logo

bar

बैंकमा ५० प्रतिशत निक्षेप संस्थागत, ब्याजदर बढाउन बार्गेनिङ गर्दै

कृष्ण रिजाल काठमाडाैँ | पुष १०, २०७४

संस्थागत निक्षेपकर्ताले तरलता अभावको मौका छोप्दै ब्याजदर बढाउन बैंक तथा वित्तीय संस्थासँग बार्गेनिङ गर्न थालेका छन् । बजारमा लगानीयोग्य पुँजीको अभाव हुन थालेपछि संस्थागत निक्षेपकर्ताले म्याचोर भएको निक्षेपको ब्याजदर बढाउन बार्गेनिङ सुरु गरेका हुन् । मौकाको फाइदा उठाउने संस्थागत निक्षेपकर्ताको प्रवृत्ति फेरि सुरु भएको बैंकरहरू बताउँछन् ।

‘बजारमा तरलता कम हुन थालेको संकेत देखेपछि संस्थागत निक्षेपकर्ताले रकम होल्ड गर्ने तथा राष्ट्र बैंकमा राख्ने गरेर बार्गेनिङ गरिरहेका छन्,’ एक वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतले भने, ‘यस्ता संस्थाहरूले बजारलाई डोमिनेट गर्ने गरेका छन् ।’ अहिले संस्थागत निक्षेपको ब्याज साढे १२ प्रतिशतनजिक पुगिसकेको छ ।

बैंक तथा वित्तीय संस्थाको कुल निक्षेपमा करिब ५० प्रतिशत हिस्सा संस्थागत निक्षेपकर्ताको रहेको छ । आर्मी, प्रहरी, नागरिक लगानी कोष, कर्मचारी सञ्चय कोषलगायतका निक्षेपकर्ताले बढाबढ गरेर ब्याज लिन्छन् । यी संस्थाहरूले म्याच्योर भएको निक्षेप नवीकरणका क्रममा बजारलाई प्रभावित पर्ने गरी ब्याजदरको बार्गेनिङ गर्ने गरेको बैंकहरूको गुनासो छ ।

‘संस्थागत निक्षेपकर्ताले बैंकलाई दबाब दिन टेन्डर गर्दा कम कबोल गर्नेलाई निक्षेप नदिने, रकम पार्किङ गर्ने तथा राष्ट्र बैंकमा राख्ने हर्कत गर्छन्,’ एक पूर्वबैंकरले भने, ‘जबजब तरलतामा संकुचन आउँछ तब यस्ता संस्थाहरूले अनौपचारिक रूपमा बैंकलाई ब्याज बढाउन दबाब दिन्छन् ।’

आधा निक्षेप संस्थागत

चालू आर्थिक वर्षको पहिलो चार महिनामा बैंक तथा वित्तीय संस्थामा २४ खर्ब ८६ अर्ब १५ करोड ७ लाख रुपैयाँ निक्षेप संकलन भएको छ । यसमा व्यक्तिगत निक्षेप १३ खर्ब २० अर्ब ९७ करोड ७३ लाख रुपैयाँ रहेको छ । बाँकी निक्षेप संस्थागत नै हो । संस्थागत निक्षेपमध्ये कर्मचारी सञ्चय कोषको ४९ अर्ब ४८ करोड ५७ लाख, नागरिक लगानी कोषको ६० अर्ब ६१ करोड ११ लाख र सरकारी संस्थानको २ खर्ब ४० अर्ब ८ करोड रुपैयाँ रहेको छ ।

बढ्दै ब्याजदर

अहिले बैंकहरूले बचतमा साढे ८ प्रतिशतसम्म र मुद्दती निक्षेपमा ११ प्रतिशतसम्म ब्याज दिन थालेका छन् । त्यस्तै, संस्थागत निक्षेपमा ब्याजदर १२.५० सम्म पुगिसकेको छ । यसअघि राष्ट्र बैंकले समेत ब्याज बढ्न सक्ने संकेत गरेको थियो ।

राष्ट्र बैंकको एक अध्ययन प्रतिवेदनमा ‘वित्तीय क्षेत्रतर्पm हेर्दा आर्थिक गतिविधि विस्तार भएसँगै कर्जा लगानीको माग बढ्न गई अधिक तरलता कम हुँदै जाने तथा ब्याजदरमा केही चाप पर्ने संकेत देखिएको’ उल्लेख गरिएको थियो ।

बजारमा तरलता कम हुँदै जाँदा निक्षेप तानातानको स्थिति आएको र ब्याजसमेत बढ्दै गएको हो । यही निक्षेप तानातानको अवस्थामा संस्थागत निक्षेपकर्ताले फाइदा उठाउने गरेको बैंकरहरू बताउँछन् ।

फेरि तरलता संकुचन

असारमा सरकारले बढाएको खर्चका कारण बजारमा तरलता बढेको थियो । तर, अहिले खुम्चँदै गएको छ । राष्ट्र बैंकका अनुसार अहिले वित्तीय प्रणालीमा ४५ अर्ब रुपैयाँ अधिक तरलता रहेको छ । पछिल्लो समय निक्षेपको तुलनामा कर्जाको माग उच्च दरमा बढेको छ ।

यही समयमा एकातिर सरकारले खर्च बढाएको छैन भने अर्कोतिर निर्वाचनमा बजारमा गएको पैसा पनि वित्तीय प्रणालीमा आएको छैन । जसले गर्दा बजारमा अहिले पुनः लगानीयोग्य तरलताको अभाव देखिन थालेको हो । अझ पुस मसान्तमा सरकारी खातामा ५०–६० अर्ब रुपैयाँ राजस्व जाने भएकाले तरलतामा थप संकुचन आउने निश्चित रहेको सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहाल बताउँछन् ।

नियममा बसे समस्या आउँदैन : राष्ट्र बैंक

संस्थागत निक्षेपले समग्र बजारको तरलता तथा ब्याजदरमा त्यति धेरै प्रभाव नपार्ने राष्ट्र बैंकका प्रवक्ता नारायणप्रसाद पौडेल बताउँछन् । तर, निश्चित बैंक तथा वित्तीय संस्थामा भने त्यसको असर देखिने उनको भनाइ छ । ‘राष्ट्र बैंकले संस्थागत निक्षेपकर्ताको बजारमा हस्तक्षेप नहोस् भनेर संस्थागत निक्षेपमा क्याप लगाएको छ,’ उनले भने, ‘संस्थागत निक्षेपलाई ४० प्रतिशतमा झार्नुपर्ने हुन्छ ।’ यस्तो व्यवस्था कार्यान्वयन भए समस्या नआउने उनको भनाइ छ ।

तपाईको प्रतिक्रिया