logo

bar

किन बिदेसिन्छन् खेलाडी ?

श्रीलोचन राजोपाध्याय काठमाडाैँ | पुष ०८, २०७४

देशका गहना मानिने खेलाडीहरु आजकल धेरै बिदेसिन्छन् । अन्तर्राष्ट्रिय मञ्चमा देशको नाम चिनाउन उनीहरूले रगत र पसिना बगाएका हुन्छन् । तर, राज्यले सामान्य जीविकोपार्जनको प्रबन्धसमेत नगरिदिँदा उनीहरू खेलकुद क्षेत्रबाट विस्थापित हुने मात्रै होइन, देश नै छाड्न बाध्य हुने गर्छन् । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताका पदकधारी दर्जनौँ प्रतिभावान् खेलाडी विदेश भासिइसकेका छन् । राज्यसँग त्यसको लेखाजोखासमेत छैन । श्रीलोचन राजोपाध्यायको रिपोर्ट :

नेपाली खेलकुदको जग राणाशासनको पालामा बसेको हो । यसले नाैं दशक पार गर्दा पनि अझै पूर्ण व्यावसायिक भइसकेको छैन । नेपाल सँगसँगै खेलकुद सुरु गरेका धेरै राष्ट्रले अन्तर्राष्ट्रिय क्षेत्रमा उचाइ कायम गरिसकेका छन् । तर, नेपाली खेलकुद भने सेमिप्रोफेसनालिजमका रूपमा अगाडि बढेको छ । खेलाडी, समर्थक र प्रायोजक यसलाई विडम्बनाका रूपमा लिन्छन् ।

खेलाडी जब खेल क्षेत्रमा लाग्छ, त्यसवेला उसले आफ्नो भविष्य सुनिश्चित पार्ने सपना पनि देख्छ । त्यसै सपनाका साथ खेलाडीले वर्षौंसम्म दिनरात नभनी पसिना बगाउँछन् । तर, जब उनीहरूले आफ्नो मिहिनेतको फल प्राप्त नभएको र राज्यले पनि केही नगरेको अनुभूति गर्छन्, त्यसवेला उनीहरू विकल्पको खोजीमा लाग्छन् ।

खेलाडीले राष्ट्रलाई दिएको बलिदान र त्यागको फाइदा सम्बन्धित खेल पदाधिकारीले लिनु अर्को विडम्बना हो । आफ्नो मिहिनेतको कदर नभएपछि खेलाडी निराश हुँदै खेल क्षेत्रबाट पलायन वा बिदेसिन बाध्य भएका छन् । त्यसको पछिल्लो ज्वलन्त उदाहरण ट्याक एन्ड फिल्डकी धाविका केशरी चौधरी हुन् । गत साता रोजगारीको सिलसिलामा उनी दुबई हानिइन् ।

एक दशक एथलेटिक्स क्षेत्रमा सक्रिय केशरी खेलकुदमा गतिलो भविष्य नदेखेपछि दुबईलाई नयाँ गन्तव्य बनाउन बाध्य भइन् । चौधरी जस्तो प्रतिभाशाली खेलाडी बाहिरिनु नेपालकै लागि दुर्भाग्य भएको एथलेटिक्सका प्रशिक्षक चन्द्र गुरुङ बताउँछन् ।

‘केशरीजस्तो खेलाडी विदेश जानु भनेको नेपालको खेलकुदलाई घाटा हो,’ प्रशिक्षक गुरुङले भने, ‘उनीजस्तो खेलाडी अब पाउन निकै मुस्किल पर्छ ।’ नेपालको खेलकुदबाट दिक्क लागेर विदेश पलायन हुनेमा चौधरी मात्र एक्ली पात्र होइनन् । अहिलेसम्म सयौँ खेलाडी आफू र आफ्नो परिवारको भविष्य सुनिश्चित पार्न विदेश पलायन भइसकेका छन् ।

केशरी चौधरी (एथलेटिक्स)
पछिल्लो समय केशरी चौधरी ट्र्याक एन्ड फिल्डकै नम्बर एक महिला एथलेटिक्सका रूपमा चर्चामा रहिन् । उत्कृष्ट फर्ममा रहँदा प्रतिस्पर्धा गरेको इभेन्टमा चौधरी प्रायः पहिलो स्थानमै हुन्थिन् । ट्र्याक एन्ड फिल्डमा चौधरीको नाममा दर्जनौँ राष्ट्रिय कीर्तिमान छन् । २६ वर्षीया केशरीले करिअरमा दशपटक आफ्नै नामको राष्ट्रिय रेकर्ड भंग गरिन् ।

रेकर्डहोल्डर उपनाम पाएकी चौधरी पनि यहाँको खेलकुद र जागिरबाट विरक्त भई गत साता मात्र विदेश पलायन भइन् । प्रहरीमा आफ्नो बढुवा नभएपछि र खेलकुदको सम्बन्धित निकायले समेत केही नगरेपछि चौधरी दुबईको प्रहरीमा मासिक एक लाखभन्दा बढी पारिश्रमिक थाप्ने गरी गएकी हुन् । महिला एथलेटिक्स क्षेत्रमा लाग्नेका लागि यस घटनाले निराशा थपेको जानकारहरू बताउँछन् ।

पशुपति पनेरू (ब्याडमिन्टन)
कुनै समय पनेरू नेपाली ब्याडमिन्टनका प्रतिभाशाली र प्रतिष्ठित खेलाडीमा पर्थे । धनगढीनिवासी उनी प्रहरीका जागिरे थिए । नेपाल रहँदा उनका एक मात्र विपक्षी रहन्थे बलराम थापा । यी दुईबीच फाइनलमा अक्सर भिडन्त हुन्थ्यो । पनेरूले १२ पटक विभिन्न ब्याडमिन्टन प्रतियोगिताको च्याम्पियनसिप उपाधि आफ्नो नाममा लेखाए ।

उनले लगभग दुई दर्जनभन्दा बढी अन्तर्राष्ट्रिय प्रतियोगितामा समेत सहभागिता जनाए । नवौँ इस्लामावाद साग तथा दशौँ कोलम्बो सागमा पनेरूले नेपाललाई कांस्य पदक दिलाए । अन्तर्राष्ट्रिय ब्याडमिन्टनको वरीयतामा १ सय ६०औँ स्थानमा रहन सफल पनेरूले २००८ मा अमेरिकालाई आफ्नो दोस्रो घर बनाए ।

एक दशक एथलेटिक्स क्षेत्रमा सक्रिय केशरी खेलकुदमा गतिलो भविष्य नदेखेपछि दुबईलाई नयाँ गन्तव्य बनाउन बाध्य भइन् । चौधरी जस्तो प्रतिभाशाली खेलाडी बाहिरिनु नेपालकै लागि दुर्भाग्य भएको एथलेटिक्सका प्रशिक्षक चन्द्र गुरुङ बताउँछन् ।

नेपालमा खेल्दा खान र बस्नसमेत पैसा नहुँदा आपूm अमेरिका लागेको उनले नेपाल आउँदा बताएका थिए । ‘राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलमा सक्रिय रहँदा एक छाक टार्नसमेत पैसा अपुग भयो, हाम्रोबारे राज्यले पनि विचार गरेन,’ नेपालमा आउँदा उनी खेल पत्रकारसँग भन्ने गर्थे, ‘अमेरिकामा रहँदा मलाई रकमको कुनै अभाव छैन, राम्रैसँग परिवार पाल्न सक्छु ।’

