logo

bar
logo
Advertisment
SKIP THIS

एजेन्डा बुझाउन नसक्दाको परिणाम

दिलथान गिरी | पुष १०, २०७४

एजेन्डा बुझाउन नसक्दाको परिणाम : लोकतान्त्रिक प्रतिस्पर्धामा हार र जित स्वाभाविक हुन्छ । जित्नेले मात्तिनु र हार्नेले आत्तिनु हुँदैन । जनादेशलाई हामीले सम्मान गर्नुपर्छ । जित्नेले जनताको चाहना र भावना पूरा गर्नका निम्ति कार्यकालभरि भगीरथ प्रयत्न गर्नुपर्छ । हार्नेले पनि कहाँनेर कमी–कमजोरी भयो भन्ने समीक्षा गरेर आफ्नो गल्ती सच्याई अगाडि बढ्नुपर्छ ।

प्रजातन्त्रमा जनता सबैभन्दा ठूलो शक्तिको स्रोत हुन्छ । प्रजातन्त्रमा जनताको निर्णय नै अन्तिम हुने हुँदा सबैले निर्वाचन परिणामलाई पाठका रूपमा ग्रहण गरेर अगाडि बढ्नुपर्छ । हामीले हाम्रा गतिविधि र कामकारबाहीबाट जनतालाई खुसी बनाउन सकेका रहेनछौँ भन्ने अहिलेको परिणामले देखाएको छ । यसलाई शिक्षाका रूपमा लिएर कमी–कमजोरी सच्याउँदै पाँच वर्षमा फेरि जनतामाझ जानुपर्छ ।

 

हामीले जनतालाई ठीक ढंगसँग बुझाउन नसक्नुको परिणाम हो यो निर्वाचनको नतिजा । हामीले निर्वाचनका वेला हाम्रा एजेन्डा जनतालाई बुझाउन सकेनौँ । विपक्षीले भ्रम छरे, हामीले त्यसलाई चिर्न सकेनौँ ।

 

अस्थिरताको यात्रा रोकौँ : आजका दिनमा सबै मिलेर प्रजातन्त्रलाई संस्थागत गर्नुपर्छ । परिवर्तनलाई आत्मसात् गरेर अगाडि बढ्नुपर्छ । परिवर्तनलाई जनताले महसुस गर्न पाउनुपर्छ भन्ने मान्यतासाथ हामी अगाडि बढेका छौँ । प्रतिस्पर्धी दलका रूपमा हामी अगाडि बढ्यौँ । हामीले लामो समयदेखि प्रजातन्त्रलाई स्थापित गर्न सकेनौँ । २००७ सालमा हामीले प्रजातन्त्रका लागि आन्दोलन सुरु ग¥यौँ । धेरै सहिद पनि भए ।

०१५ सालमा कांग्रेसले दुईतिहाइ बहुमत ल्यायो । त्यो लामो समयसम्म टिक्न सकेन । त्यसले फेरि नयाँ परिस्थिति सिर्जना भयो । मुलुकमा निर्दलीय व्यवस्था आयो । फेरि प्रजातान्त्रिक व्यवस्थामा हामी आयौँ । हामी लामो समयसम्म प्रजातन्त्रकै लागि लडाइँ लडिरह्यौँ । तर, प्रजातन्त्रलाई हामीले ठोस रूपमा कार्यान्वयन गर्न सकेनौँ ।

हामीसँगसँगै स्वतन्त्र भएका मुलुक चीन र भारत हामीभन्दा धेरै अगाडि बढेका छन् । आजका कतिपय विकसित मुलुक विगतमा स्वतन्त्र पनि थिएनन् । कैयौँ मुलुक विदेशी औपनिवेशिक थिए । तर, हाम्रा पुर्खाले हामीलाई स्वतन्त्र बनाइराखे ।

विदेशी दासत्व स्वीकार गरेका मुलुक त्यसबाट मुक्त भएर विकासमा फड्को मार्दासमेत हामीचाहिँ पछाडि नै परिराख्यौँ । झन्झन् गरिबीको रेखामुनि झरिरह्यौँ । जनतालाई सुख र समृद्धि दिनुको सट्टा ठीकविपरीत बाटोमा गयौँ हामी । युवालाई देशभित्र थेग्न नसक्ने अवस्था बनायौँ ।

