logo

bar

यस्ता छन् पिएचडी होल्डर दम्पतीका कहानी

नुनुता राई काठमाडाैँ | पुष ०४, २०७४

नेपालको सन्दर्भमा विद्यावारिधि (पिएचडी) गर्ने पुरुष र महिलाको संख्या औँलामा गन्न सकिनेछ । विद्यावारिधि गरेका केही दम्पती नै पनि छन् । धेरै त अध्ययनका लागि विदेश जाने र उतै सेटल हुने गर्छन् । केही राम्रो शैक्षिक योग्यता हासिल गरेपछि बिदेसिन्छन् । गज्जबको यस अंकमा विद्यावारिधि गरेर पनि नेपालमै आफ्नो भूमिका निर्वाह गरिरहेका दम्पतीको कथा समेटेका छौँ । उनीहरूको संघर्ष, सुख–दुःख, जीवनशैली, दाम्पत्य जीवनलगायतका विषयमा नुनुता राईले सोधखोज गरेकी छिन् ।

योग्यता मापन गर्ने विभिन्न तह तथा आधार छन् । त्यसमध्ये शैक्षिक योग्यता पनि एक हो । कसैको शैक्षिक योग्यतालाई लिएर उसको जीवनशैली, सफलता–असफलता तथा सिंगो जीवन पद्धतिको मापन गर्ने गरिन्छ । यसको अर्थ न्यून शैक्षिकस्तर भएकाहरू जीवनमा असफल हुन्छन् या छन् भन्न खोजिएको होइन । शिक्षालाई ज्ञानको ज्योतिका रूपमा परिभाषित गरिएकाले पनि यसका आफ्नै आयाम छन् ।

तस्बिरहरू :  कृष्ण पाैड्याल  /चन्द्रकला क्षेत्री

प्रा.डा. गोविन्द भट्टराई, प्रा.डा. अञ्जना वस्ती भट्टराई

प्रा.डा. गोविन्द भट्टराई र प्रा.डा. अञ्जना वस्ती भट्टराईको सहयात्रा ०३८ मा विवाहपछि सुरु भयो । गोविन्द प्राध्यापक भएर धनकुटा पुगेका थिए । अञ्जना एमएड पढिरहेकी थिइन् । गोविन्दले धनकुटा क्याम्पसमा प्राध्यापन गरेको र त्यहीँबाट अञ्जनाले बिएड पास गरेकाले उनीहरूबीच चिनजान भने थियो । तर, उनीहरूले मागीविवाह गरेका थिए । विवाह गरेर सात भाइ छोरा, पाँच बहिनी छोरी भएको ठूलो परिवारमा पुगेकी थिइन् अञ्जना ।

बिहेपछिको यात्रा

एमए पहिलो वर्षमा अध्ययनरत अञ्जना विवाहपछि पढाइ पूरा गर्न काठमाडौं आइन् । गोविन्द प्राध्यापनमा धनकुटामै रहे । ठूलो परिवार भए पनि शिक्षाको महत्व बुझेकाले पढाइ पूरा गर्न अञ्जनालाई सबैले साथ र हौसला दिए । ‘मेरो ससुरा लेखपढमा एकदम उदार हुनुभएकै कारण आज विद्यावारिधि गर्न सफल भएँ,’ अञ्जना भन्छिन्, ‘ससुराले घरैमा बस्नुपर्छ भनेर बाध्य गराउनुभएन र पढ्न अनुमति माग्ने अवस्था पनि आएन । यस्तो पढ्दै छु है भनेर जानकारी मात्र दिइयो ।’

०४० मा अञ्जना एमए सकेर धनकुटा गइन् । धनकुटामा नियुक्ति भए पनि पदस्थापन गरेर दमक क्याम्पसमा पढाइरहेका गोविन्द पनि धनकुटा आए । अञ्जनाले पनि ०४१ देखि धनकुटा क्याम्पसमा प्राध्यापन थालिन् । ०४७ सालमा गोविन्द सरुवा भएर केन्द्रीय शिक्षा विभागमा आए । अञ्जना पनि त्यही वर्ष स्थायी भइन् । स्थायी हुने शिक्षकलाई विश्वविद्यालयले पढ्न दिने भएपछि त्यही मौका छोपेर अञ्जना एमएड गर्न श्रीमान्सँगै काठमाडौं आइन् ।

एकसाथ पिएचडी, अञ्जना विश्वविद्यालय टपर

यसरी एक–अर्कालाई साथ र हौसला दिँदै दुवैले आफ्नो पढाइ र कामलाई एकसाथ निरन्तरता दिँदै गए । ०५१ मा यो जोडी विद्यावारिधि (पिएचडी) गर्न भारतको केन्द्रीय विश्वविद्यालय हैदराबादतिर लाग्यो । गोविन्दले छात्रवृत्तिमा भने अञ्जनाले पैसा तिरेर पढ्न थाले । उनीहरू पाँच वर्षसम्म दुई छोरीसँगै घर भाडामा लिएर पढ्न बसे । पछि अञ्जनाले युनिभर्सिटी टप गरिन् ।

पाँच वर्षमा पढाइ सकेर नेपाल फर्की एउटै विषयमा, एकैचोटि पिएचडी गर्ने जोडी सायदै होलान् भन्ने गोविन्दको बुझाइ छ । भन्छन्, ‘एक जोडी बाहुनबाहुनीले एउटै विषयमा, एकैचोटि विद्यावारिधि गर्ने सायदै होलान् । हाम्रो मामिलामा यो संयोग हो ।’ त्यसपछि दुवै कीर्तिपुरस्थित विश्वविद्यालयमा प्राध्यापनमा लागे । उनीहरूको जीवनमा कहिलेकाहीँ आर्थिकबाहेक केही समस्या थिएन । पिएचडी गर्न गोविन्दको ठूलो सहयोग रहेको अञ्जना बताउँछिन् । उनले घरको काममा राम्रै सहयोग गर्थे भने दुवै आपसमा छलफल गरेर पढ्थे ।

