logo

bar

दक्षिण कोरियाको भवनमा आगलागी, २९ को मृत्यु

एजेन्सी सिउल, ७ पुस | पुष ०७, २०७४

दक्षिण कोरियाको मुख्य सहर जोसेनमा रहेको एउटा भवनमा अगालागी हुँदा कम्तीमा २९ जनाको जलेर मृत्यु भएको छ । राजधानी सिउलबाट झन्डै एक सय ७० किलोमिटर दक्षिणपूर्वमा पर्ने जोसेन सहरको आठतले भवनमा बिहीबार दिउँसो आगो लागेको हो । आगलागी भएको भवनमा व्यायाम केन्द्र, सार्वजनिक स्नान कक्ष र रेस्टुरेन्ट सञ्चालनमा रहेको अधिकारीहरूलाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

स्थानीय समयअनुसार बिहीबार दिउँसो ४ बजेर ५३ मिनेटमा आगलागी सुरु भएको थियो । आगो नियन्त्रण गर्न ५० दमकल, ६० अग्निनियन्त्रक र केही हेलिकोप्टर परिचालन गरिएको थियो । दुई घन्टापछि मात्र आगो नियन्त्रणमा आएको थियो ।मृत्यु भएका सबै भवनको दोस्रो तलामा रहेकोे अधिकारीहरूले बताएका छन् । उनीहरूको जलेर मृत्यु भएको हो । आगलागीमा अन्य २६ जना घाइते भएका र उनीहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । धुवाँले निसास्सिएकै अवस्थामा घाइतेलाई अस्पताल पुर्‍याइएको हो ।

घाइतेहरूको अवस्था खतरामुक्त रहेको उपचारमा संलग्न चिकित्सकहरूले जानकारी दिएका छन् । उद्धारकर्ताहरूले जलेको भवनभित्र अन्य कोही जलेको हुन सक्ने आशंकामा खोजी गरिरहेका छन् । भवनभित्र जीवितै रहेको भेट्ने सम्भावना निकै न्यून रहेको अनुमान गरिएको छ । आगलागीको कारण खुलेको छैन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचारहरु

लोकप्रिय समाचारहरु