logo

bar
logo
Advertisment
SKIP THIS

देशभर मौसममा आंशिक बदली

वीरेन्द्र ओली/नयाँ पत्रिका काठमाडौं, ५ पुस | पुष ०५, २०७४

पश्चिमी वायुको प्रभावका कारण देशैभर आंशिक बदली भएको छ । उपत्यकासहित पश्चिम तराईमा हलुका वर्षा र उच्च हिमाली क्षेत्रमा हिमपात हुन सक्ने जल तथा मौसम विज्ञान विभाग पूर्वअनुमान महाशाखाले जनाएको छ । मौसम बदलीसँगै भिजिबिलिटी घटेपछि मंगलबार ७० प्रतिशत आन्तरिक उडान प्रभावित भएका छन् ।

मौसममा आएको बदलीका कारण बुधबार र बिहीबारसम्म देशका अधिकांश क्षेत्रमा बादल र हुस्सु लाग्दा घाम नलाग्न सक्ने मौसमविद् वरुण पौडेलले बताए । बिहीबार बेलुकादेखि भने मौसममा सुधार हुने प्रक्षेपण गरिएको छ । ‘आंशिक बदली हुँदा तराईमा सामान्य वर्षासमेत हुन सक्छ । तर, ठूलो पानी भने पर्दैन,’ पौडेलले नयाँ पत्रिकासँग भने, ‘तर, आंशिक बदली हँुदा तापक्रम घट्दा चिसो थप बढ्न सक्छ ।’

उपत्यकामा भिजिबिलिटी घट्यो
उपत्यकामा बादल, धुलो–धुवाँसँगै बाक्लो हुस्सु लाग्दा पाँच किलोमिटर भिजिबिलिटी रहेको विभागले जनाएको छ । हावा चल्ने वा पानी पर्ने भएपछि मात्र आकाश सफा हुने भएको छ । भिजिबिलिटी कम भए पनि हवाई उड्डयन क्षेत्रमा भने असर नगर्ने पौडेलले बताए ।

शीतलहरको सम्भावना न्यून
भारतबाट प्रवेश गरेको बाक्लो हुस्सु आउन कम भएकाले तत्काल तराईमा शीतलहर चल्ने सम्भावना कम रहेको मौसमविद् पौडेलले बताए । ‘मौसममा आएको बदलीका कारण केही दिनका लागि तराईमा शीतलहर चल्ने सम्भावना कम छ,’ उनले भने, ‘शीतलहर नचले पनि बिहान–बेलुका चिसो भने कायमै हुन्छ ।’ सामान्यतया शीतलहर चल्न ४८ घन्टासम्म बाक्लो हुस्सु लागेपछि मात्र सम्भावना धेरै हुने पौडेलले बताए ।

उच्च सतर्कताअपनाउन निर्देशन
हरेक वर्ष शीतलहरका कारण तराईमा धेरैको ज्यान जाने भएकाले गृह मन्त्रालयले सम्बन्धित निकायलाई उच्च सतर्कता अपनाउन निर्देशन दिएको छ । जाडो मौसममा तराई क्षेत्रमा जुनसुकै समयमा शीतलहर चल्न सक्ने भएकाले औषधि, लत्ताकपडासहित आवश्यक सामाग्री प्रबन्ध गर्न सरकारी तथा गैरसरकारी संघसंस्थालाई गृह मन्त्रालयले आग्रह गरेको छ ।

चिसोबाट बच्न चिकित्सकको सुझाब
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका क्लिनिकल रिसर्च युनिटका संयोजक शेरबहादुर पुनले चिसोमा दम, प्रेसर, हाडजोर्नीका बिरामीले विशेष सतर्कता अपनाउनुपर्ने सुझाब दिएका छन् । यो मौसममा पाँच वर्षमुनिका बालबालिकालाई कोल्ड डायरिया हुने भएकाले सजग हुनुपर्ने पुनले बताए । ‘चिसो मौसममा सबैभन्दा धेरै वृद्धवृद्धा र केटाकेटीलाई असर गर्ने भएकाले न्याना लुगा लगाउने र झोलिलो पदार्थ धेरै खानुपर्छ,’ चिकित्सक पुनले भने, ‘बाहिर निस्कँदा न्यानो लुगा लगाउने र घरबाहिर चिसोमा धेरै समयसम्म नबसेमा चिसोबाट बच्न सकिन्छ ।’

७० प्रतिशत आन्तरिक उडान प्रभावित

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट देशका विभिन्न विमानस्थलमा हुने उडान प्रतिकू्ल मौसमका कारण प्रभावित भएको छ । विमानस्थलका महाप्रबन्धक देवानन्द उपाध्यायका अनुसार पछिल्लो दुई दिनयता तराई क्षेत्रका सबै विमानस्थलमा उडान–अवतरण प्रभावित भइरहेका छन् ।
‘अघिल्ला वर्षमा झैँ हुस्सुको असर देखिन सुरु भइसकेको छ,’ उनले भने, ‘मौसममा सुधार नभएसम्म उडानहरू रद्द र ढिला हुने क्रम जारी रहन्छ ।’ त्रिभुवन विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरका अनुसार विमानस्थलबाट मंगलबार झन्डै ७० प्रतिशत उडान रद्द भए । ‘आन्तरिकतर्फ सबैभन्दा बढी उडान हुने समय बिहान हो,’ उनले भने, ‘अहिले सोही समयमा उडान हुन सकिरहेको छैन ।’

त्रिभुवन विमानस्थलबाट अहिले दैनिक औसत दुई सय हाराहारी आन्तरिक उडान–अवतरण हुने गरेको छ । ठाकुरका अनुसार दिउँसो १२ बजेसम्म तराईका सबैजसो विमानस्थलको उडान रद्द भयो । दैनिक औसत चारवटा उडान हुने विमानस्थलमा मंगलबार एक–दुईवटा मात्र उडान सम्भव भएको उनले जानकारी दिए । काठमाडौंको मौसम राम्रो भएकाले अन्तर्राष्ट्रिय उडान प्रभावित भएका छैनन् । साथै, पहाडी इलाकाका विमानस्थलतर्फका उडान पनि सामान्य रहेको विमानस्थल व्यवस्थापनले जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचारहरु

लोकप्रिय समाचारहरु