logo

bar

तातोपानी नाका खुलाउन आग्रह

रामकृष्ण थापा/नयाँ पत्रिका सिन्धुपाल्चोक, ९ पुस | पुष ०९, २०७४

तातोपानी नाका सञ्चालन सम्बन्धमा नेपाल र चिनियाँ अधिकारीबीच छलफल भएको छ । शुक्रबार दिउँसो चीनको खासामा भएको सीमासुरक्षा बैठकमा चिनियाँ राजनीतिक कमिस्नर कर्णेल वाङ ज्याङ जुले संयुक्त सुरक्षा संयन्त्रसम्बन्धी एजेन्डा प्रस्तुत गरेका थिए ।

तर, गृहको आदेशबेगर नयाँ सम्झौतामा हस्ताक्षर नहुने भनेर नेपाली अधिकारीले स्पष्ट पारेको प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले जानकारी दिए ।

 

‘उहाँहरूले संयुक्त सुरक्षा संयन्त्रबारे बैठकमा प्रस्ताव राख्नुभयो,’ नियमित रूपमा दुई देशबीच सीमासुरक्षा बैठक बसेकाले हामीले त्यस सम्बन्धमा हस्ताक्षर गर्ने कुरै भएन,’ तामाङले भने, ‘गृहको आदेशविना त्यसो गर्नु हुँदैन भनेर हामीले बैठकमा आफ्ना तर्क राख्यौँ ।’

विगतमा न्यालम र सिन्धुपाल्चोक जिल्लाको स्थानीय प्रशासनबीच भएको सम्झौता कार्यान्वयन गर्ने गरी बैठक सम्पन्न भएको तामाङले बताए ।

तामाङका अनुसार संयुक्त सुरक्षा संयन्त्रमा समयअनुसार नवीकरण गर्न आवश्यक भएको चिनियाँ पक्षको भनाइ छ ।

सीमामा हुने अपराध, तस्करी र चीनविरोधी गतिविधि नियन्त्रणलाई अझै प्रभावकारी बनाउने गरी बैठकमा छलफल भएको उनले बताए । शनिबार चिनियाँ अधिकारीसँगै तिब्बतको न्यालम जिल्लामा क्षेत्रीय प्रशासकलाई भेटेर तातोपानी नाका खुलाउन अनुरोध गरेको तामाङले जानकारी दिए ।

‘बेइजिङको आदेशविना नाका खुल्दैन र त्यसबारे आजसम्म स्वशासित क्षेत्र तिब्बत सरकारलाई कुनै जानकारी आएको छैन,’ चिनियाँ पक्षको जवाफ उद्धृत गर्दै तामाङले भने ।

बैठकमा नेपालबाट प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा प्रमुख भन्सार अधिकृत, अध्यागमन अधिकारी, नेपाली सेना, जनपथ र सशस्त्र प्रहरीको जिल्लास्थित बैठकमा भाग लिएका थिए ।

राजनीतिक कमिस्नर जुसहित अध्यागमन, क्वारेन्टाइन, जनमुक्ति सेना र प्रहरीका उच्च पदाधिकारी चिनियाँ पक्षका तर्फबाट बैठकमा सहभागी थिए ।

पूर्वाधार तयारी अवस्थामा
भूकम्पपछि क्षतिग्रस्त सीमावर्ती क्षेत्रका पूर्वाधारहरूको पुनर्निर्माण भइसकेको छ । कोदारी राजमार्गको बाह्रबिसेदेखि लिपिङसम्म र पारि मितेरीपुलदेखि तिब्बतको न्यालमसम्म आवतजावत गर्ने सडक साबिकझैँ बनिसकेको छ ।

स्वशासित क्षेत्र तिब्बतको न्यालमबाट सीधै तातोपानीको लार्चामा व्यापारिक सामान झार्ने रणनीति अपनाएको चीनले आवश्यक भौतिक पूर्वाधार तयार पारेको जनाएको छ । चीनले न्यालममा भन्सार, अध्यागमन र क्वारेन्टाइन कार्यालयसमेत निर्माण गरिसकेको छ ।

चिनियाँ अधिकारीसँग कुरा भइरहेको छ : सापकोटा
सिन्धुपाल्चोक जिल्लाको प्रतिनिधिसभा क्षेत्र नम्बर १ बाट निर्वाचित भएका सांसद अग्नि सापकोटाले नाका खुलाउन चिनियाँ अधिकारी सकारात्मक रहेको बताएका छन् । उनले यस विषयमा चिनियाँ अधिकारीहरूसँग कुराकानी भइरहेको बताए ।

‘चुनावअघि र पछि पनि नेपालस्थित चिनियाँ राजदूत यु होङ, तिब्बत सरकार प्रमुख र अरू अधिकारीसँग मेरो सघन छलफल भइरहेको छ,’ उनले भने, ‘उहाँहरू नाका सञ्चालन गर्न सकारात्मक हुनुहुन्छ । नयाँ सरकार गठनपछि नाका खोल्नेबारे निर्णायक कुराकानी गर्ने बताउनुभएको छ ।’

विजय र्‍यालीमा तातोपानी पुगेका वेला उनले सीमाक्षेत्रका स्थानीयसँग नयाँ सरकार बनेपछि नाका खुलाउने प्रतिबद्धता व्यक्त गरेका थिए ।

निर्वाचन क्षेत्र नम्बर १ ‘क’ का प्रदेश सभा सदस्य अरुण नेपालले पनि नाका खुल्ने सम्भावना बढेको बताएका छन् । खासासँग जोडिएको भोटेकोसी–२ का अध्यक्ष दीपेन्द्र श्रेष्ठसँग पनि जाङ्मु पोर्टका चिनियाँ अधिकारीले नाका छिट्टै सञ्चालनमा आउने बताएका छन् ।

पटक–पटकको छलफल
नाका खुलाउन नेपाल–चीन सरकारका उच्च अधिकारीबीच पटक–पटक काठमाडौंमा छलफल भएको थियो । पूर्वप्रधानमन्त्री प्रचण्डसँग भएको भेटमा चिनियाँ उपविदेशमन्त्री ली छिपाओले तातोपानी नाका छिट्टै खुल्ने बताएका थिए ।

नेपालका लागि चिनियाँ राजदूत यु हङले पटक–पटक नाका चाँडै खुल्ने बताउँदै आएकी छिन् । भूकम्प र भोटेकोसीको बाढीले क्षतिग्रस्त सडकको पुनर्निर्माण सकेको चिनियाँ रेलवे कन्स्ट्रक्सन कम्पनी लिमिटेडले नेपाल सरकारलाई सडक हस्तान्तरण गरे पनि ८ साउनमा लार्चा पुल भाँचिएपछि बाह्रबिसे–लिपिङ सम्पर्कविच्छेद भएको ६ महिना बितेको छ ।

नाका खुलाउन दुई देशका अधिकारीबीच भएको यो सातौँ बैठक हो । भूकम्प गएको नौ महिनापछि गत वर्ष ६ पुसमा सिन्धुपाल्चोकको सदरमुकाम चौताराबाट यस किसिमको बैठक सुरु भएको थियोे ।

तत्कालीन प्रमुख जिल्ला अधिकारी अन्तरबहादुर सिलवालको टोलीसँग चिनियाँ अधिकारीले ६ पटक बैठक गरेको थियो । नेपाल–चीन सरकारी अधिकारीबीच सदरमुकाम चौतारामा एक, नयाँपुलस्थित द लास्ट रिसोर्टमा दुई र अरू चार बैठक खासा क्षेत्रमा बसेको हो ।

तपाईको प्रतिक्रिया