देवनारायण चौधरी (फुटबल)
नेपालको फुटबलमा देवनारायण चौधरीलाई हेडिङ किङ भनिन्थ्यो । नेपाल प्रहरीका जागिरेसमेत रहेका चौधरी पनि अहिले अमेरिकामै छन् । घरेलु लिगमा प्रहरीलाई दर्जनौँ उपाधि दिलाउँदा चौधरीले कतिपय खेलमा निर्णायक गोलसमेत गरे । डी–बक्सभित्र अकासिएर आएको बललाई चलाखीपूर्ण हेडिङ गोल गर्न खप्पिस चौधरी राष्ट्रिय टोलीकै एक भरपर्दा डिफेन्डर थिए । प्रहरीमा बढुवा नहुनु र राष्ट्रिय टोलीबाट केही नपाएपछि चौधरीले सात वर्षअघि अमेरिकालाई कमाइ गर्ने कर्मथलोका रूपमा लिए ।

दीपक अमात्य (फुटबल)
सन् १९९९ मा नेपालमा भएको आठाँै दक्षिण एसियाली फुटबलमा रजत पदक जित्दा दीपक अमात्य राष्ट्रिय टोलीकै परपर्दा स्ट्राइकर थिए । नेपालका लागि कम समयमा अन्तर्राष्ट्रिय खेलमा गोल गर्ने स्ट्राइकरमा अमात्य पर्छन् । तर, फुटबलमा केही भविष्य नदेखेपछि उनी पनि
अमेरिका भासिए ।

सन्तोष साहुखल (फुटबल)
सन्तोष साहुखल युवा अवस्थामै राष्ट्रिय टोलीमा स्थान बनाएका फुटबलरमा पर्छन् । लिग र घरेलु फुटबल प्रतियोगिता निरन्तर हुँदा साहुखल पनि अहिले नेपालमा छैनन् । आप्mनो आम्दानी बढाउन उनले केएल टावरमा स्विस घडीको पसल पनि खोले । त्यो व्यापारले खासै सफलता पाउन नसक्दा उनी अन्ततः जापानरित लागे ।

पढाइका लागि भनी उनी जापान गएका हुन् । मनाङमस्र्याङ्दी र थ्री स्टारजस्तो नेपालकै नम्बर एक क्लबबाट खेलेका साहुखल सन् २००७ देखि ०१५ सम्म राष्ट्रिय टोलीबाट खेले । यसक्रममा उनले २९ खेलमा चार गोल गरेका छन् ।

प्रलय राजभण्डारी (फुटबल)
एन्फा एकेडेमीको पहिलो ब्याच खेलाडी प्रलय राजभण्डारीले अमेरिकामा फुटबल एकेडेमी चलाइरहेका छन् । एन्फाको पहिलो ब्याचकै उत्कृष्ट उत्पादकमध्ये एक राजभण्डारीले नेपालबाट उमेर समूहमा प्रतिस्पर्धा गरेका छन् । घरेलु लिगमा उनले थ्री स्टारजस्तो चर्चित क्लबबाट प्रतिस्पर्धा गरेका थिए ।

थानेश्वर राई , (करातेका पूर्वप्रमुख प्रशिक्षक)
खेलाडी मात्र होइन, प्रशिक्षकसमेत नेपालको खेल अवस्थाबाट निराश भई बिदेसिएका छन् । त्यसको उदाहरण करातेका मुख्य प्रशिक्षक थानेश्वर राई हुन् । सन् २००७ मा लासभेगासमा एक कार्यक्रममा भाग लिन पुगेका राईलाई अमेरिकामै मन बस्यो । २६ वर्ष करातेका प्रमुख प्रशिक्षक बनेका राई ६ डान प्राप्त खेलाडी हुन् । करातेबाट राष्ट्रिय खेलकुद परिषद्अन्तर्गत प्रशिक्षण तथा तालिम केन्द्रका निर्देशक बनेका राई एक्लो खेलाडी हुन् । उनले पाँच वर्ष कराते महासंघ अध्यक्ष भई काम पनि गरे । नेपालको कराते खेलकै संस्थापक मानिने राईले अमेरिकामै करातेसम्बन्धी प्रशिक्षण दिइरहेका छन् ।

सविता राजभण्डारी (तेक्वान्दो)
तेक्वान्दोमा संगीना वैद्यको आगमन हुनुअघि सविता राजभण्डारी एक नम्बर खेलाडी थिइन् । अमेरिकालाई कर्मथलो बनाएकी सविताको नाममा नेपालको खेलकुद इतिहासमा एक ऐतिहासिक सफलता जोडिएको छ । सन् १९९८ मा बैंककमा सम्पन्न एसियाडमा सविताले नेपाललाई रजत पदक दिलाइन् । राजभण्डारीको यो रेकर्ड अहिलेसम्म कसैले तोड्न सकेका छैनन् । सन् २००० मा एक प्रतियोगितामा सहभागी हुन उनी अमेरिका पुगिन् । त्यहीँ भविष्य देखेपछि उनलाई अमेरिका नै प्यारो लाग्यो । र, उतै बसिन् ।

रेणुका रानामगर (तेक्वान्दो)
रेणुका रानामगर पनि सफल नेपाली तेक्वान्दो खेलाडीमा पर्छिन् । सन् २००२ को बुसान एसियाडमा रेणुकाले नेपाललाई कांस्य पदक दिलाइन् । त्यसपछि सन् २००४ मा नवौँ इस्लामावाद साग खेलकुदमा उनले स्वर्ण पदक हात पारिन् । कम समयमै नेपाललाई अन्तर्राष्ट्रिय तेक्वान्दोमा सफलता दिलाउँदा उनलाई भविष्यकै राम्री खेलाडीमा हेरिएको थियो । तर, सन् २००५ मा अमेरिकाको पोर्टल्यान्डमा भएको तेक्वान्दो च्याम्पियनसिपमा सहभागी हुँदै उनी त्यहाँबाट नेपाल फर्किइनन् । सन् २००५ मा काठमाडौंमा भएको एक कार्यक्रममा उनले भनेकी थिइन्, ‘नेपाल र नेपालको खेलकुदलाई हामीले स्वर्णपदक दिलायौँ, तर राज्यले हामीजस्तो स्वर्णपदकधारी खेलाडीलाई केही पनि गरेन, यसकारण भविष्य उज्ज्वल पार्न अमेरिकामा बसेकी हुँ ।’

मनिता शाही (तेक्वान्दो)
एसियन तथा साग गेमकी पदकविजेता मनिता शाही दुई वर्षअघि बिदेसिइन् । सन् २०१२ मा पोर्टल्यान्डमा भएको मैत्रीपूर्ण तेक्वान्दो प्रतियोगितामा शाहीले नेपालको प्रतिनिधित्व गर्दै स्वर्ण पदक जितेकी थिइन् । अमेरिकामै तेक्वान्दोसम्बन्धी छात्रवृत्ति पाएपछि उनी २०१५ मा पुनः अमेरिका गइन् । अमेरिका जाँदा शाहीले भनेकी थिइन्, ‘अमेरिकाको प्रशिक्षणले म आपूmलाई थप राम्रो बनाउनेछु, अब खेलाडीका रूपमा नभएर प्रशिक्षकका रूपमा योगदान गर्नेछु ।’ अन्य स्टार खेलाडीले झैँ मनिता पनि खेलाडीका लागि केही अवसर नभएको बताउने गर्थिन् ।

कनिष्क चौगाईं (क्रिकेटर)
पछिल्लो दशकमा कनिष्क चौगाईंलाई क्रिकेटमा भविष्य बोकेका खेलाडीका रूपमा हेरिएको थियो । करिब ६ वर्ष नेपालको युवा र सिनियर टोलीबाट प्रतिस्पर्धा गरेका चौगाईंलाई उनकै पिताले भविष्य बनाउन अमेरिका लगेका हुन् । सन् २००१ मा नेपालले पहिलोपटक एसिसी यू–१९ एसिया कप जित्दा उनको योगदान ठुलो थियो ।

