logo

bar

डिआइजी कार्कीको नजरमा आफ्नै नेतृत्वका सात अप्रेसन

टेकराज थामी/नयाँ पत्रिका काठमाडौं, ४ पुस | पुष ०४, २०७४

डिआइजी पुस्कर कार्कीले विभिन्न अपराध अनुसन्धानको नेतृत्व गर्दै आएका छन् । केही चर्चित अपराधको सफल अप्रेसन गरेको देन डिजाइजी कार्कीलाई जान्छ । महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखाको प्रमुख छँदा गुन्डा नाइके दिनेश अधिकारी ‘चरी’को इन्काउन्टर गरेर चर्चामा आएका कार्की डिआइजीमा बढुवा पनि भए । गत भदौदेखि प्रहरीको केन्द्रीय अपराध अनुसन्धान ब्युरोको नेतृत्वदायी जिम्मेवारी उनको काँधमा आयो । यो छोटै कार्यकालमा कार्की एटिम कार्डबाट ठगी गर्ने गिरोह पक्राउदेखि निर्माण व्यवसायी शरदकुमार गौचन हत्याका मुख्य योजनाकार समात्न सफल अप्रेसनका कारण झनै चर्चामा छन् । नयाँ पत्रिकाका टेकराज थामीले कार्कीलाई आफ्नो नेतृत्वमा भएका केही चर्चित अप्रेसनको पृष्ठभूमि बताउन भने । उनले सुनाए :

डिआइजी पुष्कर कार्की
प्रमुख, केन्द्रीय अपराध अनुसन्धान ब्युरो

यसरी भयो ‘चरी’को इन्काउन्टर
काठमाडौंका केही गुन्डा प्रहरीको हिट लिस्टमा थिए । त्यो लिस्टमा दिनेश अधिकारी ‘चरी’ पनि थिए । केही महिनादेखि प्रहरी टोली उनको निगरानीमा जुटेको थियो । अनुसन्धानकै क्रममा उनी (चरी) काठमाडौं छन् भन्ने सूचना आयो । प्रहरीले उनलाई पछ्याउन थाल्यो । अनुसन्धानबाट थाहा लाग्यो, उनी मोटरसाइकल चढ्ने गर्छन् । अनुसन्धान अझै गहिरो गरी भयो । उनको मोटरसाइकल नम्बर खुल्यो ।

प्रहरीले खोजिरहेको मोटरसाइकल बालाजुमा भेटियो । प्रहरीको नजरमा परेको मोटरसाइकल धादिङतर्फ लाग्यो, प्रहरी पछिपछि । अगाडि बढिरहेको मोटरसाइकल काठमाडौं र धादिङको सिमानजिक भीमढुंगामा रोकियो । तत्काल मोटरसाइकलतिरबाट फायर खुल्यो । तर, गोली कसैलाई लागेन । प्रहरीले पनि जवाफी फायर गर्‍यो, गोली निशानामै लाग्यो । मोटरसाइकल चालक ढले । चलमलाउन छाडेपछि प्रहरी टोली घटनास्थल पुग्यो । चालकले भाइजर भएको हेलमेट लगाएको थियो । प्रहरीले हेल्मेट खोल्यो । हेर्दा बल्ल खुल्यो, फायर खोल्ने त काठमाडौंका चर्चित डन दिनेश अधिकारी ‘चरी’ नै रहेछन् । २१ साउन ०७१ को घटना हो । त्यतिखेर म महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखाको प्रमुख थिएँ ।

पाँच लाख भारुमा समातिए गौचन हत्याका योजनाकार
राजधानीको व्यस्त सहर मध्यबानेश्वरमा गोली चल्यो । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको ज्यान गयो । प्रहरीको नजरमा गोली हान्ने ‘निक्कै स्मार्ट अपराधी’ देखिए । गौचनको हत्याका लागि बिल्कुल नयाँ तरिका अपनाएको देखियो । दोषीसम्म पुग्नु प्रहरीका लागि ठूलो चुनौती भयो ।

प्रहरी अनुसन्धानमा जुट्यो । उपलब्ध सबै सबुत बटुल्यो । एक महिना लामो अनुसन्धानपछि हत्यामा संलग्न केही अभियुक्त समातिए । तर, मुख्य योजनाकार भने देश बाहिर थिए । प्रहरी थप सक्रियतापूर्व खोजीमा लाग्यो । खोज्दै जाँदा भारतको नयाँ दिल्लीमा लुकेर बसेको सूचना प्राप्त भयो । प्रहरी टोली उनको खोजिमा खटिए । उनी निकै स्मार्ट थिए, प्रहरीको हरेक जालोलाई सजिलै पत्ता लगाउने क्षमता भएको । त्यसैले प्रहरीको कुनै न कुनै अप्रेसनबाट पनि उनी फुत्किहाल्थे । तर, प्रहरी पछि हट्ने पक्षमा थिएन । प्रहरीले थप जालो बुन्दै गयो, उनको चलाखीपन कमजोर हुँदै गयो । अन्ततः पक्राउ गर्न प्रहरी सफल भयो । गौचन हत्याका मुख्य योजनाकार समीरमानसिंह बस्नेतलाई १६ मंसिर ०७४ मा कब्जामा लिन प्रहरीको झन्डै पाँच लाख भारतीय रुपैयाँ खर्च भयो ।

