logo

bar

चीन र रसिया मुख्य प्रतिद्वन्द्वी : अमेरिका

एजेन्सी वासिङ्टन, ५ पुस | पुष ०५, २०७४

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार राष्ट्रिय सुरक्षा रणनीति सार्वजनिक गर्दै चीन र रसिया मुख्य प्रतिद्वन्द्वी भएको बताएका छन् । राष्ट्रपतिमा निर्वाचित भएको एक वर्षपछि ट्रम्पले सोमबार पहिलोपटक सुरक्षा रणनीति सार्वजनिक गरेका हुन् । रणनीतिमा ‘अमेरिका पहिला’ भन्ने कार्यक्रमलाई उच्च प्राथमिकतामा राखिएको छ । रणनीतिमा आर्थिक शक्ति र आन्तरिक सुरक्षामा जोड दिइएको छ । ट्रम्पले सीमा नियन्त्रणमा समेत जोड दिएका छन् । विश्वका अन्य मुलुकहरूसँग भावी दिनमा चाल्ने कदमबारे रणनीतिमा उल्लेख गरिएको छ ।

प्रतिस्पर्धामा जोड
ट्रम्पले विश्वका अन्य देशहरूसँगको सहकार्यभन्दा प्रतिस्पर्धामा जोड दिएका छन् । उनले रसिया र चीनलाई अमेरिकाको मुख्य प्रतिस्पर्धी बताएका छन् । अमेरिकालाई प्रतिस्पर्धी शक्तिका रूपमा चीन र रुसले चुनौती दिइरहेको उनले बताएका छन् । कुनै संघ वा व्यक्तिको नामै नलिई उनले अमेरिकाले अतिवादी संगठन, तथा विविध खालका आपराधिक सञ्जालहरूबाट हिंसाको सामना गर्नुपरेको बताएका छन् । अमेरिकी मान्यता र सम्पत्तिलाई अन्य प्रतिस्पर्धी देशले चुनौती दिने प्रयास गरिरहेको उनको भनाइ छ । ट्रम्पले राष्ट्रिय स्वार्थको संरक्षण गर्ने र अमेरिकी पहिला भन्ने आफ्नो मान्यतालाई सुरक्षा रणनीतिले सहयोग पुर्‍याउने विश्वास व्यक्त गरेका छन् ।

चीनले गर्‍यो विरोध
चीनले अमेरिकी राष्ट्रिय सुरक्षा रणनीतिको विरोध गर्दै ह्वाइटहाउस शीतयुद्धको मानसिकताबाट गुज्रेको आरोप लगाएको छ । अमेरिकाले मंगलबार सार्वजनिक गरेको रणनीतिमा चीन र रसियालाई प्रतिद्वन्द्वी शक्तिको रूपमा चित्रण गर्दै उनीहरूबाट वासिङ्टनलाई खतरा भएको उल्लेख छ । बेइजिङ र अन्य देशका सरकार अमेरिकी शक्तिलाई चुनौती दिन दृढ रहेको रणनीतिमा उल्लेख छ । चीनको विदेश मन्त्रालयले अमेरिकी रणनीतिक प्रतिवेदनको आलोचना गर्दै वासिङ्टनले ‘पुराना विचार’ त्याग्नुपर्ने बताएको छ । ‘तथ्यलाई तोडमोड गर्दैमा कुनै पनि प्रतिवेदन सफल हुन सक्दैन,’ विदेश मन्त्रालयका महिला प्रवक्ता हुआ चुनिङले भनिन् । ‘अमेरिकी पक्षले नियोजित तरिकाले चीनको रणनीतिक धारणालाई तोडमोड नगर्न र शीतयुद्धको पुरानो मानसिकता त्याग्न आग्रह गर्छौं,’ चुनिङले भनिन् । अर्कोतर्फ आफूहरूलार्ई ‘खतरा’को रूपमा चित्रित गर्नु दुभाग्र्यपूर्ण भएको बताउँदै रसियाले पनि अमेरिकाको नयाँ सुरक्षा रणनीतिको विरोध गरेको छ । प्रतिवेदनको साम्राज्यवादी चरित्रको उसले आलोचना गरेको छ ।

रसिया र चीनबारे अमेरिकी आरोप
अमेरिकी सुरक्षा रणनीतिमा चीन र रसियाले अमेरिकी शक्तिलाई चुनौती दिने र वासिङ्टनको सुरक्षा र समृद्धिलाई अतिक्रमण गरेको उल्लेख छ । रणनीतिमा चीन र रसियाबारे अमेरिकाले विभिन्न आरोप लगाएको छ । चीन र रसियाले अत्याधुनिक हतियारको क्षमता वृद्धि गरेको र यसले अमेरिकालाई जोखिममा पारेको जनाइएको छ । त्यस्तै, चीनले अमेरिकाको अर्बौं डलर मूल्यबराबरको बौद्धिक सम्पत्ति चोरेको वासिङ्टनको आरोप छ । प्रभाव विस्तार गर्न चीन र रसियाले संयुक्त लगानी गरेको पनि प्रतिवेदनमा उल्लेख छ । युरोपमा चीनले अन्यायपूर्ण व्यापार अभ्यास र महत्वपूर्ण औद्योगिक गृहमा लगानी गरेको अमेरिकाले आरोप लगाएको छ ।

उत्तर कोरियाले साइबर हमला गर्‍यो
यसै वर्षको सुरुमा भएको साइबर हमलामा उत्तर कोरिया प्रत्यक्ष जिम्मेवार रहेको अमेरिकी प्रशासनले जनाएको छ । सो हमलाका कारण विश्वभरका अस्पताल, व्यापार गृह, बैंकलगायतका वित्तीय संस्था प्रभावित भएका थिए । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका सहयोगी थोमस बोर्सटले मंगलबार सो आरोप लगाएका हुन् । अमेरिकाले पहिलोपटक आधिकारिक रूपमा उत्तर कोरियामाथि सो आरोप लगाएको हो ।

साइबर हमलाका कारण एक सय ५० देशका तीन लाख कम्प्युटर प्रभावित हुँदा अर्बौं डलरको क्षति पुगेको थियो । प्रमाणका आधारमा ती आरोप लगाइएको बोर्सटले दाबी गरे । बेलायतले गत नोभेम्बरमा उत्तर कोरियाले सो हमला गरेको बताएको थियो । मे महिनामा साइबर हमलापछि विन्डोज कम्प्युटर स्वतः बन्द भएका थिए । कम्प्युटर कार्यक्रम पुनः सञ्चालनका लागि ह्याकरहरूले निश्चित रकम मागेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचारहरु

लोकप्रिय समाचारहरु