logo

bar

बालाजु औद्योगिक क्षेत्रमा तीन उद्योग खोल्दै आइएमई ग्रुप

कृष्ण रिजाल/नयाँ पत्रिका काठमाडौं, ८ पुस | पुष ०८, २०७४

हर्बल, अक्सिजन र अटो उद्योग खुल्दै, ६० करोड लगानी, १ सय ५० लाई रोजगारी –

रेमिट्यान्सबाट उदाएर बैंक तथा वित्तीय संस्था, पर्यटन, प्रविधि, व्यापारलगायतका क्षेत्रमा आक्रामक लगानी गरिरहेको आइएमई ग्रुपले बालाजु औद्योगिक क्षेत्रमा तीनवटा नयाँ उद्योग खोल्ने भएको छ ।

आइएमईले सो क्षेत्रमा कुल ६० करोड रुपैयाँ लगानीमा हर्बल, अक्सिजन र वर्कसप उद्योग खोल्ने भएको हो । त्यसका लागि ग्रुपले बालाजु औद्योगिक क्षेत्रबाट स्वीकृतिसमेत पाइसेकेको छ । आइएमईलाई तीन उद्योग खोल्न ‘स्पेस’ तथा स्वीकृति दिइएको बालाजु औद्योगिक क्षेत्रका प्रबन्धक राजेन्द्र कँडेलले जानकारी दिए । ‘अहिले तीनवटै उद्योग निर्माणका चरणमा छन्,’ उनले भने, ‘आधा अर्बभन्दा बढी लगानी रहने तीन उद्योगले करिब १ सय ५० जनालाई रोजगारी दिनेछन्।’

यस्ता छन् तीन उद्योग
आइएमई ग्रुपले बालाजुमा आइएमई अटोमोटिभ प्रालि, आइएमई हर्बल प्रोडक्सन प्रालि र आइएमई अक्सिजन प्रालिको नाममा उद्योग स्थापना गर्ने भएको हो । ५ करोड रुपैयाँ लगानी रहने अक्सिजन उद्योगले २० जनालाई रोजगारी दिनेछ । गाडी तथा स्पेयर पार्टस् मर्मत सम्भार गर्ने उद्योगमा २५ करोड रुपैयाँ लगानी हुनेछ । यस उद्योगमा १ सयजनाले रोजगारी पाउनेछन् । त्यस्तै, विभिन्न थरीका हर्बलका सामग्री उत्पादन गर्ने हर्बल उद्योगमा ३ करोड रुपैयाँ लगानी रहेको छ भने करिब ३० जनाले रोजगारी पाउनेछन् ।

छिट्टै सञ्चालनमा आउनेछन् : ढकाल
आइएमई ग्रुपका अध्यक्ष चन्द्र ढकालले तीनवटै उद्योग छिट्टै सञ्चालनमा आउने बताए । अक्सिजन उद्योग सञ्चालनको चरणमा रहेको उनले जानकारी दिए । ग्रुपले औद्योगिक क्षेत्रमा लगानी बढाउँदै रोजगारी सिर्जना गराउने नीति लिएको उनले बताए ।

पूर्ण क्षमतामा चल्दै अशोक इन्जिनियरिङ
आइएमई ग्रुपकै लगानी रहेको अशोक एलटिई इन्जिनियरिङ प्रालि पूर्ण क्षमतामा सञ्चालनमा आउने भएको छ । गाडीको बडी निर्माण गर्ने तथा गाडी तथा स्पेयर पार्टस् मर्मतसम्भार गर्ने यो उद्योग अहिले आंशिक क्षमतमा सञ्चालित छ । कुल २५ करोड रुपैयाँ लगानी रहेको यस उद्योगमा १ सय ५० जनाले रोजगारी पाउनेछन् ।

व्यवस्थित हुँदै औद्योगिक क्षेत्र
बालाजु औद्योगिक क्षेत्र अझ व्यवस्थित हुँदै गएको छ । नयाँ पूर्वाधार थप्नुका साथै भएका पूर्वाधारको स्तरोन्नति गर्दै औद्योगिक क्षेत्रलाई अझ व्यवस्थित पार्दै लगिएको हो । आगामी २ वर्षभित्र यस क्षेत्रलाई सफा, प्रदूषणमुक्त, स्थानीयमैत्री र व्यवस्थित बनाउन विभिन्न कार्य भइरहेको प्रबन्धक राजेन्द्र कँडेलले बताए । अहिले औद्योगिक क्षेत्रको सुरक्षा व्यवस्थालाई थप बलियो बनाउन र निगरानी बढाउन प्रवेशद्वारहरूमा सिसीक्यामेरा तथा टिभी जडान गरिएको छ । त्यस्तै, क्षेत्रभित्र प्रवेश गर्ने सवारी तथा आगन्तुकको अभिलेख राखी प्रवेश पास लागू गर्ने तयारी भएको उनले बताए । ‘भर्खरै करिब १ किमि सडक कालोपत्रे गरिएको छ भने भूकम्पका कारण जीर्ण पाइपलाइनहरू र ओभरहेड ट्यांकीको पुनर्निर्माण भइरहेको छ,’ उनले भने, ‘औद्योगिक क्षेत्रलाई सुविधासम्पन्न र व्यवस्थित बनाउन थुपै्र काम अघि भइरहेको छ ।’ त्यस्तै, करिब १० करोडको लगानीमा ६ तले व्यावसायिक भवन निर्माण कार्य तीव्र गतिमा भइरहेको छ । सो कार्य सम्पन्न भएपछि वार्षिक २ देखि ३ करोड रुपैयाँसम्म आम्दानी बढ्ने उनले बताए ।

तपाईको प्रतिक्रिया