logo

bar

संघीय व्यवस्थाभित्र पर्यटन उद्योगको अपेक्षा

नयाँ पत्रिका काठमाडौं, ८ पुस | पुष ०८, २०७४

संघीयता कार्यान्वयन सुरु भइसकेको नेपालका अधिकांश स्थानीय तहले कार्यक्रम तथा बजेटमा पर्यटकीय सम्पदाको पहिचान, संरक्षण र पूर्वाधार निर्माणलाई प्राथमिकता दिएका छन् । खासगरी भ्यु टावर निर्माण, मठमन्दिरको संरक्षण तथा प्रवद्र्धनजस्ता कार्यक्रम स्थानीय तहले समेटेका छन् । केन्द्र सरकारले पनि संघीयताभित्र ‘पर्यटन मुलुकको अर्थव्यवस्थाको मुख्य आधार बन्न सक्ने’ भन्दै हरेक प्रदेशमा पर्यटकीय क्षेत्रको पहिचान र त्यहाँ पूर्वाधार निर्माणलाई गति दिने निर्णय गरिसकेको छ । यस अवस्थामा निजी क्षेत्रले संघीय व्यवस्थाभित्र पर्यटन उद्योगको अवस्थामा कस्तो अपेक्षा गरेको छ भन्ने सन्दर्भलाई होटेल संघ नेपाल (हान)का अध्यक्ष अमरमान शाक्यले यसरी उल्लेख गरे :

अमरमान शाक्य
अध्यक्ष
होटेल संघ नेपाल

राजनीतिक स्थिरता र बलियो सरकार
नेपाल लामो समयसम्म राजनीतिक अस्थिरताको अवस्थाबाट गुज्रियो । राजनीतिक उपलब्धिका लागि विभिन्न चरणमा आन्दोलनहरू भए, जसले गर्दा आर्थिक समृद्धि, मानिसको जीवनस्तरमा सुधारजस्ता विषय सधैँ ओझेलमै रहे । अब मुलुकले नयाँ राजनीतिक यात्रा प्रारम्भ गरेको छ । संक्रमणकालका बहानामा काम नगर्ने प्रवृत्ति अब दोहोर्‍याउने सम्भावना रहने छैन । यसको फलस्वरूप थाती रहेका कामले गति लिनेछन् । जब राजनीतिक स्थिरता हुन्छ, त्यसपछि मुलुकमा बलियो र स्थिर सरकार बन्छ । जसले गर्दा नीतिगत रूपमा पनि स्थिरता प्राप्त हुन्छ । कार्यकारी पद नै अस्थिर बनेपछि कर्मचारीतन्त्रले आफ्नो क्षमताअनुसार काम देखाउन सकेको छैन । हाम्रो अपेक्षा आगामी दिनमा राजनीतिक स्थिरता, बलियो सरकार र नीतिगत स्थिरता एकसाथ प्राप्त हुनेछ भन्ने नै हो ।

पूर्वाधार विकासमा गति
संघीय व्यवस्थाको कार्यान्वयन प्रारम्भ भइसकेको छ । स्थानीय तहमा काम सुरु भइसकेको छ भने प्रदेशमा पनि सरकार बन्ने प्रक्रिया थालिएको छ । नेपालको राजनीतिका लागि महत्वपूर्ण खुड्किलोका रूपमा स्थानीय, प्रदेश र प्रतिनिधिसभाको निर्वाचन सफलतापूर्वक सम्पन्न भएको छ । अब यी सबै सरकारहरूले ठप्पप्रायः अवस्थामा रहेका पूर्वाधार विकासका कार्यलाई गति दिनेछन् भन्ने अपेक्षा गर्न सकिन्छ । किनकि अब सबै तहका सरकारको नेतृत्व जनताले चुनेका प्रतिनिधिको हातमा आएको छ । ती सरकारहरूलाई काम गरेर देखाउनुपर्ने चुनौती छ । आज जनताले सुम्पेको यो जिम्मेवारी पूरा गर्न सकेनन् भने अर्को निर्वाचनमा उनीहरूको अवस्था के रहला सहजै अनुमान गर्न सकिन्छ । त्यसकारण पर्यटनमार्फत हामीले मुलुकको अर्थतन्त्र समृद्ध बनाउन खोजेका हौँ भने यसका लागि आवश्यक आधारभूत पूर्वाधारको विकासमा गति दिनुपर्छ । सडक, विमानस्थल, सेल्टर, अस्पतालसहित पर्यटकको सेवामा अत्यावश्यक पूर्वाधार विकास मुलुकका सबै क्षेत्रमा एकसाथ अगाडि बढ्नुपर्छ ।