सोही वर्ष न्युजिल्यान्डमा भएको आइसिसी यू–१९ विश्वकपअन्तर्गत प्ले च्याम्पियनसिपको उपविजेता उपाधि नेपालले हात पा¥यो । उनको कप्तानीमा नेपालले सन् २००५ मा प्ले च्याम्पियनसिप जितेको थियो । त्यसवेला कनिष्क र यसवन्त सुवेदी नेपालकै नम्बर एक ओपनर जोडीमा थिए । कनिष्कसँगै खेलेका शक्ति गौचन र वसन्त रेग्मी अहिले पनि राष्ट्रिय टोलीका प्रमुख खेलाडीका रूपमा छन् ।

जसले नेपालमै भविष्य खोजे

धेरैजसो खेलाडी नेपालमा खेलेर बाँच्ने आधार नभएकाले विदेश पलायन हुनुपरेको र उतै लुक्नुपरेको तर्क गर्छन् । तर, नेपाली खेलकुदमा अझै पनि धेरै यस्ता खेलाडी छन्, जसले राष्ट्रको झन्डा बोकी स्वदेशमै आफ्नो भविष्य खाजिरहेका छन् । उनीहरूमा ‘एक दिन खेलकुदको अनुहार फेरिन्छ’ भन्ने विश्वास छ ।

तेक्वान्दोका संगीना वैद्य, दीपक विष्ट, करातेका दीपक श्रेष्ठ, फुटबलका उपेन्द्रमान सिंह, हरि खड्का, क्रिकेटका पारस खड्का, ज्ञानेन्द्र मल्ल, शक्ति गौचन, वसन्त रेग्मीजस्ता खेलाडीले राष्ट्रमै अवसर छ भन्ने सन्देश दिइरहेका छन् । हुन त उनीहरूसँग पनि अमेरिका, युरोप, क्यानडाजस्तो विकसित मुलुकको भिसा नभएको होइन ।

नेपाललाई दक्षिण एसियाली खेलकुदमा दुईपटक स्वर्ण र कांस्य दिलाएका करातेका रोलमोडल दीपकले भने, ‘हामी यहाँ केही हुन्छ कि भनेर बसेका छौँ, एक न एक दिन नेपालको खेलकुद कसो विकास नहोला ।’ अमेरिका र क्यानडाको भिसा स्टाम लगाएका दीपक धैर्य राख्न नसक्दा खेलाडी विदेश पलायन हुने गरेको बताउँछन् ।

‘नेपालको खेलकुदमै योगदान गरौँ र भविष्य बनाउन धैर्य आवश्यक पर्छ, तर धैर्य टुट्छ, त्यसवेला त्यस्ता खेलाडी बाहिर जाने गर्छन्, पछिल्लो समय यस्तै उदाहरण देखिए,’ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुद संघका अध्यक्षसमेत रहेका दीपकले भने, ‘राम्रा खेलाडीसमेत बिदेसिँदा दुःख लाग्छ, उनीहरूले युवापिँढीमाझ आफूलाई उदाहरणका रूपमा स्थापित गर्नुपर्ने हो ।’

माथिल्लोस्तरका खेलाडी विदेश भासिँदा वा त्यतै लुक्दा त्यसको प्रत्यक्ष असर सम्बन्धित खेलमा पर्ने गरेको श्रेष्ठको भनाइ छ । राज्यले पनि ती खेलाडीमाथि वर्षौँ लगानी गरेको हुन्छ, एक दिन उही खेलाडी नै नेपाललाई छाडी विदेश जाँदा त्यसको रिप्लेसमेन्ट पाउन वषौँ कुर्नुपर्छ । त्यही स्तरका खेलाडि पुनः उत्पादन हुने हुन् या होइनन् भन्ने कुनै ग्यारेन्टी हुँदैन् । कुनै समय ब्याडमिन्टनमा नेपालका चर्चित खेलाडी बलराम थापा, पशुपति पनेरु र सुमिना श्रेष्ठ पनि अमेरिकन नागरिक भइसकेका छन् ।

तेक्वान्दोका संगीना वैद्य, दीपक विष्ट, करातेका दीपक श्रेष्ठ, फुटबलका उपेन्द्रमान सिंह, हरि खड्का, क्रिकेटका पारस खड्का, ज्ञानेन्द्र मल्ल, शक्ति गौचन, वसन्त रेग्मीजस्ता खेलाडीले राष्ट्रमै अवसर छ भन्ने सन्देश दिइरहेका छन् ।

अमेरिकामा आयोजित एक ब्याडमिन्टन प्रतियोगिताम थापा, पनेरू र श्रेष्ठले भाग लिए । प्रतियोगितामा सहभागी भई उनीहरू नेपाल फर्किए तर केही समयपछि नै अमेरिकातर्फ लागे । त्यसवेला ब्याडमिन्टनका धेरै खेलाडी तथा पदाधिकारीले उनीहरूलाई नेपालमै बस्न आग्रह गरेका थिए । तर, उनीहरूले आफ्नो भविष्य अमेरिकामै रहेको जनाउँदै त्यतै लागे ।

दुई वर्षअघि नेपाल आउँदा पनेरूले भनेका थिए, ‘हामीले यहाँ धेरै लगानी गर्यौं, तर भविष्यसम्म त्यसको प्रतिफल देखिएन, अझ यहाँको खेलकुद व्यावसायिक भइसकेको छैन, यसैकारण परिवारकोसमेत भविष्य सुनिश्चित पार्न अमेरिकालाई नयाँ गन्तव्य बनाएँ ।’

ब्याडमिन्टका पूर्व नम्बर एक खेलाडी पनेरुले भने भैm खेलाडीले नेपाल छाड्नुको मुख्य कारण घरेलु खेलकुद व्यावसायिक नहुनु नै हो । अर्को अन्तर्राष्ट्रियस्तरको प्रतियोगितामा नेपालको अवस्था दयनीय हुनु पनि खेलाडीहरू बाहिरनुको अर्को कारण भएको खेल विश्लेषकहरू बताउँछन् ।

कोरियामा दुक्छन् धेरै खेलाडी

युवा पुस्तामा तिलकराम थारू नाम चलेका एथलेटिक्स हुन् । उनी सन् २०१४ मा नेपालको प्रतिनिधित्व गर्दै दक्षिण कोरियाको इन्चोन सहर पुगेका थिए । तर, उनी इभेन्टमा सहभागी नभई त्यहीँ लुके । थारूले आफ्ना साथीमार्फत् पैसा कमाउन कोरियामा लुक्न बाध्य भएको प्रतिक्रिया दिए । ‘म आफ्नो भविष्य बनाउन र थुपै्र कमाउन कोरियामै लुकेको हुँ, नेपाल आमा, समर्थक र संघसँग माफी माग्न चाहन्छु,’ थारूले साथीमार्फत सन्देश दिए ।

कोरियामा लुक्ने खेलाडी
कोरियामा हालसम्म धेरै खेलाडी लुकेका छन् । जसको लेखाजोखा नेपाल ओलम्पिक कमिटी वा खेलकुद परिषद्सँग छैन । खेलकुदकै सम्बन्धित निकायलाई समेत थाहा छैन, विदेशमा कति खेलाडी लुक्ने वा भाग्ने गरेका छन् ।

खेलाडीहरूको नजरमा कोरिया मुख्य गन्तव्य हो । आखिर किन त ? कोरियामा लुक्दा त्यहाँका साथीहरूले सहजै काम मिलाइदिने पहिलो कारण हो । फेरि कोरियामा बस्दा त्यहाँको प्रशासनले धेरै दुःख पनि दिँदैन । प्रहरीले वेलावेलामा गर्ने छड्के पनि पहिला नै थाहा हुँदा भागेर बसेका खेलाडी प्रशासनलाई झुक्याउन सफल हुन्छन् ।

