logo

bar

कोइला–खानीमा भेटिएको कथा

दिनेशकुमार कार्की काठमाडाैं | पुष ०८, २०७४

कोइला–खानीमा भेटिएको कथा –मेरा माइला फुपाजु बेपत्ता भएको थुप्रै भएको थियो । पछि मेघालयमा भएको पत्तो लाग्यो । ०५३ साल मंसिरमा उहाँलाई लिन म मेघालय गएँ । मलाई बताइएको ठाउँमा फुपाजुलाई भेटिनँ । खर्चपात पनि सकियो । खर्च जुटाउनका लागि खानीमा काम गर्न थालेँ ।

खानीमा सुरुङमार्ग हुँदै जानुपथ्र्यो । मैले यसबारे उपन्यासमा पनि बयान गरेको छु । वास्तवमा ती सुरुङ सुरुङ नभएर ‘र्‍याटहोल्स’ अर्थात् मुसाका दुला थिए । त्यस्ता र्‍याटहोल्समा मैले पनि ज्यानको बाजी लगाउँदै कोइला काट्ने काम गरेँ । त्यतिवेला मैले खानीमा काम गर्ने मजदुरहरूको दयनीय अवस्था नजिकबाट देख्न पाएँ । उनीहरू कोही भुटानबाट देश छाडी आएका शरणार्थी थिए भने कोही नेपालको दूरदराजबाट गएका थिए । नेपालबाट जाने कोही गरिबीदेखि भागेर त्यहाँ पुगेका थिए । कोही सरकार–माओवादी द्वन्द्वको डरले ज्यान जोगाउन गएका थिए ।

म काम गर्ने खानीमा धेरैजसो बंगलादेशी बालक थिए । केही नेपालका र आसामका केटाकेटी पनि थिए । जब मैले कोइला खानीमा काम गर्ने मजदुरको जीवनलाई नजिकबाट देखेँ, त्यसैवेलादेखि उनीहरूको अवस्थाले छोयो । दिमागमा उनीहरूले बाँचेको जीवन घुमिरहन्थ्यो । म फुपाजु खोज्न गएको थिएँ । तर, भेटिनँ । यत्तिकै फर्किएँ । फर्कनुपर्ने मेरो बाध्यता थियो । किनभने स्नातक तहको पढाइ सुरु हुन आँटेको थियो ।

समयक्रममा मेरो भेट साहित्यकार कृष्ण धरावासीसँग भयो । उहाँलाई मैले मेघालयको कथा सुनाएँ । उहाँले यसमाथि उपन्यास लेख्न हौस्याउनुभयो । त्यसपछि म पनि ‘साँच्चै हो त’ भनेर लेख्न थालेँ । मेरो मुख्य कथा बिस्तारै शरणार्थीहरूपट्टि ढल्किँदै गयो । मेरो घर साबिक दुवागढी–८, झापा हो । यो अहिले मेचीनगर नगरनगरपालिकाको वडा नं. १४ भएको छ । त्यहाँबाट गोलधाप शरणार्थी क्याम्प नजिक पथ्र्यो । शरणार्थीहरू धान काट्न हाम्रा गाउँतिर आउँथे । उनीहरू स्थानीय मजदुरभन्दा सस्ता थिए । त्यसो हुँदा हामी पनि शरणार्थीलाई नै खेताला बोलाउँथ्यौँ ।

यहीक्रममा गोलधाप शरणार्थी क्याम्पमा आउजाउ हुन थाल्यो । एक दिन मेरी आमाको भेट कुलबहादुर कार्कीसँग भएछ । उहाँहरू सुतार कार्की । हामी पनि सुतार कार्की नै । त्यसो भएकाले दाजुभाइको साइनो गाँसियो । मैले काका–काकी पाएँ । त्यसपछि म हरेक हप्ता शरणार्थी क्याम्प जान थालेँ । काका–काकीका दुःखहरू सुन्थेँ । पछि काका–काकीका सबै नातागोतासँग चिनजान भयो । मैले हजुरआमा पाएँ । क्रमशः प्रायः भुटानीहरूको कथा थाहा पाएँ । ती कथालाई एउटा सूत्रमा उन्न थालेँ ।

यसैबीच कृष्ण धरावासीको उपन्यास ‘शरणार्थी’ प्रकाशन भयो । मेरो कथा पनि यसैसँग बढी सम्बन्धित थियो । म अक्क न बक्क भएँ । किनकि मैले सोचेको कथा त उपन्यास भएर बजारमा आइसकेको थियो । म बीचमा सेलाएँ । फेरि शरणार्थीहरू तेस्रो मुलुकका लागि फारम भर्न थाले । शरणार्थी क्याम्पहरूमा आगो लाग्न थाल्यो । त्यसपछि मैले यस कथामा कलम चलाउन थालेँ । अन्तत्वगत्वा ‘हन्बेर्नो’ तयार भयो ।

