logo

bar

कक्षा ११ मा जिपिए नराख्ने तयारी

भवानीश्वर गौतम/नयाँ पत्रिका काठमाडौं, १२ पुस | पुष १२, २०७४

राष्ट्रिय परीक्षा बोर्डले लेटर ग्रेडिङ सिस्टममा नतिजा सार्वजनिक गर्ने भए पनि विद्यार्थीलाई ग्रेडपोइन्ट एभरेज (जिपिए) नदिने भएको छ । केही दिनपछि बस्ने बोर्ड बैठकमा कक्षा ११ मा जिपिए नराख्ने प्रस्ताव पेस गर्ने तयारी हुँदै छ ।

बोर्डका अध्यक्ष प्रा. डा. चन्द्रमणि पौडेलले एक सातामा बोर्ड बैठकबाट ग्रेडसिटको टुंगो लगाउने बताए । अध्यक्ष पौडेलले कक्षा ११ र १२ ‘सिंगल सब्जेक्ट ट्रयाक सिस्टम’मा चलेका कारण ग्रेडिङमा नतिजा निकाले पनि जिपिए नराख्ने बताए । उनले भने, ‘जिपिए नराख्ने प्रस्ताव तयार छ, यो प्रस्ताव बोर्डबाट पारित होला ।’

पाठ्यक्रम विकास केन्द्रले लेटर ग्रेडिङमा मूल्यांकन गर्ने कार्यविधि तयार पारिसके पनि एउटै कक्षाका विषयमा फरक–फरक क्रेडिटआवर हुनुलगायत अन्य समस्या बोर्डले टुंग्याउन सकेको छैन । सैद्धान्तिक रूपमा लेटर ग्रेडिङमा मूल्यांकन कार्यविधिसमेत केन्द्रले उपलब्ध गराइसकेको छ । सर्टिफिकेसन कसरी गर्ने भन्नेमा परीक्षा बोर्ड अझै टुंगोमा पुगेको छैन । ‘हामी जुनसुकै पद्धतिमा पनि रिजल्ट गर्न तयार छौँ । तर, कस्तो गर्ने भन्ने अहिलेसम्म जानकारी आएको छैन,’ परीक्षा बोर्डका निमित्तनियन्त्रक डम्बर बतासले भने । उनले अंकमा तयार भएको नतिजालाई ग्रेडमा ‘कन्भर्ट’ गर्न तयार रहेको बताए । केन्द्रले कक्षा ८ देखि १२ सम्म नै लेटर ग्रेडिङमा मूल्यांकन कार्यविधि बनाइसकेको छ ।

जिपिए राख्नेमा मतभेद
बोर्डमा माध्यमिक शिक्षा परीक्षा (एसइई)को ग्रेडसिटमा ग्रेडपोइन्ट एभरेज (जिपिए)समेत राखिएको छ । तर, कक्षा ११ मा जिपिए नराख्ने प्रस्ताव तयार भएको छ । यसमा समेत मत विभाजित छ । एउटा पक्षले सिंगल ट्र्याक सब्जेट भएकाले जिपिए राख्न नहुने तर्क गरेका छन् । केही बोर्ड सदस्यले भने माथिल्लो तहमा भर्ना लिन, छात्रवृत्ति दिने लगायतका कुरामा समस्या हुने भन्दै जिपिए राख्नुपर्ने तर्क गरेका छन् ।

एसइईमा जस्तै ग्रेडिङ
कक्षा ११ मा पनि माध्यमिक शिक्षा परीक्षा, कक्षा १० (एसइई)को जस्तै गरी लेटर ग्रेडिङ गर्न सिफारिस आएको छ । यस विधिअन्तर्गत विद्यार्थीले पाएको अंकलाई नौवटा ग्रेडमा वर्गीकरण गरिन्छ । केन्द्रले एसइईमा ९० र त्यसभन्दा माथि ‘ए प्लस’, ८० र त्यसभन्दा माथि ९० भन्दा कम ‘ए’, ७० र त्यसभन्दा माथि ८० भन्दा कम ‘बी प्लस’, ६० र त्यसभन्दा माथि ७० भन्दा कम ‘बी’, ५० र त्यसभन्दा माथि ६० भन्दा कम ‘सी प्लस’, ४० र त्यसभन्दा माथि ५० भन्दा कम ‘सी’, ३० र त्यसभन्दा माथि ४० भन्दा कम ‘डी प्लस’, २० र त्यसभन्दा माथि ३० भन्दा कम ‘डी’ तथा २० भन्दा कमलाई ‘ई’ ग्रेड निर्धारण गरेको छ ।

समस्या के छन् ?
कक्षा ११ मा लेटर ग्रेडिङमा मूल्यांकनका लागि धेरै प्राविधिक समस्या देखिएका छन् । बोर्ड स्रोतका अनुसार कक्षा ११ मा पढाइ भइरहेका विषयको क्रेडिटआवर गणना गर्नसमेत कठिन छ । परीक्षा बोर्ड स्रोतले भन्यो, ‘सिंगल ट्र्याक सब्जेक्ट सिस्टम भन्ने तर साइन्सका विषयमा क्रेडिटआवर बढी र अरूमा कम भएकाले भोलि अन्तर्राष्ट्रिय बजारमा समेत विवादित हुने अवस्थाका कारण अहिलेसम्म अन्योल भएको हो ।’ सिंगल सब्जेक्ट सर्टिफिकेसन सिम्टम हुनुपर्ने आवाज बोर्डभित्रैबाट उठेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचारहरु

लोकप्रिय समाचारहरु