जब गोविन्दको कुर्सीमा अञ्जना बसिन्…

एक वर्षअघि मात्र ३३ वर्षे प्राध्यापन पेसाबाट अवकाश पाएर लेखकीय जीवन बिताइरहेका छन् गोविन्द । गोविन्दलाई प्राध्यापनले भन्दा उनको लेखकीय क्षमताले स्थापित बनाएको अञ्जनाको बुझाइ छ । अञ्जनाको अझै चार वर्ष बाँकी छ अवकाश पाउन । स्वास्थ्य अवस्थाका कारण केही समय बिदा बस्ने सोच बनाइरहेकी छिन् उनी । केही समयअघि मात्र भारतमा उनको मुटुको अप्रेसन भयो । अंग्रेजी शिक्षा विभाग प्रमुख भएर गोविन्दको कार्यकाल सकिएपछि अञ्जना अहिले त्यही कुर्सीमा बसेर सोही जिम्मेवारी सम्हालिरहेकी छिन् ।

गोविन्दको नजरमा अञ्जना

गोविन्दको बुझाइमा अञ्जना एकदम सरल, शान्त स्वभाव र पढ्ने इच्छाशक्ति भएकी महिला हुन् । उनको जस्तो व्यवस्थापकीय कौशल सायदै अरूमा होला र ? भन्ने लाग्छ गोविन्दलाई । अञ्जनाको साथ र सहयोगले नै आफू यो स्थानसम्म आइपुगेको उनी बताउँछन् । भन्छन्, ‘जीवनमा सफल हुन जीवनसाथीको भूमिका महत्वपूर्ण हुन्छ । जसरी मेरो सवालमा उनको छ ।’

अञ्जनाको नजरमा गोविन्द

अञ्जनाको बुझाइमा गोविन्द मिहिनेती र सिर्जनशील व्यक्ति हुन् । ‘उहाँ पढाइमा एकदम मिहिनेत गर्ने र सिर्जनशील पनि हुनुहुन्छ र अरू पनि आफूजस्तै होस् भन्ने चाहना राख्नुहुन्छ,’ भन्छिन्, ‘सबैलाई अर्ती–उपदेश दिनुहुन्छ, त्यसैले नजिक कोही पर्न चाहँदैनन् ।

यो बानीले कहिलेकाहीँ अप्ठ्यारो पार्छ ।’ अञ्जनाको कुरा सुनेपछि गोविन्द भन्छन्, ‘यो धनसम्पत्ति भन्ने कुरा क्षणिक हो । घर, गाडी, दम्भ हुन् । शिक्षा हो महत्वपूर्ण । पढ्नुपर्छ । सिर्जनात्मक हुनुपर्छ । पढेर पनि सिर्जनात्मक भएर र आफ्नो जीवनकालमा एउटा पनि पुस्तक ननिकाले त व्यर्थ हो नि ।’

प्रा.डा. सुधा त्रिपाठी, प्रा.डा. रमेश भट्टराई

प्रा.डा. सुधा त्रिपाठी र प्रा.डा. रमेश भट्टराईको ०४६ मा विवाह भएको थियो । दुवै प्राध्यापन पेसामा क्रियाशील रहेका वेला विवाह भएको थियो । विहेपछि सुधाले विद्यावारिधि गरिन् । त्यसमा रमेशको भरपूर सहयोग रहेको सुधा बताउँछिन् । एक–अर्काको पारस्परिक सहयोगले नै दुवै सफल भएको उनीहरूको बुझाइ छ ।

को हुन् रमेश ?

नेपाली विषयमा एमए गरेका प्राध्यापक प्रा.डा. रमेश भट्टराईले वर्गीय, लैंगिक र जातीय अध्ययनमा विद्यावारिधि गरेका छन् । विगत २८ वर्षदेखि प्राध्यापन पेसामा आबद्ध उनी हाल कीर्तिपुर विश्वविद्यालयका शिक्षाध्यक्ष हुन् । रमेशले ०७३ मा मात्र विद्यावारिधि पूरा गरे । विभिन्न क्षेत्रमा आबद्घ भएकाले ढिला भएको उनी बताउँछन् । विभिन्न संघसंस्थामा रहेर काम गर्दा पढाइलाई निरन्तरता दिन नसकेको उनको बुझाइ छ । उनले साझा प्रकाशनको महाप्रबन्धक, गोरखापत्रको अध्यक्षजस्ता जिम्मेवारी पूरा गरेका छन् ।

को हुन् सुधा ?

सुधा त्रिपाठी त्रिभुवन विश्वविद्यालयमा शिक्षाध्यक्ष छिन् । उनी साहित्यमा पनि त्यत्तिकै सक्रिय र सफल छिन् । वेलावेलामा उनका पत्रपत्रिकामा विभिन्न लेखहरू पनि छापिन्छन् । ०७२ पुस ९ गते तत्कालीन प्रधानमन्त्री केपी ओलीले सुधालाई त्रिविको रेक्टर पदमा नियुक्त गरेका थिए । कुनै महिला यसरी त्रिविको सर्वोच्च तीन पदमध्ये एकमा पुगेको यो ऐतिहासिक हो ।