चिम्पान्जी ‘ट्रान्जिट’को पर्दा खुल्यो
नाइजेरियाबाट संरक्षित चराचुरुंगी नेपाल भित्रिएको सूचना आयो । प्रहरी अनुसन्धानमा जुट्यो । यसै क्रममा प्रहरी टोली ३१ असोज ०७४ मा काठमाडौं–३ बाँसबारीस्थित सञ्जीव भारीको घरमा पुग्यो । त्यहाँ एउटा पिँजडा देखियो । पिँजडामा विभिन्न जातका चरा थिए, बीचमा बाकसजस्तो देखिन्थ्यो । बाकस बन्द थियो । बाहिरबाट केही देखिन्नथ्यो, शंका लाग्यो ।

प्रहरी अगाडि बढेर बाकस खोल्न सुरु गर्‍यो । देखिए, दुईवटा चिम्पान्जी र आठवटा बाँदर प्रजातिका जनावर । धनीलाई तत्काल पक्राउ गरियो । थप अनुसन्धानपछि खुल्यो, ती चिम्पान्जी र बाँदर भारत लैजान लागिएको रहेछ । पछि पिँजडाका अन्य चरा पनि बरामद गरियो । अनुन्धान अझै अगाडि बढाइयो । रहस्य खुल्यो, चिम्पान्जी प्रतिगोटा १३ लाख रुपैयाँमा बिक्री हुने रहेछ । अप्रेसनका क्रममा ६५ वटा सुगा, ३८ वटा परेवा, २ वटा रिङ्टेन फेजा चरा, ७ वटा गोल्डेन फेजा चरा समातिए । र, चिम्पान्जीको पनि अवैध व्यापार हुने गरेको रहस्य खुल्यो ।

दसौँ अवतारी दाबी गर्ने यौन पिपासु
सामाजिक सञ्जालमा रातो वस्त्र लगाएको धार्मिक गुरुजस्तो देखिने व्यक्तिले एक महिलालाई चुम्बन गरिरहेको दृश्य भाइरल बन्यो । दृश्य अस्वाभाविक देखिन्थ्यो । हामीलाई शंका लाग्यो । प्रहरी अनुसन्धानमा जुट्यो । खोज्दै जाँदा प्रहरी टोली दक्षिणकाली–१ चाल्नाखेल वोसनस्थित पेमा टोसी छुल्ठिम घोम्बो कासुङ गुम्बा पुग्यो । गुम्बामा महिलाको संख्या धेरै भेटियो । ठाउँ शंकास्पद लाग्यो । प्रहरी थप अनुसन्धानमा जुट्यो ।

आफूलाई दसौँ पुस्तासम्मको अवतारी लामा दाबी गर्ने ५६ वर्षीय गुरु रेम्पोछे छुल्ठिम दोर्जे योन्तान टुल्कु लामा ५ मंसिर ०७४ मा पक्राउ परे । गुम्बामा रहेका महिला र उनी स्वयंसँगको बयानले रहस्य खुलायो । उनी महिलालाई विभिन्न प्रलोभन तथा त्रास देखाएर यौनशोषण गर्दा रहेछन् । यस क्रममा उनी महिलालाई उपचार गर्ने भन्दै आफ्नो गोप्य कोठामा लैजाँदा रहेछन्, निर्वस्त्र बनाउँदा रहेछन् र जबर्जस्ती यौन शोषण गर्दा रहेछन् । त्यसो नभए रोग निको नहुने र ३३ कोटी देवताले सराप दिने त्रास दिँदा रहेछन् ।

उनले यस्तो गतिविधि १० वर्षदेखि गर्दै आएको अनुसन्धानबाट खुल्यो । पक्राउ परेका उनलाई अहिले जबर्जस्ती करणी तथा विद्युतीय कारोबार ऐनअन्तर्गत कारबाही अघि बढाइएको छ ।

सुन तस्करीमा गाउँपालिका अध्यक्ष संलग्न
नेपालमा सुन तस्करले नयाँ–नयाँ तरिका अपनाउने गरेका छन् । यसैको समीक्षामा प्रहरी टोली थियो । टोखास्थित एक घरमा सुन रहेको सूचना प्राप्त भयो । टोली त्यतातर्फ परिचालन भयो । यही क्रममा १४ भदौ ०७४ मा प्रहरी टोली सिन्धुपाल्चोक भोटेकोशी–१ का ग्याल्बु शेर्पाको टोखा–११ सामाखुसीस्थित दुई वर्षदेखि बस्दै आएको डेरामा पुग्यो । तत्काल खानतलासी सुरु गरियो ।