०५४ साल भदौदेखि म श्री सरस्वती बालकल्याण मावि, धाइजन–६, झापामा शिक्षक भएर काम गर्न थालेँ । त्यहाँ पढाउँदा–पढाउँदै उपन्यासको पहिलो भागका ६×–७ अध्याय लेखेँ । ०६३ सालमा म स्थायी शिक्षकमा परिणत भएँ । त्यसपछि तीनवर्षे बेतलबी बिदा लिएर साउदी अरब गएँ । म किन त्यहाँ गएँ । यसबारेमा छुट्टै एउटा उपन्यास तयार गर्ने विचारमा छु । हो, त्यहीँ साउदी अरबको दमाममा बसेर मैले ‘हन्बेर्नो’ लेखी सिध्याएँ ।

सारमा भन्नुपर्दा, उपन्यासको विचार टिप्ने काम झापाको दुवागढीमा भयो  । कथासूत्र पनि यहीँ तयार भो । तर, यसले औपन्यासिक रूपचाहिँ साउदी अरबको दमाममा पायो । खासमा लेखकलाई प्रशस्त फुर्सद चाहिन्छ । अध्ययन–अनुसन्धान गर्नुपर्छ । दिमागले पूरा खेल्न पाउनुपर्छ । त्यस्तो खालको वातावरण त मैले पाइनँ । तर, कामबाट उब्रेको समय जो मैले थकाइ मार्न प्रयोग गर्नुपथ्र्यो, जो मैले सुत्न प्रयोग गर्नु पथ्र्यो, त्यसलाई अलिअलि निचोरेर प्रयोग गरेँ । प्रायः राति १ बजेदेखि ३ बजेसम्म लेख्थेँ । साउदी अरबको बसाइमा मेरा छुट्टीका दिनहरू पनि उपन्यास लेखाइका लागि प्रयोग भए ।

उपन्यासका प्रायः पात्र वास्तविक हुन् । केही मात्र काल्पनिक छन् । वास्तविक पात्रहरूको पनि नाम परिवर्तन गरिएको छ । घटनाहरू सबै यथार्थ हुन् । पात्रहरूको नाम चयन गर्दा मैले नामको ध्वन्यात्मक माधुर्यता, त्यसले बोक्ने अर्थ साथै पेटबोलीमा परेका नामलाई ख्याल गरेको छु । अध्ययन अनुसन्धानविनाको लेख काँचै हुन्छ । रमाएर पाकेको हुँदैन । भर्सेको हुँदैन । उपन्यासमा पनि अनुसन्धान जरुरी हुन्छ । त्यसो हुनाले मैले उपन्यासका लागि धेरै अध्ययन गरेँ ।

इतिहासका पुस्तकहरू पढेँ । जीवनीहरू पढेँ । सयौँ शरणार्थीसँग कुराकानी गरेँ । म स्वयं शरणार्थी क्याम्पमा गएर सयौँ रात बसेँ । त्यतिखेर देखेका कुरा, सुनेका कुरा, त्यहाँ छलफल भएका कुर, त्यहाँ निफनिएका कुरा मेरा लागि ठूला कामका भए । उपन्यास लेख्न सहयोगी भए । मैले उपन्यासमा अध्ययनका स्रोतहरूलाई पनि उल्लेख गरेको छु ।

लेख्ने काम भनेजति सजिलो हुँदैन । कतिपय ठाउँमा कथा बग्दैन । घरमा बसेर लेख्दा झन् धेरै समस्या हुन्छ । छोराछोरीले लेख्न दिँदैनन् । लेखिरहँदा घरमा श्रीमतीज्यूको मागपत्र आइलाग्छ । त्यसले दिमागको बत्ती बल्न दिँदैन । मेरो पनि त्यस्तै त्यस्तै नै भयो । दमाममा बस्दा मेनेजरको फोन र रुमपार्टनरका साथीहरूको घुरघुराहट एवं पदाइले मेरो दोहोलो नै काड्यो । त्यसका बाबजुद किताब तयार भयो ।

उपन्यास लेख्दाको एउटा अविस्मरणीय घटना मैले उल्लेख गर्नैपर्छ । लेखेर पाँच अध्याय सकेको थिएँ । पछि कम्प्युटर ह्याङ भयो । एउटा विद्वान् साथीलाई कम्प्युटर देखाएँ । उसले ‘ठीक पार्छु’ भन्यो । म पनि ‘होला त नि’ भनेर मख्ख परेँ । तर, साथीले बर्बाद पारेछ । कम्प्युटर चल्ने त बनायो । मेरो उपन्यासको फोल्डर भने त्यहाँ थिएन । फेरि मैले पुनर्लेखन गर्नुपर्‍यो । त्यो साथी फिलिपिन्सको थियो । पुनर्लेखनमा कति कुरा छुटे, कति थपिए ।

तपाईको प्रतिक्रिया