०४२ देखि निरन्तर प्राध्यापनमा संलग्न सुधाले आधुनिक नेपाली उपन्यासमा नारीवादी चेतना विषयमा विद्यावारिधि गरेकी छिन् । ०३१ देखि साहित्य लेखन थालेकी उनका निबन्ध, समालेचना, कविता, नाटक, पाठ्यपुस्तक र सम्पादित कृति गरी करिब दुई दर्जनभन्दा बढी पुस्तक प्रकाशित छन् ।
०००
यो जोडी विद्यावारिधिलाई एउटा विषयमा विशेषज्ञता हासिल गर्नुको रूपमा बुझ्छ । ‘नेपाली समाजमा पिएचडी गरेको व्यक्ति सर्वज्ञ हुन्छ भन्ने बुझाइ छ । ज्ञानको हिसाबले पनि पिएचडीबाट प्राप्त हुने ज्ञान सीमित विशिष्टता हो,’ दुवै आफ्नो भनाइ राख्छन् । उनीहरूमा जीवन गुजाराकै लागि विदेश जाने सोच कहिल्यै आएन । उनीहरू यहाँको सम्मान, आदर र प्रतिस्पर्धा गौरवशाली लाग्ने बताउँछन् । विदेशमा गएर सामान्य व्यक्तिको जीवन बिताउनुभन्दा नेपालमै गौरवपूर्ण जीवन बाँच्ने लोभले बिदेसिन नचाहेको उनीहरूको एक मत छ ।

रमेशको नजरमा सुधा

रमेशको बुझाइमा सुधा महिला भएर पुरुषभन्दा तल पर्नुहुँदैन, पितृसत्ताले महिलामाथि गरेको असमान व्यवहारप्रति व्यक्तिगत तथा समूहगत हिसाबले जाग्नुपर्छ, नारी–पुरुष समभावको विकासमा विश्वास गरेर त्यहीअनुरूप काम गर्नुपर्छ भन्ने मान्यता राख्ने व्यक्ति हुन् । ‘कहिलेकाहीँ त कति दिनसम्म भेट नै हुँदैन । तर, यही व्यस्तताको बीचमा पनि सौन्दर्य छ,’ रमेश थप्छन्, ‘उनी आफ्नो जिम्मेवारी सफलतापूर्वक पूरा गर्ने धााउन्नमा हुन्छिन,् यता म पनि त्यस्तै । हामीसँग भएको ज्ञान र सीपलाई सकारात्मक कामका लागि खर्च गरिरहेका छौँ, त्यसैमा सन्तुष्टि छ ।’

सुधाको नजरमा रमेश

सुधा आफू सफल हुनमा श्रीमान्को उत्प्रेरणा नै मुख्य रहेको बताउँछिन् । भन्छिन्, ‘म यो स्थानमा पुग्न श्रीमान्को सहयोग उत्तिकै छ, मैले त्यसलाई नजरअन्दाज गर्न मिल्दैन ।’ रमेशको काम सकिन्जेल गर्ने नत्र भरेभोलि गर्दा पनि हुन्छ भन्ने बानी छ । सुधाको नजरमा रमेश निकै सहयोगीभाव भएका व्यक्ति हुन् । उनी परिवारको महत्व राम्रोसँग बुझ्छन् । भन्छिन्, ‘उहाँ विभिन्न संस्थामा पनि संलग्न भएकाले सामाजिक काममा पनि उत्तिकै सक्रिय हुनुहुन्छ ।’

प्रा.डा. चिन्तामणि पोखरेल, प्रा.डा. बिन्दु पोखरेल

भारतको नर्थ बंगाल युनिभर्सिटीबाट मानवशास्त्रमा पिएचडी गरेका चिन्तामणिले ०४२ देखि पाटन क्याम्पसमा प्राध्यापन सुरु गरे । उनले ०५४ देखि त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा प्राध्यापन गरिरहेका छन् । उनी त्रिविका पूर्वडिनसमेत हुन् । बिन्दु पोखरेल एक वर्षदेखि पद्मकन्या क्याम्पसको जेन्डर स्टडिज प्रमुख भएर काम गरिरहेकी छिन् ।

भारतको नर्थ बंगाल युनिभर्सिटीबाट मानवशास्त्रमा पिएचडी गरेका चिन्तामणिले ०४२ देखि पाटन क्याम्पसमा प्राध्यापन सुरु गरे । उनले ०५४ देखि त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा प्राध्यापन गरिरहेका छन् । उनी त्रिविका पूर्वडिनसमेत हुन् । बिन्दु पोखरेल एक वर्षदेखि पद्मकन्या क्याम्पसको जेन्डर स्टडिज प्रमुख भएर काम गरिरहेकी छिन् ।

डा. इन्द्रा अधिकारी, डा. उद्धव प्याकुरेल

जवाहरलाल नेहरू विश्वविद्यालयबाट डा. इन्द्रा अधिकारी र डा. उद्घव प्याकुरेलको जोडीले पिएचडी गरेको हो । उनीहरूले त्रिभुवन विश्वविद्यालयबाट राजनीतिशास्त्रमा सँगै एमए गरेका हुन् । इन्द्राले नेपाली लोकतन्त्र र सेनासम्बन्धी विषयमा विद्यावारिधि गरेकी छिन् । यो जोडीको एमए सकेर जागिर खाइरहेका वेला विवाह भएको थियो । विवाहपछि पिएचडी गर्न जाने अवसर पहिला इन्द्रालाई मिल्यो । केही समयपछि उद्घव पनि जागिर छाडेर पिएचडी गर्न जवाहरलाल नेहरू पुगे ।

टीका लगाएर विवाह

समाजमा परिवर्तन ल्याउन आफैँबाट सुरुवात गर्नुपर्छ भन्ने विश्वास राख्ने यो जोडीले विवाहको पार्टी नै गरेनन् । उद्घव भन्छन्, ‘हामीले घरमा लड्डु बोकेर गएर टीका लगाइदिनुस् भनेर विवाह गरेका हौँ ।’ दुवैको विचारमा समाजमा गलत ‘म्यासेज’ दिने खालको काम गर्नु गलत हो ।