उद्योगधन्दा बढाउनुपर्नेमा भएकालाई पनि कौडीको मोलमा बेच्ने काम गर्‍यौँ । १० वर्षको युद्धले आक्रान्त भएको मुलुकमा फेरि शान्तिको यात्रा अगाडि बढायौँ । अहिले पनि हामी राजनीतिक अस्थिरताबाट मुक्त भएका छैनौँ ।

हामीले जनतामाथि बेइमानी गरेका छौँ । कसैले इमानदारीसाथ आत्मसात् गरोस् या नगरोस्, हामी इमानदार होइनौँ । नेपालका कुनै पनि राजनीति दलका नेताले इमानदारीपूर्वक काम गरेका छैनन् भन्ने यो एउटा दृष्टान्त हो ।

संविधानसभाबाट संविधान निर्माण गरेपछि सबै बेथिति, अराजक परिस्थिति, भ्रष्टाचार, व्यभिचार, अशान्ति अन्त्य हुन्छ भनिएको थियो । सबै खुसी हुन्छन्, अब दुःखका दिन आउँदैनन् भनेर हामीले सपना बाँड्यौँ । संविधानसभाबाट संविधान जारी गरेर कार्यान्वयनको अन्तिम समयमा हामी आइपुगेका छौँ ।

अहिले उत्साहसाथ वाम गठबन्धनको पक्षमा जनादेश आएको छ । जनादेश आइसकेपछिको परिस्थिति हेर्दा फेरि पनि जनता निराश हुने अवस्था छ । ताजा जनादेश आइसकेपछि सरकार बन्नुभन्दा पहिले नै फेरि विगतको जस्तै फोहोरी खेलमा हामी अल्झने हौँ कि भन्ने आशंका राजनीतिक वृत्तमा देखिएका छन् । यो गलत छ, गम्भीर आपत्तिजनक पनि छ ।

जनतामा उत्साह आउनुको साटो फेरि निराशा आउने, भोलि फेरि ठूलो दुर्घटना पो हुने हो कि भन्ने खालको सन्देश हामीले दिन खोजिरहेका छौँ । अहिलेको संविधान कांग्रेस, एमाले र माओवादीले मिलेर बनाएका हुन् । हामी त विपक्षमा मतदान गरेका दल हाैँ ।

संविधानप्रति विमति राखेर मधेसकेन्द्रित दल आन्दोलनमा गए । हामीचाहिँ मुलुकमा जनताको चाहनाअनुसार शान्ति हुन्छ, समृद्धिको बाटोमा मुलुक अगाडि बढ्छ भने हाम्रा एजेन्डा सम्बोधन नभए पनि आलोचनात्मक रूपमा समर्थन गर्नुपर्छ भनेर आयौँ ।

संविधान जारी गर्न एक ठाउँमा रहेका दल संविधान कार्यान्वयनका वेला बोल्दा पनि नबोल्ने स्थितिमा पुगे । कस्तो संविधान बनाए उनीहरूले ? संविधानप्रति यति छिटै अपनत्व घट्नु, संविधानको मर्म र भावना बुझ्न नसक्नु दुर्भाग्य हो ।

राष्ट्रपतिले अड्काउनु हुँदैन : यो सरकार चुनावी सरकार हो । संविधानले दिएको दायित्व पूरा गर्नु यसको कार्यभार हो । माघ ७ गतेको डेडलाइन छ । त्यस अवधिमा स्थानीय तह, प्रदेश, प्रतिनिधिसभा र राष्ट्रिय सभा निर्वाचन सम्पन्न गरिसक्नुपर्छ ।

हामीले तीनवटा प्रक्रिया पूरा गरिसक्यौँ, अब एउटा मात्र बाँकी छ । त्यो प्रक्रिया पूरा गर्न राष्ट्रिय सभा गठनसम्बन्धी अध्यादेश सरकारले राष्ट्रपतिसमक्ष पेस गरिसकेको छ । तर, अध्यादेश अनिर्णयको बन्दी भइरहेको छ ।

जसले गर्दा जनतामा चरम असन्तुष्टि र आशंका उत्पन्न भएको छ । यी सबै घटनाक्रम हेर्दा अहिलेको संविधानले पनि जनतालाई केन्द्रबिन्दु नबनाउने पो हो कि भन्ने आशंका उब्जेको छ । राष्ट्र र जनतालाई केन्द्रबिन्दु बनाइएन र यस संविधानले पनि विगतको जस्तै निरन्तरता पाउने हो भने हामीले परिवर्तनको आभास जनतालाई दिन सक्दैनौँ ।

