logo

bar
logo
Advertisment
SKIP THIS

अनुगमन भ्रमणको वार्षिक बजेट चार महिनामा समाप्त

पुष्प ढुंगाना/नयाँ पत्रिका काठमाडौं, १२ पुस | पुष १२, २०७४

प्रधानमन्त्री तथा मन्त्रीले चुनाव प्रचारमा गएको खर्च पनि राज्यकोषबाट उठाए –

वर्तमान मन्त्रिपरिषद्का सदस्यहरू राष्ट्रिय ढुकुटीको संरक्षण गर्ने विषयमा गैरजिम्मेवार देखिएका छन् । आफ्नो चुनावी प्रचार अभियानका लागि निर्वाचन क्षेत्रमा जाँदा भएको खर्चसमेत उनीहरूले अनुगमन खर्चका नाममा असुल गर्न खोजेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले दिएको विवरणअनुसार यसरी चुनाव प्रचारमा भएको खर्चसमेत प्रधानमन्त्री कार्यालयबाट दाबी गर्नेमा प्रधानमन्त्रीको निजी सचिवालयसमेत मुछिएको छ । अधिकांश मन्त्री तथा राज्यमन्त्रीले अनुगमन भ्रमणमा भएको भन्दै भुक्तानी दिन मन्त्रिपरिषद् कार्यालयमा बिल पेस गरेका छन् । केही मन्त्रीको बिल पेस भए पनि प्रक्रिया नपुगेका कारण रोकिएको प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ ।

कुन मन्त्रीको दाबी कस्तो ?
सिँचाइ राज्यमन्त्री अमरसिंह पुनमगर प्रतिनिधिसभा निर्वाचनमा रोल्पाबाट कांग्रेस उम्मेदवार थिए । नयाँ पत्रिकासँग कुरा गर्दै उनले ३ कात्तिकदेखि जिल्लामा चुनावी प्रचारप्रसारमा लागेको र ११ मंसिरमा काठमाडौं फर्किएको बताए । तर, उनले मन्त्रिपरिषद्को कार्यालयमा ३ देखि ८ कात्तिकसम्म, १६ देखि १७ कात्तिकसम्म र ११ मंसिरमा रोल्पाको अनुगमन मूल्यांकन भ्रमणमा गएको भन्दै भ्रमण भत्ता र हवाई टिकट खर्चका नाममा दुई लाख ४१ हजार पाँच सय दाबी गरेका छन् । उनले भ्रमण स्वीकृत गराउँदा बाटोमा पर्ने प्युठान, कपिलवस्तु, रुपन्देही जिल्लामा पनि अनुगमनमा गएको उल्लेख गरेका छन् ।

 आपूर्ति राज्यमन्त्री सुशीलकुमार श्रेष्ठ निर्वाचनका बेला धनुषा, सर्लाही, महोत्तरीमा खटिएका थिए । उनले पनि १५ देखि १७ कात्तिकसम्म र २८ देखि ३० कात्तिकसम्म ती जिल्लाको अनुगमनमा गएको दाबी गर्दै ८२ हजार नौ सय रुपैयाँको बिल पेस गरेका छन् ।

 सहकारी तथा गरिबी निवारण राज्यमन्त्री तथा बाग्लुङ १ मा कांग्रेसकी उम्मेदवार चम्पादेवी खड्काले पनि अनुगमनका नाममा राज्यकोषबाट खर्च माग गरेकी छिन् । उनले ५ देखि ७ कात्तिकसम्म र २६ देखि २७ कात्तिकसम्म जिल्ला अनुगमनमा गएको भन्दै मन्त्रिपरिषद्को कार्यालयमा ३७ हजार तीन सय रुपैयाँको बिल पेस गरेकी छिन् ।

 सहरी विकासमन्त्री दिलनाथ गिरी ४ देखि ११ मंसिरसम्म संखुवासभामा थिए । राप्रपाले चुनाव प्रचारका लागि उनलाई मोरङ, सुनसरी, सप्तरी र सिरहामा खटाएको थियो । तर, उनले भाइटीकाको दिन ४ कात्तिकमा जिल्ला अनुगमनमा भएको भन्दै मन्त्रिपरिषद्को कार्यालयमा एक लाख ६२ हजार पाँच सयकोे विल पेस गरेका छन् । ४ देखि ११ मंसिरसम्म चुनावमा लागि आफू गृहजिल्ला संखुवासभा गएको उनले बताए ।

उद्योगमन्त्री सुनीलबहादुर थापा लोकतान्त्रिक गठबन्धनका तर्फबाट धनकुटामा प्रतिनिधिसभाको उम्मेदवार थिए । उनले ९ देखि १२ कात्तिक, १५ देखि २४ कात्तिक र २६ कात्तिकमा धनकुटाको अनुगमनमा गएको भनेर प्रधानमन्त्री कार्यालयमा भ्रमण भत्ता र हवाई टिकट खर्चसहित एक लाख ६९ हजार ३ ५० रुपैयाँको बिल पेस गरेका छन् ।

एक वर्षको बजेट चार महिनामै सकियो
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले मन्त्रीहरूको जिल्ला अनुगमन भ्रमणका लागि छुट्याएको बजेट पहिलो चौमासिकमै सकिएको जनाएको छ । एक वर्षका लागि अनुगमन भ्रमण शीर्षकमा छुट्याएको बजेट चार महिनामै सकिएपछि अर्थ मन्त्रालयसँग थप एक करोड २० लाख रुपैयाँ माग गरेको छ ।

