logo

bar

कोर्टमा फर्कंदै सेरेना

एजेन्सी न्युयोर्क | पुष ११, २०७४

आमा बनेको चार महिनापछि आगामी साता दुबईमा हुने मैत्रीपूर्ण खेलबाट पूर्वविश्व नम्बर एक टेनिस खेलाडी सेरेना विलियम्स कोर्टमा फर्कने भएकी छिन् ।

सेरेनाले गत सेप्टेम्बरमा छोरी एलेक्सिस ओलम्पिया ओहानियनलाई जन्म दिएकी थिइन् । त्यस्तै, उनले नोभेम्बरमा एलेक्सिस ओहानियनसँग विवाह गरेकी थिइन् । सेरेनाले आफू कोर्टमा फर्कने दिनको प्रतीक्षामा रहेको भन्दै निकै खुसी भएको प्रतिक्रिया दिइन् ।

सेरेनाले भनिन्, ‘म निकै खुुसी छु, सेप्टेम्बरमा छोरी जन्मिएपछि म पहिलोपटक अबुधाबीको कोर्टमा खेल्दै छु, जसले ममा पुनः एकपटक नयाँ स्फूर्ति सिर्जना हुनेछ ।’ उनी जनवरीमा अस्ट्रेलियन ओपन जितेयता टेनिस कोर्टमा देखिएकी छैनन् । उनले यो मैत्रीपूर्ण प्रतिस्पर्धालाई अस्ट्रेलियन ओपनको तयारीका रूपमा समेत लिएकी छिन् ।

अस्ट्रेलियन ओपनको तयारी
विश्व टेनिसमा कीर्तिमानी २३औँ ग्रान्डस्लाम उपाधि जितेकी सेरेना यो वर्ष पनि अस्टे«लियन ओपनबाटै आफ्नो ग्रान्डस्लाम अभियान सुरु गर्ने सोचमा छिन् । अस्ट्रेलियन ओपन आगामी १५ जनवरीबाट सुरु हुँदै छ । सेरेनाले सातपटक अस्ट्रेलियन ओपन जितिसकेकी छिन् ।

दुबईमा आगामी ३० डिसेम्बरमा एक्जिबिसन खेल हुँदै छ । सेरेनाले सातौँ वरीयताकी लाटभियाकी जेलेना ओस्टापेन्कोविरुद्ध मैदानमा उत्रँदै टेनिस कोर्टमा पुनरागमन गर्ने जनाइएको छ ।

सेरेना अहिले २२औँ वरीयतामा छिन्, जसका कारण उनलाई अस्ट्रेलियन ओपनका लागि वाइल्डकार्डको आवश्यकता पर्ने छैन । उक्त प्रतियोगितामा राफेल नाडाल, मिलोस राओनिक र स्टेन वावरिन्कालगायत खेलाडीले भाग लिनेछन् ।

तपाईको प्रतिक्रिया