logo

bar

यसकारण आवश्यक अन्तरदेशीय रेलमार्ग निर्माण

डा.सुमित्रा अमात्य काठमाडौं, ९ पुस | पुष ०९, २०७४

पछिल्लो समय नेपालमा रेलमार्ग विकासको विषयले चर्चा पाउँदै गएको छ । केही समयअघि चीनको भूभागबाट रसुवागढी–काठमाडौं हुँदै पोखरा–लुम्बिनीसम्मको रेलमार्ग विकास सम्भावनाबारे चिनियाँ टोलीको स्थलगत भ्रमणले पनि यो विषय धेरैको चासो बन्न पुग्यो । त्यस्तै, अहिले भारतले पनि नेपालका विभिन्न पाँच ठाउँ जोड्ने गरी रेलमार्ग विकास गरिरहेको छ । यसले भविष्यमा नेपालमा रेलमार्गले प्राथमिकता पाउने र ठोस काम हुने अनुमान गर्न सकिन्छ । केही वर्षदेखि बजेटमा पूर्वाधार निर्माणले उच्च प्राथमिकता पाउनुपर्ने र पूर्वाधारसम्बन्धी अध्ययन र आयोजना अनुगमनका लागि पनि बजेट छुट्याउनुपर्ने विषयमा जोड दिँदै आएकी योजनाविद् डा. सुमित्रा अमात्य आर्थिक विकासका लागि अन्तरदेशीय रेलमार्ग विकास हुनुपर्ने बताउँछिन् । राष्ट्रिय योजना आयोगमा पूर्वाधार क्षेत्र हेर्ने सदस्यका रूपमा अनुभव हासिल गरेकी डा. अमात्य चीन र भारत जोड्ने गरी अन्तरदेशीय रेलमार्ग निर्माणलाई यसकारण प्राथमिकतामा राख्नुपर्ने बताउँछिन्:

रेलमार्गलाई प्राथमिकता
नेपालको द्रुत विकासका लागि रेलमार्ग-मेट्रोरेल कोसेढुंगाका रूपमा रहेको छ । विकसित र सम्भवतः सहरको पहिलो पहिचान भनेकै त्यस सहरका भित्री सडक जोड्ने रेलमार्ग हो । अहिलेसम्मको अनुभवलाई हेर्दा नेपालमा रेलमार्गलाई कमै प्राथमिकता राखेको देखिन्छ । अहिले नेपालमा प्रारम्भिक योजना बनेका र केही निर्माणसमेत थालिएका रेलमार्गमा पूर्व–पश्चिम रेलमार्ग, चीनसँगको सीमानाका रसुवागढीदेखि काठमाडौं हुँदै पोखरा र त्यहाँबाट लुम्बिनीसम्मको रेलमार्ग, नेपालका विभिन्न क्षेत्रलाई छुने गरी भारतीय सीमाबाट सञ्चालित जयनगर–जनकपुर–बर्दिवास रेलमार्ग छ । त्यस्तै, अन्य चार ठाउँमा पनि रेलमार्गले जोड्ने गरी काम अघि बढिरहेको छ ।

रेलमार्गको विकास किन ?
दिगो विकासका लागि रेलमार्ग सुरक्षित, भरपर्दो र वातावरणमैत्री हुन्छ । रेल सञ्चालन गर्न सकिए नेपालको आर्थिक विकासमा टेवा पुग्छ । वास्तवमै रेल यातायात आर्थिक रूपान्तरणको आधारस्तम्भ बन्ने देखिन्छ । विशेषगरी, दु्रत गतिमा आर्थिक विकास गरी अघि बढिरहेका चीन र भारतसँग रेल यातायात जोडिनु नेपालका लागि ठूलो सम्भावनाको ढोका खोलिनु पनि हो । अन्तरदेशीय रेलमार्ग विस्तारले नेपालको आर्थिक विकासमा ठूलो फड्को मार्न सक्छ । रेल सञ्चालन हुन जनघनत्वलाई पनि आधार मानिन्छ । नेपाललाई पर्यटकीय र अन्य हिसाबले मानिस आवागमनको केन्द्र बनाउन सक्यौँ भने त्यसलाई सहज रूपमा पूरा गर्न सकिन्छ । रेलमार्ग सेवाकोे विस्तारबाट सर्वसाधारणमा पहुँच पुर्‍याई मुलुकको सामाजिक, आर्थिक विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने हैसियत राख्छ । यसकारण पनि रेलमार्ग विस्तार र विकासले आर्थिक सामाजिक रूपान्तरणमा महत्वपूर्ण भूमिका खेल्न सक्छ ।