दलका नेताले यसलाई गम्भीरतापूर्वक लिनुपर्छ । अहिले नै आकाश खसिसकेको छैन । जनादेश आइसकेको छ । जनताले जुन आदेश दिएका छन्, सरकार त्यहीअनुसार हुन्छ । तर, प्रक्रियाचाहिँ पूरा गर्न दिनुपर्छ ।

कमजोरी सच्याउनुपर्छ : हामीले उठाएका मुद्दामा हामी पूर्ण रूपमा असफल भएजस्ता देखिएका छौँ । तर, जनताको चाहना होइन, जनताले हाम्रा मुद्दालाई अविश्वास गरे भन्ने पक्षमा म छैन । हामीले जनतालाई ठीक ढंगसँग बुझाउन नसकेको परिणाम हो यो । हामीले निर्वाचनका वेला हाम्रा एजेन्डा जनतालाई बुझाउन सकेनौँ ।

विपक्षीले भ्रम छरे, हामीले त्यस्ता भ्रमलाई चिर्न सकेनौँ । संविधान जारी गर्नुभन्दा अगाडि हामीले जनताको विश्वास जित्यौँ । अत्यन्त प्रतिकूल अवस्थामा समेत जनताले हामीलाई विश्वास गरे । चौथो शक्तिको रूपमा स्थापित गरे ।

संविधान बनिसकेपछि हामीले खेलेको भूमिकाप्रति जनतामा असन्तुष्टि आयो । त्यसकै परिणाम हो यो, त्यसकारण हामी सच्चिनुपर्छ । हामीले जनतासँग माफी माग्नुपर्छ, कमी—कमजोरी सच्याउनुपर्छ, अब गल्ती गर्नेछैनौँ भनेर जनताबीच कबोल गर्नुपर्छ । ९४ प्रतिशत जनताको आस्थाको केन्द्र रहेको हिन्दू राष्ट्रको विकल्प छैन । हामी आफ्ना एजेन्डाबाट विचलित हुनेछैनौँ ।

भ्रम चिर्न सकेनौँ : जनतालाई एजेन्डा बुझाउन सकेको भए हामी पहिलो शक्ति हुने थियौँ । त्यो ढंगले हिँड्नुपर्ने थियो, कहीँ न कहीँ हामी चुक्यौँ । त्यो शक्ति आर्जन गर्न हामी मात्र पर्याप्त थिएनौँ । समान चरित्र, समान उद्देश्य, समान विचार बोकेका दल मिल्नुपर्ने थियो । त्यही आधारमा हामीले पार्टी एकता ग¥यौँ । त्यसले एउटा तरंग ल्याएको थियो । जनतामा उत्साह थपिएको थियो । तर, हामीले त्यसलाई धेरै दिनसम्म कायम राख्न सकेनौँ ।

एजेन्डाको विषयमा जनतालाई बुझाउनुपर्ने वेला विभाजित भयौँ । निर्वाचनको मुखमा फुटको पीडा बोकेर पार्टी हिँड्नुपर्‍यो । निर्वाचनको मुखमा सरकारबाट बाहिरिने र भित्रिने फोहोरी गतिविधि पनि हामीले गर्‍यौँ । त्यसकारण हाम्रा एजेन्डालाई जनताले व्यक्तिगत लाभका लागि मात्रै रहेछ भन्ने हिसाबले बुझे । विपक्षीले तिललाई पहाड बनाइदिए ।

यो अवस्थामा निर्वाचनमा जाँदा अहिलेको स्थिति भोग्नुपरेको हो । जनताले ठीक ढंगबाट अहिले हामीलाई जसरी दण्डित बनाएका छन् । यसलाई जनताले सकारात्मक रूपमा दिएको निर्देशनको रूपमा बुझ्नुपर्छ । जनताले दिएको शिक्षालाई आगामी दिनमा करेक्सन गरेर जनतामाझ जानुपर्छ । आगामी दिनमा हामी जनताको विश्वास जितेर पुनः अगाडि बढ्नुपर्छ ।

(सहरी विकासमन्त्री गिरी राप्रपाका नेता हुन्)

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचारहरु

लोकप्रिय समाचारहरु