अर्को पक्ष भनेको कोरियाको आम्दानी पनि हो । कोरियामा सामान्य भाषा जान्नेले पनि महिनामा डेढ लाख रुपैयाँ कमाउँछन् । अझ भाषा जानेकाले त त्योभन्दा बढी नै कमाउँछन् । विकसित राष्ट्र र आर्थिक अवस्था बलियो बनाउन कोरिया नै राम्रो गन्तव्य भएको त्यहाँबाट फर्केका खेलाडीहरूको बुझाइ छ ।

अझ कोरियामा नेपाली खेलाडीले संघको सिफारिसमा सहजै भिसा पाउने हुँदा पनि लुक्ने योजना अगाडि नै बनाउने गरेको पाइन्छ । अलि चलाख खेलाडीहरू नेपालमै चार–पाँच महिना भाषा सिकेर जाने गरेका छन् । अर्को पक्ष भनेको गैरकानुनी रूपमा कोरियामा सहजै बस्न र काम गर्न सकिने पनि हो । कोरियाले दुईपटक एसियाली खेलकुद प्रतियोगिता आयोजना गरिसकेको छ ।

यसक्रममा नेपाली धेरै लुकेको इतिहास छ । तीन वर्षअघिको इन्चोन एसियाडमा एथलेटिक्सकै थारू, सेपाकताक्रोका अमन पोडे, उसुका सोमवीर तामाङ र नीराज आले त्यहीँ नै लुके । यी सबै खेलाडी एथलेटिक्स भिलेजबाट रातको समयमै भागेका थिए ।

सन् २००२ को बुसान एसियाडमा नेपालबाट भाग लिन गएको बक्सिङको एक जमात नै नेपाल फर्केन । नेपालबाट प्रतिनिधित्व गरेका रमेशदास श्रेष्ठ, रमेश श्रेष्ठ, कुमार अधिकारी, सुवर्ण सापकोटा, तेजबहादुर राना, अर्जुन तामाङ र रामचन्द्र थापामगर प्रतिस्पर्धापछि बुसान
सहरमा रमाए ।

सन् २००३ मा एसियन कप छनोटमा फुटबलका शुक्र तामाङ, नारायण मानन्धर र दीपक लामाको नेपाल फर्कने मन भएन । सन् २००५ मा अन्तर्राष्ट्रिय आमन्त्रण प्रतियोगिता खेल्दा सागका स्वर्णपदकधारी रवि महर्जन त्यहीँ लुके ।

पदाधिकारी पनि लुके
खेलाडी मात्र होइन, पदाधिकारीसमेत कोरियामै भासिएका छन् । सन् २०१२ मा मास्टर्स इन्स्ट्रक्सर्ट कोर्स गर्नेक्रममा नेपालका पदाधिकारी खम्बा राई, राजेन्द्र शाही र राजकुमार पाण्डे नेपाल फर्किएनन् ।

मार्सल आर्टस् खेलमा भाग लिन प्रत्येक वर्ष खेलाडीहरू कोरिया जाने गर्छन् । त्यस्ता खेलबाट को खेलाडी गए र फर्किए भन्ने संघका पदाधिकारीलाई समेत हेक्का हुँदैन । दर्जनौँ संख्यामा रहेको मार्सल आर्टस् खेल संघबाट वार्षिक रूपमा सयौँ खेलाडी कोरिया जान्छन् र आधाजसो त्यहीँ भाग्ने गरेको कराते महासंघका पदाधिकारी बताउने गर्छन् ।

दश वर्ष प्रतिबन्ध
विदेशमा पलायन तथा भाग्ने पदाधिकारी र खेलाडीलाई त्यति कठिन सजायँ दिएको पाइँदैन । खेलकुदको सम्बन्धित निकायले खेलाडी र पदाधिकारी नेपाल फर्केर आउँदा भव्य स्वागत गरी स्थान दिएको उदाहरण पनि छ । तर, नेपालको इतिहासमा पहिलोपटक लुकेका खेलाडीलाई दश वर्ष प्रतिबन्ध लगाएको अर्को उदाहरण पनि भेटिन्छ ।

१७औँ एसियाडमा लुकेका खेलाडीलाई सरकारले दश वर्ष प्रतिबन्ध लगाएको थियो । एसियाली खेलकुद प्रतियोगिता कार्य सम्पादन समितिले यसरी प्रतिबन्ध लगाएको हो । त्यसवेला खेलाडी भगाउने सहयोगी र व्यवस्थापकलाई समेत एक वर्ष निलम्बन गरिएको थियो ।

जो नेपाल फर्किए

नीराजन रायमाझी (फुटबल)
अन्तर्राष्ट्रिय फुटबलमा नेपालबाट पहिलो ह्याट्रिक रेकर्ड स्ट्राइकर नीराजन रायमाझीको नाममा छ । सन् २००१ को विश्वकप छनोटमा रायमाझीले ओमानविरुद्ध ह्याट्रिक गरेका थिए । नेपालको फुटबलमा हरि खड्कासँगै सर्वाधिक अन्तर्राष्ट्रिय गोल गर्ने कीर्तिमान उनले बनाएका छन् । रायमाझीले १३ अन्तर्राष्ट्रिय गोल गरेका छन् ।

करिअरकै उत्कृष्ट लयमा रहँदा रायमाझी एकाएक जर्मनी भासिए । तर, जर्मनीको बसोवास नमिल्दा र आफूले भनेकोजस्तो नहुँदा पाच वर्षपछि उनी फेरि नेपालै फर्के । सन् २०११ मा उनले राष्ट्रिय टोलीबाट सन्न्यास लिए ।

नारायण मानन्धर (फुटबल)
कुनै समय नारायण मानन्धर डिफेन्समा रहँदा अग्रपंक्तिका खेलाडी ढुक्कले खेल्थे । उनी २००० ताका जबरजस्त डिफेन्डर थिए । चाहे त्यो क्लब लेभलको प्रतिस्पर्धामै किन नहोस् उनको डिफेन्स तोड्न विपक्षीलाई गाह्रो पथ्र्यो । यस्ता प्रसिद्धि कमाएका मानन्धर सन् २००३ मा नेपाल एसियन कप छनोट खेल्न दक्षिण कोरिया पुग्दा त्यतै लुके ।

नेपाली फुटबल टोलीमा उनीसँगै त्यसवेला शुक्र तामाङ र दीपक लामा पनि कोरियामै लुकेका थिए । केही महिनाअघि मात्र मानन्धर नेपाल फर्किएका छन् । १४ वर्षपछि नेपाल फर्कंदा उनले यहाँको खेलकुद उस्तै पाएका छन् ।

छनोट खेल्न जाँदा भाग्ने मनसाय नबनाएको मानन्धर बताउँछन् । ‘काठमाडौंबाट कोरिया जाँदासम्म भाग्ने वा लुक्ने मनसाय बनाएको थिएन, तर पछि त्यहाँका साथीहरूले भविष्य बनाउन बस्न आग्रह गरेपछि म त्यहीँ बसेँ,’ मानन्धरले भने ।

नेपाल इतिहासमै अन्तर्राष्ट्रिय खेलमा दक्षिण कोरियासँग १६–० ले पराजित हुँदा मानन्धर पनि एक साक्षी खेलाडी हुन् । खेल सकिएपछि उनीसँगै अन्य दुई खेलाडी होटेलबाट भागेका थिए । कोरियन प्रहरीले उनीहरूलाई पक्रन प्रयास नगरेको होइन ।

रवि महर्जन (कराते)
सन् १९९९ को आठौँ साग गेममा नेपालले करातेमा क्लिन स्विप गर्दा रवि महर्जन पनि एक खेलाडी थिए । उनले सागको पहिलो सहभागितामै नेपाललाई स्वर्ण दिलाए । २००४ मा इस्मावादको सागमा उनी कांस्यमै सीमित भए ।