रेलमार्गका चुनौती
नेपालको भौगोलिक धरातलीय अवस्थिति कठिन अवस्थामा छ, जुन आफैँमा रेलमार्ग विकासको चुनौती हो । भौगोलिक अवस्थिति कठिन भएकै कारण प्रारम्भिक लागत अधिक हुन जान्छ । नेपालमा रेल निर्माणका लागि दक्ष जनशक्ति अत्यन्त कम छ । यसका लागि जनशक्तिमा पनि लगानी गर्नुपर्नेछ । स्वदेशी जनशक्ति विकास गर्न सके रेलमार्गको विकासमा पनि सहयोग पुग्छ । निजी क्षेत्र रेलमार्गमा लगानी गर्न तत्काल आउने अवस्था देखिएको छैन । अर्थात् निजी क्षेत्र अहिले पनि हिचकिचाइरहेको अवस्था छ । यस्तो अवस्थामा अन्तरदेशीय रेल निर्माण गर्न छिमेकीको सहयोग लिन सक्नुपर्छ । अहिलेसम्म सहयोग लिने दिशामा अघि बढे पनि सहयोग लिइसकेको अवस्था भने छैन । यो पनि हाम्रा लागि चुनौती बनेको छ । रेल यातायात विकास गर्न सकेको खण्डमा आर्थिक रूपान्तरणको आधार र देश विकासको महत्वपूर्ण माध्यम बन्ने निश्चित छ । यति मात्र नभई यो यातायातका विभिन्न ‘मोड’मध्ये अग्रस्थानमा समेत आउँछ । यातायात भन्नेबित्तिकै सडक रेलमार्ग, हवाईमार्ग तथा जलमार्गलगायत पर्छन् । पूर्व–पश्चिम तथा उत्तर–दक्षिण करिडोर जोड्न सडक र रेलमार्ग विकास गर्न सकियो भने आर्थिक रूपान्तरणमा यसले प्रमुख भूमिका खेल्न सक्छ ।

रेल र सडकको सम्बन्ध विस्तार
काठमाडौ–तराई दु्रतमार्ग, हुलाकी राजमार्ग तथा तराईको डुबान क्षेत्रमा आकाशेमार्ग निर्माण गरी आर्थिक समृद्धि हासिल गर्न अपरिहार्य भइसकेको छ । हिमाल–पहाड–तराई हुँदै विभिन्न जिल्ला तथा औद्योगिक करिडोर जोड्ने राष्ट्रव्यापी सडक सञ्जाल निर्माण गर्नु समयको मागसमेत हो । यी राजमार्ग र रेलमार्ग जब एकअर्कासँग जोडिन्छन् त्यसले सिर्जना गर्ने आर्थिक सम्भावनामा अझ वृद्धि हुनेछ । यसका लागि आज अप्ठेरो लागे पनि भोलिका लागि अनिवार्य बाध्यता र आवश्यकता बन्नेछ ।

राजनीतिक इच्छाशक्ति
नेपालको यातायात इतिहासमा रेलमार्गको विकास त्यति सुखद नरहे पनि आउँदा वर्षमा रेल यातायातलाई आर्थिक रूपान्तरणको आधारका रूपमा लैजान राजनीतिक इच्छाशक्ति भएमा सम्भव छ । आउँदो पाँच वर्षमा रसुवागढी–काठमाडौं–पोखरा–लुम्बिनी विद्युतीय रेलमार्ग निर्माण गर्ने, काठमाडौं उपत्यकाभित्रै मेट्रोरेल, मोनोरेल, ट्राम सञ्चालनमा ल्याउन आवश्यक अध्ययन थालनी गरिनुपर्छ । छिमेकी राष्ट्रसँग जोडिने रेलमार्ग निर्माण गर्नु समृद्ध नेपालको आधार हो । रेल यातायातले सामान तथा यात्रु ओसारपसारका लागि मात्र नभई केन्द्र, प्रदेश र स्थानीय तहको विकासको इन्जिनका रूपमा काम गर्दै आमूल परिर्वतन ल्याउनमा महत्वपूर्ण भूमिका खेल्न सक्छ । भौगोलिक रूपमा रेलमार्ग निर्माणमा कठिनाइ भए पनि देशको समृद्ध जीवनरेखाका रूपमा यसलाई लिन सकिन्छ । नेपालमा रेलमार्गसम्बन्धी विज्ञ व्यक्ति धेरै नभए पनि मित्रराष्ट्रबाट प्राविधिज्ञलाई रेल निर्माण नेपाल आफैँ वा छिमेकीको सहायताबाट निर्माण गर्न सकिन्छ । केरुङ–काठमाडौंको दूरी करिब एक सय ७४ किलोमिटर मात्र छ । यसलाई सुरुङमार्ग हुँदै रेल लिंकले जोड्न सक्दा लुम्बिनी र पोखरामा पनि रेल गुडाउन सकिनेछ । यसका लागि अध्ययन अनुसन्धानमा ढिलाइ नगरी अघि बढ्नुपर्छ ।