उनीहरूले परिवारलाई सम्झाउन धेरै मिहिनेत गर्नुप¥यो । ‘आफ्नो हैसियतअनुसार गर्नुपर्छ भन्ने कुरामा हामी सचेत छौँ,’ उद्घव भन्छन्, ‘विवाह गरेर भोज दिने हैसियतमा थिएनाँै । विद्यार्थी नै थियौँ, भर्खर मात्र एमए सकेर काममा लागेका थियाँै ।’ उद्घवका कुरामा समर्थन गर्दै इन्द्रा भन्छिन्, ‘हामी पढेकाले समाजले के भन्छ भनेर हैसियतभन्दा माथि गएर विवाह गर्ने भन्दा पनि समाजलाई सचेत गराउँदै र आफूबाटै सुरु गर्नुपर्छ भन्ने लाग्छ । र, हामीले पनि त्यहीँ गरेका हौँ ।’

हासिल गरेको शिक्षा समाज परिवर्तन गर्न खर्चनुपर्ने उनीहरूको धारणा छ । परम्परागत रूपमा विवाह गरेको भए पढ्न जान नसक्ने उद्घव बताउँछन् । भन्छन्, ‘त्यसरी विवाह गरेको भए त हामी अहिलेसम्म ऋणमा हुन्थ्यौँ र पढ्न पनि सकिँदैन थियो ।’

पिएचडी गर्दा विभिन्न झमेला

उनीहरूले विद्यावारिधि गर्दा निकै आर्थिक समस्या व्यहोर्नुप¥यो । किनभने दुवै विद्यार्थी थिए । इन्द्रा छात्रवृत्तिमा पढ्न गइन् भने उद्घव आधा छात्रवृत्तिमा । पढ्ने योजना बनाइरहँदा नै पूर्ण छात्रवृत्तिमा पढिएन भने पढाइअनुसारको काम गर्न नसक्ने डर उनीहरूमा थियो । त्यही भएर उनीहरूले शतप्रतिशत छात्रवृत्तिका लागि प्रयास गरिरहेका थिए । यत्तिकैमा इन्द्राको नाम जेएनयुमा निस्कियो । त्यसवेला उद्घव भारत जाने सोचमा छँदै थिएनन् । तर, पारिवारिक रूपमा नजिक हुने भएकाले भारत नै गए ।

धेरै मिहिनेतका साथ दुवैले एउटै कलेजबाट सँगै पिएचडी गरे । इन्द्राको अनुभवमा नेपाली समाजमा विवाह भएपछि महिलाले मात्र चाहेर केही गर्न सक्ने अवस्था छैन । यसका लागि पूर्ण रूपमा पुरुष अर्थात् श्रीमान्को साथ र सहयोग आवश्यक पर्छ । जुन उनले पाइरहेकी छिन् । हाल इन्द्रा परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानमा उपकार्यकारी निर्देशकको रूपमा कार्यरत छिन् भने उद्धव काठमाडौं युनिभर्सिटी स्कुल अफ आर्टस्मा सहायक प्राध्यापकका रूपमा काम गरिरहेका छन् ।

प्रा.डा. सञ्जीव उप्रेती, डा. अर्चना थापा

पहिलो भेटदेखि अमेरिकासम्म

प्रा.डा. सञ्जीव उप्रेती र डा. अर्चना थापाको पहिलो भेट त्रिभुवन विश्वविद्यालयमा एमए पढ्दा भएको हो । दुवै अंग्रेजी साहित्यका विद्यार्थी हुन् । उनीहरूको विवाह सन् १९९१ मा भयो । विवाहपछि सञ्जीवले त्रिवि कीर्तिपुरमा प्राध्यापन सुरु गरे ।

प्राध्यापनकै क्रममा उनले सन् १९९४ मा फुलब्राइट स्कलरसिपमा अमेरिकाको स्टेट अफ युनिभर्सिटी अफ न्युयोर्कमा छात्रवृत्तिमा एमए पढ्ने अवसर पाए । उनी त्यता गए । सँगै अर्चना र ठूली छोरी पनि गए । एमए सकेपछि फेरि पिएचडीका लागि ब्राउन युनिभर्सिटीमा छात्रवृत्ति पाए । त्यही क्रममा सानी छोरी जन्मिइन् ।

सञ्जीव भन्छन् ‘त्यसवेला मलाई पढाइको एकदम धेरै दबाब थियो । आफू पढ्नु त छँदै थियो पढाउनु पनि पथ्र्यो । अर्चनाले धेरै सहयोग गरिन् ।’ त्यसवेला सञ्जीव विद्यार्थी थिए । उनीहरूको परिवार थियो । जसले गर्दा अर्चनाले काम गर्नैपर्ने बाध्यता थियो । काम गरिन् । पढाइ सकेपछि यो जोडी सन् २००० मा नेपाल फर्कियो । नेपाल फर्केपछि सञ्जीव पुनः प्राध्यापन गर्न थाले । अर्चनाले पारिवारिक व्यवसाय ट्राभल एजेन्सी सम्हाल्न थालिन् ।

सञ्जीव प्रोफेसर, अर्चना विद्यार्थी

सन् २००७ उनीहरूले पारिवारिक व्यवसायबाट हात झिके । व्यवसाय छाडेसँगै अर्चना एमफिलका लागि कीर्तिपुरमा भर्ना भइन् । जुन वेला सञ्जीव एमफिल कोअर्डिनेटर थिए । त्यसवेला पनि अर्चना पढ्ने कि नपढ्ने भन्ने विषयमा उनीहरूको घरमा लामै छलफल चल्यो । श्रीमान् संयोजक हुँदा श्रीमती पढ्न नैतिकताले पनि कसरी जाने भन्ने बहस भयो । त्यहाँ पहिलोपटक एमफिलको पढाइ सुरु भएको थियो ।

