logo

bar

एक्काइसौँ शताब्दीमा आर्थिक असमानताका असर

कौशिक वासु | पुष ०८, २०७४

कौशिक वासु

अमेरिकी कवि डब्ल्यु एच अडेनको कविता ‘१ सेप्टेम्बर १९३९’ (जुन मितिमा दोस्रो विश्वयुद्ध सुरु भएको थियो)मा उल्लेख भएको ‘लो डिस्अनेस्ट डिकेड’ भनेजस्तै यस वर्षलाई पनि न्यून आर्थिक वृद्धिका कारण दशककै नकारात्मक वर्षका रूपमा मूल्यांकन गरिन थालेको छ । ‘क्लेभर होप्स्’ वा धूर्त सपना बाँडिएकाले धेरै जनताले धेरै प्रकारका संवेदनशील समस्या सामना गर्नुपर्ने सो कविताको मूल भाव रहेजस्तै आगामी दिनमा पनि धेरै प्रकारका समस्या सामना गर्नुपर्ने विश्लेषण हुन थालेको छ । हाल देखिएकामध्ये सबैभन्दा ठूलो, दीर्घकालीन र समाधान गर्न गाह्रो हुने समस्याचाहिँ आर्थिक असमानता नै हो ।

थोमस पिकेटी, फ्रान्कोइस बुर्गुइगनन्, ब्राँन्को मिलानोभिक, जोसेफ इ स्टिङलिट्जजस्ता विश्वकै विशिष्ट अर्थशास्त्री तथा अक्सफाम र विश्व बैंक समूहजस्ता गरिबी निवारणमा बहुुपक्षीय सहायता प्रदान गर्दै आएका विश्वव्यापी संस्थाहरूले आर्थिक असमानताका विषयमा तयार पारेका प्रतिवेदनले विश्वमा आर्थिक असमानताको विषय अत्यन्तै चिन्ताजनक अवस्थामा पुगेको उल्लेख गरिएको छ । यसका साथै अमेरिका, भारत र चीन तथा युरोपेली संघलगायत विश्वका धेरै राष्ट्रका गल्ली–गल्लीमा विश्व आर्थिक असमानताका विषयमा बहस हुन थालेको पनि छ ।

आर्थिक असमानता अनुपयुक्त मात्र होइन, उपयुक्त पनि भएको प्रायःजसो दक्षिणपन्थीले बताउँदै आएका छन् । ‘सम्पत्ति कमाउनु भनेको कठिन परिश्रम गरेबापत पाइने पुरस्कार हो भने गरिबीचाहिँ काम गर्न अल्छी गरेबापत प्राप्त हुने सजाय मात्र हो’ भन्ने मान्यता दक्षिणपन्थीहरूको भएको देखिन्छ । तर, यो कुरा पूर्ण सत्य भने होइन, एउटा मिथक मात्र हो । तर, वास्तविकता फरक प्रकृतिको छ । केही थोरै मात्र अवस्थाबाहेक धनीभन्दा गरिब मानिसले नै अत्यन्त कठिन परिश्रम गरेको हुन्छ । यति हुँदाहुँदै पनि प्रायःजसो उसको अवस्था दयनीय नै भइरहेको हुन्छ । उसले त्यति कठिनपूर्वक कमाएको सम्पत्तिले उसलाई दैनिक गुजारा टार्न पनि मुस्किल परिरहेको हुन्छ ।

आर्थिक असमानताका कुरा गर्दा योबाहेक अन्य विषयवस्तु पनि छन् । कतिपय धनी मानिसले गर्ने काम उच्चस्तरका नै हुन्छन् भन्न पनि सकिन्न । पुस्तौँसम्म उनीहरूले गर्दै आएका काम हस्तान्तरण हुन्छन् नै भन्ने पनि हुँदैन । तर, उनीहरूले प्राप्त गरेको अवसर, मूल्य, मान्यता तथा पृष्ठभूमिले पनि उनीहरूको आर्थिकस्तर उकास्न मद्दत गरेको हुन्छ । तसर्थ सम्पत्ति तथा विश्वभर फैलिएको गरिबीजस्तो व्यापक विषयमा कुनै पनि तर्कले वास्तविकता प्रस्तुत गर्न सक्दैन ।

