logo

bar

यात्रुबस नदीमा खस्दा ३२ को मृत्यु

एजेन्सी नयाँदिल्ली, ९ पुस | पुष ०९, २०७४

भारत विश्वमै धेरै सडक दुर्घटना हुने देशमध्ये एक हो, भारतमा सडक दुर्घटनामा हरेक वर्ष करिब डेढ लाखको मृत्यु हुने गरेको छ

भारतमा एक यात्रुबाहक बस दुर्घटना हुँदा कम्तीमा ३२ यात्रुको मृत्यु भएको छ । शनिबार भएको दुर्घटनामा डेढ दर्जन यात्रु घाइते भएका छन् । राजस्थान राज्यको मधोपुर जिल्लाको दुबीको बनास नदीमा सो बस दुर्घटना भएको हो । तीव्र गतिमा गुडिरहेको बस एक्कासि चालकले नियन्त्रण गुमाउँदा सडकबाट ३० मिटरमुनि रहेको नदीमा खसेको राजस्थानका एक वरिष्ठ प्रहरी अधिकारीले बताएका छन् ।

बसमा ५० जना यात्रु सवार थिए । दुर्घटनामा केही यात्रु हराइरहेका छन् भने केहीको शव नदीबाट बाहिर निकालिएको छ । घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये केहीको अवस्था चिन्ताजनक रहेकाले मृतकको संख्या अझै बढ्ने अनुमान गरिएको छ ।

अगाडि रहेको अर्को यात्रुबाहक बसलाई उछिन्न खोज्दा चालकले नियन्त्रण गुमाएको प्रारम्भिक अनुसन्धानमा देखिएको छ । घटनास्थल राजस्थान राज्यको राजधानी जयपुरदेखि एक सय ६० किलोमिटर टाढा पर्दछ ।

भारत विश्वमै धेरै सडक दुर्घटना हुने देशमध्येको एक हो । सडक दुर्घटनाकै कारण भारतमा हरेक वर्ष करिब एक लाख ५० हजारजनाको मृत्यु हुने गरेको सरकाले हालै सार्वजनिक गरेको एक तथ्यांकले देखाएको छ । सडकको नाजुक अवस्था, वर्षौं पुराना सवारीसाधन, चालकको लापरवाही र ट्राफिक नियमको उल्लंघनलगायतका कारण धेरै दुर्घटना हुने गरेको अधिकारीले बताएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचारहरु

लोकप्रिय समाचारहरु