एमफिल गर्दाको अप्ठ्यारो सम्झँदै अर्चना भन्छिन्, ‘नैतिकताका कुरा भइरहँदा मेरो मनमा मैले यसपटक पनि गरिनँ भने धेरै ढिलो हुन्छ भन्ने सोचेँ । छात्राको रूपमा कलेज फिस नियमित तिर्ने, नियम–कानुनलाई नमिची पढ्न पाउने मेरो पनि त अधिकार हो भनेर भर्ना लिएँ ।’ अर्चनालाई संयोजक सञ्जीव उप्रेतीकी श्रीमती नभई अर्चना थापा भनेर स्थापित हुन चुनौती थियो । एक त उनी १९ वर्षपछि पढाइलाई निरन्तरता दिइरहेकी थिइन् ।

एमए पढ्दा साथी भएकी अर्चना सञ्जीवको विद्यार्थी भइन् । अर्चनाले एमए गरेको १९ वर्षपछि एमफिल सुरु गरेकी थिइन् । यसबीचमा उनले दुई छोरी र घर–व्यवहार सम्हालेकी थिइन् । उनले यसबीचमा प्राज्ञिक शिक्षा लिन नपाए पनि छोरीहरूको हुर्काई र उनीहरूको शिक्षामा बढी समय दिन पाएको र धेरै साहित्यिक एवं अन्य पुस्तकहरू अध्ययन गर्ने अवसर पाएको बताउँछिन् ।

यसकारण उनलाई आफ्नो प्राज्ञिक शिक्षालाई निरन्तरता दिन नपाएकोमा पछुतो छैन । भन्छिन्, ‘हाम्रो सामाजिक संरचनाले गर्दा आमा अर्थात् महिलाले परिवार, व्यवहार सम्हाल्नुपर्छ र पुरुषलाई पैसा कमाउने सामाजिक दायित्व हुन्छ । एकजनाले दुवैतिर ब्यालेन्स गरेर लान खोज्दा गाह्रो हुन्छ जसकारण बच्चाको बिचल्ली हुन्छ, त्यो हुनबाट जोगाएँ ।’

आमाले एमफिल गर्दा छोरीहरू कलेजमा

अर्चनालाई लाग्छ उनले आफ्नो पढाइ छाडेर पनि छोरीहरूको शिक्षाका लागि महत्वपूर्ण भूमिका खेलेकी छिन् । उनले एमफिल गर्न थाल्दा छोरीहरू पनि कलेज पढ्न थालेका थिए । जसकारण छोरीहरूले ममीको रिजल्ट कस्तो र नम्बर कति आयो भनेर सोध्न थालेकाले राम्रो पढ्नुपर्ने दबाबले पनि पढाइलाई निरन्तरता दिएको जिकिर गर्छिन् । ‘ऊर्जाशील समय त गयो, तर मैले आमा हुनुको कर्तव्य पूरा गरेँ । यो पनि प्राप्ति हो,’ भन्छिन्, ‘छोरीहरू सँगसँगै मैले पनि ग्रोथ गर्न पाएँ ।’

अर्चनाको पिएचडी यात्रा

अर्चनाले पिएचडी गर्दागर्दै सञ्जीवले फेरि पोस्ट डक्टरल स्कलरसिप पाए । हार्वर्ड विश्वविद्यालय र ब्रकली विश्वविद्यालयमा । सञ्जीवसँगै अर्चना पनि उतै गइन् । त्यसवेला अर्चनाको सासुको अल्जाइमर बढ्दै गइरहेको थियो । अर्चना सञ्जीवसँगै जाँदा आफन्तको प्रश्न उठ्यो । सासु बिरामी हुँदा बुहारी किन जाने भन्नेजस्ता । तर, यी प्रश्नलाई वास्ता नगरी अर्चना सञ्जीवको साथ लागेर गइन् ।

उनी त्यसवेला सञ्जीवसँग नगएको भए सायद समयमा उनको पिएचडी सकिनेमा शंका थियो । किनभने सञ्जीवसँग गएको वेला उनले पिएचडीको विषयमा हार्वर्ड र ब्रकली विश्वविद्यालयको लाइब्रेरीमा १७–१८ घन्टा निरन्तर बसेर अध्ययन गर्न पाइन् । आफूले पिएचडी पूरा गर्न त्यही दुई लाइब्रेरीको महत्वपूर्ण योगदान भएको बताउँछिन् अर्चना ।

अर्चनाले पिएचडी गर्ने इच्छा व्यक्त गरेपछि आफन्त तथा साथीभाइहरूले प्रश्न पनि गरे । किनभने प्राध्यापन पेसामा लाग्नेका लागि पिएचडी अनिवार्य नै हो । प्राध्यापन पेसामा बढुवा पाउन पिएचडी गर्नुपर्छ, तर अर्चना प्राध्यापन पेसामा थिइनन् । सोधे, ‘तिमी पढाउने पनि होइनौ किन पिएचडी गर्नुप¥यो ?’ अर्चनालाई जसरी पनि पढ्नु थियो । उनको इच्छाअनुसार पढ्न चाहन्थिन् । जसकारण पिएचडीका लागि एमफिल सुरु गरिन् ।

अर्चनाको नजरमा सञ्जीव

१९ वर्षसम्म घरपरिवारका लागि योगदान दिएकी अर्चनाको पढाइबारे सञ्जीव भन्छन्, ‘म इमानदारीसाथ भन्छु, पढिरहँदा मलाई कहिल्यै पनि लागेन कि अर्चनाले पनि आफ्नो पढाइलाई निरन्तरता दिनुपर्छ भनेर । धेरैपछि मैले पनि जेन्डर विषयहरू पढ्न थालेँ । त्यसपछि उनलाई प्रोत्साहन दिन थालेको हुँ ।’ अर्चना अहिले स्थापित लेखक तथा प्रकाशकको रूपमा चिनिन्छिन् । सञ्जीव आफू अर्चनालाई जस्तोसुकै सहयोग गर्न तयार भएको बताउँछन् ।

