logo

bar

कांग्रेसको हार र अबको बाटो

श्यामकुमार घिमिरे काठमाडौं, १२ पुस | पुष १२, २०७४

कांग्रेसको हार र अबको बाटो – सत्तरी वर्षभन्दा लामो इतिहास बोकेको नेपालको सबैभन्दा पुरानो र ठूलो पार्टी कांग्रेस अहिले इतिहासमै सबैभन्दा संकटको घडीमा उभिएको छ । राणाशासनलाई ढालेर देशमा प्रजातन्त्रको बिउ रोप्ने, पञ्चायतलाई समाप्त पारेर प्रजातन्त्रको पुनस्र्थापना गर्ने, सशस्त्र द्वन्द्वबाट मुलुकलाई शान्ति प्रक्रियामा लगी देशमा शान्ति र अमनचैन स्थापना गर्ने, दोस्रो जनआन्दोलनको सफल नेतृत्व गरेर मुलुकलाई प्रजातन्त्रको बाटोमा फर्काउने, संविधानसभाको निर्वाचन गराउने, गणतन्त्र घोषणा गर्ने, ०६४ को संविधानसभाको असफलतालाई ०७० को निर्वाचनपश्चात प्रधानमन्त्री सुशील कोइरालाको नेतृत्वमा दश महिनाभित्र संविधान दिने, संविधान निर्माणपश्चात तीनै तहको निर्वाचन सम्पन्न गरी नयाँ संविधानलाई कार्यान्वन गर्ने कांग्रेस आज राष्ट्रिय राजनीतिको कठघरामा पराजित अनुहार लिएर उभिन बाध्य भएको छ ।

 

संसारमै कम्युनिज्मको बोलवाला भएको ०१५ सालमा एक सय नौमध्ये चार सिटमा सीमित भएका कम्युनिस्ट आज संसारमा कम्युनिस्टको कन्तबिजोग भएका वेला नेपालमा यसरी उदीयमान हुनु निश्चय पनि सबैका लागि सोचनीय विषय हो ।

 

यो सन्दर्भ कांग्रेसका लागि मात्र नभएर नेपालको राजनीतिमा चासो राख्ने जोकोहीका लागि पनि गम्भीर मीमांसाको विषय बनेको छ । विषय कांग्रेसको हारसँग मात्र सीमित छैन, संसारबाटै असफल भएका कम्युनिस्टको जितसँग पनि जोडिएको छ ।

संसारमै कम्युनिज्मको बोलवाला भएको ०१५ सालमा एक सय नौमध्ये चार सिटमा सीमित भएका कम्युनिस्ट आज संसारमा कम्युनिस्टको कन्तबिजोग भएका वेला नेपालमा यसरी उदीयमान हुनु निश्चय पनि सबैका लागि सोचनीय विषय हो । समस्याको जड के हो ? सुरुवात कहाँबाट भयो ? यसले ल्याउने परिणाम के हो ? अबको बाटो के हो ? यो आम प्रजातन्त्रवादीका लागि चिन्ता र चासोको विषय हो । अबका दिनमा कांग्रेसले यसैको सेरोफेरोमा रहेर विगतको मूल्यांकन गर्दै भविष्यको रेखांकन गर्न जरुरी छ ।

हारको मीमांसा
०१५ सालमा ३७.२२ प्रतिशत, ०४८ सालमा ३७.७५ प्रतिशत, ०५१ सालमा ३३.३८ प्रतिशत, ०५६ सालमा ३६.१४ प्रतिशत, ०६४ सालमा २३ प्रतिशत, ०७० सालमा २८.८० प्रतिशत, प्रत्यक्ष र समानुपातिकमा २५.५५ प्रतिशत मत ल्याएको कांग्रेसले यस वर्ष प्रत्यक्षमा ३२.७५ प्रतिशत र समानुपातिकमा झन्डै ३३ प्रतिशत मत ल्याएको छ ।

