logo

bar

कांग्रेसले देशभर किन हार्‍यो चुनाव ?

रमेश सापकोटा/नयाँ पत्रिका काठमाडौं, ७ पुस | पुष ०७, २०७४

कांग्रेस युवानेता प्रदीप पौडेल सबैभन्दा कम मतान्तरले पराजित भएका उम्मेदवार हुन् । तनहुँ क्षेत्र नं. २ (क)मा माओवादी उम्मेदवार आशा कोइरालासँग केवल पाँच मतले पराजित भएर उनी प्रदेश सभा सदस्य हुनबाट रोकिए । पौडेलको राजनीतिक जीवनमा यो निर्वाचन किन पनि महत्वपूर्ण थियो भने, आमनिर्वाचनमा उनी पहिलोपटक मैदानमा थिए । जीवनको पहिलो आमनिर्वाचन प्रतिस्पर्धा उनलाई कस्तो लाग्यो ? के देखे, के सिके ? कांग्रेसले देशभर किन हार्‍यो ? नयाँ पत्रिकाका रमेश सापकोटाले सोधे, उनले जवाफ दिए :

प्रदीप पौडेल, नेता, कांग्रेस

हारका कारण
प्रतिनिधिसभा सदस्यका लागि टिकट खोजेको थिएँ, तर प्रदेशसभामा टिकट पाएँ । मेरो राजनीतिक जीवनमै यो पहिलो आमनिर्वाचन प्रतिस्पर्धा थियो । तर, संघमा टिकट नपाएपछि प्रदेशमा लड्न सुरु–सुरुमा जाँगर नै लागेन । केही समयपछि भने कस्सिएर निर्वाचनमा होमिएँ ।

हामीले समृद्ध लोकतन्त्रको कुरा गर्दै गर्दा निर्वाचनका क्रममा फरक देखियो । खानेपानी, सिँचाइ, कच्ची बाटोलाई पक्की बनाउनुपर्ने, आम्दानीको बाटो, थ्रिफेज बिजुली, आमा समूह र युवा क्लबको भवनको विषय मात्रै उठे । वर्षौंदेखि निर्वाचनमा उठ्ने विषय नै यसपटक पनि दोहोरिएको पाएँ । यी गर्नै नसकिने विषय होइनन्, तर अहिलेसम्म गरिएका रहेनछन् । मतदाताका साना समस्याले यो सत्य प्रस्टिन्थ्यो ।

विगतमा निर्वाचनमा जानेले आश्वासन दिए, तर काम गरेनन् । मैले फेरि उही वचन दोहोर्‍याएँ, तर मतदाताले पत्याएनन् । विगतमा वाचा दिएर चुनाव जित्ने अनि गाउँ नफर्किने नेताका कारण अहिले हामीमाथि असर पर्‍यो । मतदाताको मनोविज्ञान नै चुनावका वेलामा नेताहरू आउँछन्, विषय सुन्छन्, पूरा गर्दिन्छु भन्छन्, तर गर्दैनन् भन्ने परेको रहेछ । निर्वाचनमा मात्रै आउने हो कि भोलिका दिनमा पनि आउने हो ? अहिले मात्रै हुन्छ भन्ने कि पछि पनि हुन्छ भन्ने हो ? भन्नेजस्ता अविश्वासपूर्ण प्रश्नहरू धेरै गरिए । भोट माग्दै जाँदा नै कतिपय सहयोगको अपेक्षा उनीहरूले गरे । पछि आउने हो कि होइन भन्ने डर उनीहरूमा देखियो । राजनीतिले आर्थिक विकास र अन्य विकासमा प्रत्यक्ष पारेको असर राम्रोसँग बुझ्न नपाएका हामीलाई पहिलो निर्वाचनमै अविश्वासले हेरियो । त्यसो त नयाँ तरिकाले रोजगारी सिर्जना गर्न सक्ने उपाय र योजना प्रस्तुत गर्दाचाहिँ यिनीहरूसँग नयाँ दृष्टिकोण रहेछ भन्ने पनि देखियो । मत आकर्षित गर्न मात्रै होइन, योजनासहित आएको रहेछ भन्ने मतदाता पनि धेरै थिए ।

