logo

bar

‘राष्ट्रसंघको नयाँ नाकाबन्दीले युद्ध निम्त्याउँदै छ’

एजेन्सी प्योङयाङ | पुष १०, २०७४

‘राष्ट्रसंघको नयाँ नाकाबन्दीले युद्ध निम्त्याउँदै छ’ – उत्तर कोरियाले संयुक्त राष्ट्रसंघले प्योङयोङमाथि लगाएको प्रतिबन्धको विरोध गरेको छ । बारम्बारको आणविक परीक्षणपछि राष्ट्रसंघले उत्तर कोरियामाथि लगाएको ताजा प्रतिबन्धको प्योङयाङले विरोध गरेको हो । राष्ट्रसंघले लगाएको प्रतिबन्धलाई उसले ‘युद्धको कार्य’ बताएको छ ।

‘सार्वभौमसत्तामाथि धावा’

नाकाबन्दीले आफ्नो देशको सार्वभौमिकता र स्वतन्त्रतामाथि नै धावा बोलेको र कोरियाली प्रायद्वीपमा युद्ध भड्काएको प्योङयाङले आरोप लगाएको छ ।

उत्तर कोरियाली विदेश मन्त्रालयले आइतबार एक प्रेस विज्ञप्ति प्रकाशन गरी नाकाबन्दीले थप हिंसा मच्चाउने चेतावनी दिएको छ ।

पछिल्लो नाकाबन्दीले उत्तर कोरियामा अन्य मुलुकबाट ९० प्रतिशत तेल निर्यातमा रोक लागेको छ । उत्तर कोरियालाई अप्ठेरो पर्ने गरी अन्य प्रतिबन्ध लगाउनेसमेत तयारी भएको छ । उत्तर कोरियामाथि यसअघि पनि अमेरिका र इयूले विभिन्न सामान निर्यातमा प्रतिबन्ध लगाउँदै आएका छन् ।

तेस्रो चरणको नाकाबन्दी

उत्तर कोरियाका ब्यालिस्टिक क्षेप्यास्त्रका विरोधमा राष्ट्रसंघको सुरक्षा परिषद्ले नयाँ प्रतिबन्ध
लगाएको थियो । परिषद्का कुल १५ सदस्य राष्ट्रले सर्वसम्मत रूपमा नाकाबन्दी लगाएका थिए ।

पछिल्लो नाकाबन्दी उत्तर कोरियामाथि लगाइएको यस वर्षको तेस्रो चरणको नाकाबन्दी हो । यसअघि पाँच सातापहिले उत्तर कोरियाविरुद्ध अमेरिकाको प्रस्तावमा संयुक्त राष्ट्र«संघले उत्तर कोरियाको अर्थतन्त्रलाई प्रत्यक्ष प्रभाव पार्ने हिसाबले नाकाबन्दी गरेको थियो ।

यसअघि कस्तो प्रतिबन्ध ?

आणविक तथा ब्यालेस्टिक क्षेप्यास्त्रका कार्यक्रम रोक्न गत महिना उत्तर कोरियामाथि अमेरिकाले प्रतिबन्ध लगाएको थियो । प्योङयाङसँग व्यापार गर्ने पारवहन व्यापार र चिनियाँ कम्पनीहरूलाई लक्षित गरी प्रतिबन्ध लगाइएको थियो ।

यसै वर्षको सेप्टेम्बर ३ मा उत्तर कोरियाले आणविक परीक्षणपछि राष्ट्रसंघले नाकाबन्दी लगाएको थियो । राष्ट्रसंघले उत्तर कोरियामाथि तेल आयातमा रोक लगाउनुका साथै धागोजन्य वस्तुको निर्यातमा प्रतिबन्ध लगाएको थियो ।

यी सामग्रीको आयात र निर्यातबाट प्राप्त रकमले अप्रत्यक्ष रूपमा प्योङयाङको आणविक कार्यक्रमलाई सहयोग पु¥याएको राष्ट्र«संघले ठहर गरेको थियो ।

निसर्त वार्ता

यसअघि अमेरिकाले उत्तर कोरियासँग निसर्त वार्ता गर्न तयार रहेको जनाएको थियो । अमेरिकी विदेशमन्त्री रेक्स टिलर्सनले दुई साताअघि सो प्रस्ताव गरेका थिए । तर, उत्तर कोरियाले अहिलेसम्म कुनै प्रतिक्रिया जनाएको छैन ।

चीनले उत्तर कोरियासँग शान्तिवार्ता गरेर प्योङयाङका आणविक कार्यक्रम रोक्नुपर्ने बताउँदै आएको छ । तर, उत्तरका आणविक कार्यक्रम रोक्न चीनले हस्तक्षेपकारी भूमिका खेल्नुपर्ने अमेरिकाले जोड दिँदै आएको छ ।

एक साताअघि रासियाली राष्ट्रपति भ्लादिमिर पुटिनसँगको टेलिफोन वार्तामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाका आणविक गतिवधि रोक्न रसियाले पहल गर्नुपर्ने बताएका थिए ।

‘डटेर प्रतिकार गर्छौं’

उत्तर कोरियामाथि पूर्ण रूपमा नाकाबन्दी लगाउने कदमस्वरूप राष्ट्र«संघले नयाँ प्रतिबन्ध लगाएको उत्तर कोरियाली समाचार संस्था केसिएनएले जनाएको छ ।

अमेरिकी पहलमा लगाइएको नाकाबन्दीको डटेर जवाफ फर्काउने पनि सो समाचार संस्थाले चेतावनी दिएको छ ।

पछिल्लो नाकाबन्दीले कोरियाली प्रायद्वीपको शान्ति र स्थिरतामा असर गर्ने उत्तर कोरियाको दाबी छ । ‘उत्तर कोरियाको आणविक शक्ति बन्ने प्रयासमा अमेरिका निरन्तर बाधक बनिरहेको छ ।

उत्तर कोरिया अमेरिकाको आणविक धम्कीलाई निस्तेज पार्न आगामी दिनमा अझै सशक्त ढंगले अगाडि बढ्नेछ,’ केसिएनएको विज्ञप्तिमा भनिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचारहरु

लोकप्रिय समाचारहरु