यसरी तुलनात्मक अध्ययन गर्दा यस निर्वाचनमा कांग्रेसले प्राप्त गरको लोकप्रिय मत विगतका तुलनामा नराम्रो छैन । ०७० को निर्वाचनभन्दा प्रत्यक्ष र समानुपातिक दुवैतर्फ कांग्रेसले धेरै मत ल्याएको छ तर परिणाम निराशाजनक रह्यो । यस अर्थमा कांग्रेसको पराजय एमाले र माओवादीबीचको गठबन्धनलाई रोक्न नसक्नु एवं त्यो परिस्थिति निर्माण हुनु नै हो भन्न सकिन्छ ।

सिद्धान्तको पुनर्व्याख्या
प्रजातन्त्र स्थापनालाई मूल लक्ष्य बनाएर स्थापित कांग्रेसले ०१२ को वीरगन्ज महाधिवेशनबाट परिष्कृत रूपमा आफ्नो सिद्धान्त राष्ट्रियता, प्रजातन्त्र र समाजवाद भनी व्याख्या गरेको थियो ।

 

पार्टीको स्थापित सिद्धान्तलाई समयानुकूल व्याख्या गर्दै संसारभरि असफल भएको समाजवादको भ्रमबाट कांग्रेस तत्काल मुक्त हुन सक्नुपथ्र्यो । समाजवादको असफलता कम्युनिस्टसँग लड्ने कांग्रेसको सबैभन्दा बलियो वैचारिक अस्त्र हुन सक्थ्यो । कांग्रेसभित्रको पुरानो पुस्ता परम्पराकै निरन्तरतामा रमाइराख्नु स्वाभाविक भएता पनि युवापुस्तासमेत अध्ययन, छलफल, बहस र आधुनिक संसारलाई आत्मसात् गर्नेभन्दा परम्परा धान्न र समाजवादको चास्नीमा डुबिराख्न मनपरायो ।

 

सर्वप्रथम आजभन्दा ६२ वर्षअघि स्थापित यस सिद्धान्तलाई आजको सन्दर्भमा पुनव्र्याख्या जरुरी छ । सन् १९९० पछि संसारमा आएको परिवर्तनलाई आत्मसात् गरेर कांग्रेसले प्रजातन्त्र प्राप्तिपछि नै आफ्नो सिद्धान्तको पुनव्र्याख्या गर्नुपर्ने थियो ।

पार्टीको स्थापित सिद्धान्तलाई समयानुकूल व्याख्या गर्दै संसारभरि असफल भएको समाजवादको भ्रमबाट कांग्रेस तत्काल मुक्त हुन सक्नुपथ्र्यो । समाजवादको असफलता कम्युनिस्टसँग लड्ने कांग्रेसको सबैभन्दा बलियो वैचारिक अस्त्र हुन सक्थ्यो । कांग्रेसभित्रको पुरानो पुस्ता परम्पराकै निरन्तरतामा रमाइराख्नु स्वाभाविक भएता पनि युवापुस्तासमेत अध्ययन, छलफल, बहस र आधुनिक संसारलाई आत्मसात् गर्नेभन्दा परम्परा धान्न र समाजवादको चास्नीमा डुबिराख्न मनपरायो ।

संसारमा भएको कम्युनिस्ट शासनको पतन कांग्रेसका लागि प्रजातन्त्रको पक्षमा जनमत सिर्जना गर्ने ठूलो अवसर थियो । संसारमै असफलसिद्ध भएको समाजवादलाई अमूर्त ढंगले संविधानको गन्तव्य बनाउनु कांग्रेसको महाभूल थियो । प्रजातन्त्र भनेको कुनै व्यवस्था र सरकार चलाउने पद्धति मात्र नभएर जीवन पद्धति र संस्कृति हो भन्ने मान्यतालाई विकसित गर्दै प्रजातन्त्रलाई व्यक्तिको जीवन पद्धतिको रूपमा अपनाउँदै लैजाने संस्कृतिको निर्माण गर्नतर्फ कांग्रेस लागेको भए आज कम्युनिस्टको यो प्रभाव नेपाली समाजमा रहने थिएन ।

जनताद्वारा निर्वाचित प्रतिनिधि, तिनीद्वारा निर्मित कानुन र कानुनद्वारा सञ्चालित राज्यसत्ता ‘विधिको शासन’ स्थापित गर्ने बाटोतर्फ कांग्रेस सशक्त ढंगले लागिदिएको भए आज कम्युनिस्टको यो चुरिफुरी जनताले हेर्नुपर्ने थिएन ।

