logo

bar

क्लिंकर आयात समस्या जटिल बन्दै

सुरेश बिडारी/नयाँ पत्रिका वीरगन्ज, ११ पुस | पुष १२, २०७४

सिमेन्ट उद्योगको कच्चापदार्थ ढुवानीमा देखिएको समस्या जटिल बन्दै गएको छ । नेपाली उद्योगीहरूले रक्सौल र्‍याकबाट क्लिङकरलगायत कच्चापदार्थ ल्याउन रोक लागेपछि समस्या उत्पन्न भएको हो ।

रक्सौलका स्थानीयले प्रदूषण भएको भन्दै विरोध गरेपछि २२ डिसेम्बरबाट भारतीय रेल्वे निगमले भारतीय कन्टेनर निगम लिमिटेड कन्कोरसँगको सहमतिमा क्लिङकरको कार्गो सीधै वीरगन्ज सुक्खा बन्दरगाहमा अनलोड गर्ने निर्णय गरेको थियो । तर, सुक्खा बदरगाहामा क्लिङकरलगायत डस्टी कार्गोको आयात सहज नभएको नेपाली व्यापारीले बताउँदै आएका छन् । त्यस्तै, ड्राइपोर्ट आसपासका स्थानीय बासिन्दाले क्लिङकर ल्याउँदा प्रदूषण हुने भन्दै नल्याउन ज्ञापनपत्र बुझाएका छन् ।

सुक्खा बन्दरगाहमा क्लिङकरलगायत कच्चापदार्थ अनलोड गर्न भारतीय कम्पनीले १५ दिनभित्र स्थान व्यवस्थापन गर्ने प्रतिबद्धता जनाए पनि नेपाली व्यवसायीहरू विश्वस्त छैनन् । हिमालयन टर्मिनलका कार्यकारी निर्देशक विष्णुकान्त चौधरीले बन्दरगाहबाट क्लिङकरलगायत औद्योगिक कच्चापदार्थ ल्याउन नेपाल सरकारबाट कुनै पनि पत्र नआएको बताए । ‘त्यसका लागि आवश्यक पूर्वाधार बनाउनुपर्छ,’ चौधरीले भने, ‘तत्काल बन्दरगाहबाट सिमेन्ट उद्योगको कच्चापदार्थ आयात गर्न सम्भव छैन ।’

समस्या समाधानका लागि बसेको बैठक निष्कर्षविहीन
मंगलबार वीरगन्जमा समस्या समाधान गर्न बसेको दुवै देशका सरोकारवालाहरूको बैठक विनानिष्कर्ष टुंगिएको छ । जसले गर्दा क्लिङकरलगायत कच्चापदार्थ आयातमा देखिएको समस्या थप जटिल हुने देखिएको छ । दुवै पक्ष आ–आफ्नो अडानबाट पछि नहटेपछि उद्योगीहरू भने मारमा पर्नेभएका छन् । रक्सौल रेल्वे यार्ड हुँदै शिवम् सिमेन्टसहित बारा–पर्सा औद्योगिक करिडोरमा रहेका १३ वटा उद्योगले क्लिङकर आयात गर्दै आएका थिए ।

बैठकमा सहभागी नेपाल इन्टरमोडल यातायात विकासका कार्यकारी निर्देशक लक्ष्मणप्रसाद बस्नेतले दुवै देशका सरोकारवालाबीच छलफल भए पनि कुनै निष्कर्ष निस्कन नसकेको र पुनः छलफल गरेर टुंगोमा पुग्ने बताए । ‘अहिले रेल्वे सेवा सम्झौतामार्फत बन्दरगाहबाट कारोबार भइरहेको छ । त्यसमा डर्टी कार्गो ल्याउने विषयमा केही उल्लेख छैन,’ उनले भने, ‘कानुनी र भौतिक रूपमा अहिलेको अवस्थामा सुक्खा बन्दरगाहबाट क्लिङकरलगायत कच्चापदार्थ आयात गर्न सक्ने अवस्था छैन । पूर्वाधार विकास गर्दै जानुपर्छ, दुवै देशका नागरिकले न्याय पाउनुपर्छ ।’

दुवै पक्ष आ–आफ्नै अडानमा
बैठकमा नेपाली पक्षले सुक्खा बन्दरगाहमा क्लिङकर अनलोड गर्ने कुरा कुनै पनि सम्झौतामा उल्लेख नभएको र नेपाल सरकारलाई कुनै औपचारिक जानकारी नै नभई भारतीय पक्षले एकलौटी निर्णय गरेको आरोप लगाएका छन् भने भारतीय पक्षले रक्सौल यार्डको विकल्प आइसिडी (सुक्खा बन्दरगाह) नै रहेको तर्क गरेका छन् । बैठकमा वाणिज्य मन्त्रालयका सहसचिव रविशंकर सैंजूले क्लिङकरलगायत औद्योगिक कच्चापदार्थ आयात समस्याको दीर्घकालीन समाधानका लागि नेपाल सरकार गम्भीर रहेको तर भारतीय पक्षले अहिले अघि सारेको विकल्पबारे जानकारी नै नभएको बताए ।

नेपाली सिमेन्ट उद्योगी र आयातकर्ताहरूले भने तत्कालका लागि रक्सौलमै लोड–अनलोडको व्यवस्था हुनुपर्ने माग राखेका छन् । ड्राइपोर्टमा कन्कोरले भनेजसरी तत्काल स्थानको व्यवस्था हुन नसक्ने देखिएकाले पुरानै पक्रियाबाट क्लिङकरलगायत कच्चापदार्थ ल्याउन पाउनुपर्ने माग उनीहरूको छ । सुक्खा बन्दरगाहमा अहिले छड उत्पादनका लागि आवश्यक कच्चापदार्थहरू आयातमा नै समस्या देखिएकाले क्लिङकर पनि सोही स्थानबाट आयात गर्दा थप समस्या उत्पन्न हुने तर्क उनीहरूको छ ।

राजपालले ड्राइपोर्टमा क्लिङकरजस्ता कच्चापदार्थ आयात गर्नका लागि कुनै पनि ट्र्याक नभएको बताए । ‘फलाम, कन्टेनर र बोराबन्दीको समान आयात गर्न तीनवटा ट्र्याक छ । क्लिङकरलगायत औद्योगिक कच्चापदार्थका लागि ट्र्याक नै छैन । अनलोड गर्ने लेबरको समस्या पनि आउन सक्छ,’ उनले भने, ‘तत्कालका लागि विकल्प मिलाउन सकिएला तर सरकारले राम्रो ठाउँको विकल्प दिएर दीर्घकालका लागि समस्या समाधान गरिदिनुपर्छ ।’

तपाईको प्रतिक्रिया