अर्चनालाई आफ्नो परिचय बनाउन धेरै समय लाग्यो । कतिपयले अर्चनाको नाम दिएर सञ्जीवले नै लेखिदिन्छन् कि भन्ने पनि शंका थियो । तर, त्यो सबै शंकालाई अर्चनाले मिथ्या साबित गरिन् । २५ वर्षको प्राध्यापन पेसाबाट दुई वर्षअघि स्वेच्छिक अवकाशपछि आराम गरिरहेका सञ्जीव भन्छन्, ‘कतिपयले अर्चनाको प्रकाशनगृह ‘अक्षर क्रियसन’लाई तपाईंहरूको प्रकाशन गृह भन्छन्, तर म स्पष्ट भन्छु त्यसमा मेरो मौखिक सल्लाह तथा साथबाहेक केही पनि छैन । त्यो केवल अर्चना थापाको हो ।’

सञ्जीवको नजरमा अर्चना

दुवैले एक–अर्कालाई सहयोगी र असल सल्लाहकारको रूपमा लिन्छन् । अर्चनाको बुझाइमा सञ्जीव सरल व्यक्ति हुन् । भन्छिन्, ‘सञ्जीवलाई एकदम ‘इजी गोइङ पर्सन’को रूप लिन्छु । तर, यसको नकारात्मक अर्थ पनि लाग्न सक्छ । उनलाई सकारात्मक अर्थमा भन्न चाहेँ ।’ सञ्जीवको नजरमा अर्चना एकदम कडा परिश्रमी व्यक्ति हुन् । भन्छन्, ‘अर्चना एकदम कडा परिश्रमी व्यक्ति हुन् । उनी बिहान ८ बजेदेखि कोठामा बसेर ल्यापटपमा काम गर्न थालिन् भने राति १० बजेसम्म पनि निरन्तर काम गर्न सक्छिन्, जुन सकारात्मक एवं नकारात्मक दुवै पक्ष हो ।’ अर्चनाले महिला सहभागिता, समानताको विषयमा कलम चलाउँदै आएकी छिन् ।

डा. नेत्र एटम, डा. बिन्दु शर्मा

पहिलोपटक बिहेमा भेट

नेत्र एटमले प्राध्यापन गर्न थालेको २१ वर्ष पुग्यो भने बिन्दुको ११ वर्ष । उनीहरूको भेट विवाहपछि भयो । बिन्दुले गीतिनाटकमा पिएचडी गरेकी हुन् भने नेत्रले उपन्यासमा । यो दम्पतीको भेट १९ वर्षअघि भएको थियो । त्यो पनि एकैचोटि विवाहमा । जतिवेला नेत्र एमए सकेर प्राध्यापन गराइरहेका थिए, बिन्दु बिए पहिलो वर्षमा पढ्दै थिइन् । विवाह भएपछि बिन्दु पनि श्रीमान्सँगै काठमाडौं आइन् र आफ्नो पढाइलाई निरन्तरता दिइन् ।

पढाइमा सहयोग नगर्ने नेत्र पछि फेरिए

पढाइमा सहयोग माग्दा नेत्र खासै चासो दिँदैन थिए । बिन्दु भन्छिन्, ‘खै के सोच्नुभएको थियो थाहा छैन, सिकाइमाग्दा कहिल्यै चासो दिनुभएन । एकपटक सिकाएको कुरा अर्कोपटक सिकाइमाग्दा झर्किनुहुन्थ्यो । केही समयपछि सिकाइमाग्नै छाडेँ ।’ बिन्दुले रेगुलर बिए पास गरिन् । एमए पढ्दा भने नेत्रले एउटा जागिर छाडेर नै साथ दिए । नेत्र भन्छन्, ‘सुरुमा त पढ्दिनन् जस्तो लागेर सहयोग गरिनँ । एमए पढ्दाचाहिँ मैले एक ठाउँको जागिर छाडेर छोरा हेरेर साथ दिएँ ।’

श्रीमान्को साथले नै एमए पनि रेगुलर पास गरेको बताउँछिन् बिन्दु । विवाहित महिलालाई कुनै पनि क्षेत्रमा काम गर्न श्रीमान्को साथ अनिवार्य रहेको उनको भनाइ छ । भन्छिन्, ‘परिवारको साथ नभए सुखदुःख गर्न सकिन्छ, तर श्रीमान्को साथ भएन भने त केही गर्न सकिँदैन ।’

सँगै पिएचडी

नेत्र र बिन्दुले सँगै पिएचडी गरे । यसको कारण बिन्दुले प्राध्यापन थालेकी थिइन्, एमएका विद्यार्थीलाई एमए पढेकाले पढाउँदा आफैँलाई अप्ठ्यारो महसुस भएकाले पिएचडी पढ्न थालेको उनी बताउँछिन् । नेत्र पिएचडी गर्ने सोच भए पनि भारतमा भएको एक कार्यक्रममा सहभागी हुँदा ढिला गर्नुहुँदैन भन्ने अनुभूति गराएको स्मरण गर्छन् । उनले भने, ‘पिएचडी त गर्नु नै थियो र बिस्तारै गर्छु भन्ने थियो । तर, भारतको एक कार्यक्रममा सहभागी हुन जाँदा गरिहाल्नुपर्नेरहेछ भन्ने अनुभूति भयो ।’

