logo

bar

ओबिओआर : रेसममार्गको पुनर्जन्म

| पुष ०५, २०७४

परिचय : मानव उद्भवसँग जोडिएका विश्वका धेरै सर्वप्राचीन सभ्यतास्थलको सूचीमा निःसन्देह चीनले शीर्ष स्थान ओगटेको छ । ढुंगे युगदेखि नै मानव पूर्वजको बसोवास रहेको र अविच्छिन्न सभ्यता विकसित भएको मुलुक हो चीन ।

इस्वी संवत् प्रारम्भभन्दा धेरै अगाडि नै चिनियाँ सभ्यता र संस्कृति समृद्ध भइसकेको र करिब तीन हजार वर्षपहिले नै चीन सुवर्ण युगमा परिणत भएको थियो भनी चिनियाँहरू गर्व गर्छन् । चीनको सबभन्दा पुरानो शासक वंश सिया (२००० इ.पू.) देखि बीसौँ शताब्दीको मञ्चुवंशसम्म आउँदा झन्डै एक दर्जनजति शासक वंशले शासन गरेको देखिन्छ । प्राचीन चाउवंशको शासनकाल (१०२७ इ.पू.– २५६ इ.पू.) मै एक प्रकारको किराबाट निस्कने टलकदार तन्तु वा धागो तात्कालिक रेशम उद्योग सञ्चालनको एक स्रोत नै हुन पुग्यो । रेशम–उद्योगले प्रश्रय पाउँदै जाँदा तत्कालीन हानवंशकै राज्यकाल (२०६ इ.पू.–२२० इ.) मा रेशमबाट उत्पादित चिनियाँ रेशमी कपडा अनेक देश हुँदै युरोपको रोम (इटाली) सम्म निर्यात हुन थालेको थियो ।

विशेषगरी रेशमबाट उत्पादित वस्तु निर्यात गरिने त्यो प्राचीन मार्गले त्यसवेला नै रेशम मार्ग (सिल्करोड) को रूप लिन पुग्यो । बाफ इन्जिनको आविष्कारपछि झन्डैझन्डै विस्मृत हुन थालेको यो मार्गको पुनः अवतरण हो अहिलेको ‘वान वेल्ट वान रोड’ (ओबिओआर-ओबोर) । विशेष सडक–जलमार्गमार्फत विश्वलाई जोड्ने प्रयासको अति महत्वाकांक्षी चौतर्फी उपलब्धि प्राप्तिका अग्रगामी विशाल योजना हो यो ।

ढुंगेयुगीन चीनमा मानव पूर्वजको अस्तित्व
चिनियाँहरू आफ्नो देशलाई विश्वको सर्वप्राचीन सभ्यता–संस्कृति आरम्भस्थल मात्र मान्दैनन्, करिब बाइस लाख वर्षपहिले नै पौराणिक नायक पान कुबाट इतिहासको थालनी भएको विश्वास गर्छन् । यसलाई पौराणिक अनुश्रुति मात्र मान्दा पनि चीनको चाउकोटिन गुफामा इ. १९६६ मा प्राप्त पेकिङ–मानव (पेकिङ–म्यान) को खप्पर, मुखका विभिन्न भागका दाँत तथा उसले प्रयोग गरेका ताछ्ने, तिखार्ने, थिच्ने ढुंगे उपकरण आदि अवशेष सामग्रीबाट उपर्युक्त कथनलाई पुष्टि गर्न केही बल पुग्छ । पेकिङ–मानवको प्राप्तिले ढुंगेयुगमै मानव पूर्वजको बसोवास एवं प्रस्तरकालीन संस्कृतिलाई प्रमाणिक रूपमा इंगित गर्छ ।

चिनियाँहरू आफूलाई मध्यदेशवासी मान्छन्
विश्वको तेस्रो ठूलो भूभागका रूपमा विस्तारित चीन चारैतिर प्राकृतिक सिमानाबाट घेरिएको र प्रकृतिबाटै सुरक्षित हुन पुगेको राष्ट्र हो । यसको पूर्वमा प्रशान्त महासागर, पश्चिममा पहाड, उत्तरतर्फ मरुभूमि तथा दक्षिणतिर सर्वोच्च शिखर सगरमाथा उभिएको छ । याङर्त्सी, व्हाङ्हो सिजस्ता ठूला नदीकिनार र उपत्यकामा चिनियाँ गाँउ–सहर विकसित भई सभ्यता उत्कर्षमा पुगेको देखिन्छ । पहिले चिनियाँहरू विश्वलाई नै एक टापुका रूपमा रहेको भनी जिकिर गर्थे भने यो टापुको मध्यभागमा चीन छ भन्ने उनीहरूको विश्वास थियो ।