नेपाल भूपरिवेष्टित मुलुकका रूपमा अवस्थित छ । तर, अन्तरदेशीय रेलमार्ग सञ्चालन गर्न सकेमा भूपरिवेष्टित राष्ट्रबाट भू–अनुवेकित (ल्यान्ड लिंक) का रूपमा रूपान्तरण गर्न सकिनेछ । नाकाबन्दी भएपछि मात्र रेलको विकास गर्नुपर्‍यो भन्नेतिर जानुहुँदैन । अहिलेबाटै थालनी गर्नुपर्छ । चीन र भारतको रेलवे प्रणाली फरक–फरक छन्, उत्तर दक्षिण अन्तरदेशीय रेल बनाउँदा दुवै देशलाई छुने गरी पनि अघि बढ्न सकिन्छ । उदाहरणका लागि तत्कालका लागि रसुवागढी–काठमाडांैका लागि चिनियाँ रेल सञ्चालन गर्न सकिन्छ । जब कि जयनगरदेखि बर्दिवाससम्म भारतीय रेल सञ्चालन गर्नुपर्छ ।

रेलमार्ग निर्माण गर्न खर्चिलो भए पनि रेल प्रणाली दीर्घकालीन हुन्छ । यसको इन्जिनले लामो समयसम्म काम गर्छ । यस्तै, दीर्घकालीन रूपमा तुलना गर्र्ने हो भने कम खर्चिलो लाग्छ । जनसंख्या वृद्धिसँगै आर्थिक वृद्धिमा तीव्रता ल्याउन रेल सञ्चालनलाई सबैले लक्ष्य बनाउनुपर्छ । हालै सम्पन्न प्रदेश र प्रतिनिधिसभाको चुनावमा अधिकांश प्रमुख राजनीतिक दलले रेलमार्गलाई प्राथमिकतामा राखेका छन्, जुन सकारात्मक विषय हो ।

रेलमार्गले वृद्धि गर्ने पहुँच
अन्तरदेशीय रेलमार्ग निर्माणमार्फत नेपालको आर्थिक विकासको रेखा कोर्न केही भौगोलिक धरातल बाधक रहे पनि दीर्घकालीन सोच राखेर केही बढी लागतमा बनाउन सक्दा त्यसले नेपालको पहु“चमा हुने वृद्धि लोभलाग्दो हुनेछ । चीनबाट आएको रेल नेपाल हुँदै दक्षिणतर्फ पनि जोडियो भने नेपालले विश्वबजारमा पहुँच पुग्नेछ । त्यस अवस्थामा विश्व अर्थतन्त्रमा निकै चलायमान दुई राष्ट्र चीन र भारत जोड्ने सेतु (पुल)का रूपमा नेपाल रहन सक्छ । धुवाँरहित उद्योगका रूपमा पर्यटन व्यवसाय चलाउन पनि रेलमार्ग सहयोगी हुनेछ । दुई ठूला देश जोड्ने ट्रान्जिट बिन्दुको रूपमा नेपालले आर्थिक फाइदा लिन सक्छ । अर्कोतिर ७० भन्दा बढी देश जोड्ने गरी चीनको ‘बेल्ट एन्ड रोड इनिसिएटिभ’ (वान बेल्ट वान रोड)को सदस्य देशका रूपमा पनि फाइदा लिन सकिनेछ । यसकारण पनि उत्तर–दक्षिण रेलमार्ग निर्माण गर्नु जरुरी छ ।

क्षेत्रीय विकास र समृद्धि
प्राविधिक रूपमा समेत कठिन देखिएको काठमाडौं–तराई जोड्ने रेलमार्ग निर्माण गर्न सम्भव छ । यसको निर्माणले क्षेत्रीय विकास र समृद्धिलाई द्रुत गति दिन्छ । यस विषयमा पछिल्लो समय धेरै सहमत देखिन्छन् । केहीअघि केरुङ–काठमाडौं– पोखरा र पोखरा–लुम्बिनीको अध्ययनमा चिनियाँ टोली स्थलगत अध्ययनमा समेत आएको थियो । यसले पनि सो रेलमार्गको महत्वलाई झल्काउँछ । रेल विभागले काठमाडौंबाट तराई जोड्ने रेलको अध्ययन सुरु गर्दै छ । यो पनि सकारात्मक विषय हो । नेपालले तत्काल रेलमार्ग निर्माण गर्न नसकेपछि उत्तरबाट काठमाडौंसम्मको चिनियाँ रेल प्रणालीबाट चिनियाँ प्राविधिक तथा आर्थिक सहयोगमा निर्माण थालनी गर्न सकिनेछ । काठमाण्डौंबाट दक्षिण जोड्ने रेलमार्ग भारतीय प्राविधिक तथा आर्थिक सहयोगमा निर्माण गरी रेल सञ्चालन गर्न सकिनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचारहरु

लोकप्रिय समाचारहरु