कुनै पनि स्थानमा कुनै पनि प्रकारको असमानता छैन भनेर मान्न सकिन्न । समग्रमा भन्नुपर्दा आर्थिक असमानताका पनि धेरै पक्ष हुन्छन् । अन्य मानिसको भन्दा बढी भौतिक सम्पत्ति हुनुलाई केही मानिसले सम्पन्नताको परिभाषामा राख्ने गरेका छन् । मानिसलाई आफ्ना सबै सम्भावनाहरूको विकास गर्न, नयाँ कुरा सिक्न, काम गर्न, नयाँ विषयवस्तुको खोजी गर्न र आफूमा भएको गरिबीको स्तर सकेसम्म न्यूनीकरण गर्न आर्थिक असमानताले पनि केही हदसम्म प्रोत्साहन गरिरहेकै हुन्छ । तर, केही अवस्थामा भने आर्थिक असमानताको उल्टो असर पनि परेको हुन सक्छ ।

केही धनी मानिसलगायत अन्य धेरैले नैतिक तथा आर्थिक रूपमै असमानता कसरी अमान्य भएको भनेर खोजी गरेका छन् । तर, धनी मानिस नै आफ्नो विपक्षमा बोल्छन् भने उनीहरूले बेवास्ता गर्ने वा पाखण्डीको उपमा पाउने गरेका छन् । आफूले कमाएको सम्पत्तिको दान दिएर कुनै पनि धनी मानिसले आर्थिक असमानताका विषयमा बोल्यो भने मात्र उसलाई विश्वास गर्ने गरिएको अवस्था छ ।

तर, वास्तविक सत्य के हो भने एकजना मानिसले मात्र संसारभरको गरिबी न्यूनीकरणको प्रयास गरेर पुग्दैन । एकजना मानिसले गरेको दानले संसारभर आर्थिक रूपमा समतामूलक समाज निर्माण गर्न गाह्रो छ । अत्यन्त असमानताका विषयमा बोल्ने धनी मानिसलाई आफ्नै विपक्षमा गएको पाखण्डको संज्ञा दिई र तार्किक भ्रम सिर्जना गरेको आरोप लगाउनुको साटो उनीहरूको विचारले केही फरकपन ल्याउन सक्ने देखिए तिनका विचारलाई ग्रहण गर्न जरुरी हुन्छ ।

तर, भाग्यवश पछिल्लो समय यस्तो प्रवृत्तिमा कमी हुँदै भने आएको छ । धनी मानिसहरूले आफूविरुद्ध गरिने टीका–टिप्पणीको सामना गर्नु पक्कै पनि उल्लेख्य विषय हो । आर्थिक तथा सामाजिक असमानताले निम्त्याएका विकृतिको पक्षपोषण नगरी उनीहरूले राज्य प्रणालीको आलोचना गर्दै आइरहेका छन् । धनी बन्नका लागि राज्य प्रणालीले हालका धनीहरूलाई कुनै पनि सहयोग त गरेन नै धनी बन्नका लागि धेरैलाई अवसर सिर्जना गर्ने काम पनि गरेन भन्ने उनीहरूको तर्क छ ।

विशेषगरी केही धनी अमेरिकीहरूले हालै रिपब्लिकन पार्टीबाट राष्ट्रपति बनेका डोनाल्ड ट्रम्पले कार्यान्वयनमा ल्याउन लागेको अमेरिकी कर कानुनको आलोचना गर्दै आइरहेका छन् । सो कानुनमा बढी आम्दानी हुने मानिस तथा कम्पनीमा लाग्ने कर व्यापक रूपमा कटौतीको प्रस्ताव गरिएको छ । राष्ट्रपतिले प्रस्ताव गरेको सो कानुनले केही मानिसलाई मात्र फाइदा पुग्ने अमेरिकी लगानी परामर्श सेवाप्रदायक समूह भानगार्ड गु्रपका संस्थापक ज्याक बोग्लेले बताएका छन् । यसले आर्थिक असमानतालाई झन् बढावा गर्ने ग्यारेन्टी गरेको छ ।

हाल प्रस्ताव गरिएका कर कटौती कानुनका कमीकमजोरी पहिचान गर्ने क्रम त भर्खर सुरु मात्रै भएको छ । सो कानुनमार्फत समतामूलक समाज निर्माण गर्न सक्नुचाहिँ निकै ठूलो चुनौती हो । आर्थिक असमानता न्यूनीकरण गर्न कम्पनीको नाफा सबैलाई समान हुने गरी वितरणमा जोड दिन आवश्यक छ ।