अब कांग्रेसको बाटो भनेको विगतका यी सैद्धान्तिक भूलबाट पाठ सिकेर समाजवादको भ्रमबाट मुक्त हुँदै संसारमा कम्युनिस्टको असफलताको इतिहासलाई जनसमक्ष पु¥याउनु हुनेछ । अर्कोतर्फ विधिको शासनको माध्यमबाट प्रजातन्त्रलाई जीवन पद्धति र संस्कृतिका रूपमा विकसित गर्ने बाटोतर्फ कांग्रेस लाग्नुपर्छ । कांग्रेसको अबको सिद्धान्त जनताको शान्ति, स्वतन्त्रता, सम्मान र समृद्धि हुनुपर्छ ।

सहमति र सहकार्यको निरन्तरता
संविधान निर्माण गर्दा मुलुकका प्रमुख दललाई एक ठाउँमा ल्याएर सहकार्य गराउन सफल भएको कांग्रेसले यसको निरन्तरता दिँदै संविधानसँग असहमत पक्षलाई समेत समेट्दै संविधानलाई परिमार्जन गरेर सर्वस्वीकार्य बनाउन सक्नुपथ्र्यो ।

सहमति र सहकार्यबाटै संविधानमा निर्देशित तीन तहका निर्वाचन सम्पन्न गरेर संविधान कार्यान्वयनको समेत नेतृत्व गर्नुपर्ने कांग्रेसले संविधान निर्माणपश्चात यसको नेतृत्व गर्न नसक्नुबाट कांग्रेसको क्षयीकरण सुरु भएको छ । कहिले माओवादी, कहिले एमाले र कहिले मधेसकेन्द्रित दलहरूको अत्यधिक भर परेर एकांगी हुनु कांग्रेसको असफलताको अर्को कारण बन्यो । संविधान निर्माणदेखि नै देखिएको यो अवस्थालाई पछिल्ला दिनसम्म पनि कांग्रेसले सच्याउन सकेन ।

समग्र राष्ट्रिय शक्तिकै नेतृत्व गर्नुपर्ने राष्ट्रिय अभिभारा नबुझी कहिले कसलाई, कहिले कसलाई बैसाकी बनाएर सरकारमा जाने खेलोमा लाग्दा कांग्रेसको यो गति भएको हो । यसका लागि केवल एक–दुईजना नेतालाई मात्र दोष दिनु युक्तिसंगत हुँदैन । ०७० सालको निर्वाचनपछि नै समग्र रूपमा कांग्रेस यसमा चुक्दै गयो, जसलाई पछिसम्म पनि सच्याउन सकेन ।

इतिहासले दिएको यस जिम्मेवारीलाई कुशलतापूर्वक निर्वाह गर्न नसक्दा आज कांग्रेसले यो अवस्था व्यहोर्नुपर्यो । एमालेसँगको अत्यधिक दूरी एवं माओवादीजस्तो अस्थिर र विचारविहीन शक्तिसँगको अत्यधिक निर्भरता पनि कांग्रेसका लागि घातक सिद्ध भयो ।

कांग्रेस नेपाली राजनीतिको मियो पार्टी हो । यसले नेपालका सबै राजनीतिक शक्तिसँग सन्तुलित सम्बन्ध राख्दै राष्ट्रिय राजनीतिको निकास निकाल्ने कार्यको नेतृत्व गर्नुपर्छ । विधिको शासनको माध्यमबाट प्रजातन्त्रलाई जीवन पद्धति र संस्कृतिका रूपमा विकास गर्ने कार्यको नेतृत्व गर्ने ऐतिहासिक जिम्मेवारी पनि कांग्रेस अपेक्षित नै छ भन्ने बुझेर आगामी दिनका पाइला चाल्न कांग्रेसका लागि जरुरी छ ।

