logo

bar

‘ब्रेक्जिट प्रक्रिया अन्तिम चरणमा’

एजेन्सी ब्रसेल्स, ७ पुस | पुष ०७, २०७४

युरोपेली युनियन (इयू) बाट बेलायतको बहिर्गमन पक्रिया अन्तिम चरणमा पुगेको छ । इयूबाट बेलायत बहिर्गमनको पक्रिया अन्तिम चरणमा पुगेको इयूका प्रमुख डोनाल्ड टस्कले जानकारी दिएका हुन् । इयू र बेलायतबीचको वार्ता सहमतिनजिक पुगेसँगै ब्रेक्जिट पक्रिया अन्तिम चरणमा पुगेको टस्कले बताए ।

समयमै बेलायतको बहिर्गमन
बेलायतसँगको वार्ता तीव्र ढंगले अगाडि बढेको इयूका प्रमुख डोनाल्ड टस्कले बताए । ‘बेलायतले इयू र अन्य सम्बद्ध पक्षसँगको वार्तालाई तीव्र ढंगले अगाडि बढाएकाले तोकिएको समयभित्रै बेलायत इयूबाट बाहिरिने शुभ संकेत देखिएको छ,’ बिहीबार बेल्जियमको राजधानी ब्रसेल्समा आयोजित पत्रकार सम्मेलनमा टस्कले भने । ब्रेक्जिट वार्ता सहमतिनजिक पुगेको टस्कले बताए । बहिर्गमनबारे युरोपेली युनियनका उच्च अधिकारीहरूसँग बेलायतकी प्रधानमन्त्री थेरेसा मेले निरन्तर वार्ता गरेकी छिन् । प्रधानमन्त्री मेले इयूका नेताहरूसँग विभिन्न चरणमा वार्ता गरिसकेकी छिन् ।

आयरल्यान्डसँगको वार्ता सकारात्मक
‘सम्झौताका लागि निकै जटिल विषयका रूपमा देखिएको आयरल्यान्डका विषयमा पनि सहमतिको सम्भावना बढेर गएको छ,’ इयू प्रमुख टस्कले बताए । केही दिनअघि बेलायती प्रधानमन्त्री थेरेसा मेले आयरल्यान्डका प्रधानमन्त्री लियो वारदकरसँग छलफल गरेकी थिइन् । प्रधानमन्त्री वारदकरसँग इयूका तर्फबाट अध्यक्ष टस्कले पनि भेटवार्ता गरेका थिए । ब्रेक्जिटबारे आयरल्यान्डसँगको वार्ता निकै सकारात्मक भएको टस्कले बताए । इयू नेताहरूले खुला व्यापारसम्बन्धी विषयमा सहमति जनाइसकेको उनले बताए । सन् २०१६ को जुन २३ मा भएको जनमतसंग्रहमा बहुसंख्यक बेलायतीले इयूबाट हट्ने पक्षमा मतदान गरेका थिए । आगामी वर्षभित्र बेलायत औपचारिक रूपमा बाहिरिनेछ ।

प्रधानमन्त्री मे पोल्यान्ड जाँदै
प्रधानमन्त्री मे पछिल्लो समयमा युरोपेली युनियनबाट बेलायत बाहिरिने विषयमा युरोपका विभिन्न देशका नेताहरूसँगको वार्तामा व्यस्त छिन् । सोही विषयमा थप छलफल गर्न प्रधानमन्त्री मेले बिहीबारै पोल्यान्डको भ्रमण गरेकी छिन् । इयूसँग सम्बन्धित विषयमा वार्ताका लागि त्यसतर्फ प्रस्थान गरेकी हुन् । भ्रमणका क्रममा प्रधानमन्त्री मेले पोल्यान्डका प्रधानमन्त्री बिटा सिज्डलो र अन्य नेताहरूसँग छलफल गर्नेछिन् । छलफलको मुख्य मुद्दा ब्रेक्जिट हुने बेलायती सञ्चारमाध्यमहरूले जनाएका छन् ।

तपाईको प्रतिक्रिया