logo

bar

आफैँ बनाउन सक्ने वस्तु किन्नमै बाहिरिन्छ अर्बौँ रुपैयाँ

कृष्ण रिजाल/नयाँ पत्रिका काठमाडौं, ९ पुस | पुष ०९, २०७४

पेट्रोलियम, सवारी, मेसिनरी र इलेक्ट्रोनिक्सबाहेक नै १ खर्बका सामग्री आयात –

आफैँले उत्पादन गर्न सकिने वस्तुको आयातमै नेपालले वार्षिक अर्बौँ रुपैयाँ खर्च गर्ने गरेको छ । तरकारी, खाद्यबाली, फलफूल, मरमसला, माछामासुलगायत उत्पादनमै नेपालबाट वार्षिक करिब १ खर्ब रुपैयाँ बिदेसिने गरेको छ । उत्पादन छाडेर उपभोगमा मात्रै ध्यान दिँदा नेपालको परनिर्भरता झन्–झन् बढ्दै गएको सरकारी तथ्यांक छ ।

भान्सार विभागका अनुसार चालू आर्थिक वर्षको पहिलो चार महिनामै नेपालले १२ अर्ब ६९ करोड रुपैयाँको अन्नबाली आयात गरेको छ । त्यस्तै, तरकारीका लागि ७ अर्ब रुपैयाँ बिदेसिएको छ । नेपालले ४ अर्ब ९१ करोडको फलफूल आयात गरेको छ । नेपालमै उत्पादन गर्न सकिने वस्तुकै आयात झन्–झन् बढिरहेको विभागको तथ्यांकले देखाउँछ । समीक्षा अवधिमा पेट्रोलियम, सवारी, मेसिनरी र इलेक्ट्रोनिक्स र तिनका पार्टस्बोहककै वस्तुको आयातमा करिब ६ खर्ब रुपैयाँ बाहिरिएको विभागको तथ्यांक छ ।

नेपालमा हालसम्म पनि पेट्रोलियम पदार्थ उत्खनन तथा उत्पादन हुन सकेको छैन । त्यस्तै, फलाम, तामा, सुनचाँदीलगायतका धातु पनि उत्खनन र उत्पादन भएको छैन । सवारीसधान, मेसिनरी, इलेक्ट्रोनिक्स सामग्री र तिनका पार्टस् उत्पादनमा पनि नेपालको प्रतिस्पर्धी क्षमता छैन । समीक्षा अवधिमा सवारीसाधनमा २८ अर्ब ८० करोड, इलेक्ट्रोनिक्स सामानमा २४ अर्ब ७ करोड, न्युक्लियर तथा मेसिनरी र पार्टस्मा ३१ अर्ब रुपैयाँ बाहिरिएको छ । यस्ता वस्तुमा आयात बढ्नु स्वाभाविक भए पनि तरकारी, फलफूल, अन्नबाली, वन पैदावरलगायत वस्तुको आयात बढ्नु विडम्बना भएको वातावरण तथा कृषि नीति अनुसन्धान, प्रसार एवं विकास केन्द्र (सिप्रेड)का कार्यकारी निर्देशक जयमुकुन्द खनाल बताउँछन् । नेपालीहरूले काम गर्न छाडेकै कारण यस्ता वस्तुको समेत आयात बढेको उनको भनाइ छ ।

चार महिनामै ३ खर्ब १० अर्बको घाटा
चालू आर्थिक वर्षको पहिलो चार महिनामा नेपालले ३ खर्ब १० अर्ब १८ करोड रुपैयाँको व्यापारघाटा व्यहोरेको छ । यो अघिल्लो आर्थिक वर्ष ०७३-७४ को सोही अवधिको तुलनामा ११ प्रतिशतले बढी हो । ५ महिनामा नेपालको कुल वैदेशिक व्यापार ११.२३ प्रतिशतले बढेर ३ खर्ब ६३ अर्ब ९३ करोड रुपैयाँ पुगेको छ । यसमा आयातको हिस्सा ९२.७ प्रतिशत र निर्यातको हिस्सा ७.३ प्रतिशत रहेको छ । समीक्षा अवधिमा कुल आयात ११.५२ प्रतिशतले बढेर ३ खर्ब ३६ अर्ब ५६ करोड रुपैयाँ पुगेको छ । निर्यात भने ७.७० प्रतिशत मात्रले वृद्धि भएर २६ अर्ब ३७ करोड रुपैयाँमा सीमित भएको भन्सार विभागको तथ्यांक छ ।

पछिल्लो चार महिनामा आयात भएका त्यस्ता वस्तु जो नेपालमै उत्पादन गर्न सकिने अधिक सम्भावना छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचारहरु

लोकप्रिय समाचारहरु