logo

bar

सन् २०१८ मा युरोपले प्राप्त गर्न सक्ने अवसर

एना पलासिओ | पुष ११, २०७४

सन् २०१८ मा युरोपले प्राप्त गर्न सक्ने अवसर – प्रत्येक डिसेम्बर महिनामा आगामी वर्षचाहिँ विभिन्न क्षेत्रमा सुधार आएर महत्वपूर्ण उपलब्धि हुने बहस चल्नु परम्परागत अवधारणा नै हुन पुगेको छ ।

तयारी नै नभएका विभिन्न घटनाक्रम हुने र सोको प्रतिक्रियास्वरूप हुने काम पनि कुनै तयारीविना नै हुनुका साथै विभिन्न मुद्दा सम्बोधन गर्न गहन संरचनागत तयारी हुनुपर्ने भएकाले युरोेपेली क्षेत्रमा गएका बाह्रै महिना अस्थिर हुने गरेको छ ।

अस्थिरताकै बीचमा नयाँ वर्ष सुरु हुन्छ र महत्वपूर्ण सुधार हुने अपेक्षा तथा बहस भइहाल्छ । तर, फेरि पनि युरोपेली क्षेत्रमा उस्तै प्रकृतिका घटनाक्रम दोहोरिहाल्छन् । नयाँ वर्षसँगै युरोपमा अल्पकालीन संकटका चुनौती आइपर्ने र त्यसको प्रतिक्रिया पनि तयारीविनै हुने गरेका छन् । के सन् २०१८ मा यस्तो परम्परा तोडिएला त ?

एना पलासिओ

यो प्रश्नको छोटो उत्तरमा आगामी वर्ष विगतको परम्परा तोडिन सक्ने सम्भावना छ । युक्रेनमाथि रुसले गरेको आक्रमण, वित्तीय अस्थिरता, क्रिमियाको युद्ध, आप्रवासी संकट, युरोपेली संघबाट बाहिरिने बेलायतको निर्णय र अमेरिकी राष्ट्रपतिको चुनावजस्ता विषयवस्तुले विगतको करिब एक दशक अवधिसम्म अन्तर्राष्ट्रिय सम्बन्धमा विभिन्न शंका उब्जिएका थिए । तर, तुलनात्मक रूपमा आगामी वर्ष केही स्थिरतातर्फ युरोप प्रवेश गर्न सक्ने देखिन्छ ।

युरोपेली क्षेत्रले आइपर्ने संकट सामना गर्नुपर्ने चुनौती मात्रै पनि छैन । न्यून आर्थिक वृद्धि भए पनि आर्थिक अवस्था भने केही स्थिर देखिएको छ ।

अझ महत्वपूर्ण विकसित अर्थतन्त्र भएका तीन ठूला युरोपेली राष्ट्रमा सन् २०१७ मा सम्पन्न भएको निर्वाचनले लोकप्रियतावादीको शक्ति बढ्ने सम्भावना अन्त्य भएको अवस्था छ । युरोपेली संघको पक्षमा रहेका इम्यानुअल म्याक्रोँ फ्रान्सको राष्ट्रपतिमा निर्वाचित भएका छन् ।

बृहत् युरोपेली संघलाई बृहत् बनाउनुपर्ने पक्षको शक्ति बलियो बन्दै गएको छ । यसका साथै युरोपेली संघबाट अलग हुने निर्णय गरेको भए पनि बेलायतले युरोपेली राष्ट्रबीचको आपसी समझदारीलाई निरन्तरता दिनुपर्नेमा जोड दिएकै छ ।

युरोपेली संघको एक महत्वपूर्ण सदस्य राष्ट्र इटालीमा मात्रै आगामी वर्ष नयाँ नेतृत्व आउने छ । इटालीबाहेक अन्य राष्ट्रको नेतृत्व आगामी वर्ष (सन् २०१८ मा) नै परिवर्तन नहुने अवस्था छ ।