चीनवंश र राष्ट्रको नामकरण
प्राचीन चीन अर्थात् २२१ इ.पू. मा सी व्हाङ्ग ती नामक शासकले तात्कालिक चाउवंशलाई परास्त गरी चीनवंशको स्थापना गरे । उनलाई धेरै भूभाग एकीकरण गर्नमा सफलता मिल्यो । भनिन्छ, यही चीनवंशको नामबाट देशको नाम पनि ‘चीन’ रहन पुगेको हो ।

रेशमी कपडाको माग रोमसम्म
वास्तवमा चीनको सर्वप्राचीन उद्योग भनेकै रेशमी कपडा बनाउने र यसमा चित्र भर्ने कार्य थियो । केहीपछि आवश्यकताले गर्दा लेखनका लागि पनि रेशमकै कागज बनाउन थालियो । प्राचीनकालमै चिनियाँ भारदारहरू बुद्ध तथा उनका शिष्यका चित्र पनि रेशमी सामग्रीमै बनाउन रुचि राख्थे ।

तात्कालिक सम्राट्–राजकुमारबाट प्रोत्साहन पाउँदा चाउवंशकै शासनकालमा रेशमी उद्योग निकै फस्टाइसकेको थियो । हानवंशको राज्यकालमा त चिनियाँ रेशमी कपडा मध्यइटालीको टाइवर नदीको किनारमा अवस्थित विश्वप्रसिद्ध सुन्दर शहर रोमसम्म निर्यात हुन्थ्यो । रोमका उच्च घरानियाँ, कुलीन–वर्गीय महिलाले रेशमी कपडा लगाउन रुचि राख्थे । इटाली भूमध्यसागरको यातायातको मुख्य मार्ग थियो । टाइवर नदी समुद्रमा पुग्ने हुँदा जलमार्गसँग जोडिएको थियो र यही मार्गमार्फत विश्वका धेरै राष्ट्र–सहर रोमसँग जोडिएका थिए ।

विस्मृत सिल्करोडको पुनर्जन्म ओबोर
भनिन्छ, इ. १८७७ तिर जर्मन भूगर्भशास्त्री फर्डिनाड भोनले ‘सिल्क–रोड’ भनी नामकरण गरिसकेका थिए जुन त्यही मार्ग थियो, जहाँबाट इस्वी प्रारम्भभन्दा अगाडि नै चीनबाट अनेक राष्ट्र हुँदै घोडासमेतलाई वाहन बनाई रोमसम्म उत्पादित वस्तु निर्यात गरिन्थे । उज्वेकिस्तान, किर्गिस्तान, तुर्कमेनिस्तान, नेपाल, भारत, पाकिस्तान, जापान, मंगोलिया, कोरिया, म्यानमार तथा अरेबियन भूमि, युरोपेली देश आदि सिल्करोड सञ्जालभित्र समेटिएका थिए । सुरुमा भूमिबाट हिँडिएको तथा अन्तिम गन्तव्यमा पुग्ने मूलबाटो (व्यापारिक–मार्ग) नै पछि सिल्करोड (रेशम मार्ग) हुन पुगेको थियो र यसैको पुनर्जन्मजस्तो देखिएको अहिलेको बृहत् परियोजना नै ओबोर हो ।

के ओबोर बहुसांस्कृतिक पुल बन्न सक्छ ?
सन् २०१३ मा चिनियाँ राष्ट्रपति सी जिनपिङबाट प्रस्तुत बेल्ट एन्ड रोड इनिसिएटिभ अर्थात् ओबोर (वान बेल्ट वान रोड) हेर्दा एक भीमकाय ड्रिम परियोजना महसुस हुन्छ । यो विश्वका ७० भन्दा बढी राष्ट्रमा विस्तार हुनेछ र झन्डै विश्वका दुईतिहाइ जनसंख्या प्रभावित हुने, ५५ प्रतिशत कुल गार्हस्थ उत्पादन बोक्ने र ७५ प्रतिशत विश्वऊर्जा ओगट्ने स्थितिमा पुग्नेछ । ओबोर कनेक्टिभिटी परियोजनाप्रति सहमति जनाउँदै हस्ताक्षर गर्नेको सूचीमा नेपाल ६४औँ राष्ट्र भएको छ जसले इ. २०१७ मे १२ मा दस्तखत गरेको थियो ।

