logo

bar

विराटनगर अपराजित

नयाँ पत्रिका काठमाडौं, ९ पुस | पुष ०९, २०७४

लगातार तीन खेलमा पराजित भएपछि दबाबमा परेको चितवन टाइगर्सले शनिबार त्रिवि मैदान कीर्तिपुरमा सञ्चालन भइरहेको एभरेस्ट प्रिमियर लिग (इपिएल)मा ललितपुर प्याट्रियअट्सलाई ५ विकेटले पराजित गर्दै पहिलो जित निकालेको छ । उत्कृष्ट प्रदर्शनलाई निरन्तरता दिएको विराटनगर वारियर्सले लगातार चौथो जित निकाल्दै इपिएलमा अपराजित यात्रा जारी राखेको छ । यसअघि, पोखरा, काठमाडौं र विराटनगरसँग चितवन पराजित भएको थियो । ललितपुरलाई स्तब्ध पार्दै चितवनले प्लेअफ सम्भावनालाई जीवित राख्यो । विराटनगरले भैरहवा ग्लाडियटर्सलाई ३५ रनले हरायो ।

प्लेअफ होड खुला
चितवनको जितसँगै शीर्ष चारमा रहँदै प्लेअफमा पुग्ने सम्भावना सबै ६ टोलीको कायम छ । प्लेअफमा स्थान पक्का गरिसकेको विराटनगरबाहेक अन्य तीन टिमको टुंगो लाग्न बाँकी छ । एक खेल कम खेलेका पोखरा र भैरहवा ४ अंकका साथ दोस्रो स्थानमा छन् । समान २ अंक जोडेका ललितपुर, काठमाडौं र चितवनले प्लेअफमा पुग्ने बाटो खुला पारेका छन् ।

१ सय ३० रनको लक्ष्य
पहिले ब्याटिङ गरेको ललितपुरले निर्धारित २० ओभरमा अलआउट हुँदै १ सय ३० रन बनायो । पहिलो विकेटका लागि ललितपुरका शंकर राना र जयकिसन कोल्सवालाले ५८ रनको अर्धशतकीय साझेदारी गर्दैै मजबुत सुरुवात दिलाए । ललितपुरका सोनु तामाङले १९ र कप्तान ज्ञानेन्द्र मल्लले १० रनको योगदान दिए । पछिल्ला क्रमका ब्याट्सम्यान सुसान भारीले २३ रन बनाउँदै टिमलाई १ सय ३० रनको अवस्थामा पुर्‍याएका थिए । चितवनका योगेन्द्र सिंह कार्कीले ४ विकेट लिए । प्रबिन गुप्ता र प्रमेश कुमारले समान २-२ विकेट लिए । चितवनले १९.२ ओभरमा ५ विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो ।

दीपेन्द्रको अर्धशतक
चितवनलाई पहिलो जित दिलाउने क्रममा दीपेन्द्रसिंह ऐरीले उत्कृष्ट इनिङ खेले । उनले संयमित ब्याटिङ गर्दै ५० बलमा ७ चौकाको मद्दतमा ५५ रनको अर्धशतकीय योगदान दिए । जारी प्रतियोगितामा अर्धशतक पूरा गर्ने ऐरी दोस्रो नेपाली खेलाडी हुन् । यसअघि, ललितपुरका पवन सर्राफले विराटनगरविरुद्ध ५१ रन बनाएका थिए । दीपेन्द्रसँगै खेलमा म्यान अफ द म्याच घोषित प्रबिन गुप्ताले ४३ बलमा ४ चौका र २ छक्का प्रहार गर्दै अविजित ५६ रनको अर्धशतकीय इनिङ खेलेका थिए । दीपेन्द्र र प्रबिनबाहेक अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो रनको स्कोर बनाउन सकेनन् ।

भैरहवाको पहिलो हार
दुई जित निकालेको भैरहवा ग्लाडियटर्सले लगातार तेस्रो जित निकाल्ने मौका गुमायो । १ सय ४९ रनको लक्ष्य पछ्याउने क्रममा भैरहवा १ सय १४ रनमा समेटिँदै प्रतियोगितामा पहिलो हारको सामना गर्न बाध्य भयो । पहिले ब्याटिङ गरेको विराटनगरले राम्रो फर्ममा रहेका हङकङका खेलाडी अंशुमान रथको ५७ रनको अर्धशतक तथा बावर हायतको ३६ रनको मद्दतमा १ सय ४९ रन बनाएको थियो । प्रत्युत्तरमा प्रदीप ऐरी र हरिशंकर साहले बनाएको समान १८ रन नै भैरहवाका लागि सर्वाधिक स्कोरका रूपमा रह्यो ।

तपाईको प्रतिक्रिया