राजनीतिक आधारमा नीतिनिर्माण गर्न र समृद्ध, सुरक्षित र बहुआयामिक भविष्य निर्माणका लागि आवश्यक आधार तय गर्ने खालका सुधार गर्न युरोपले अहिले सुनौलो अवसर प्राप्त गरेको छ ।

सन् २०१९ मा विभिन्न राजनीतिक चुनौती आइपर्ने संकेत देखिइसकेकाले आलटाल गर्ने धेरै समय बाँकी छैन । युरोपेली चुनाव, युरोपियन कमिसनको नयाँ नियुक्ति र बे्रक्जिट व्यवस्थापनको ‘डेडलाइन’समेत भएकाले सन् २०१९ मा विभिन्न राजनीतिक मुद्दा व्यवस्थापन गर्नुपर्ने अवस्था छ।

साधारण शान्तिसुरक्षा, व्यापार, शक्ति सञ्चय, सेङ्गेन राष्ट्रको सुधार र बैंकिङ युनियनलगायत अन्य विभिन्न क्षेत्रमा केही प्रगति हासिल गर्न युरोपेली राष्ट्रलाई आगामी वर्षका १२ महिना प्राप्त भएको छ । विशेष गरी तीन क्षेत्रमा गहन प्रयास हुन जरुरी छ । आन्तरिक सम्बन्ध सुधार, क्षेत्रीय सम्बन्ध सुधार र विश्वव्यापी सम्बन्ध सुधारका लागि आगामी वर्षभरको समय प्राप्त भएको छ ।

आगामी वर्ष डिजिटल प्रविधिको विकास गर्नु आवश्यक भएको छ । सन् २०१५ मा युरोपेली युनियनले ‘डिजिटल सिंगल मार्केट स्ट्राटेजी’ लन्च गरेको थियो । सो कार्यक्रमले युरोपेली क्षेत्रमा तीव्र गतिमा डिजिटल मार्केट विस्तार गर्ने लक्ष्य लिएको थियो ।

सो कार्यक्रममार्फत डिजिटल मार्केटमा उल्लेख्य प्रगति भएको पनि छ । मोबाइलको रोमिङ चार्ज खारेजको निर्णय राजनीतिक वृत्तिमा निकै लोकप्रिय पनि भएको थियो ।

तर, सो वातावरण सिर्जना भएकाले युरोपेली कम्पनीको क्षमता विस्तार हुनुका साथै अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धा पनि बढेको छ । सन् २०१९ को अन्त्यमा युरोपियन कमिसनका अध्यक्ष जिन क्लाउडे जंकरको कार्यकाल समाप्त हुने भएकाले पनि आगामी वर्ष युरोपेली राष्ट्रमा सुधारका काम गर्न धेरै सहज छ ।

चासोको दोस्रो विषय भनेको युरोपको अफ्रिकासँगको सम्बन्धको विषय पनि हो । यी दुवै राष्ट्रमा बसाइँसराइ चुनौतीको विषय बनेको छ । युरोपको अफ्रिका नीति निकै कमजोर रहेकाले पनि युरोपले सो नीतिमा केही परिमार्जन गर्नुपर्ने अवस्था छ ।

अफ्रिका नीति परिवर्तन गर्ने विषयमा लामो समयदेखि युरोपले प्रतिबद्धता जनाउँदै र सो प्रतिबद्धता तोड्दै पनि आएको छ ।

युरोपको अफ्रिका नीति परिवर्तन हुने र दुईपक्षीय सम्बन्ध विस्तारमा फलदायी परिणाम प्राप्त हुन सक्ने सम्भावना पनि उत्तिकै बलियो छ । युरोपले जबसम्म अवसर सिर्जना गर्दैन र अफ्रिका नीतिमा स्थिरता कायम गर्न सक्दैन, बसाइँसराइको दबाब परिरहनेछ ।

