logo

bar

अमेरिकी निर्णयलाई राष्ट्रसंघले गर्‍यो अस्वीकार

एजेन्सी जेनेभा, ८ पुस | पुष ०८, २०७४

जेरुसेलमलाई इजरायलको राजधानी मान्यता दिने अमेरिकी निर्णयको विपक्षमा राष्ट्रसंघको महासभामा १ सय २८ मुलुकले गरे मतदान

संयुक्त राष्ट्रसंघले जेरुसेलमलाई इजरायलको राजधानीको मान्यता दिने अमेरिकी निर्णयलाई अस्वीकार गरेको छ । संयुक्त राष्ट्रसंघको महासभाका बहुमत सदस्यहरूले जेरुसेलमलाई इजरायलको राजधानी मान्यता दिने ट्रम्पको घोषणाविरुद्ध मतदान गरेका हुन् ।

जेरुसेलमलाई इजरायलको राजधानीको मान्यता दिने अमेरिकी निर्णयको विरोधमा शुक्रबार पुटराजयमा मलेसियाका प्रधानमन्त्री नजिब रजक (दायाँ) र मलेसियाली अधिकारी। तस्बिर :एपी/रासस

 

चेतावनीका बाबजुद मतदान
राष्ट्रसंघको महसभाका सदस्यहरूले जेरुसेलमलाई इजरायलको राजधानीको मान्यता दिने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्णयविरुद्ध पेस भएको प्रस्तावमाथिको मतदानामा अधिकांश राष्ट्रहरू अमेरिकाविरुद्ध उभिएका थिए । राष्ट्रपति ट्रम्पले राष्ट्रसंघमा पेस भएको जेरुसेलमबारे प्रस्तावमाथि अमेरिकाविरुद्ध मतदान गर्ने राष्ट्रलाई आर्थिक सहयोग रोक्ने चेतावनी दिएका थिए । तर, चेतावनीको पर्वाह नगरी अधिकांश राष्ट्रहरू अमेरिकाविरुद्ध उभिएका थिए । अरब र मुस्लिम देशहरूको मागबमोजिम १ सय ९३ सदस्यीय महासभाको आपत्कालीन बैठक बिहीबार बसेको थियो।

ट्रम्पका लागि धक्का
आफूविरुद्धको प्रस्ताव पालना गर्न अमेरिका बाध्यकारी हुनेछैन, तथापि बिहीबारको मतदान ट्रम्प प्रशासनका लागि एक महत्वपूर्ण धक्का हुने विश्लेषण गरिएको छ । मतदानको प्यालेस्टाइनले स्वागत गरेको छ । मतदानपछि बोल्दै प्यालेस्टिनी राष्ट्रपति महमुद अब्बासका प्रवक्ताले यसलाई प्यालेस्टिनीहरूको जित बताएका छन् । तर, इजरायलका प्रधानमन्त्री बेन्जामिन नेत्यान्याहुको कार्यालयले सो मतदानलाई अस्वीकार गरेको छ ।

बहुमत मुलुक अमेरिकाको विपक्षमा
जेरुसेलमलाई राजधानी मान्यता दिने अमेरिकी निर्णयको पक्षमा जम्मा नौ मत खसेको थियो भने विपक्षमा १ सय २८ मुलुकले मतदान गरेका थिए । मतदानमा मेक्सिको र क्यानडासहित ३५ मुलुक अनुपस्थित थिए । बेलायत, जर्मनी, फ्रान्स र जापानजस्ता अमेरिका समर्थित देशहरूले प्रस्तावको पक्षमा मतदान गरेका थिए । आफ्नो प्रशासनको विपक्षमा उभिने देशहरूलाई सहायता रोकिने र वासिङटनको ठूलो रकम जोगिनेसमेत उनले दाबी गरेका थिए ।

आपत्कालीन सत्र
अरब र मुस्लिम देशहरूको मागबमोजिम १ सय ९३ सदस्यीय महासभाको आपत्कालीन सत्र बिहीबार डाकिएको थियो । मस्यौदा प्रस्तावमा जेरुसेलमलाई इजरायलको राजधानीका रूपमा मान्यता दिने ट्रम्पको निर्णय उल्ट्याउन माग गरिएको थियो । यसै महिनाको सुरुमा राष्ट्रपति ट्रम्पले जेरुसेलमलाई इजरायलको राजधानीको मान्यता दिएपछि त्यसको अन्तर्राष्ट्रियस्तरबाट आलोचना भएको थियो ।

कोरियाली नाकाबन्दीबारे मतदान हुने
उत्तर कोरियाको आणविक परीक्षणको विरोधमा संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्ले प्योङयाङमाथि नयाँ नाकाबन्दी लगाउने विषयमा मतदान गर्ने भएको छ । प्योङयाङमा निर्यात हुने प्रशोधित तेलमध्ये ९० प्रतिशत तेलको निर्यातमा प्रतिबन्ध लगाउने विषयमा राष्ट्रसंघमा छलफल भइरहेको छ । उत्तर कोरियाको आणविक होडबाजी रोक्न उसमाथि तेल निर्यातमा रोक लगाउनुपर्ने आवाज बढिरहेकै वेला राष्ट्रसंघमा सो विषयमा छलफल भइरहेको छ ।

यसअघि संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदमा बोल्दै अमेरिकी विदेशमन्त्री रेक्स टिलर्सनले उत्तर कोरियाको परमाणु कार्यक्रमविरुद्ध कदम चाल्न नसके त्यसले घातक परिणाम निम्त्याउन सक्ने बताएका थिए । उत्तर कोरियाको आणविक महत्वाकाङ्क्षालाई निस्तेज पार्न चीनले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने अमेरिकाको भनाइ छ । उत्तर कोरियाका गतिविधि नियन्त्रण गर्न बेइजिङले पहल नगरेको अमेरिकाले आरोप लगाउँदै आएको छ । तर, चीनले उत्तर कोरियासँग शान्तिवार्ता गरेर मात्र आणविक कार्यक्रम नियन्त्रण गर्न सकिने बताउँदै आएको छ ।

अमेरिकी सुरक्षा रणनीति आपराधिक : प्योङयाङ
अमेरिकाले यसै साता सार्वजनिक गरेको राष्ट्रिय सुरक्षा रणनीति आपराधिक प्रवृत्तिको भएको उत्तर कोरियाले टिप्पणी गरेको छ । प्योङयाङविरुद्ध अपरिहार्य बल प्रयोग गर्न सकिने सो रणनीतिमा उल्लेख छ । उत्तर कोरियाको विदेश मन्त्रालयले राष्ट्रपति ट्रम्पले विश्वमाथि नै पूर्ण नियन्त्रण गर्न खोजेको आरोप लगाएको छ । प्योङयाङको आणविक कार्यक्रमले निम्त्याएको खतराविरुद्ध वासिङटनले ‘डिल’ गर्ने ट्रम्पले बताएका थिए । उत्तर कोरियामाथि राष्ट्रसंघले कडा प्रतिबन्धको तयारी गरिरहेकै वेला उत्तर कोरियाको टिप्पणी आएको हो । अमेरिकी सुरक्षा रणनीति आक्रोशको घोषणाबाहेक केही नभएको उत्तर कोरियाली विदेश मन्त्रालयका प्रवक्ताले बताए । अमेरिकाले उत्तर कोरियामा अस्थिरता निम्त्याउन खोजेको उनले आरोप लगाए । उत्तर कोरियाका आणविक कार्यक्रमलाई लिएर वासिङटन र प्योङयाङबीच तनाव बढिरहेको छ ।

तपाईको प्रतिक्रिया