खासमा त्यस कार्यक्रममा नेत्रको पनि प्रस्तुति थियो । उनीहरूले नेत्रको नामको अगाडि डा. भनेर लेखेका थिए । नेत्रले आफूले पिएचडी नगरेकाले डा. हटाउन आग्रह गरे । तर, उनीहरूले ‘पिएचडी नगरेकाले प्रस्तुति दिँदा मजाक बनाउँछन्’ भने । ‘अर्कोपटक पनि बोलाएका थिए,’ नेत्र भन्छन्, ‘म पिएचडी नगरी आउँदिनँ भनेर गइनँ ।’ उनीहरू हाल प्राध्यापनमा नै सक्रिय छन् । उनीहरूले आफ्नो पढाइ गरिरहँदा पढाइबाहेक अन्य समस्या भोग्नु नपरेको बताउँछन् । नेत्र त्रिविमा सहप्राध्यापक छन् भने बिन्दु रत्नराज्य क्याम्पस उपप्राध्यापकको रूपमा कार्यरत छिन् ।
०००
नेत्र प्राध्यापनबाहेक पाठ्यक्रम तयार गर्नुको साथै विभिन्न पुस्तकको अनुवादसमेत गर्छन् । उनीहरूलाई विदेश जाने मोहले कहिल्यै नतानेको बताउँछन् । भन्छन्, ‘हामीमा महŒवाकांक्षा नभएर होला, विदेश गएर दुःख गर्न मन लागेन । यहाँको सामान्य जीवनशैलीमै रमाएका छौँ ।’

डा. विमला पौडेल राई, डा. उद्धव राई

अन्तर्जातीय प्रेमविवाह

२५ वर्ष पहिले डा. विमला पौडेल र डा. उद्धव राईबीच अन्तर्जातीय प्रेमविवाह भएको हो । त्यसवेला अन्तर्जातीय विवाहलाई परिवार वा समाजले स्वीकार गर्न सक्ने अवस्था थिएन । उद्घव र विमलाको सामान्य चिनजान प्रेम–सम्बन्धमा बदलिएको हो । विमलाका दाइ र उद्घव साथी थिए । उद्घव पाख्रिबासको कृषिकेन्द्रमा तत्कालीन ब्रिटिस प्रोजेक्टमा जागिरे थिए ।

मानवशास्त्रमा स्नातकोत्तर गरेका उनी सोसियोलोजिस्टको रूपमा कार्यरत थिए । विमलाले चितवनको रामपुर क्याम्पसबाट बिएस्सी गरेपछि उनी पनि जागिरको सिलसिलामा त्यहीँ पुगिन् । दाइको साथी भएको ठाउँमा । विमला सम्झिन्छिन्, ‘स्वाभाविक रूपमा दाइको साथी भएकाले नजिक हुने भइयो । त्यही सम्बन्धले हामीलाई निकट बनाएको थियो ।’

समयसँगै घरमा विमलाको विवाहको कुरा चल्न थाल्यो । विमलालाई माग्न आउनेहरू बढ्दै गए । उद्घव सम्झिन्छन्, ‘उनलाई मैले पनि आफ्ना ब्राह्मण साथीहरूलाई चिनाइदिएको थिएँ । कोही मन परे विवाह गर भनेर । खै उनले नै मन पराइनन् ।’ उता उद्घवको पनि घरमा जेठो छोरा भएकाले विवाह गर्ने कुरा चलिरहेका थियो । उनले पनि आफ्ना लागि उचित जीवनसाथी खोजिरहेका थिए, भेटिरहेका थिएनन् ।

केही समयपछि विमलाले आफूलाई मन पराएको हो कि भन्ने लागेपछि उनले सोधे । तर, प्रत्युत्तरमा विमला केही बोलिनन् । केही दिनसम्म भेट पनि भएन । तीन दिनपछि भेट्दा उद्घवले नै प्रस्ताव राखे । उनीहरूबीच प्रेम भयो ।

साथीभाइ कसैलाई थाहा भएन । त्यसको ठीक एक वर्षपछि उनीहरूले विवाह गर्ने कुरा बताउँदा सबै चकित भएका थिए । उद्घव भन्छन्, ‘त्यसवेला अन्तर्जातीय विवाह गर्न एकदम गाह्रो थियो । हाम्रो सम्बन्ध भएको दुवैको परिवारले थाहा पाए । र, मैले उनलाई माग्न पठाएँ, तर उहाँहरूले विनम्रतापूर्वक अस्वीकार गर्नुभयो ।’ यसरी उनीहरूले परिवारको साथ र सहमतिविना नै विवाह गरे ।

आफूले बच्चा स्याहारेर विमलालाई पढाउने उद्धव

विवाहपछि दुवैले टेक्निकल कोअपरेसनका रूपमा दिइने छात्रवृत्तिमा पढ्न जाने अवसर पाए । कलेज फरक थियो । उद्घव अक्सफोर्ड जानुपथ्र्यो भने विमला ससेक्स जानुपर्ने थियो । तर, दुवैले म्यानचेस्टर युनिभर्सिटीमा मिलाए । विमलाले विकास प्रशासन र ग्रामीण विकासमा दुई वर्षको कोर्स र उद्घवले एक वर्षका लागि एप्लाइड सोसियल रिसर्चमा ।

दुवैबीच पढाइ नसकिन्जेल बच्चा नजन्माउने सर्त थियो । तर, विमला गर्भवती हुनु र उद्घवको पढाइ सकिनु सँगै भयो । उद्धव गर्भवती श्रीमती छाडेर आउन सकेनन् । नेपाल नआउँदा उनको जागिर छुट्थ्यो भने आउँदा विमलाको पढाइ बिग्रने । उनी जागिर छाडेर उतै बसे । त्यसवेलाको रमाइलो अनुभव सम्झँदै उद्घव भन्छन्, ‘त्यहाँ बच्चाको आमाबुबालाई विभिन्न तालिम तथा कक्षा दिइँदो रहेछ ।

