logo

bar

सहकारीमा ३२ लाख १३ हजार महिला संलग्न

सुदीपकुमार ढुंगाना/नयाँ पत्रिका काठमाडौं, ८ पुस | पुष ०८, २०७४

०७३-७४ मा सहकारी विभागको तथ्यांक  –

देशभर सक्रिय रहेका सहकारीहरूमा महिला सदस्यको संख्या ३२ लाख १३ हजार ५ सय १४ रहेको सहकारी विभागको एक तथ्यांकले देखाएको छ । सहकारी विभागले तयार गरिरहेको आव ०७३-७४ को अपरिष्कृत तथ्यांकअनुसार देशभरका सबै सहकारीहरूमा महिला सदस्यको संख्या पुरुषभन्दा झन्डै १ लाख २१ हजार बढी देखिएको हो । नेपालमा अहिले कुल ६३ लाख ५ हजार ५ सय ८१ सदस्यहरू विभिन्न सहकारीमा संलग्न रहेका छन् ।

विशेष गरी बचत तथा ऋण, कृषि, तरकारी तथा फलफूल, मौरीपालनलगायतका सहकारीमा महिलाको संख्या पुरुषभन्दा बढी देखिनु महिला सशक्तीकरणको हिसाबले सकारात्मक भएको राष्ट्रिय सहकारी महासंघका उपाध्यक्ष ओमदेवी मल्ल बताउँछिन् । उनी भन्छिन्, ‘सहकारीका तल्लो तहको नेतृत्वमा ३९ प्रतिशतमा महिला छन् भने राष्ट्रियस्तरमा १८ प्रतिशत महिलाले नेतृत्व गरेका छन् ।’ तर, सदस्य संख्या बढी देखिए पनि नेतृत्वमा पुग्न धेरै काम गर्न बाँकी रहेको उनको भनाइ छ । त्यसका लागि मल्लकै संयोजकत्वमा संशोधन भइरहेको विनियोजनले नेतृत्वमा महिलाको उपस्थिति ३३ प्रतिशत पुग्नेछ । सहकारी ऐन ०७४ ले पनि महिलाको सहभागिता बढाउने लक्ष्य लिएको छ ।

सहकारी विभागको अपरिष्कृत तथ्यांकअनुसार बचत तथा ऋण सहकारीमा देशभरमा जम्मा ३४ लाख ४५ हजार ५ सय ५४ सदस्य छन् । त्यसमा महिलाको संख्या भने १७ लाख ७६ हजार ८९ रहेको छ । त्यस्तै कृषि सहकारीमा रहेको कुल १० लाख ९२ हजार २ सय ६५ सदस्यमध्ये महिलाको संख्या ६ लाख १४ हजार ७ सय १६ रहेको छ । संख्यात्मक गणनामा बढी भए पनि महिला सदस्यलाई नेतृत्वमा पुग्न विभिन्न अवरोध रहेको उपाध्यक्ष मल्ल बताउँछिन् ।

त्यसका लागि आवश्यक तालिम उपलब्ध गराउनुपर्ने उनको धारणा छ । उनी भन्छिन्, ‘महिलामा उद्यमशीलता बढे पनि साना तथा घरेलुमा उद्योगमा नै सीमित भएका छन् ।’ बाख्रा पाल्ने, घरेलु उद्योग चलाउने, माछापालन, ह्यान्डिक्राप्mट, दूध बिक्रीजस्ता साना कामबाट अघि बढ्न संगठित हुनुपर्ने मल्ल बताउँछिन् । तर, पहिलेको तुलनामा अहिलेको अवस्था भने चित्तबुझ्दो रहेको उनले बताइन् । केही वर्षअघिसम्म ५ प्रतिशत महिलाको मात्रै आफ्नो नाममा रहेकोमा अहिले २६ प्रतिशत पुगेको उनले बताइन् ।

तपाईको प्रतिक्रिया