सम्भावनाको पहिचान र प्रवद्र्धन
नेपाल विविधतायुक्त मुलुक हो । त्यसकारण भनिन्छ, नेपालका हरेक गाउँ पर्यटकीय गाउँ हुन् । तर, नेपालले यसको पहिचान गर्न सकेको छैन । अब मुलुक संघीय संरचनामा गइसकेपछि स्थानीय तहबाटै पर्यटकीय सम्भावनाको अध्ययन प्रारम्भ गर्नुपर्छ । पूर्वको मेची र पश्चिमको महाकालीले आकर्षित गर्ने पर्यटक एकै प्रकारको नहुन सक्छ । कुनै प्रदेशले धर्मका माध्यमबाट पर्यटक आकर्षित गर्छ भने कुनै प्रदेशले हिमालका माध्यम प्रयोग गर्न सक्छ । काठमाडौं उपत्यकासहित कतिपय स्थानमा मानवनिर्मित ऐतिहासिक तथा पुरातात्विक सम्पदाले पर्यटक लोभ्याइरहेको छ । त्यसकारण सर्वप्रथम हरेक स्थानीय तह र प्रदेशले आफ्नो क्षेत्रमा पर्यटक आकर्षित गर्न सक्ने सम्भाव्य सम्पदा र क्षेत्रको पहिचान र प्रवद्र्धनमा लाग्नुपर्छ । त्यसपछि स्वाभाविक रूपमा पर्यटकलाई ग्रामीण भेगसम्म लैजान सक्ने वातावरण बनाउन सकिन्छ ।

नयाँ लगानी आकर्षित होस्
पर्यटन क्षेत्रमा हामीले एकै प्रकारका उत्पादन बेचेर अहिलेसम्म पर्यटक आकर्षित गरेका छौँ । अर्थात् साहसिक र धार्मिक पर्यटनका माध्यमबाट नेपालमा धेरै पर्यटक आउने गरेका छन् । अब पर्यटन प्रडक्टमा पनि विविधीकरणको खाँचो छ । नयाँ–नयाँ प्रडक्ट थप गर्न अतिरिक्त लगानी आउनुपर्छ । यसको प्रारम्भ अहिले होटेल उद्योगका मार्फतबाट भइरहेको छ । नयाँ लगानी आकर्षित गर्न अब स्थानीय तथा प्रदेशहरूले पर्यटकीय प्रडक्टको विकास गर्न जग्गा भाडामा दिन सक्छन् । सहुलियतपूर्ण ऋणको व्यवस्था गर्न सक्छन् । बढी पर्यटक ल्याउने कम्पनीलाई प्रोत्साहित गर्न विविध प्याकेज ल्याउन सक्छन् । अर्कोतर्फ कुनै पनि स्थानमा एउटा पर्यटकीय प्रडक्ट थप हुनु भनेको त्यसका साथसाथमा अन्य क्षेत्रको पनि एकसाथ विकास हुन्छ । एउटा होटेल खुल्दा कृषि उपज, मासुजन्य उत्पादनको खपत बढ्छ भने स्थानीय तहमै रोजगारीका अवसर प्राप्त हुन्छन् ।

फराकिलो दायरा र सोच
एक समुदायमा बसेको मानिस अर्को समुदायको रहनसहन, खानपिन, लवाइखवाइ र जीवनशैलीको अवलोकनका लागि निस्कन्छ भने त्यो पर्यटन हो । एउटा भूगोलको मानिस फरकखालको भौगोलिक अवस्थिति अवलोकनका लागि पुग्छ भने त्यो पर्यटन हो । त्यसकारण अब हामीले पर्यटनको दायरा फराकिलो पार्नेतर्फ लाग्नुपर्छ । नेपालको हावापानी, भौगोलिक अवस्थिति र यहाँको पर्यटकीय वातावरणबाट हामीले कसरी लाभ लिने, त्यसतर्फ मन्थन सुरु गर्नुपर्छ । पूर्वाधार बन्ने हो भने नेपालले खेल पर्यटनका माध्यमबाट ठूलो संख्यामा पर्यटक भित्राउन सक्छ । शिक्षा, स्वास्थ्य, चलचित्रका माध्यमबाट पनि पर्यटक भिœयाउन सकिने सम्भावना छ । हामीले पर्यटकसम्बन्धी सोचलाई फराकिलो बनाउनु आवश्यक छ । पर्यटनका बहुआयामिक क्षेत्रको खोजी गर्दै बढीभन्दा बढी पर्यटक भित्राउने वातावरण बन्ने अपेक्षा निजी क्षेत्रले लिएको छ ।