बच्चा तथा आमाको अवस्था सोध्ने र बच्चा हस्पिटलमा अथवा घरमा जन्माउनेजस्ता कुरा पनि सोध्दारहेछन्, मैले सबै कक्षा तथा तालिमहरू लिएको छु ।’ त्यसपछि छोराको स्याहार गरेँ । विमला पढ्न जान्थिन्, यता उद्घव बच्चा सम्हाल्थे । यसरी पढाइ सकेपछि दुवै नेपाल फर्किए । नेपाल फर्किंदा कृषि केन्द्र सरकारलाई हस्तान्तरण गर्ने क्रममा भएकाले काम गर्ने वा छाड्ने भन्ने विकल्प थियो । र, दुवैले छाडे । काठमाडौं आएर जागिर खान थाले । छोरो जन्मेको चार वर्षपछि विमला पिएचडी गर्न नेदरल्यान्ड हेग गइन् । त्यसवेला पनि उद्घवले घर तथा छोरा सम्हाले ।

राष्ट्रप्रेमले रोकेको विदेशयात्रा

उद्घवले धेरैपछि सन् २०१४ मा त्रिभुवन विश्वविद्यालयबाट पिएचडी गरे । उद्घव भन्छन्, ‘उनले पिएचडी गर्दा मैले घर चलाएँ, मैले पिएचडी गर्दा उनले घर सम्हालिन् ।’ त्रिभुुवन विश्वविद्यालय तथा विभिन्न संघसंस्था हुँदै अहिले उद्घव सेभ द चिल्ड्रेनको अनुगमन विभाग प्रमुख छन् भने स्विस एम्बेसी, योजना आयोग हुँदै विमला राष्ट्रपति कार्यालयको स्वकीय सचिवालयको योजना मामिलामा कार्यरत छिन् । दुवैको नेपालमा नै काम गर्ने इच्छाले देशमा नै सक्रिय भइरहेको बताउँछन् । ‘एक–अर्काको साथ र सहयोग नै सफलताको रहस्य भएको उनीहरूको बुझाइ छ । विमलाकोे सफलतामा उद्घवको र उद्घवकोे सफलतामा विमलाको भूमिका बराबर छ ।

र, यी जोडी पनि…

प्रा.डा. चैतन्य मिश्र, प्रा.डा मीरा मिश्र

प्रा.डा. चैतन्य मिश्र र प्रा.डा मीरा मिश्र श्रीमान्–श्रीमती हुन् । चैतन्य अवकाश जीवन बिताइरहेका छन् । समाजशास्त्र विषयका प्राध्यापक मिश्र हाल लेखकको रूपमा सक्रिय छन् । मीरा भने जेन्डर स्टडिजमा प्राध्यापन गराइरहेकी छिन् ।

प्रा.डा. भीम न्यौपाने, प्रा.डा. प्रभा हमाल

प्रा.डा. भीम न्यौपाने र प्रा.डा. प्रभा हमालको जोडी पनि पिएचडीहोल्डर हो । प्राध्यापकको अवकाश अवधि नसकिँदै राजीनामा दिएर हिमालय विकास आयोजनाअन्तर्गत रहेका खिम्ती जलविद्युत् आयोजनाको म्यानेजिङ डाइरेक्टरको रूपमा कार्यरत छन्, भीम । उनी राष्ट्रिय योजना आयोग सदस्य, एनआइडिसी प्रमुखको रूपमा काम गरिसकेका व्यक्ति हुन् । प्रभा हमाल भने लामो समय प्राध्यापनपश्चात् अवकाश जीवन बिताइरहेकी छिन् ।

प्रा.डा. काशीनाथ, प्रा.डा. शारदा पौडेल

प्रा.डा. काशीनाथ र प्रा.डा. शारदा पौडेल पिएचडी गरेका जोडी हुन् । काशीनाथ संस्कृत विश्वविद्यालय वाल्मीकि क्याम्पसमा विगत २४ वर्षदेखि प्राध्यापनरत छन् । शारदा पौडेल लुम्बिनी विश्वविद्यालयमा प्राध्यापन गराइरहेकी छिन् ।

पिएचडी बौद्धिकता आर्जन होइन (बालचन्द्र मिश्र, पूर्व अध्यक्ष, पिएचडी एसोसिएसन )

अन्य देशको तुलनामा नेपालमा पिएचडी गर्नेको संख्या निकै कम छ । स्कलरसिपमा पिएचडी गर्ने, तर आफ्नो पैसा खर्च गरेर नगर्ने चलन छ । त्यसैले पनि नेपालमा पिएचडी गर्नेहरू कम छन् । त्यसपछि सरकारी बिदामा बसेका वा बढुवा हुनुपर्नेले पिएचडी गर्नमा बढी जोड दिने गर्छन् ।

पिएचडीको विषयमा एउटा ठूलो भ्रमसमेत छ । यसलाई बौद्धिक ज्ञानसँग तुलना गरिन्छ । तर, पिएचडी गर्नु भनेको बौद्धिक हुनु होइन । यो त रिसर्चका लागि हो ।

सवारी चलाउनका लागि ड्राइभरले लाइसेन्स लिएजस्तै रिसर्चका लागि पिएचडी गर्ने हो । मेथोलोजी र नलेज पनि यसका अन्य पाटा हुन् । कुनै एक विषयमा निरन्तर ५ वर्ष अध्ययन गर्ने भनेको त्यस विषयमा खेस्रा खेस्रा खोतल्ने हो । त्यसैले पिएचडी होल्डर आफ्नो विषयको आधिकारिक विज्ञ हो । तर, बौद्धिक होइन ।

१५ सय देशबाहिर

पिएचडी गरेका ३५ सय नेपालीमध्ये १५ सय विदेशमा छन् । जसमा विदेशमा बसेर पिएचडी गर्ने र फर्किएर नेपाल नआउनेको संख्या अधिक छ । नेपालबाट पलायन हुनेहरू भने निकै कम छन् । विशेषगरी यो पंक्तिमा पढ्नका लागि अस्ट्रेलिया र क्यानाडा गएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचारहरु

लोकप्रिय समाचारहरु