नेपालले यो परियोजनामा हस्ताक्षर गरेपछि बेइजिङमा सम्पन्न बेल्ट एन्ड रोड इनिसिएटिभ सम्मेलनमा नेपालप्रति इंगित गर्दै चिनियाँ राष्ट्रपति सी जिनपिङले– ‘असल छिमेकीको साथ पायौँ’ भन्ने उद्गार व्यक्त गरेका थिए । ओबोर परियोजना मूलतः आर्थिक, सामाजिक–सांस्कृतिक एवं सञ्चार क्षेत्रसँग सम्बन्धित रहेकाले यसले पूर्णता लिँदै जाँदा राष्ट्र–राष्ट्रबीचका बहुमूल्य सामग्री मैत्रीपूर्ण वातावरणमा आदानप्रदान हुन गई परस्पर सहयोगको नयाँ पुल निर्माण गर्नेछ । बहुधु्रवीय संसारको अवधारणालाई बलियो बनाउने क्रममा सभ्यता–संस्कृतिका अथाह भण्डार भएका राष्ट्रबीच समझदारी गर्ने तथा परम्परागत सांस्कृतिक प्रस्तुतिका लागि राष्ट्रहरू परस्पर नजिक हुने र एक–अर्काको संस्कृति चिन्ने, बुझ्ने आदि अवसर ओबोरले नै प्रदान गर्नेछ । विश्वसम्पदा सूचीमा समाहित स्थलहरूमा आकर्षण बढ्न गई धार्मिक–सांस्कृतिक, प्राकृतिक पर्यटनले स्वतः प्रश्रय पाउनेछ । परम्परागत मानवको दिनचर्यासँग अन्योन्याश्रित रहेका सामाजिक–सांस्कृतिक रीतिथिति–चाडपर्व आदि देश–देशका जनताबीच जोडिनेछ । सभ्यता–संस्कृतिबीच अन्तत्र्रिmयाको माध्यमबाट तथा पदयात्रा–पर्वतारोहण, पर्यटन, चलचित्र वर्ष आदि सफल बनाई विश्वका नागरिकलाई आकर्षण गर्न सकेमा पनि मानवबीचको एक बलियो बहुसांस्कृतिक पुल तयार गर्न ओबोरले सहयोग पुर्‍याउनेछ । नेपालको विश्वरंगमञ्चमा अझै परिचय बढ्ने र क्रमशः समृद्धिको भर्‍याङ चढ्दै जाने एक प्रबल मूलढोका पनि ओबोर नै बन्न सक्छ । विश्वको एक स्वर्णिम सुन्दर बगैंचा बनाउन सक्ने या नसक्ने अब हाम्रै अठोट, क्षमता र निर्भीकतामा भर पर्नेछ ।

निष्कर्ष
नेपाल र चीन दुवै ढुंगेयुगदेखि नै मानव पूर्वज बसोवास भएका विश्वका प्राचीन सभ्यता संस्कृति विकसित राष्ट्रको सूचीमा अग्रणी स्थानमा छन् । प्राचीन सभ्यतालाई पुनर्जन्म दिने क्रम अर्थात् विस्मृत भइसकेको सिल्क–रोड (रेशम मार्ग) को रूपान्तरण नै वान वेल्ट एन्ड वान रोड अर्थात् ओबोर (एक बाटो एक क्षेत्र) को उदय भएको हो । सपनाजस्तो लाग्ने अति नै महत्वाकांक्षी र विश्वकै ध्यान तान्ने परियोजना हो ओबोर । विशेषगरी जल–थलबाट नै गुड्ने र एसिया, युरोप, अफ्रिकालगायतलाई जोड्ने यो व्यापारिक–सांस्कृतिक मार्ग सम्भवतः एक्काइसौँ शताब्दीको एक बृहत् लम्बाइ मार्गको रूपमा स्थापित हुनेछ ।

तपाईको प्रतिक्रिया