logo

bar

कुर्था–जयनगर रेलमार्ग निर्माण ८ महिना ढिलो

जीवन बस्नेत/नयाँ पत्रिका काठमाडौं, ९ पुस | पुष ०९, २०७४

नेपालको आफ्नै रेल चलाउन समय लाग्ने भएपछि सुरुमा भारतीय रेल चलाइने –

नेपालको जनकपुर कुर्थादेखि भारतको जयनगरसम्मको ३५ किलोमिटर रेलमार्ग निर्माण तोकिएको समयभन्दा ८ महिना ढिलो सम्पन्न हुने भएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ । आगामी फागुनदेखि नै सञ्चालनमा ल्याउने तयारी भए पनि ट्रयाक निर्माणलगायतका काम पूरा नहुँदा तोकिएको समयभन्दा ८ महिना ढिला गरी रेल सञ्चालन गर्ने नयाँ लक्ष्य निर्धारण गरिएको हो ।

नयाँ लक्ष्यअनुसार रेलमार्ग निर्माण सम्पन्न ०७५ कात्तिकमा हुनेछ । ‘रेलमार्ग निर्माण करिब अन्तिम चरणमा पुगेको छ,’ रेल विभागका महानिर्देशक अनन्त आचार्यले भने, ‘अन्तरदेशीय रेलमार्ग सञ्चालनअन्तर्गत पहिलो चरणमा निर्माणाधीन कुर्थादेखि जयनगरसम्मको ३५ किलोमिटरमा रेलगाडी गुड्नेछ ।’

जनकपुरदेखि ५ किलोमिटर पश्चिममा रहेको कुर्थादेखि भारतको जयनगरसम्मको रेलमार्गमा सुरुमा भने भारतीय रेल सञ्चालन गरिने भएको छ । नेपालले आफ्नै रेल सञ्चालन गर्न तत्काल प्रक्रिया सुरु गरे पनि थप १ वर्ष लाग्ने भएकाले सुरुमा भारतीय रेल नै सञ्चालन गरिने महानिर्देशक आचार्यले जानकारी दिए ।

सन् २०१२ सम्म सञ्चालनमा रहेको जनकपुर–जयनगर (३० किलोमिटर) रेल आउँदो कात्तिकसम्ममा सञ्चालनमा आए करिब ६ वर्षपछि पुनः रेल सुचारु हुनेछ । अहिलेसम्मको कार्यप्रगतिअनुसार ढिला नहुने देखिएको पनि महानिर्देशक आचार्यले बताए । रेलमार्ग (ट्र्याक)का लागि आवश्यक रेल (रेलका ट्र्याक बनाउन आवश्यक सामग्री) निर्माणस्थलमा पुगे पनि स्लिपर आयातको क्रममा रहेको छ । अर्थ मन्त्रालयले ढिलो गरी गएको १८ मंसिरमा मात्र स्लिपर ल्याउन स्वीकृति दिएको थियो । रेलमार्गमा स्लिपर रेलभन्दा तल राखिने वस्तु हो भने रेलगाडीले टेकेर हिँड्ने ठाउँ रेल हो । त्यस्तै, रेलगाडी गुड्ने पूरै संरचनालाई भने ट्र्याक भनिन्छ ।

यसकारण भयो ढिलाइ
नेपाल–भारत अन्तरदेशीय रेल सञ्चालनका लागि ढिलाइ हुनुमा विभिन्न कारण देखिएका छन् । रेल विभागले पहिलो कारण नेपालकै प्रक्रियागत ढिलाइलाई मानेको छ । भारतीय रेल मन्त्रालयले (निर्माण कम्पनीको तर्फबाट) पठाएको रेलमार्ग निर्माण गर्नका लागि आवश्यक सामानको सूची (मास्टर लिस्ट) स्वीकृत गर्न नेपाली पक्षले ढिलाइ गरेको छ । उक्त सूची स्वीकृत गर्न अर्थ मन्त्रालयले पटक–पटक गरी २ देखि ६ महिना लगाएको थियो । ढिलाइलाई लिएर भारतीय पक्षले बारम्बार गुनासो गर्ने गरेको रेल विभागका इन्जिनियरहरूको भनाइ छ ।