सबैतिर बाटो खनिएको छ, तर सबैतिर धुलाम्मे छ । एउटा गाडी कुद्दा गाउँ नै धुलाम्मे हुन्छ । कतिपय उम्मेदवारले निर्वाचनमा प्रचार गर्न मात्रै गाडी कुदाएको पनि देखियो । ती बाटा कति स्थायी हुन्छन् ? साँच्चै आवश्यक छन् कि छैनन् ? भन्नेमा बहस भएको पाइएन । सहरबाट खाद्यान्नसहितका आवश्यक सामग्री गाडीले लिएर आउने, तर, फर्किंदा गाडी रित्तै फर्किने अवस्था छ । गाउँमा स्थानीय उत्पादन केही पनि छैन । सहरसम्म लाने गरी उत्पादन गर्नै नसक्ने अवस्था गाउँबस्तीमा छ । एकदमै छोटो दूरीमा पनि पैदलयात्रा गर्नुभन्दा जोखिमयुक्त रूपमा गाडी चढेर हिँड्ने गरेको पनि देखियो । यस्तो देखिँदै गर्दा गाउँबस्ती पछाडि छ, हामी चरम गरिबीमा छौँ भन्ने बुझ्न गाह्रो छैन । हाइवेबाट धेरै नजिक रहेका ठाउँहरू पनि विकासको दृष्टिले पछाडि परेको देखिन्छ । तसर्थ, नेताले राजनीतिक विकास ल्याउँछन्, अमनचयन ल्याउँछन्, समस्या हल गर्दिन्छन् भन्ने आकर्षण कहीँ पनि भेटिएन ।

देखिए फरक दृश्य
पहिले–पहिले एउटा पार्टीको मान्छे अर्को पार्टीमा जोडिएको मान्छेको मेलापर्वमा जाँदैनथ्यो । निकै द्वन्द्व थियो । बढी राजनीतीकरण भएको देखिन्थ्यो । तर, अहिले जो आए पनि उस्तै हुन् भन्ने मनोविज्ञान हुर्केको पाइयो । मतदातामा पहिलेजस्तै अर्को पार्टीका मतदाता वा कार्यकर्तालाई निषेध गर्नुपर्छ भन्ने मनोविज्ञान छैन । राजनीतिक दलसँगको आबद्धता पहिले जेजस्तो भए पनि पार्टीका निम्ति लाग्नुपर्छ भन्ने देखिएन । अर्को पार्टीको नेता आउँदा पनि आदर–सत्कार गर्ने, शुभकामना दिने भेटिए । केहीले सम्मान र शुभकामनासहित भोट दिन नसक्ने पनि बताए । पहिल्यैदेखि अर्को पार्टीमा लागेकाले तपाईंलाई भोट हाल्न सक्दैनौँसम्म स्पष्ट भने ।

तपाईं राम्रो मान्छे हो भन्ने प्रतिक्रिया फरक दलका मानिहरूले पनि गरे । पहिले–पहिले चुनावी प्रचारमा कांग्रेस नेतालाई कांग्रेसकै नेता–कार्यकर्ताले खाना ख्वाउँथे । तर, अहिले यो शैली फेरियो । अहिले उम्मेदवारले नै भोजको आयोजना गर्नुपर्ने अवस्था आएछ । चुनाव जित्न पार्टीले होइन, उम्मेदवारले नै सबै थोक गर्नुपर्छ भन्ने देखियो । विचार, योजना, उम्मेदवारको कार्यक्रमले आकर्षण गर्नेभन्दा पनि भोजजस्ता तामझामले आकर्षित गर्ने स्थिति विकास भएको मैले बुझेँ ।

चन्दा उठ्नै छाडेछ
पहिले पार्टी चल्ने, उम्मेदवार चल्ने भनेकै शुभेच्छुकहरूको चन्दाले थियो । तर, अहिले त निर्वाचनमा २०, ३० वा १०० रुपैयाँ उठ्नै छाडेछ । स्वतःस्फूर्त रूपमा सामान्य जनताले चन्दा दिने अवस्था अहिलेको निर्वाचनमा देखिएन । समग्र राजनीतिले मतदातादेखि सामान्य मान्छेलाई आकर्षित गर्न नसक्दाको परिणाम हुन्, यी । पहिले विशाल सभा हुन्थे, तर अहिलेको निर्वाचनको प्रचार कोणसभा र घरैदैलोमै सीमित भयो । हामीले पनि त्यसै गर्‍यौँ ।

फेरिँदो प्रचार शैली
आचारसंहिताले पनि निर्वाचनमा तामझाम अलि कम भएको देखियो । मोटरसाइकलको तामझाम भने अलि बढी नै देखियो । आगामी निर्वाचनमा यो तामझामलाई पनि निषेध गर्नुपर्ने देखिन्छ । खुवाउने, पियाउने, पार्टी गर्ने तामझाम हुँदै गर्दा झन्डा साना आकारका प्रयोग भए । तर, बढी तामझाम गर्नेले मात्र निर्वाचन जित्छ भन्ने वातावरण भने प्रचारका क्रममा देखिएन । थोरै मान्छे जुटाउन पनि फरक तामझाम गर्नुपर्ने बाध्यतामा समेत दलहरू देखिएका छन् । कम तामझाम गर्दा निर्वाचन कम खर्चिलो हुने भएकाले यो शैलीलाई अवलम्बन गर्नुपर्छ ।