कुनै परोपकारी काम गर्नुभन्दा पनि समस्या समाधान गर्न चासो दिनु धेरै प्रभावकारी हुने प्रमाणित भएको छ ।

अफ्रिका नीतिमा सफलता प्राप्त गर्न युरोपेली राष्ट्रले विगतको जस्तो न्यून वर्गका मानिसलाई दमन गर्ने नीति परिवर्तन गरी सबैलाई समानतामूलक व्यवहार गर्न जरुरी छ । अफ्रिका तथा युरोपले एक भई काम गर्नुपर्छ । अल्पकालीन समाधान मात्र नखोजी समस्याको चुरो कारण पहिल्याउँदै दीर्घकालीन समस्या समाधानमा जोड दिन जरुरी छ ।

युरोपेली संघ र अफ्रिकी संघको सम्मेलन यी दुवै पक्षले के विषयमा ध्यान पुर्याउन जरुरी छ भने दुवै राष्ट्रको सम्बन्ध मजबुत बने मात्र निजी लगानी प्रोत्साहित हुन्छ । मुख्य प्रश्न भनेको युरोपले आफ्ना प्रतिबद्धता पूरा गर्छ वा गर्दैन, सो विषयमा समय दिन्छ वा दिँदैन र सम्बन्ध विस्तार गर्न तथा वास्तविक सुधार गर्न चाहन्छ वा चाहँदैन भन्ने हो ।

सन् २०१८ मा युरोपले गर्नुपर्ने अर्को काम भनेको विश्वव्यापी जलवायु परिवर्तन नीतिमा नेतृत्व गर्न सक्नुपर्छ । हालै सम्पन्न भएको जलवायु परिवर्तनसम्बन्धी सम्मेलनमा फ्रान्सेली राष्ट्रपति म्याक्रोँले सकारात्मक सन्देश प्रेषण गरेका थिए, तर अपेक्षित सकारात्मकचाहिँ पक्कै थिएनन् ।

विशेष गरी व्यापारी समुदायले अमेरिकाले जलवायु परिवर्तनसम्बन्धी सम्झौताबाट पछि हट्ने संकेत गरेपछि युरोपले अमेरिकाको स्थान लिनुपर्ने आवाज उठाउँदै आएको थियो ।

अमेरिका पछि हटेपछि भएको खाली स्थान युरोपले पूर्ति गर्नुपर्छ । जलवायु परिवर्तनसम्बन्धी पेरिस सम्झौताको नीतिनिर्माण गर्ने समय रहेकाले अहिलेको समय निकै महत्वपूर्ण छ । सो नीति कार्यान्वनयका लागि युरोपले तीव्रता दिनुपर्छ ।

यसो गर्न सके युरोपले पनि अन्य राष्ट्रबाट सहयोग प्राप्त गर्नेछ । सन् २००९ मा भएको जलवायु परिवर्तनसम्बन्धी कोपनहेगन सम्मेलनमा भएको गलत कदमलाई ध्यानमा राखी युरोपेली संघले काम गर्नुपर्नेछ । सो काम गर्न सके अन्य राष्ट्रसँगको सम्बन्धसमेत विकास हुने देखिन्छ ।

आगामी वर्ष अनपेक्षित घटना हुन पनि सक्छ । तर, तुलनात्मक रूपमा सन् २०१८ शान्तिपूर्ण नै हुने देखिन्छ । सन् २०१८ युरोपको प्रगतिका लागि निकै महत्वपूर्ण हुने देखिएको छ । यो अवसर खेर जान दिनुहुँदैन ।

एना पलासिओ स्पेनकी पूर्वपरराष्ट्रमन्त्री तथा विश्व बैंककी पूर्वउपाध्यक्ष हुन् ।

कपिराइट : प्रोजेक्ट सिन्डिकेट, २०१७
(नयाँ पत्रिका र प्रोजेक्ट सिन्डिकेटको सहकार्यमा)

तपाईको प्रतिक्रिया