊ
राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई विदेश भ्रमणसम्बन्धी कार्यविधि बनाएर पेस गर्नसमेत निर्देशन दिएको छ । अब सबैखाले बैंक तथा वित्तीय संस्थालाई आफ्ना सञ्चालक समिति अध्यक्ष, सदस्य तथा प्रमुख कार्यकारी अधिकृतको विदेश भ्रमणसम्बन्धी कार्यविधि बनाएर आगामी चैत मसान्तभित्र राष्ट्र बैंकमा पेस गर्नुपर्नेछ । अब बैंकरले विदेश भ्रमण गर्दा भ्रमणको उद्देश्य, उपयोगितालगायत विषयमा सम्बन्धित संस्थाको सञ्चालक समितिमा निर्णय हुनुपर्नेछ ।

त्यस्तै, बैंक तथा वित्तीय संस्थाका सञ्चालक समिति अध्यक्ष, सदस्य तथा प्रमुख कार्यकारी अधिकृत विदेश भ्रमण जानुअघि भ्रमण गरिने मुलुक, भ्रमणमा जाने पदाधिकारीको नाम, भ्रमण अवधि, भ्रमणको विषय, भ्रमण गर्दा लाग्ने खर्च एवं सम्बन्धित संस्थालाई हुने लाभबारे विश्लेषणसमेत गर्न राष्ट्र बैंकले निर्देशन दिएको हो । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई विदेश भ्रमणलाई मितव्ययी बनाउन भनेको छ ।

किन लाग्यो अंकुश ?
अपरिचित तथा वैधानिकता नभएका विदेशी निकाय तथा संघसंस्थाबाट समेत पुरस्कार तथा सम्मान लिइएको गुनासो आएपछि यस्तो रोक लगाइएको राष्ट्र बैंकका प्रवक्ता नारायणप्रसाद पौडेलले बताए । ‘स्वदेशी निकायहरूलाई हामी चिन्छौँ, त्यसैले त्यस्ता संस्थाबाट पुरस्कार तथा सम्मान लिन रोकतोक लगाइएको छैन,’ उनले भने, ‘तर, जुन पायो त्यही अपरिचित विदेशी संस्थाबाट पुरस्कार लिने प्रवृत्ति ठीक होइन ।’ त्यस्तै, बैंकका पदाधिकारी तथा व्यवस्थापनका उच्च अधिकारीको भ्रमण खर्चसमेत अत्यधिक देखिएकाले त्यसमा समेत कडाइ गरिएको उनले बताए ।

चुक्ता पुँजी बढाउन थप समय
नेपाल राष्ट्र बैंकले १ जिल्ला कार्यक्षेत्र भएका विकास बैंक र फाइनान्स कम्पनीलाई तोकिएको चुक्ता पुँजी पुर्‍याउन २ वर्ष थप समय दिएको छ । राष्ट्र बैंकले मंगलबार निर्देशन जारी गर्दै एक जिल्ला कार्यक्षेत्र भएका ‘ख’ र ‘ग’ वर्गका वित्तीय संस्थालाई तोकिएको चुक्ता पुँजी पुर्‍याउन ०७६ पुससम्मको समयसीमा दिएको हो ।

दीर्घकालीन विकासका लागि आवश्यक पुँजी निर्माणका लािग भन्दै राष्ट्र बैंकले २०७२-७३ को मौद्रिक नीतिमार्फत २०७४ असारसम्ममा बैंक तथा वित्तीय संस्थाले पुँजी वृद्धि गर्नुपर्ने व्यवस्था गरेको थियो । जसअनुसार १ जिल्ला कार्यक्षेत्र भएका विकास बैंकले ५० करोड र वित्त कम्पनीले ४० करोड रुपैयाँ चुक्ता पुँजी पुर्‍याउनुपर्ने व्यवस्था छ । तोकिएको समयमा समेत चुक्ता पुँजी वृद्धि नगरे नियमानुसार कारबाही गर्ने राष्ट्र बैंकले जनाएको छ ।

तपाईको प्रतिक्रिया