सुशासनका माध्यमबाट समृद्धिको लक्ष्य
दुई सय ७५ स्थानको प्रतिनिधिसभामा ६०–६५ स्थान लिएर विपक्षी खेमामा खुम्चिनुपर्ने कांग्रेसको बाध्यता अब स्पष्ट भइसकेको छ । अगामी पाँच वर्ष कांग्रेसले सत्तामोहबाट मुक्त भएर सरकारलाई सुशासनका माध्यमबाट समृद्धिको लक्ष्य भेट्ने अभियानमा सहयोग, सचेतना र आवश्यक पर्दा कठोरतापूर्वक विरोध पनि गर्न सक्नुपर्छ ।

कम्युनिस्टको स्कुलिङ भनेको पार्टी र यसका नेताले देश चलाउने पद्धति हो । यसले देशलाई हरेक हिसाबले अधोगतितर्फ उन्मुख गराउनेछ । यसलाई सही र दह्रो ढंगले प्रतिवाद गरिएन भने मुलुक अधिनायकवादतर्फ उन्मुख हुन सक्छ । यसको खबरदारी कांग्रेसको ऐतिहासिक जिम्मेवारी पनि हो । विधिको शासनबाट मात्र सुशासन सम्भव छ । सुशासनबाट मात्र समृद्धिको लक्ष्य भेट्न सकिन्छ भन्ने अधिनायकवादको स्कुलिङबाट आएका सत्ताधारीलाई बुझाउँदै दह्रो खबरदारी गर्नसके कांग्रेसले इतिहासले दिएको जिम्मेवारी पूरा गर्न सक्नेछ ।

आन्तरिक संगठनको निर्माण
नयाँ संविधान जारी भएर राज्यको सम्पूर्ण अंगको पुनर्संरचना भइसकेको छ । यस अवस्थामा कांग्रेसले आफ्नो संगठनलाई नयाँ संरचनाअनुकूल निर्माण गर्न अब किञ्चित पनि ढिला गर्नु हुन्न । तत्काल केन्द्रीय समितिको बैठक बोलाई विधान संशोधन समिति बनाएर महासमितिबाट विधान संशोधन गर्नु एवं संशोधित विधानअनुसारका नयाँ संरचना निर्माण गर्नुपर्ने कार्यभारलाई कांग्रेसले पहिलो प्राथमिकतामा राख्नैपर्छ ।

पुनर्संरचना भएका एकाइमा संगठन निर्माण, कार्य विभाजन, प्रजातन्त्रको पक्षमा प्रशिक्षण, सदस्यता अभियान एवं पैदल यात्रा, घरदैलो कार्यक्रमजस्ता क्रियाकलापबाट समग्र पार्टीपंक्तिको परिचालन कांग्रेसको प्राथमिकतामा पर्नुपर्छ । आजको दिनमा कांग्रेसको प्राथमिकता समग्र संगठनको परिचालन हो भन्ने कुरा बुझ्न कांग्रेससँग अब धेरै समय छैन ।

सहिष्णुता, एकता र सहकार्य नै आधार
असफलताको यस घडीमा एकले अर्कालाई दोष लगाएर दन्तबझान गरी गाईजात्रा गर्नुभन्दा पार्टीभित्रका सम्पूर्ण नेतृत्व तह एक भएर वर्तमान परिस्थितिसँग जुध्नु बुद्धिमानी हुनेछ । कांग्रेसको आजको असफलता एक दिनको वा एउटा नेतृत्वको तत्कालीन कमजोरीको परिणाम मात्र होइन, यो त परम्परादेखिका कमजोरीको निरन्तरता हो ।

यी कमजोरीमा परम्परादेखि आजसम्म कायम रहेका नेतृत्वपंक्तिका सबै नेता धेरथोर जिम्मेवार छन् । अब यी कमजोरीलाई कोट्याउँदै जाँदा पार्टी नै रक्तमुछेल हुन सक्छ । तसर्थ विगतका कमजोरीलाई विस्मृतिमा राखी आगामी दिनको मार्ग पैल्याउँदै जाने हो भने आगामी निर्वाचनमा कांग्रेसको सत्तारोहणलाई कसैले रोक्न सक्नेछैन ।
(घिमिरे कांग्रेस केन्द्रीय सदस्य हुन्)

तपाईको प्रतिक्रिया