एक बहुप्रतिभाशाली कराते खेलाडी सन् २००५ मा कोरियामा आयोजना भएको एक आमन्त्रित कराते प्रतियोगितामा सहभागी हुनेक्रममा उतै लुके । कोरियामा रहँदा महर्जनले आपत्मा परेका खेलाडी तथा नेपाललाई सहयोग गर्ने काममा सक्रियता देखाएका थिए । सन् २०१४ को इन्चोन एसियाडमा महर्जनले खेलाडीलाई सम्मान गर्नेदेखि पाल्नेसमेत काम गरे । कोरियामा लुकेका खेलाडीहरूकै एक संघका अध्यक्षका रूपमा उनी त्यहाँ परिचित थिए ।

एसियाडमा सक्रिय भएपछि कोरियन प्रहरीले उनलाई पक्राउ गरी पुनः नेपालमा फर्कायो । सन् २०१५ मा महर्जन नेपाल फर्किएका हुन् । अहिले उनी कराते र फुटबलमा भोलेन्टियरका रूपमा सक्रिय छन् । कोरिया लुक्नुको कारणबारे उनी भन्छन्, ‘नेपालमा खेल्दा केही पाउन सकिएन, आर्थिक रूपमा सबल हुन सकिएन, यसकारण पैसा कमाउन कोरिया लुकेँ ।’ कोरियाको कमाइमा उनले एउटा घर निर्माण पनि गरेका छन् ।

नरेन्द्र श्रेष्ठ (फुटबल)
नरेन्द्र श्रेष्ठ पनि एक समय नेपालकै चर्चित स्ट्राइकरमा गनिन्थे । स्ट्राइकरमा हुनुपर्ने सबै गुण श्रेष्ठमा थियो । सन् १९९८ मा जापानमा भएको विश्वकप छनोटमा श्रेष्ठसँगै राजेश थापा, बबिन विष्ट र सौगेश श्रेष्ठ उतै लुके । जापानमा लामो बसाइपछि श्रेष्ठ नेपालै फर्किए । नेपाल फर्केपछि उनी पुनः न्युरोड टिम (एनआरटी) बाट घरेलु लिगम सक्रिय भए ।

सौगेश श्रेष्ठ (फुटबल)
विश्वकप छनोटमा भागेका तीन फुटबलरमध्ये सौगेश श्रेष्ठ पनि एक हुन् । अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको नाम धमिलो पारेका सौगेश अहिले एन्फामा आबद्ध छन् । उनी अहिले रेफ्री भूमिकामा सक्रिय देखिन्छन् ।

पुरेन्द्रविक्रम लाखे (कराते)
अन्तर्राष्ट्रिय मान्यताप्राप्त नेपाल कराते महासंघका अध्यक्ष पुरेन्द्रविक्रम लाखे पनि एक समय नेपालको प्रतिनिधित्व गरी विदेश लुकेका खेलाडीको सूचीमा पर्छन् । सन् १९९२ मा जापानमा विश्व सितेरियो कराते च्याम्पियनसिप हुँदा लाखे त्यतै लुकेका थिए । उनीसँगै त्यसवेला केशवसिंह ठकुरी, संघरत्न महर्जन र पशुपतिनाथ मुल्मी पनि लुके । करातेका अन्तर्राष्ट्रिय रेफ्रीसमेत रहेका लाखे नेपाल ओलम्पिक कमिटीका पदाधिकारीसमेत हुन् ।

नीलेन्द्रराज श्रेष्ठ (एथलेटिक्स)
नेपाल एथलेटिक्स संघका पूर्वअध्यक्ष नीलेन्द्रराज श्रेष्ठ नब्बेको दशकमा राष्ट्रिय खेलकुद परिषद्को छात्रवृत्तिमा पढ्न जर्मन गएका थिए । पढाइ सके पनि उनी तत्काल नेपाल आएनन् । पछि उनी नेपाल आए । श्रेष्ठ नेपाल ओलम्पिक कमिटीका केन्द्रीय सदस्य हुन् ।

कान्छीमाया कोज, एथलेटिक्स

एथलेटिक्सकी कान्छीमाया कोजु एक समय विदेश लुकेपछि नेपालमा हल्लीखल्ली मच्चिएको थियो । सन् २००७ मा जापानमा भएको ११औँ विश्व एथलेटिक्स प्रतियोगितामा सहभागी हुनेक्रममा उनी उतै लुकिन् ।

जापानको ओसाकामा आयोजकले व्यवस्था गरेको होटेल रुममा पार्सपोर्टबाहेक सबै सामग्री छाडी उनी रातारात हराइन् । नेपालको नाम अन्तर्राष्ट्रिय क्षेत्रमा खराब बनाएपछि नेपाल एथलेटिक्स संघले कोजुलाई कारबाही र जरिवानासमेत तिरायो । दुवै सजाय पूरा गरेपछि मात्र उनी पुनः एथलेटिक्स क्षेत्रमै सक्रिय रूपमा लागेकी छिन् ।

अहिले कोजुले माथिल्लो दर्जामा प्रदर्शन गरिरहेकी छिन् । ३४ वर्षीय भक्तपुर निवासी उनले राष्ट्रियस्तरमा ४० भन्दा बढी स्वर्णपदक जितेकी छिन् । जापानको घटना सम्झँदा उनी अहिले पनि लज्जित हुने गर्छिन् । भन्छिन्, ‘त्यसवेला जोस र कमाउने उद्देश्यले जापानमै बस्ने निधो गरँे, अहिले त्यो घटना सम्झँदा आफूलाई दुःख र लज्जाबोध हुन्छ ।’ कोजुलाई अब त्यो घटना सम्झन मन लाग्दैन पनि । त्यसलाई एक नराम्रो सपनाका रूपमा उनले लिएकी छिन् ।

जो विदेश भासिए

फुटबल
शिव श्रेष्ठ (कतार), अमिर श्रेष्ठ (कतार), सुगन श्रेष्ठ (कतार), राजकुमार विश्वास (कतार), अर्जुन सुब्बा (कतार), गणेश खड्का (कतार) बादल घिसिङ (युएई), कोभित कार्की (दक्षिण कोरिया), युडी गुरुङ (अस्ट्रेलिया), विवेकप्रताप पन्त (अस्ट्रेलिया), जगजित श्रेष्ठ (अस्ट्रेलिया), धीरज तामाङ (अमेरिका), सन्तोष साहुखल (जापान), किरण सुनार (इन्डियन आर्मी), विकास थापा (इन्डियन आर्मी), आकाश थापामगर (ब्रिटिस आर्मी), वसन्त गौचन (जापान), वसन्त थापा (अमेरिका), लोकबन्धु गुरुङ (बेलायत), प्रलय राजभण्डारी (अमेरिका), देवनारायण चौधरी (अमेरिका), उमेश प्रधान (अमेरिका), राजुकमार श्रेष्ठ (अमेरिका), दीपक रानामगर (अमेरिका), प्रशान्त गिरी (अमेरिका), उमेश मास्के (अमेरिका)

अमेरिकामा रहेका तेक्वान्दो खेलाडी र प्रशिक्षक

सविता राजभण्डारी, विधान लामा, लव गोर्खाली, किशोर श्रेष्ठ, अमिर श्रेष्ठ, दिवाकर डान महर्जन, रेणुका रानामगर, निरञ्जन श्रेष्ठ, सीता राई, प्रमिला थापा, यमबहादुर पुन, कुमार कार्की, कल्पना कार्की, सुदर्शनबहादुर केसी, रूपा स्याङतान, मनमोहन वाइवा, सपना मल्ल, सीता धामी, विभा राई, वन्दना श्रेष्ठ, बन्दना श्रेष्ठ, जितुजिमी राई, वसन्त पाण्डे, मनमोहन वाइवा,  मनिता शाही