चालू आर्थिक वर्षका लागि सरकारले अनुगमन तथा मूल्यांकन खर्च शीर्षकमा एक करोड ३० लाख रुपैयाँ छुट्याएको थियो । त्यसमध्ये एक करोड २९ लाख ३२ हजार रुपैयाँ खर्च भइसकेको छ । २९ लाख बराबरको बिल स्वीकृत भइसकेको र बजेट अभावमा भुक्तानी नभएको मन्त्रिपरिषदको कार्यालयको भनाइ छ । यस्तै, करिब पाँच लाख बराबरको बिल स्वीकृत हुने प्रक्रियामा रहेको छ । मन्त्रिपरिषद्को कार्यालयसँग अब अनुगमन भ्रमण शीर्षकमा ६७ हजार तीन सय रुपैयाँ मात्र बजेट बाँकी रहेको जनाएको छ ।

कुन मन्त्रीले कति खर्च गरे ?
प्रधानमन्त्री, उनका सुरक्षाकर्मी र सचिवालयसहित जम्मा : ६२ लाख ३९ हजार ८६४ रुपैयाँ

विजयकुमार गच्छदार (स्थानीय विकास) : ४,८९,०३०

गोपालमान श्रेष्ठ (शिक्षा) : ६१,८५०

गिरिराजमणि पोखरेल (स्वास्थ्य–विनाविभागीय) : ३,५०,४३०

ज्ञानेन्द्रबहादुर कार्की (अर्थ) – २,४७,७००

फरमुल्लाह मन्सुर (श्रम) – १,५५,५३८

प्रभु शाह (सहरी विकास– विनाविभागीय) : ८७,८२०

सुनीलबहादुर थापा (उद्योग) : २,१४,५००

दिलनाथ गिरी (सहरी विकास) : २,४४,५७५

जितेन्द्र देव (पर्यटन तथा नागरिक उड्डयन) : ३,६३,१००

गोपाल दहित (भूमिसुधार तथा व्यवस्था) : ३,२१,५७०

मोहनबहादुर बस्नेत (सञ्चार) : १३०५५०

रामकृष्ण यादव (कृषि विकास) : १०६२००

महेन्द्र यादव (खानेपानी तथा सरसफाइ) : ६१४०००

अम्बिका बस्नेत (सहकारी तथा गरिवी निवारण) : १०२५०

वीरबहादुर बलायर (भौतिक पूर्वाधार तथा यातायात) : १७४३५०

मीनबहादुर विश्वकर्मा (वाणिज्य) : १८४४००

यज्ञबहादुर थापा (कानुन) : १०२४००

भीमसेनदास प्रधान (रक्षा) : ९२५०

सञ्जयकुमार गौतम (सिँचाइ) – २४३०५०

राजेन्द्रकुमार केसी (युवा तथा खेलकुद) : १६३२५०

टेकबहादुर बस्नेत (सामान्य प्रशासन – विनाविभागिय ) – १५०७५०

शिवकुमार मण्डल (आपूर्ति–विनाविभागीय) : २८४६००

महेन्द्रबहादुर शाही (ऊर्जा–विनाविभागीय) : ९००००

आशा कोइराला (महिला बालबालिका तथा समाजकल्याण– विनाविभागीय) : १५७९००

सन्तकुमार थारु (पशुपंक्षी– विनाविभागीय) : ३४८०००

मिथिला चौधरी (जनसंख्या तथा वातावरण) : २०४७६०

जयन्त चन्द (आपूर्ति) – २२४९५०

राज्यमन्त्रीहरू
कुन्ती शाही  (सहरी विकास) : २१८५५०

मोहम्मद जाकिर हुसैन (महिला बालबालिका–विनाविभागीय) : २७५६५०

रामसिंह यादव (स्वास्थ्य–विनाविभागीय) : २४३००

श्यामकुमार श्रेष्ठ (गृह–विनाविभागीय) : १५८४५०

शम्भुलाल श्रेष्ठ (पशुपंक्षी) : ६५७००

कर्णबहादुर विक (आपूर्ति–विनाविभागीय) : ५३८५५०

छमबहादुर गुरुङ (सहरी विकास–विनाविभागीय) :१०३६५०

गोमा कुँवर (पशुपंक्षी–विनाविभागीय) : ३१७०००

ओङ्दी शेर्पा (सामान्य प्रशासन–विनाविभागीय) : ७४१००

सीता गुरुङ (भौतिक पूर्वाधार तथा यातायात) : १८८४५०

सरिता प्रसाई (कृषि विकास) : १२६१००

शेषनाथ अधिकारी (शिक्षा) : ५७०००

नरबहादुर चन्द (वाणिज्य) : ३०३८५०

अब्दुल रज्जक गद्दी (खानेपानी तथा सरसफाइ) : १६९३००

तप्तबहादुर विष्ट (सञ्चार) : २७२८५०

कमलादेवी शर्मा (वन तथा भूसंरक्षण) : १२४१८०

मरसिंह पुन (सिंचाइ) : ५३७१५०

दिलमान पाख्रिन (कानुन) : ७२१७५

उदयशमशेर राणा (अर्थ) : २४०५०

डिल्लीबहादुर चौधरी (श्रम तथा रोजगार) : १४९५००

चम्पादेवी खड्का ( सहकारी तथा गरिवी निवारण) : १५०८५०

जनकराज चौधरी (स्थानीय विकास) : ११४४००

सुमित्रा थारु (पर्यटन तथा नागरिक उड्डयन) : २५९३००

यशोदाकुमारी लामा (भूमिसुधार तथा व्यवस्था) : ७८९५०

रेशमबहादुर लामा (उद्योग) : १२९६७०

कान्ता भटराई (महिला बालबालिका तथा समाजकल्याण) : १५२४००

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचारहरु

लोकप्रिय समाचारहरु