नयाँ चुनाव, पुरानै विषय
प्रदेश के हो भनेर न हामी उम्मेदवारले राम्रोसँग बुझाउन सक्यौँ, न मतदाताले नै राम्रोसँग बुझेका छन् । प्रदेशले कसरी काम गर्छ, अधिकारक्षेत्र के हुने भन्ने जनताले बुझेको देखिएन । वडा, मेयरको चुनावमा जस्तै अहिले पनि स्थानीय विकासकै विषयलाई उठाइएको पाइयो । प्रतिनिधिसभाको उम्मेदवारले कानुन बनाउने हो । तर, उनीहरूसँग पनि मतदाताले विकास नै मागे । कानुन बनाउनेसँग पनि धारा बनाउने र आमा समूहको भवन बनाउने विषय माग भयो । यसको अर्थ, राजनीतिले विकासको माग सम्बोधन गर्नुपर्छ भन्ने नै हो । खानेपानीको व्यवस्था, अहिलेको आयोजनामा सुधार, मूलको संरक्षण र सवद्र्धनजस्ता विषयमा उनीहरूको चासो देखियो ।

गाउँमा महिलाको उपस्थिति बढी छ । गाउँमा उनीहरूले आमा समूह बनाएका छन् । देउसी, भैलो खेलेर आमा समूहको भवनको जग हालेका छन् । यस्तो ठाउँमा आमा समूहको माग अलि बलियो भवन भइदेओस् भन्ने छ । आमा समूहको भवन भयो भने चेतना विस्तारमा सहयोग पुग्छ, तालिम सञ्चालन गर्न भवन प्रयोग गर्ने, आयमूलक गतिविधि बढाउन सकिने, समुदायलाई एकताबद्ध बनाउनेजस्ता धेरै काम गर्न सकिन्छ । तर, राज्यले यस्ता आमा समूहको भवन बनाउने वर्षौंदेखिको प्रयास र आग्रहलाई सधैँ उपेक्षा गरेको पाइयो । १० वर्षदेखि यस्ता मुद्दा उठे, तर कहिल्यै पूरा भएनन्।

नयाँ खोज्दै जनता
पोखराबाट नजिक हुँदा पनि पर्यटकलाई तनहुँमा किन ल्याउन सकिँदैन ? पर्यटनको सम्भावना के छन् ? भन्ने विषयमा जनताको चासो पाइयो । पोखराको सराङकोटजस्तै मानुङको डाँडोमा पनि प्याराग्लाइडिङ उडाउने, मादी नदीमा बाँध बाँधेर फेवातालजस्तै बनाउने, डाडाँकाँडालाई ट्रेकिङको रुट बनाउने, सबैका घरमा राम्रा ट्वाइलेट बाथरुम बनाउने, सबैका घरलाई होमस्टे बनाउने, मेगासिटीको तयार भएको डिपिआर, नयाँ रोजगारी दिलाउनेजस्ता विषय निर्वाचित भएर आएपछि कार्यान्वयन गराउँछु भन्दा जनताले रुचाए । यस्तो आश्वासनमा उनीहरू आकर्षित भएको देखियो । पहिले कसैले नल्याएका विषय प्रवेश गराएर योजना सुनाउँदा मतदाता उत्साहित भएको पाएँ । हामीले निर्वाचन त जित्न सकेनौँ, तर जनताले नयाँ विषय खोजेका रहेछन् भन्नेचाहिँ राम्रोसँग बुझ्यौँ ।

छायामा प्रदेश सभा
म पार्टीको केन्द्रीय सदस्य निर्वाचन लडेको व्यक्ति । प्रदेश नम्बर ४ मा मुख्यमन्त्रीको दाबेदारका रूपमा समेत पार्टीभित्रै चर्चा गरिएको थियो । त्यसैले प्रतिनिधिसभा निर्वाचनको छायामा म परिनँ । मलाई त्यस्तो अनुभव भएन । तर, समग्रमा प्रतिनिधिसभाका उम्मेदवारको छायामा प्रदेशसभाका उम्मेदवार परेका हुन् । अलग प्रयोजन हुँदाहुँदै संघकै उम्मेदवारले बढी प्राथमिकता पाउने, सिनियर पनि उही नै हुने, पोस्टर, पम्प्लेटमा प्रदेशसभाका उम्मेदवार किनाराका साक्षीजस्तै पनि देखिए । केन्द्रमा हामीजस्तै समान हैसियत नभएका उम्मेदवारमा भने समस्या देखिएको हो ।