राजनीतिक हस्तक्षेपमुक्त व्यवसाय
नेपालको पर्यटनमा व्यावसायिक हकहित र समृद्धिभन्दा बढी राजनीतिक दलका भ्रातृ संगठनहरूको बाहुल्य बढी छ । संघीय व्यवस्थामा राजनीतिक हस्तक्षेपमुक्त व्यवसाय बन्नुपर्छ । मन्त्रालयदेखि पर्यटन बोर्ड, पर्यटन विभाग र सम्पूर्ण व्यावसायिक संघ–संस्थाको एक मात्र चिन्तन पर्यटनका माध्यमबाट कसरी आर्थिक समृद्धि ल्याउने भन्नेमा मात्र केन्द्रित हुनुपर्छ । अब निजी क्षेत्रको संलग्नताविना आर्थिक गतिविधिको कल्पना गर्न सकिँदैन । त्यसमा पनि पर्यटनमा सबैभन्दा ठूलो योगदान निजी क्षेत्रले गरिरहेको छ । त्यसकारण व्यवसायमा व्यावसायिक एजेन्डाभन्दा बाहेक अन्य विषयको राजनीतिबाट मुक्त राख्नुपर्छ । अब कुनै पनि वादभन्दा अगाडि आर्थिक समृद्धिसहितको राष्ट्रियवादले प्राथमिकता पाउनुपर्छ ।

बेथितिको अन्त्य र स्वच्छ नेपाल
नेपालमा माओवादी द्वन्द्वको समयमा पनि पर्यटक आगमन निराशाजनक रूपमा खस्किएको थिएन । अर्थात् संसारका धेरै मानिस जीवनमा एकपटक नेपाल आउन चाहन्छन् । तर, उनीहरूलाई सहज रूपमा नेपाल ल्याउने वातावरण नै बनाउन सकिएन । उदाहरणका लागि नेपालले वातावरणमैत्री पूर्वाधार बनाउन सकेको छैन । राजधानीसहित मुलुकका सबै सहर फोहोर र प्रदूषित छन् । यी सबै सहरमा बेथिति छ । प्रणाली बसाउन सकिएको छैन । आगामी दिनमा यी सबै सहरहरू सफा हुनेछन् । पर्यटकमैत्री वातावरण बन्नेछ । नेपाल प्रकृतिको उपहार हो । यहाँ प्रकृति सुहाउँदो विकास हुनेछ । मुलुक जति स्वच्छ र सफा राख्न सकियो, त्यति नै बढी पर्यटक आकर्षित हुनेछन् ।

सक्षम र बलियो राष्ट्रिय ध्वजाबाहक
कुल गार्हस्थ उत्पादनमा पर्यटनका माध्यमबाट हुने आम्दानी अब वृद्धि गर्नुपर्ने हुन्छ । यसका लागि नेपालमा खर्चालु पर्यटकको खाँचो छ । जुन देशमा पर्यटन फस्टाएको छ, त्यसका पछाडि राष्ट्रिय ध्वजाबाहक वायुसेवा कम्पनीको ठूलो हात रहन्छ । कुनै वेला तीव्र प्रगति गरेको नेपालको राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको सेवा आज दुईवटा जहाजमा खुम्चिन पुगेको छ । निर्वाचन सम्पन्न भएपछिको अवस्थामा अब देशमा स्थिर सरकार बन्ने अपेक्षा छ । आशा गरौँ, अबको ५ वर्षभित्र नेपाल वायुसेवा निगमले एक दर्जनभन्दा बढी जहाजबाट अन्तर्राष्ट्रिय उडान गरिरहेको हुनेछ । नेपालमा वार्षिक ३०-३५ लाख पर्यटक भित्रन थाल्नेछन् । निजगढमा दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आइसक्नेछ भने पोखरा र भैरहवा विमानस्थलबाट पनि अन्तर्राष्ट्रिय उडान सुुरु भइसक्नेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचारहरु

लोकप्रिय समाचारहरु