logo

bar

टोलटोलमा धराप

नयाँ पत्रिका काठमाडौं, ७ पुस | पुष ०७, २०७४

वीरगन्ज महानगरपालिका—२२ सुखचैनामा रहेको सुपर ग्यास उद्योगमा बुधबार बिहानै भएको आगलागीले सो ग्यास उद्योग ध्वस्त भएको छ । अग्नि नियन्त्रणका लागि गएका वारुण यन्त्रका दुई कर्मचारीको ज्यान गएको छ र अरू केही गम्भीर घाइते भएका छन् । दिनभर वरपर आतंक मच्चाएर सकिएको सो घटनाले देशमा रहेका ग्यास उद्योग र पेट्रोल पम्पहरूले कसरी आफूभित्र ध्वंसात्मक क्षमता राखेर वरपरको बस्तीमा जोखिम बढाएका छन् भन्नेतिर ध्यानाकर्षण गराएको छ । यसैगरी सरकारी क्षेत्र र स्वयं उद्योग क्षेत्र कसरी अरू आमसाधारण मानिसलाई असुरक्षित राखेर व्यवसाय गरिखान पल्केका छन् भन्नेतर्फ पनि संकेत गरेको छ ।

सुपर ग्यास उद्योग आगलागीको घटनाले देशका ग्यास उद्योग र पेट्रोल पम्पहरूले कसरी आफूभित्र ध्वंसात्मक क्षमता राखेर वरपरको बस्तीमा जोखिम बढाएका छन् भन्नेतिर ध्यानाकर्षण गराएको छ

ग्यास र अरू पेट्रोलियम पदार्थ अत्यधिक प्रज्वलनशील हुन्छन् । यिनको सुरक्षित प्रयोग अत्यावश्यक जीवनशैली बनेको छ भने अलिकति मात्र लापर्बाहीले मानिसको ज्यान जान्छ र जिउधनको क्षति गर्छ । यसैले यस्ता पदार्थको भण्डारण तथा वितरण प्रक्रियालाई सुरक्षित राख्ने केही मापदण्ड विश्वव्यापी रूपमा प्रचलनमा छन् । नेपालमा पनि सरकारले यसको जोखिम कम गर्न आवश्यक कानुनी व्यवस्था गरेको छ । तर, नेपालका कतिपय उद्योगपति उद्योगको सहज आम्दानीमा कम विश्वास गर्छन् र छलकपटमा बढी । यसैगरी राज्यले बनाएका कानुन पालना गराउने र सुरक्षासम्बन्धी आवश्यक व्यवस्थापन भए–नभएको हेरेर मात्र अनुमति दिने या बन्द गराउने दायित्व बोकेका सरकारी अधिकारी सामान्य लोभमा परेर या गैरजिम्मेवार बनेर अनुगमनलाई झारा टार्ने कामका रूपमा बुझ्छन् । देशमा रहेका सबैजसो ग्यासप्लान्ट तोकिएको मापदण्डअनुसार बस्तीभन्दा पाँच किमि पर हुनुपर्ने हो । तर, ९० प्रतिशत ग्यासप्लान्टले योलगायत सुरक्षासम्बन्धी अरू मापदण्ड पालन गरेका छैनन् । सञ्चालनमा रहेका ५७ ग्यासप्लान्टमध्ये चारवटाले मात्र आवश्यक मापदण्ड पूरा गरेर प्रमाणपत्र लिएका छन् ।

ग्यास ओसारपसार गर्ने बुलेट, भण्डारण गरिने ट्यांक, ग्यास भरिने सिलिन्डर आदिको सुरक्षाको प्रत्याभूति नभई सञ्चालन गरिने यस्ता उद्योगमा हुने दुर्घटनाले उद्योगको क्षति त हुन्छ नै स“गै वरपरको बस्ती ध्वस्त पारेर व्यापक धनजनको क्षति हुन सक्छ । यता सहरबजार र राजमार्गमा समेत पेट्रोल पम्प बस्तीसँग जोडिएका छन् । एउटा पेट्रोल पम्पमा आगलागी भयो भने सारा टोल नै सखाप हुने स्थिति विद्यमान छ । हाम्रो अग्नि नियन्त्रणसम्बन्धी व्यवस्था एकदम कमजोर छ । आवश्यक उपकरण र सामग्री तथा जनशक्तिसहित आगलागी भएको ठाउँसम्म पुग्ने बाटाहरूसमेत साँघुरा र भिडभाडयुक्त भए पनि क्षति हुनुअगावै नियन्त्रणको सम्भावना निकै न्यून हुन्छ नै । लामो समयदेखि हेलचेक्र्याइँको सिकार भएको हाम्रो प्रशासनिक संयन्त्र र स्थानीय सरकारको बेवास्ताको सिकार भएर सहरी सुरक्षाका मापदण्ड लागू गर्ने विषयमा गम्भीर कमजोरी रहेका छन् । सहर विस्तार हुँदै छ, बस्ती विस्तार भइरहेको छ । आवश्यकता बढ्दै गएको छ । त्यसको व्यवस्थापन गर्ने सन्दर्भमा आवश्यक नीतिगत तथा कानुनी व्यवस्था पनि बन्दै गएका छन् । तर, त्यसको कार्यान्वयन पक्ष फितलो हुँदा घरघरमा सिलिन्डर बम र टोलटोलमा पम्प तथा प्लान्टहरूको धरापले जोखिम बढाएको छ । सम्बन्धित पक्षको तत्काल ध्यान जाओस् ।

तपाईको प्रतिक्रिया