यस्ता एजेन्डा लगेँ
जनताले जसलाई जिताउन चाहन्छन्, उसले जित्छ । हराउन चाहँदा हार्छ । लोकतन्त्रको सुन्दर पक्ष भनेकै यही हो । तर, म नेता बन्न चाहन्छु । नेता बन्नका लागि तपाईंहरूको मनभित्र बस्न चाहन्छु । मनभित्र त्यतिवेला बस्न सक्छु, जतिवेला तपाईंहरूको स्थानीय समस्यालाई समाधान गर्न सक्छु, पूरा गर्न सक्छु । ४२–४३ वर्षको भएको छु, यो नै अन्तिम चुनाव होइन, अरू चुनाव पनि लड्नुपर्नेछ । अहिले ढाँटेर चुनाव जितूँला, तर अर्कोपटक लड्न आउँदा केही गर्न नसके हराइदिनुस् । मेरा लागि भगवान् र ईश्वर भनेकै तपाईं जनता हो । मैले तपाईंहरूको पूजा गरेँ भने खुसी बनाउन सक्छु । विकाससँग जोडिएका सरोकार पूरा गर्दा खुसी हुनुहुन्छ, गर्न सकिनँ भने दण्डित गर्नुहुन्छ । तपाईंसँग लोकतन्त्रमा त्यो सुन्दर अवसर छ भनेर जनतालाई विश्वास दिलाएँ ।

यस्ता मतदाता
पार्टीप्रति असन्तुष्ट भए पनि, उम्मेदवार र नेताप्रति आजित भए पनि कार्यकर्ताले पार्टी छोड्न सक्दैन । वर्षौंदेखि उम्मेदवार बने पनि उसले पार्टीको घेरा तोड्न सक्दैन । पार्टीसँग केही न केही सम्बन्ध नभएका मतदाता अति नै कम हुने रहेछन् । अर्काथरी मतदातालाई पार्टीले र नेताले आकर्षित पनि गर्नेरहेछन् ।

कांग्रेसको हार
हाम्रा प्रतिस्पर्धी ‘क्याडरबेस’ र हामी खुला राजनीति गर्ने भएपछि हाम्रो मत खोस्न उनीहरूलाई सजिलो भयो । हामीले घोषणापत्रमा राम्रा विषय उल्लेख गर्‍यौँ, तर प्रचार गर्न सकेनौँ । हामी रक्षात्मक बन्यौँ । कांग्रेसजस्तो राष्ट्रवादी पार्टीलाई कसैले अराष्ट्रवादी भनेर आरोप लगाइदिँदा हामी प्रतिरक्षात्मक हुनुपर्‍यो ।

घोषणापत्रमा सामाजिक सुरक्षाको कोखदेखि शोकसम्मको राम्रो योजना थिए । तर, जनतालाई बुझाउन सकेनौँ । सधैँभरि राजनीतिक निकास र समन्वयकारी भूमिका खेलेको हाम्रो आफ्नै इतिहासलाई हामीले जनताबीच लान सकेनौँ । अन्ततः पराजित भयौँ ।

जनताले कांग्रेसलाई तिरस्कार गरेका होइनन् । हामीले प्रभावकारी रणनीति तय गर्न नसकेको हो । एमाले र माओवादी मिले, तर हामीले कोसँग मिल्ने भनेर प्रभावकारी प्रयास गर्नै सकेनौँ । जनताले तिरस्कार गरेको भन्दा पनि निर्वाचनमुखी रणनीति नभएका कारण यो परिणाम भोग्नुपरेको हो । हिजो सत्तामा हुँदाका कमजोरी, प्रस्ट्याउन नसकेका विषय, हाम्राविरुद्ध फैलाइएका भ्रामक विषयका कारण पनि हामी हार्‍यौँ ।

प्रदेश नं. २ मा राजपा र फोरमको गठबन्धनले कांग्रेस कमजोर भयो । अन्यत्र माओवादी र एमाले गठबन्धनले कांग्रेसलाई कमजोर तुल्याइदियो । तीन हजारभन्दा कम अन्तरले २४ ठाउँमा हारियो । पाँच हजारभन्दा कम अन्तरले ३९ ठाउँमा हारियो । एमाले र कांग्रेस प्रतिस्पर्धी पार्टी थिए, तर माओवादी आएर जोडिएपछि उनीहरू निर्णायक बने । ठूला तीन दल एक्लाएक्लै लडेको भए अहिले

तीन हजार मतले
हार्नुपरेका कांग्रेस उम्मेदवारले जितेका हुन्थे । हामीले महन्थ ठाकुर र उपेन्द्र यादवलाई छाड्यौँ, तर उनीहरूलाई कहीँ पनि छोडाउन सकेनौँ । राप्रपासँग हामी मिलेको भनेर केन्द्रले भन्यो, तर मेरो प्रदेशमा राप्रपाले तीन सय पाँच मत ल्याएको छ । म पाँच मतले पराजित भएँ । यसको अर्थ, कांग्रेस कसैसँग मिलेर होइन, एक्लै निर्वाचन लडेको हो ।

तपाईको प्रतिक्रिया