अमेरिकामा रहेका कराते खेलाडी र प्रशिक्षक

थानेश्वर राई, सुनील लामा, समर गोले, आनन्दु लामा, मकेन्द्रबहादुर सिंह, सरोज भट्टराई, राजेश सुब्बा, शान्ता थोकर, विनिता तामाङ

अमेरिकामा रहेका ब्याडमिन्टन खेलाडी
पशुपति पनेरू, सुमिना श्रेष्ठ, प्रकाश राना

अमेरिकामा रहेका अन्य खेलाडी

विजय डंगोल (बक्सिङ), सुशील पोखरेल (बक्सिङ), लालबहादुर आयर (भारोत्तोलन), नीलम खड्का (सुटिङ), नरबहादुर दाहाल (एथलेटिक्स), रमिला तण्डुकार (भलिबल)
कराते

  • १९९२ जापानले आयोजना गरेको विश्व अन्तर्राष्ट्रिय सितेरियो कराते च्याम्पियनसिपमा सहभागी हुने क्रममा पुरेन्द्रविक्रम लाखे त्यतै लुके । हाल उनी अन्तर्राष्ट्रिय मान्यता प्राप्त नेपाल कराते महासंघका अध्यक्ष छन् । सोही च्याम्पियनसिपमा केशवसिंह ठकुरी, संघरत्न महर्जन र पशुपतिनाथ मुल्सिमा पनि भागेका थिए ।
  • १९९४ जापानमा भएको हिरोसिमा एसियाडमा मानबहादुर पुन, १९९५ ताइवानमा भएको अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिपमा समरबहादुर गोले र सोभियन प्रसाईं । प्रहरीले सोभितलाई पक्राउ गरेपछि नेपाल फर्काइयो ।
  • २००० मा जापानमा भएको विश्व सितेरियो च्याम्पियनसिपमा सुरेन्द्रलाल श्रेष्ठ र राजु अधिकारी ।
  • २००५ दक्षिण कोरियामा भएको आमन्त्रित अन्तर्राष्ट्रिय प्रतियोगितामा रवि महर्जन ।
    फुटबल
  • १९९४ मा जापानमा सम्पन्न हिरोसिमा एसियाडमा ज्ञानेन्द्र शेरचन ।
  • १९९८ जापानमै भएको विश्वकप छनोटमा राजेश थापा, नरेन्द्र श्रेष्ठ, स्व. बबिन विष्ट र सौगेश श्रेष्ठ ।
  • २००३ दक्षिण कोरियामा एसियन कप छनोटमा शुक्र तामाङ, नारायण मानन्धर, दीपक लामा ।
    उसु
  • २०१४ दक्षिण कोरियाको इन्चोन सहरमा भएको एसियाडमा नीराजन आलेमगर, सोमवीर तामाङ, संघका उपाध्यक्ष विकास तामाङ ।
    बक्सिङ
  • १९९४ जापानको हिरोसिमामा भएको एसियाडमा सुरेश मल्ल ।
  • २००० दक्षिण कोरियाको बुसान एसियाडमा रमेशदास श्रेष्ठ, रमेश श्रेष्ठ, कुमार अधिकारी, सुवर्ण सापकोटा तेजबहादुर राना, अर्जुन तामाङ र रामचन्द्र थापामगर ।
    पौडी
  • २००० अस्ट्रेलियाको सिड्नीमा भएको ओलम्पिक खेलकुदमा प्रशिक्षक युवराज सुनुवार ।
  • २००४ मा इन्डियाना पोलिस फिना विश्व च्याम्पिनयसिपमा चित्रबहादुर गुरुङ । केही वर्षअघि गुरुङको अमेरिकामै निधन भएको थियो ।
    तेक्वान्दो
  • २००१ अमेरिकाको टेक्सासमा भएको २०औँ फोर्थ अन्तर्राष्ट्रिय तेक्वान्दोमा किशोर श्रेष्ठ, कोसिस खड्का, विपिन श्रेष्ठ ।
  • २००३ अमेरिकाको पोर्टल्यान्डमा भएको तेस्रो अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा सीता राई, प्रमिला थापा, रेणुका थापामगर, निरञ्जन श्रेष्ठ, सन्तोष प्रधान ।
  • २००५ मा पोर्टल्यान्डमै भएको पाँचौँ अन्तर्राष्ट्रिय तेक्वान्दोमा रूपा स्याङदेन
  • २०१२ दक्षिण कोरियामा भएको मास्टर्स इन्स्ट्रक्र्समा खम्बा राई, राजेन्द्र शाही, राजकुमार पाण्डे ।
    एथलेटिक्स
  • २००६ मा जर्मनीको बर्लिनमा भएको म्याराथनमा निर्मला भारत
  • २००७ मा जापानको ओसाकामा भएको ११औँ विश्व एथलेटिक्स च्याम्पियनसिपमा कान्छीमाया कोजु (कोजु हाल नेपालमा फर्की सक्रिय खेलमा आबद्ध) ।
  • २०१४ कोरियाको इन्चोनमा भएको १७औँ एसियाडमा तिलकराम थारू,
    ब्याडमिन्टन
  • २००८ दक्षिण कोरियामा भएको एसियन जुनियर च्याम्पियनसिपमा राजु पनेरू ।
  • २०१४ इन्चोन एसियाडमा ब्याडमिन्टनका अमन पोडे ।

पलायन रोक्न सक्ने अवस्था छैन
केशवकुमार विष्ट, सदस्यसचिव, राष्ट्रिय खेलकुद परिषद्

खेलाडी पलायन हुनु दुःखद कुरा हो । गरिब देशबाट धनी देशमा खेलाडी पलायन नेपालको मात्र नभएर संसारभरकै समस्या हो । तर, सामान्य जीवनयापन गर्न नसकेर नै बाहिरिनुपर्ने अवस्था भने निकै दुःखद छ ।

पलायन रोक्नका लागि राष्ट्रिय खेलकुद परिषद्ले पछिल्लो समय खेलाडीलाई प्रोत्साहन र पुरस्कार दिने काम निरन्तर गरिरहेको छ । यद्यपि, खेलाडीले पूर्ण रूपमा खेलेरै बाँँच्न सक्ने वातावरण सरकारले बनाइदिनुपर्छ । हामीले गर्ने प्रयासले पलायन समस्या केही कम भए पनि रोक्न सक्ने अवस्था छैन ।

परिषद् खेलाडी पलायनको समस्यामा निकै गम्भीर भएर लागेको छ । सरकारलाई हामीले खेलाडी प्रोत्साहन कार्यविधि नै बनाएर बुझाएका छौँ । अब देश स्थिरतातर्फ उन्मुख भएमा स्वाभाविक रूपमा यो समस्या समाधान हुनेछ । कुनै पनि खेलाडीले सामान्य जीवनयापनकै लागि विदेश जानुपर्ने अवस्था आउनेछैन ।  अहिले मेडल जित्ने खेलाडीलाई ५ हजार दिँदै आएका छौँ, आगामी वर्ष १० हजार र अर्को वर्ष २५ हजारसम्म प्राप्त गर्न सक्ने गरी हामी अघि बढेका छौँ ।

खेलाडीहरूलाई आफ्नो भविष्यको सुनिश्चिततासँगै जिम्मेवार बनाउनु पनि उत्तिकै आवश्यक छ । त्यसका लागि उनीहरूको नेपालमै खेलेर बाँच्न सक्ने अवस्था सिर्जना गर्नु हो । भविष्यको सुनिश्चिततासँगै खेलाडीहरू नैतिकवान् भएमा देशले मेडलसँगै सफलता पनि प्राप्त गर्नेछ ।