त्यस्तै, रेल ट्रयाक निर्माण ढिलाइ हुनुमा निर्माणस्थलमा बिजुलीका खम्बा (पोल)लाई मानेको छ । रेलमार्ग रहने ठाउँमा करिब ५० वटा बिजुलीका पोल रहेकोमा अधिकांश अन्यत्र सारिएको भए पनि अझै करिब दर्जन ठाउँको पोल सार्न सकिएको छैन । यसबाहेक गिट्टी, ढुंगा, बालुवाजस्ता आधारभूत निर्माण सामग्री समयमै उपलब्ध नहुनुलाई मानेको छ ।

कुर्थामा बन्दै छ रेल स्टेसन
यसअघि जनकपुरमा रहेको रेल स्टेसनलाई नयाँ ठाउँमा सारिँदै छ । जनकपुरमा रहेको स्टेसनलाई कुर्था पुर्‍याइने भएको हो, जुन जनकपुरदेखि ५ किलोमिटर पश्चिममा पर्छ । जयनगरदेखि कुर्थासम्मको दूरी ३५ किलोमिटर रहेको छ । जयनगरदेखि जनकपुरको लम्बाइ भने ३० किलोमिटर मात्र छ । जनकपुरमा स्थान अभाव र उपलब्ध ठाउँ पनि सानो भएको कारण ५ किलोमिटर पश्चिम कुर्थामा रेल स्टेसन निर्माण गरिएको हो । जनकपुरमा यात्रु चढ्न र ओर्लिनका लागि रेलगाडी रोकिने (हाल्ट) ठाउँका रूपमा मात्र प्रयोग गरिनेछ । रेल स्टेसनमा प्राप्त हुने सुविधा कुर्थामा हुनेछन् ।

रेलमार्गमा अन्डरग्राउन्ड विद्युत्
रेलमार्गमा पर्ने विद्युतीय खम्बालाई हटाएर जमिनमुनि (अन्डरग्राउन्ड) विद्युत् लगिने तयारी भइरहेको छ । रेलमार्गको छेउमा राख्दा रेलगाडीले छुने भएकाले जमिनमुनिबाट विद्युत् लैजानुपर्ने रेल विभागले जानकारी दिएको छ । यस विषयमा नेपाल विद्युत् प्राधिकरणसँग विषय अगाडि बढाइएको महानिर्देशक आचार्यले जानकारी दिए ।

१० अर्बमा जयनगर–बर्दिबास रेलमार्ग
भारतले जयनगरदेखि बर्दिबाससम्मको ६९ किलोमिटर लामो रेलमार्ग पनि निर्माण गर्ने भएको छ । यसको निर्माणका लागि १० अर्ब रुपैयाँ (६ सय ५० करोड भारु) खर्च हुने विस्तृत अध्ययनले देखाएको छ । भारतले सम्पूर्ण पूर्वाधार निर्माण गरिदिने भएकाले लागत थप भए पनि भारतीय रेल मन्त्रालयले नै व्यहोर्नुपर्नेछ । अहिले निर्माण भइरहेको सिभिल इन्जिनियरिङ काम हो । यसका लागि दुईवटा प्याकेज बनाएर काम गरिरहेको छ । जसमा दुवै प्याकेजबराबर ९६ करोड रुपैयाँ (६० करोड भारु) गरी १ अर्ब ९२ करोड रुपैयाँ (१ सय २० करोड भारु) मा काम भइरहेको छ । यसबाहेक थप कामका लागि बाँकी खर्च हुनेछ ।

यस्तो छ प्रगतिको अवस्था
अहिलेसम्म बर्दिबासदेखि जयनगरसम्मको रेलमार्गका लागि आवश्यक रेल स्टेसन भवन निर्माण सम्पन्न भइसकेको छ । त्यस्तै, रेल कर्मचारी क्वार्टर निर्माण सम्पन्न भएको छ । जयनगरदेखि कुर्थासम्मको निर्माणस्थलमा रेल (निर्माण सामग्री) पुगेको छ भने ट्र्याकमा पर्ने पुल निर्माण हुने अवस्थामा छन्, ट्रयाकबेड र स्ट्रचर निर्माण ९५ प्रतिशत सम्पन्न भएको विभागले जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचारहरु

लोकप्रिय समाचारहरु