logo

bar

दीपेश र शोभा फाइनलमा

नयाँ पत्रिका काठमाडौं, ९ पुस | पुष ०९, २०७४

नेपालका दीपेश धामी र शोभा गौचनको जोडी शनिबार योनेक्स सनराइज नेपाल अन्तर्राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको मिक्स डबल्सको फाइनलमा प्रवेश गरेको छ । राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा सञ्चालित प्रतियोगिताको मिक्स डबल्स सेमिफाइनलमा धामीको जोडीले मलेसियाको एभेस्गारन भासिगरान र धर्सिनेएको जोडीलाई २१–१७, १६–२१ र २२–२० को कठिन सेटमा हराउँदै अन्तिम दुई स्थान सुरक्षित गरेको हो । पहिलो सेट जितेको धामीको जोडी दोस्रो सेटमा १६–२१ ले पछाडि परेको थियो । प्रतिस्पर्धात्मक तेस्रो तथा अन्तिम सेटमा धामीको जोडीले मलेसियन भासिगरानको जोडीलाई पाखा लगाउँदै अन्तिम दुई स्थान पक्का गरेको हो ।

एकमा मात्र फाइनल
मिक्स डबल्सको सेमिफाइनलमा स्थान बनाएको नेपालको रत्नजित तामाङ र नङसल तामाङको जोडी भारतको देभ्लेकर र हारिकाको जोडीसँग २१–१६ र २१–७ को सहज सेटमा पराजित भयो । प्रतियोगितामा नेपाली खेलाडीले पाँच इभेन्टमा सहभागिता जनाएका थिए । घरेलु टिम चार इभेन्टमा क्वार्टरफाइनलभन्दा माथि जान सकेन । अब प्रतियोगितामा नेपालबाट धामीको जोडीमाथि मात्र स्वर्णको आशा जीवितै रह्यो । धामीको जोडीले भारतको देल्भेकरको जोडीसँग आइतबार प्रतिस्पर्धा गर्नेछ । ‘हामी फाइनलका लागि तयार छौँ,’ धामीले भने, ‘सेमिफाइनल खेल प्रतिस्पर्धात्मक नै थियो ।’ धामीले घरेलु कोट र समर्थकलाई खुसी तुल्याउन स्वर्णका लागि प्रतिस्पर्धा गर्ने बताए ।

भारतको स्वर्ण पक्का
प्रतियोगिताअन्तर्गत पुरुष एकलमा भारतको स्वर्ण पक्का भएको छ । पुरुष एकलको फाइनलमा दुवै खेलाडी भारतकै पुगेका छन् । पहिलो सेमिफाइनलमा सारंगले भारतकै राहुल भारद्वाजलाई २१–१७ र २१–१७ को समान स्कोरमा पाखा लगाए । अर्को सेमिफाइनलमा भारतका जेसवालले भियतनामका ली डुकमाथि २१–१८, १३–२१ र २१–१४ को कठिन सेटमा पाखा लगाउँदै सारंगविरुद्ध फाइलन समीकरण पक्का गरे । यसैगरी, महिलातर्फको फाइनलमा इरानकी अघहाजिघ र हङकङकी डेन जो हुन अन्तिम दुईमा पुगेका छन् ।

तपाईको प्रतिक्रिया