देशको आर्थिक अवस्था नाफामा जाँदा देशवासी सबै नागरिकले त्यसको केही न केही हिस्सा प्राप्त गर्न सक्नुपर्ने हो । मार्टी विट्जम्यान, हिलेल स्टिनर, रिचार्ड फ्रिम्यानको सो अवधारणामा गत महिना मात्र अर्का अर्थशास्त्री म्याट ब्रुइनिङसमेत सहमत भएका छन् । तर, यो अवधारण अहिले निकै प्रमुख विषय बनेर आएको छ । कामदारको ज्याला कम हुँदा राष्ट्रिय आम्दानी कमी हुने तर धनी मानिसको नाफा भने प्रभावित नहुने प्रविधिको विकास तीव्र रूपमा हुँदै आएको अवस्था छ ।

राष्ट्रिय आम्दानी वा देशका आर्थिकस्तरमा सकारात्मक हुँदा भएको नाफाको हिस्सा सबैले प्राप्त गर्नुपर्ने विषयमा धेरै मानिसको ध्यान पुग्न सकेको छैन । विशेषगरी कम्पनीको एकाधिकार र प्रतिस्पर्धा नियमन गर्न नसक्दा यस्तो हुन पुगेको हो । पछिल्लो समय विकास भएको डिजिटल प्रविधिको सहायताले उत्पादन अत्यन्त सहज बन्दै गएको तर डिजिटल प्रविधिले मागको दरमा भने तात्विक भिन्नता सिर्जना गर्न सकेको छैन । हजारौँ कम्पनीले एउटै वस्तुका धेरै संस्करण तयार पार्न सक्छन् । अझ स्पष्ट रूपमा भन्नुपर्दा हजारौँ कम्पनीले कुनै एक वस्तुको कुनै एक भाग मात्र उत्पादन गर्ने गर्छन् । उदाहरणका लागि अटोमोबाइल कम्पनीलाई नै लिऔँ । एउटा अमूक कम्पनीले गियर उत्पादन गर्छ भने अर्को कम्पनीले ब्रेक अर्को कम्पनीले सिट र अन्य कम्पनीले सो उत्पादनमा प्रयोग हुने अन्य उपकरण उत्पादन गर्ने गरेका छन् ।

सन् १९८० मा अमेरिकामा कार्यान्वयनमा आएको आपसी विरोधी र प्रतिस्पर्धा हुन नदिने परम्परागत कानुनी प्रावधानका कारण यस्तो प्रणाली लागू हुन दिएको थिएन । तर, बजारमा हुने एकाधिकारसम्बन्धी सो कानुनले कुनै नियमनकारी व्यवस्था लागू गर्न सकेको थिएन । यसका साथै सबै कम्पनी फाइदाको उत्तिकै भागीदार हुने व्यवस्थामा पनि सो कानुनले रोक लगाएको थियो । तसर्थ यो समय तीव्र परिवर्तनको युग हो । तर, यो परिवर्तनले एकाधिकारविरोधी परम्परागत कानुनलाई प्रतिस्थापन गर्न खोजेको र कम्पनीका सेयर होल्डरको शक्तिलाई अझ व्यापक बनाउँदै लगेको छ । तर, यी विषय धेरै हदसम्म परीक्षण गरिएका छैनन् । तसर्थ कार्यान्वयनमा ल्याउन पहिले धेरै विषयमा सोचविचार गर्नुपर्ने आवश्यकता छ । विश्वले फेरि अर्को आर्थिक मन्दीको सामना गर्नुपर्ने अवस्था आयो र आर्थिक असमानता पनि झन् गहिरिँदै गए हामीले आनन्दको अनुभूति गर्न पाउने छैनौँ । जबसम्म हामीले आर्थिक असमानताका चुनौती सामना गर्दैनौँ सामाजिक मेलमिलाप र प्रजातन्त्र आफैँ चुनौतीमा पर्ने देखिन्छ ।

कौशिक वासु विश्व बैंकका पूर्वप्रमुख  अर्थशास्त्री तथा कोर्नेल विश्वविद्यालयमा अर्थशास्त्र विषयका प्राध्यापक हुन् ।

कपिराइट : प्रोजेक्ट सिन्डिकेट, २०१७
(नयाँ पत्रिका र प्रोजेक्ट सिन्डिकेटको सहकार्यमा)

तपाईको प्रतिक्रिया