logo

bar

जेरुसेलम विवादमा ट्रम्पको धम्की

नयाँ पत्रिका काठमाडौं, ७ पुस | पुष ०७, २०७४

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त राष्ट्रसंघमा जेरुसेलमलाई इजरायलको राजधानी अस्वीकार गर्ने देशहरूलाई आर्थिक सहयोग रोक्ने धम्की दिएका छन् । यसै महिनामा अन्तर्राष्ट्रिय आलोचनालाई बेवास्ता गर्दै ट्रम्पले जेरुसेलमलाई इजरायलको राजधानीका रूपमा मान्यता दिएका थिए ।

ह्वाइट हाउसमा पत्रकारसित कुराकानी गर्दै ट्रम्पले भनेका छन्– उनीहरू हामीसित अर्बौं डलरको मद्दत पनि लिँदै आएका छन् र फेरि हामीविरुद्ध नै मतदान पनि गरिरहेका छन् । उनीहरूलाई मतदान गर्न दिऊँ । यसबाट हामीले निकै ठूलो बचत गर्नेछौँ । हामीलाई यसबाट कुनै फरक पर्दैन ।

राष्ट्रपति ट्रम्पले यो कुरा संयुक्त राष्ट्रसंघमा जेरुसेलमलाई इजरायलको राजधानी मान्ने विषयको विरोधमा ल्याइएको प्रस्तावमाथि मतदान हुनुअघि बताएका छन् । प्रस्तावको मस्यौदामा अमेरिकाको उल्लेख गरिएको छैन । तर, भनिएको छ कि जेरुसेलमबारे लिइएको कुनै पनि निर्णय रद्द हुनुपर्छ ।

जेरुसेलम सहरलाई लिएर इजरायल र प्यालेस्टाइनबीच विवाद छ । संसारको सबैभन्दा पवित्र सहरका रूपमा लिइने जेरुसेलममाथि इजरायल र प्यालेस्टाइन दुवैले आआफ्नो दाबी गर्दै आएका छन् । इजरायल यस सहरलाई आफ्नो राजधानी मान्छ । तर, अमेरिकाबाहेक संसारभरका कुनै पनि देशले जेरुसेलमलाई इजरायलको राजधानीका रूपमा मान्यता दिएको छैन ।

उनीहरू हामीसित अर्बौं डलरको मद्दत पनि लिँदै आएका छन् र फेरि हामीविरुद्ध नै मतदान पनि गरिरहेका छन् । उनीहरूलाई मतदान गर्न दिऊँ । यसबाट हामीले निकै ठूलो बचत गर्नेछौँ । हामीलाई यसबाट कुनै फरक पर्दैन ।

न्युयोर्कमा बिबिसी संवाददाता नादा तौफिकका अनुसार अमेरिका र संयुक्त राष्ट्रसंघका लागि अमेरिकी राजदूत निकी हेलीले अन्य देशसित आफ्नो पक्षमा मतदान गराउन कूटनीतिको साटो अमेरिकी शक्ति र प्रभावको उपयोग गरिरहेकी छिन् । अमेरिकाको तर्क छ कि जेरुसेलमलाई इजरायलको राजधानी मान्नु र आफ्नो दूतावास त्यहाँ स्थापित गर्नु उसको सम्प्रभु अधिकार हो । तर, संयुक्त राष्ट्रसंघ तथा संसारका अधिकांश देशको धारणा यस्तो छैन ।

यसैबीच अमेरिकाका कैयौँ सहयोगी देश यस कडा वक्तव्यबाजीलाई फुस्रो धम्की मानिरहेका छन् । एक शीर्ष राजदूतले बिबिसी संवाददाता तौफिकलाई बताएका छन् कि भलै ट्रम्प प्रशासन इजरायललाई लिएर उठाएको कदममा अडिग छ, तर उसले आर्थिक सहयोग रोक्ने जस्तो कठोर कदम उठाउन सक्नेछैन ।

विवादको केन्द्र जेरुसेलम
आखिर जेरुसेलममाथि विवाद किन चलिरहेको छ ? १९६७ को युद्धमा विजयपछि इजरायलले पूर्वी जेरुसेलममाथि कब्जा गरेको थियो । यसअघि यो क्षेत्र जोर्डनको नियन्त्रणमा थियो । अब इजरायलले अविभाजित जेरुसेलमलाई नै आफ्नो राजधानी मान्ने गरेको छ । त्यहीँ प्यालेस्टाइनले पनि आफ्नो प्रस्तावित राष्ट्रको राजधानी पूर्वी जेरुसेलमलाई मानिरहेको छ ।

जेरुसेलममाथि इजरायलको दाबीलाई कहिल्यै अन्तर्राष्ट्रिय मान्यता प्राप्त भएको छैन । संसारका सबै देशका दूतावास अहिलेसम्म तेल अबिबमै छन् । यद्यपि अमेरिकी राष्ट्रपति ट्रम्पले अमेरिकी विदेश विभागसित दूतावासलाई तेल अबिबबाट जेरुसेलम सार्ने आदेश दिएका छन् ।

अमेरिकाको भिटो
जेरुसेलमको विषयमा लिइएको फैसलालाई रद्द गर्न संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्मा पेस भएको प्रस्तावविरुद्ध अमेरिकाले भिटो लगाएको छ । प्यालेस्टाइनले सबै देशसित पवित्र सहर जेरुसेलममा दूतावास स्थापित नगर्न आग्रह गरेको छ ।

संयुक्त राष्ट्र संघीय सुरक्षा परिषद्का सबै १४ सदस्य देशले प्रस्तावको समर्थनमा नै मतदान गरेका थिए । तर, अमेरिकी राजदूत निकी हेलीले यसबाट अमेरिकाको अपमान भएको बताएकी छिन् । यसैबीच निकी हेलीले पनि राष्ट्रपति ट्रम्पको धम्कीलाई ट्विटरमा दोहोर्‍याएकी छिन् । उता, प्यालेस्टिनी विदेशमन्त्री रियाद अल मलिकी र टर्कीका विदेशमन्त्री मेबलुत कावासेगलूले अमेरिकाले अन्य देशलाई धम्क्याएको आरोप लगाएका छन् । अंकारामा एक साझा प्रेस सम्मेलनमा कावासेगलुले भने– हामी देखिरहेका छौँ कि एक्लो पर्दै गएको अमेरिका अब धम्की दिइरहेको छ । कुनै पनि सम्माननीय प्रतिष्ठित राष्ट्र यस्ता धम्कीसामु झुक्नेछैनन् ।
(बिबिसी हिन्दीको समाचार टिप्पणी)
बिबिसी डट कम-हिन्दीबाट

तपाईको प्रतिक्रिया