logo

bar
logo
Advertisment
SKIP THIS

काठमाडौं किङ्ग्स इपिएलबाट बाहिरियो

नयाँ पत्रिका काठमाडौं, १० पुस | पुष १०, २०७४

काठमाडौं किङ्ग्स इलाभेन एभरेष्ट प्रिमियर लिग (ईपिएल) क्रिकेटको समूह चरणबाट बाहिरिएको छ । सोमबारको पहिलो खेलमा बिराटनगर वारियर्सले काठमाडौंमाथि ८ रनले जित हात पार्यो । यससँगै विराटनगरको यात्रा अहिलेसम्म अपराजित रहेको छ । जितसँगै ५ खेलबाट १० अंक जोडेको विराटनगर समूह विजेता बनेको छ ।

१४८ रनको लक्ष्य पछ्याएको काठमाडौंलाई अन्तिम ओभरमा १७ रन चाहिएको थियो । तर, अन्तिम ओभरको पहिलो बलमा नै रामनरेश गिरीले सागर विमारको विकेट लिएका थिए । दोस्रो बलमा रन जोड्न नसकेका सिद्धान्त लोहनीले तेस्रो बलमा छक्का हान्दै काठमाडौंलाई जिततिर धकेलेका थिए ।

तर, चौथो बलमा उनी आउट भए । र, काठमाडौंले २० ओभरमा ९ विकेट गुमाएर १३९ रन मात्र बनाउन सक्यो । उसका लागि महारुफले ४२ रन बनाए भने नरेश बुढायरले ३० रन जोड्दा अन्य ब्याट्सम्यान चल्न सकेनन् ।

बिराटनगरका अंशुमान रथले ३ विकेट लिँदा बसन्त रेग्मी र रामनरेश गिरीले २, २ विकेट लिएका थिए । पहिले ब्याटिङ गरेको विराटनगरले २० ओभरमा ७ विकेट गुमाएर १४७ रन बनाएको थियो ।

ओपनर आसिफ शेख शुन्यमा आउट भएपछि प्रेसरमा आएको बिराटनगरलाई अंशुमान रथ र बाबर हायातको साझदारीले आत्मविश्वास जगाइदिएको थियो । उनीहरुले ७३ रनको साझेदारी गरे । अंशुमान ३२ रनमा आउट भए । पारस खड्कासँग २९ रनको साझेदारी गरेका बाबर व्यक्तिगत ६७ रनमा आउट भए ।

पारस २६ रनमा आउट भए, जतिबेला टिमको स्कोर १३३ रन थियो र ११ बल बाँकी थियो । तर, विराटनगरले १४ रन जोड्न थप ३ विकेट गुमायो ।

तपाईको प्रतिक्रिया