logo

bar

कर्नाटकमा सल्कँदो साम्प्रदायिक आगो

इमरान कुरेसी | पुष ०९, २०७४

पछिल्ला दुई–तीन महिनामा हामी देखिरहेका छौँ कि कर्नाटकमा भइरहेका स–साना झगडाको आगोमा घिउ खन्याउने काम भइरहेको छ । अहिले अवस्था मुजफ्फरपुरनगरजस्तो त छैन, तर यो चिन्ताको विषय भने पक्कै हो ।

कर्नाटकमा पछिल्ला केही साताका केही घटना हिंसात्मक पनि थिए । यी घटनापछि कतै आगामी वर्ष हुने निर्वाचनभन्दा अघि कर्नाटकमा साम्प्रदायिक तनाव बढिरहेको त छैन भन्ने प्रश्न उठेको छ । २०१३ मा सम्पन्न लोकसभा निर्वाचनअघि पनि यस्तै माहोल देखिएको थियो । निर्वाचनअघि उत्तर प्रदेशको मुजफ्फरनगरमा साम्प्रदायिक दंगा भएका थिए । हिन्दू र मुस्लिमबीच भएको यस दंगामा ६२ मानिस मारिएका थिए ।

कर्नाटकमा भएका यस्ता साम्प्रदायिक तनावका घटनालाई पूर्वमुख्यमन्त्री तथा जदयु नेता एचडी कुमारस्वामीजस्तै केही राजनेता पनि मुजफ्फरनगर दंगासित जोडेर चिन्ता व्यक्त गरिरहेका छन् । कुमारस्वामीले बिबिसीसँग भने, ‘उत्तर प्रदेशमा निर्वाचनअघि लगभग हरेक दिन साम्प्रदायिक तनाव र हिंसाको स्थिति थियो । तर, लोकसभा निर्वाचनपछि यो सबै अचानक शान्त भएको थियो । पछिल्ला दुई–तिन महिनामा हामी देखिरहेका छौँ कि कर्नाटकमा भइरहेका स–साना झगडाको आगोमा घिउ खन्याउने काम भइरहेको छ । अहिले हालत मुजफ्फरपुरनगर जस्तो त छैन, तर चिन्ताको विषय भने पक्कै हो ।’

सडक दुर्घटनापछि साम्प्रदायिक तनाव
कुमारस्वामीले यो कुरा हालै सीमावर्ती जिल्ला उत्तर कन्नडमा भएको त्यस घटनापछि भनेका हुन्, जुन हिंसा र आगजनीको कारण बनेको थियो । यस घटनामा होन्नावरमा एक मोटरसाइकल र अटोरिक्सा आपसमा ठोक्किएका थिए । तर, पछि यही सडक दुर्घटना हिन्दू र मुस्लिमबीचको भिडन्तको कारण बन्न गयो ।

अघिल्लो दिन १९ वर्षीय परेश मेस्ताका बाबुआमाले प्रहरीमा ऊ हराएको गुनासो दर्ता गराएका थिए । एक दिनपछि प्रहरीले परेशको लास एउटा पानी ट्यांकीमा पाएको थियो । भाजपा नेता शोभा करन्दलाजेले भनेका थिए, ‘एक माझीको लास कसरी एउटा ट्यांकीमा पाउन सकिन्छ, जब कि सहरमा निषेधाज्ञा जारी छ । भाजपा कर्नाटकको मुख्य विपक्षी दल हो र यहाँ कंग्रेसको सरकार छ ।’

करन्दलाजेको आफ्ना पार्टीका कार्यकर्तालाई निषेधाज्ञाको अवहेलना गर्नका लागि उक्साउने खालको ट्विटको कंग्रेसले निकै आलोचना गरेको थियो । यद्यपि, परेश आरएसएसको कार्यकर्ता भएको उनको दाबीलाई परेशका आमाबुबाले तत्काल अस्वीकार गरेका थिए । आफ्नो नाम नबताउने सर्तमा एक प्रहरी अधिकारीले भने, ‘निषेधाज्ञा आदेशको जानाजान अवहेलना गरिएको हो ।’

अन्य घटना
कर्नाटकको यस तटीय जिल्लामा यो नै पहिलो घटना होइन । प्रहरी अधिकारीले पछिल्ला केही महिनामा भएका घटनाको सूची बनाएका छन् । एउटा घटना यस वर्षको सुरुवातको हो, जब मंगलुरुमा एक युवक बाइक चलाइरहेका थिए । एक प्रहरी अधिकारीले भने, ‘उनको दारी थियो र उनलाई गल्तीले मुस्लिम ठानेर मारिएको थियो ।’ २१ जुनमा सोसल डेमोक्रेटिक पार्टी अफ इन्डिया (एसडिपिआई)का अभियन्ता असरफ कलईको हत्या भएको थियो । र, यसले दक्षिण कन्नड जिल्लाको बन्टवाल तालुकमा साम्प्रदायिक तनावलाई बढावा दिएको थियो ।

४ जुनमा आरएसएसका एक कार्यकर्ता शरथ मदिवालाको बदलाको भावनाबाट हत्या गरियो । जुन केरलामा अगाडि आइरहेका राजनीतिक हत्याजस्तै थियो । यस घटनामा प्रहरीले निकै तीव्र रूपमा काम गर्‍यो र दुवै राजनीतिक पक्षका आरोपीहरूलाई पक्राउ गर्‍यो । ३ डिसेम्बरमा मैसुर लोकसभाका सांसद प्रताव सिंहले उनका कार्यकर्तालाई रोक्नका लागि लगाइएको ब्यारिकेड तोडिदिए । उनका कार्यकर्ता सोही सकड हुँदै हनुमान जयन्ती मनाउन चाहन्थे । जहाँ इद मिलाद मनाइँदै थियो । सो समयमा सिंहलाई सय कार्यकर्ताका साथमा गिरफ्तार गरिएको थियो ।

स्राइनलाई लिएर तानातान
४ डिसेम्बरमा एउटा भिड चिकमगलुर जिल्लामा बाबा बुदान गिरी स्राइनमा संरक्षित क्षेत्रभित्र घुस्यो र त्यहाँ गेरु झन्डा लगाइदियो । यसपछि त्यहाँ प्रहरीले कारबाही गरेको थियो । हिन्दू संस्थानहरू यस गुफाजस्तो स्राइनलाई हिन्दू मन्दिर घोषित गरिदिनुपर्ने माग गरिरहेका थिए । मुसलमान र हिन्दू सदियौँदेखि पहाडको माथिल्लो भागमा पूजा गर्दै आएका छन् । मुसलमान सुफी बाबा बुदान गिरी स्राइनमा र हिन्दू स्राइनको अर्कोतर्फ दत्तात्रेय मन्दिरमा पूजा गर्दै आएका छन् । नाम उल्लेख नगर्ने सर्तमा एक वरिष्ठ प्रहरी अधिकारीले भने, ‘यो सब व्यक्तिगत फाइदाका लागि साम्प्रदायिक भावना भड्काएर समाजलाई विभाजित गर्नका लागि जानाजान गरिएका प्रयास हुन् ।’
बिबिसी डट कम/हिन्दीबाट

तपाईको प्रतिक्रिया