एन्फाका पूर्वमहासचिव, शाही नै मानव तस्करीमा
अखिल नेपाल फुटबल संघ (एन्फा)का पूर्वमहासचिव र नेपाल आइस हक्की संघका अध्यक्ष लोकबहादुर शाही हालै मात्र जेलबाट बाहिर निस्किएका छन् ।

शाहीमाथि खेलाडीलाई क्यानाडा पु¥याउने भनी एक करोड रुपैयाँ ठगी गरेको आरोप लागेको थियो । सोही आरोपमा उनी पक्राउ परे । शाहीले क्यानाडामा पठाउने भनी २० जना व्यक्तिसँग रुपैयाँ लिएका थिए ।

क्रिकेटर बनाएर जापान सरर…
गत वर्ष नेपाल र जापानबीच मैत्रीपूर्ण क्रिकेट प्रतियोगिता भएको थियो । आधा खेलाडी युवा राष्ट्रिय क्रिकेटर र अन्य गैरखेलाडी बनाएर नेपालको टोली तयार भएको थियो । सो टोली बनाउनमा पूर्वफुटबलर सुन्दर थापा र नेपाल क्रिकेट संघ (क्यान)का सदस्य किरण राणाको प्रमुख भूमिका थियो ।

प्रतियोगितामा नेपालले जापानको स्थानीय क्लबविरुद्ध तीन खेल खेलेको थियो । तर, खेल चलिरहँदा युवा क्रिकेटरले सहभागी अन्य कुनै खेलाडीलाई चिनेनन् । टोली बनाएर जापान लगेका दुई प्रमुख व्यक्ति थापा र राणाले गैरखेलाडी नचिनेको बताउँदा सहभागी खेलाडी वाल्ल परे । र उनीहरूले थप खेलाडी जापानको दूतावासबाट सिफारिस भएको दाबी गरे । सो प्रतियोगितामा कम्तीमा १० खेलाडी जापानमै लुकेका थिए ।

मानव तस्करीमा मुछिए गुरुङ
दुई साताअघि राष्ट्रिय खेलकुद परिषद्का सदस्य फत्तबहादुर गुरुङ मानव तस्करीमा मुछिएपछि कारबाहीमा परे । परिषद्का सदस्यसचिव केशवकुमार विष्टसमक्ष गुरुङले गैरखेलाडीलाई जापान पठाएको निवेदन परेको थियो । त्यसपछि परिषद्ले गुरुङद्वारा मानव तस्करी गरेको ठहर गर्दै निलम्बन गरेको हो । स्वयं गुरुङले गैरखेलाडीबाट जापान पठाउन १० लाख लिएको स्विकारेका छन् ।

परिषद् र एनओसी मौन
राष्ट्रिय खेलकुद परिषद्मा दुई सयको हाराहारीमा संघ तथा संस्था छन् । औँलामा गन्न मिल्ने संघसंस्थाले नियमितजसो राष्ट्रिय प्रतियोगिता सञ्चालन गरिरहेका छन् । यसबाहेक अन्य राष्ट्रिय संघले विदेशमा खेलाडी पठाउने प्रयोजनका निमित्त संघ खोलेका छन् ।

राष्ट्रिय प्रतियोगिता नगरी नै अन्तर्राष्ट्रिय खेलमा सहभागी गराउने खेलाडीलाई परिषद् र नेपाल ओलम्पिक कमिटी (एनओसी)ले भव्य कार्यक्रम आयोजना गरी बिदाइ गर्ने प्रचलनलाई तीव्रता दिइरहेका छन् । त्यस्ता खेलाडी नेपाल फर्कन्छन् कि फर्कंदैनन्, त्यसको हेक्का यी दुवै सम्बन्धित खेल निकायले राख्ने गरेका छैनन् ।

खेलाडीले कस्तो प्रदर्शन ग¥यो वा नेपाल आयो कि आएन भनी प्रश्नसमेत गरेको भेटिँदैन । अझ खेलमा सहभागी हुन जाँदा विदेशमा लुकेर बस्ने र उनीहरूलाई लुकाउन सहयोग गर्ने पदाधिकारीलाई खासै कठोर कारबाही गरेको इतिहास विरलै छ । अन्तर्राष्ट्रिय स्तरमा नेपालको छवि धमिलो पारेका व्यक्ति स्वतन्त्रपूर्वक हिँडिरहँदा पनि परिषद् र एनओसी मौन छन् ।

पदक जित्दा यस्तो पुरस्कार
छिमेकी भारतमा ओलम्पिकदेखि अन्य प्रतियोगितामा स्वर्ण जित्दा वा च्याम्पियन बनेर आउँदा खेलाडीलाई मनग्य रकम पुरस्कार स्वरूप दिने गरेको उदाहरण छ । तर, नेपालमा भने खेलाडीले ऐतिहासिक प्रदर्शन गर्दा पनि त्यस किसिमको पुरस्कार दिइँदैन ।

पछिल्लो समय परिषद्ले साग खेलकुदमा स्वर्ण जित्ने खेलाडीलाई मासिक पाँच हजार रुपैयाँ दिने घोषणा गरेको छ । परिषद्को प्रस्ताव सरकारले स्वीकृत गरे आउँदा दिनमा सागका स्वर्ण विजेताले मासिक ५ हजार पाउनेछन् । यसैगरी रजत विजेताले तीन हजार र कांस्य हात पार्नेले १५ सय रुपैयाँ पाउने परिषद्को भनाइ छ ।

परिषद्ले एसियाड खेलकुदमा स्वर्ण जित्नेलाई १५ हजार, रजत जित्नेलाई १० हजार र कांस्यलाई पाँच हजार प्रतिमहिना पारिश्रमिक दिने घोषणा गरेको छ । परिषद्ले ओलम्पिक खेलकुदको स्वर्ण जित्नेलाई २५ हजार, रजतलाई २० हजार र कांस्यलाई १५ हजार रुपैयाँ प्रतिमहिना प्रदान गर्ने प्रस्ताव सरकारसमक्ष राखेको छ ।

यता एन्फाले आफ्ना राष्ट्रियस्तरका खेलाडीलाई प्रतिमहिना १५ हजार रुपैयाँ दिँदै आएको छ । क्रिकेटमा ए श्रेणीका खेलाडीले प्रतिमहिना ३५, बी श्रेणीले २५, तेस्रो श्रेणीका खेलाडीले १५ र डी श्रेणीका खेलाडीलाई मासिक पाँच हजार पारिश्रमिक दिने गरेको छ ।

राज्यले खेलेर बाँच्ने प्रत्याभूति दिन सक्नुपर्छ
दीपक श्रेष्ठ, अध्यक्ष राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघ

मेरो विश्लेषणमा खेलाडी विदेश भाग्नु वा पलायन हुनु भनेको आफ्नो भविष्य सुनिश्चित बनाउनु हो । जबसम्म राज्यले खेलाडी र खेलका लागि नीति निर्माण र बाँच्ने आधार, सुविधा उपलब्ध गराउँदैन त्यसवेलासम्म यस्तो नियति हामीले व्यहोर्नुपर्छ । राज्यले एक खेलाडीमाथि वर्षौंसम्म लगानी गरेको खेर जाँदैन ।

खेलाडीले आफ्नो समय राज्यलाई योगदान दिन्छ । त्यसवेलासम्म उसले आफ्नो जीवनको एक खण्ड राज्य र खेलकुदलाई समर्पित गर्छ । तर, जीवनको उत्तराद्र्धमा खेलाडीले केही पाउँदैन त्यसवेला ऊ आफ्नो भविष्यबारे सोच्न बाध्य हुन्छ । यसरी ऊ विदेशतर्फ आकर्षित भएकोजस्तो लाग्छ । यहाँ खेलेर आफू र परिवार पाल्न मुस्किल पर्छ । अहिलेको महँगी त कुरै नगरौँ । एक महिनाको पारिश्रमिकले पनि दुई छाक खान मुस्किल छ । खेलेर बाँच्ने प्रत्याभूति राज्यले दिन सक्नुपर्छ । राज्यले अब विशेष पोलिसी बनाउनुपर्छ ।

