logo

bar

काभ्रेलाई खुला दिशामुक्त बनाउने अभियान असफल

राजकुमार गोले काभ्रे, ४ पुस | पुष ०४, २०७४

सरकारले देशका सबै जिल्लालाई खुल्ला दिशामुक्त जिल्ला घोषणा गर्ने लक्ष्य लिएको छ । तर, सन् २०१७ भित्र काभ्रेलाई खुल्ला दिशामुक्त घोषणा गर्ने सरकारी लक्ष्य पूरा नहुने भएको छ ।

काभ्रे जिल्लालाई सन् २०१७ भित्र खुल्ला दिशामुक्त जिल्ला घोषणा गर्ने लक्ष्य लिएपनि १३५ वटा वडामध्ये हालसम्म ४८ वटा वडा मात्रै खुल्ला दिशामुक्त घोषणा भएकाले यो लक्ष्य असफल भएको हो ।

खानेपानी तथा सरसफाई डिभिजन कार्यालयका डिभिजन प्रमुख रामचन्द्र काफ्लेले भुकम्पका कारणले असर पुगेकाले घोषणा गर्न ढिलाई भएको बताए । उनले भने, ‘हामी छलफलमै छौं । सन् २०१७ सम्ममा गर्ने भन्ने लक्ष्य लिइएको तर, त्यो पूरा भएन ।’

डिभिजन कार्यालयका अनुसार, हालसम्म १३ वटा स्थानीय तहका १३५ वडा मध्ये ४८ वटा मात्रै खुल्ला दिशामुक्त घोषणा भएको छ । ११ वटा वडा खुल्ला दिशामुक्त घोषणाको अन्तिम चरणमा छन् । डिभिजन प्रमुख काफ्लेले जिल्लामा रहेका ८० हजार ७ सय २० घरधुरीमध्ये अझैपनि करिब १३ हजार घरधुरीमा शौचालय निर्माण गर्न बाँकी रहेको बताए ।

निर्धारित समयमा लक्ष्य हासिल गर्न नसके पनि यो अभियानलाई तिव्र रुपमा अघि बढाउने प्रमुख काफ्ले बताए । जिल्ला खानेपानी तथा सरसफाई स्वच्छता समन्वय समितिले जिल्लामा काम गर्ने गैह्रसरकारी संस्थासँग सहकार्यका लागि छलफल अघि बढाएको छ ।

समितिका अध्यक्ष स्थानीय समन्वय अधिकारी कोमल धमलाले सन् २०१७ भित्र जिल्लालाई खुल्ला दिशामुक्त बनाउन नसकेपनि आगामी चैत महिनाभित्र सक्ने गरि काम गर्नका लागि सबैले सहयोग गर्नुपर्ने बताए ।

उनले भने, ‘जिल्लामा रहेका स्थानीय निकाय, गैह्र सरकारी संस्थाहरु सबै मिले खुल्ला दिशामुक्त जिल्ला घोषणा गर्नका लागि अभियान नै चलाउनुपर्ने आवश्यकता छ ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचारहरु

लोकप्रिय समाचारहरु