logo

bar

न्यानो लाउनोस्, मीठो खानोस्

नयाँ पत्रिका काठमाडौं, ६ पुस | पुष ०६, २०७४

मधेसमा केही दिनयता शीतलहर चलेको छ । सञ्चार माध्यम भन्छन्— चिसोले जनजीवन कष्टकर बनेको छ । यता पहाडमा पनि तापक्रम घटेको छ । चिसोले बालबालिका र वृद्धवृद्धाको स्वास्थ्यमा असर पारेको छ । तराईको केही स्थानमा त नेपाली सेनाले आगो ताप्ने व्यवस्था मिलाएर, चिया खान दिएर स्थानीयलाई चिसोबाट बच्न सहयोग गरिरहेको समाचार पनि आएको छ । यस्ता समाचार आएपछि सञ्चार गृहका संवाददाता थप सक्रिय भएर यसबारे सरकारले के गर्दै छ भन्ने सूचना खोज्न थाले । यता सरोकारवाला कार्यालयका प्रवक्ता तोकिएका हाकिमसाप आफ्नो अफिस कक्षमै थिए । कोठामा २८ डिग्री तापक्रम कायम हुने गरी एसी ‘अन’ गरिएको थियो । हाकिमसाप ऊनीको दौरासुुरुवाल, त्यसभित्र थर्मकोट र बाहिर ऊनीकै कोटमा थिए । कोठा न्यानो भएकाले भर्खर कोट नजिकैको ह्यांगरमा झुन्ड्याइएको थियो ।

ओढ्ने न्यानो कपडा नभएका, आङमा पूरा ढाक्ने कपडा नलगाएका, जुत्ता नभएका, पेटभर खान पुग्ने अन्न नभएका जनताले कसरी न्यानो लगाउलान्, कसरी मीठो खालान्?

संवाददाता पुग्नासाथ उनले कफी अर्डर गरे र यो चिसोबाट बच्ने उपायबारे सरकारको धारणा व्यक्त गर्न थाले । उनी भन्दै गए– हेर्नुस् यो चिसो प्राकृतिक विषय हो । हामीले नचाहँदा पनि आइरहन्छ । अहिले जलवायु परिवर्तनको प्रभावले पहिलेभन्दा छिटो जाडो बढ्ने गरेको छ, शीतलहरले त झन् हैरान पार्दै छ । यस्तो वेला चिसो त स्वाभाविक रूपमा बढ्छ । अब यस्तोमा चिसोबाट बच्न सर्वसाधारणले केही पक्षमा ध्यान दिनैपर्छ । जस्तो– सबैले न्यानान्याना कपडा लगाउनुपर्छ । केटाकेटीलाई पनि विद्यालय जाँदा ऊनीका मोजासहित जुत्ता लगाइदिनुपर्छ । न्यानो स्वेटर, ज्याकेट, कोट लगाइदिनुपर्छ । अनि घरमा पनि न्यानो बनाउनुपर्छ । सुत्दा पनि न्याना सिरक ओढेर सुत्ने गर्नुपर्छ । अनि, तातोतातो झोल पदार्थ पिउनुपर्छ । खाना तातोतातो खाने गर्नुपर्छ । अझ यस्तोमा मासुले फाइदा गर्छ । विनाकाम घरबाहिर निस्कनु पनि हुन्न । घरमै बस्यो भने चिसोबाट बचिन्छ । सरकारले यस्तो सूचना र सल्लाह सकेसम्म सबै परिवारसम्म पुग्ने गरी सार्वजनिक गरिसकेकाले अब भोलिदेखि शीतलहरले कसैले मृत्यु व्यहोरेको समाचार आउँदैन ।

तातो कफी आइपुग्यो । उनले अब केही ‘हट सुप’ अर्डर गरे र ल्यापटप खोलेर सामाजिक सञ्जाल र अनलाइनमा तस्बिरसहित आफ्नो भनाइ कोट गरिएका समाचार कताकता आए, कतिले फेसबुक र ट्विटरमा अपलोड गरे र कतिले लाइक गरे भन्ने हेर्न थाले । सरकारले आफ्नो दायित्व पूरा गर्‍यो ।

यता बस्तीको चित्र भने अलि फरक छ । घरभित्र ओढ्ने न्यानो कपडा नभएका, आङमा पूरा ढाक्ने कपडा नलगाएका, जुत्ता नभएका, पेटभर खान पुग्ने अन्न नभएका परिवारका सदस्य घुरको वरपर बसेर कुइँकुइँ गर्दै दिनरात कटाउने प्रयासमा पहिले पनि हुन्थे र अहिले पनि छन् । सरकारी प्रवक्ताको अपिलपछि पनि तिनले आफ्नो चालचलनमा कुनै परिवर्तन गरेका छैनन् । तिनलाई चिसोले समातेको छ । तिनका केटाकेटीका नाकमा सिंगान झुन्डिएकै छ । बुढाबुढी खोकिरहेकै छन् । पातलो लुगामा केटाकेटी विद्यालय गएकै छन् । जति चिसो भए पनि नांगा पैतालासहित किसान या कृषि मजदुर काममा निस्केकै छन् । सरकार भने छक्क परिरहेछ, आखिर यी मानिसले किन सरकारको सल्लाह मानिरहेका छैनन् ? यस्तो लाग्छ सरकार ती गरिबले यस्तो जाडोमा पनि किन न्यानो कपडा नलगाएका होलान् भन्ने अनुसन्धान गर्न कुनै दातृ निकायसँग सहयोग माग्ने परियोजना प्रस्ताव बनाउने तयारी गर्दै छ । हाम्रो लोकतन्त्रमा आखिर सरकार जनताप्रति उत्तरदायी त हुनैपर्‍यो क्यार !

तपाईको प्रतिक्रिया