नयाँ खेलाडी उत्पादन गर्न संघलाई उत्साहित गर्नुपर्छ । राम्रा खेलाडी एक–एक गर्दै बाहिर जाँदा नेपाली खेलकुदमा ठूलो समस्या आउन सक्छ । हामीले कुनै पनि खेलका लागि यहाँकै प्रशिक्षक बनाएर प्रशिक्षण दिनसमेत मुस्किल पर्छ । यस अवस्थामा विदेशबाट प्रशिक्षक झिकाएर प्रशिक्षण दिनुपर्ने बाध्यता आउन सक्छ । हामी आशैआशाले नेपालमा बसेका हौँ । नेपालबाट खेली अन्तर्राष्ट्रिय क्षेत्रमा नाम कमाएका केही खेलाडी मात्र छन् । अझ औँलामा गन्न सकिने मात्र स्टार खेलाडी नेपालमा छन् ।

तर, आउँदा दिनमा केही गर्न सकेनौँ भने हामीजस्ता खेलाडी पनि बाहिर भविष्य खोज्न बाध्य हुन्छौँ होला पनि । कहिलेकाहीँ यहाँको स्थिति देख्दा बाहिर जाउँजस्तो लाग्छ । तर, कुनै न कुनै दिन नेपालमा खेलकुदमै लागेर बस्न सक्ने अवस्था आउँछ कि भनेर बसिरहेका छौँ । खेलकुद बुझ्ने र चलाउन सक्ने नेतृत्वको आवश्यकता छ । यहाँ खेल क्षेत्रकै भलो र राम्रो गर्ने नेताहरू छैनन् ।

अहिलेको पुस्ता फरक छन् । उनीहरू राम्रो अवसर पाउनेबित्तिकै बाहिर जान्छन् । पुराना खेलाडीभित्र त्यस्तो छैन । बिस्तारै खेलकुदको परिस्थिति बदलिन्छ भनी बसिरहेका छन् । विशेषतः आफ्नो भविष्य उज्ज्वल पार्नका लागि नै खेलाडीहरू विदेश पलायन वा लुक्ने गरेको विश्लेषण हो ।

जीवन धान्ने कमाइ नहुँदाको परिणाम
हरि खड्का, पूर्वकप्तान राष्ट्रिय फुटवल टोली

खेलाडी पलायन हुनको मुख्य कारण नियमित रूपमा प्रतियोगिता नहुनु हो । फुटबलको कुरा गर्दा वर्षौंदेखि प्रतियोगिता नहुँदा पलायन हुनुपर्ने बाध्यता छ । पहिलाका खेलाडीहरू भए पनि, नभए पनि देश सम्झेर जीवन बिताउँथे, तर अहिले अवस्था त्यस्तो छैन ।

संसार देखेका, बुझेका हुन्छन् । खेलसँगै जीवनयापन व्यवस्थित बनाउनु अपरिहार्य हुने भएकाले पनि खेलाडीहरू पलायन भइरहेका छन् ।

पछिल्लो समय सुरक्षित भविष्यको खोजीमा खेलाडीहरू लागिरहेका छन् । जसलाई राज्यले सम्बोधन गर्नुपर्छ । यद्यपि, अब खेलकुद र खेलाडीको विकासका लागि सबै पक्ष जिम्मेवार हुने समय भइसकेको छ । निजी क्षेत्रले पनि राम्रो गर्ने खेलाडीलाई हौसला बढाउनुपर्छ ।

राज्यको मात्र धर्म सम्झिने भन्दा पनि सबै पक्ष जिम्मेवार हुन सके मात्र यो समस्या कम हुन्छ । यद्यपि, समस्या पूर्ण रूपमा अन्त्य हुन्छ भन्ने हुँदैन । तर, खेलाडीले सामान्य अवस्थामा नै बिदेसिनुपर्ने अवस्था नहुँदा र नियमित प्रतियोगिताहरू भएमा खेलकुदको विकासमा योगदान पुग्नेछ ।

नेपालमा अहिले खेल खेलेर बाँच्ने र खेलप्रति जीवन समर्पित गर्ने सीमित खेलाडी मात्र छन् । त्यसमा पनि खेल क्षेत्रमै केही गर्नुपर्छ भनेर लागेका खेलाडी ५–१० जना मात्रै होलान् ।

हामी नै पलायन हुने अवस्था छ
दीपक विष्ट, ओलम्पियन
खेलाडी पलायन कुनै पनि अर्थमा राम्रो होइन । त्यसमा पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा नै मेडल जित्न सफल खेलाडीको पलायन झनै चिन्ताको विषय हो ।

एउटा राष्ट्रिय खेलाडी बन्न कति मिहिनेत र लगाव चाहिन्छ भन्ने कुरा उनीहरूलाई मात्रै थाहा होला । यस्तोमा सामान्य जीवनयापन गर्न नसकेर बिदेसिनु खेलाडीका लागि बाध्यता भए पनि देशका लागि विडम्बना हो ।खेलाडीको पलायनको ठूलो कारण भनेको उनीहरूको जीवन सेक्युर नहुनु हो ।

राज्यले खेलेरै जीवन धान्न सक्ने वातावरण सिर्जना गर्ने हो भने खेलाडी पलायन रोकिन्छ । राज्यबाट नै उपेक्षित भएका खेलाडी नियमित प्रतियोगिता नहुँदा झनै तनावमा हुन्छन् । यस्तोमा उनीहरूको विकल्प बिदेसिनुबाहेक रहन्न पनि । जीवनको ऊर्जाशील समय देशका लागि खर्चेपछि उनीहरूको मूल्यांकन पनि राज्यले सोहीअनुसार गर्नुपर्छ ।

राष्ट्रिय टिममा अनवरत रूपमा १०–१५ वर्ष संघर्ष गरेका खेलाडीलाई राज्यले सम्पूर्ण जिम्मेवारी लिनुपर्छ । साथमा पदक विजेता खेलाडी तथा देशमा योगदान पु¥याएको आधारमा खेलाडीहरूको उचित मूल्यांकन गरेर उनीहरूलाई सम्मानपूर्वक देशमा बस्न पाउने व्यवस्था नहुने हो भने भोलि हामी नै पलायन नहुँला भन्न सकिने अवस्था छैन ।

यद्यपि, खेलप्रति नयाँ पुस्तालाई आकर्षित गर्न खेलाडीलाई राज्यले हेर्ने नजर परिवर्तन गरिनुपर्छ । मुख्य रूपमा सोसल सेक्युरिटी हुनैपर्छ । कुनै खेलका दौरान खेलाडी घाइते भएमा उसले नपछुताईकन जीवन बाँच्ने आधार तयार पार्न पाउनुपर्छ । जीवन बिमा र उनीहरूको सन्तानको लालनपालन र शिक्षाको व्यवस्था राज्यले गर्ने हो ।

 अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाल बलियो त बन्छ नै साथमा खेलाडी र खेलप्रतिको सम्मान पनि बढ्नेछ । जुन राष्ट्रकै गौरवको विषय हो । मैले पटक–पटक यो विषयमा कुरा उठाउँदै आइरहेको छु । अब पनि यो समस्यालाई साधारण रूपमै लिने हो भने नेपाली खेलकुदका लागि आगामी दिन पनि दुःखद अवस्थामा नै रहनेछ ।

तपाईको प्रतिक्रिया