प्रहरीले उनका २७ वर्षीय छोरा पेम्बा दोर्जे शेर्पाको कोठा खानतलासी गर्दा १४ केजी सुन भेटियो । सुन पोको पारेर दराजमा राखिएको रहेछ । सुन बरामद गरियो र उनलाई पक्राउ । अनुसन्धानका क्रममा खुल्यो, उनले रसुवाको केरुङ नाकाबाट सुन ल्याएका रहेछन् । घटनामा संलग्न अन्यको पनि खोजी भयो । कनेक्सन पहिल्याउँदै जाँदा सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेलसम्म पुगियो । सुन तस्करीमा उनको समेत संलग्नता भेटिएपछि प्रहरीले पक्राउ गर्‍यो ।

अनुसन्धान यत्तिकैमा टुंगिएन । तस्करहरूको कनेक्सन भारतसम्म रहेको खुलासा भयो । अनुसन्धानकै क्रममा धनुषाको जनकपुर उप–महानगरपालिका–७ का ३८ वर्षीय दीपककुमार शाह पक्राउ परे । यसले के पुष्टि गर्‍यो भने केरुङ नाका हुँदै भारततर्फ सुन निकासी हुने रहेछ । पक्राउ परेका सबैलाई अहिले संगठित अपराधअन्तर्गत मुद्दा चलाइएको छ ।

क्रिप्टोकरेन्सीको अवैध व्यापार ध्वस्त
अपराधीहरू सधैँ नयाँ–नयाँ तरिकाले अपराध गरिरहेका हुन्छन् । क्रिप्टोकरेन्सीको व्यापार यस्तै प्रकृतिको अपराध हो । सञ्चारमाध्यममार्फत क्रिप्टोकरेन्सीको अवैध कारोबार हुँदै गरेको सूचना आयो । प्रहरी टोली अनुसन्धानमा जुट्यो । नेपाल राष्ट्र बैंकको पनि सहयोग लिइयो । राष्ट्र बैंकसमेतले यस खालको कारोबार अवैध रहेको भनेपछि क्रिप्टोकरेन्सी व्यापारको जरो पत्ता लगाउन प्रहरी टोली परिचालित भए ।

अनुसन्धान सुरु गरेको केही दिनमै १८ असोज ०७४ मा ज्ञानप्रसाद पौडेल, माधव खनाल, प्रशान्त शाह, बिन्दा ढकाल, मिङमार तामाङ, दमन बस्नेत, मनीष गिरी पक्राउ परे । अनुसन्धान अझ गहिरिएर गयो । खोज्दै जाँदा प्रहरी टोली दोलखाको किर्नेटारसम्म पुग्यो । जुन बिटक्वाइन कारोबारको केन्द्र थियो । अहिले यसको कारोबार पूर्ण रूपमा बन्द छ । प्रहरीकै सक्रियताले यो कारोबार ध्वस्त भएको हो ।

एटिएम कार्डबाट ठग्ने गिरोह पक्राउ
बदलिँदो जमानासँगै अपराधको तौरतरिका पनि बदलिनु स्वाभाविक हो । यसले अपराध अनुसन्धानलाई भने जटिल बनाउँछ । बैंकको एटिएम ह्याक यसैको एउटा उदाहरण हो । ठमेललगायत विभिन्न स्थानमा रहेका एटिएम बुथबाट अनधिकृत रूपमा रकम निकाल्ने प्रयास गरिएको सूचना प्रहरीसम्म आयो । प्रहरीले तत्काल अनुसन्धान थाल्यो । अनुसन्धान गर्दै जाँदा न्युरोड, ठमेल, दरबारमार्ग, सोह्रखुट्टे, क्षेत्रपाटीलगायत ठाउँमा निगरानी बढाइयो । ठमेल नरसिंहचोकस्थित होटेल डिस्कभरीबाट २४ कात्तिक ०७४ मा बुल्गेरियन नागरिक भिटालिया वसिलिभेच निकितलाई पक्राउ गरियो । उनको साथबाट विभिन्न बैंकका एटिएम, विद्युतीय उपकरण खोल्न प्रयोग हुने मेसिनलगायत सामग्री बरामद भए । तर, यसरी पक्राउ पर्ने उनी नै पहिलो व्यक्ति भने होइनन् । यसअघि रोमानियाका ४, टर्किस ४, बुल्गेरियन ४, मोल्दोभियन ४ र भारतीय २ गरी १८ व्यक्ति पक्राउ परिसकेका छन् । उनीहरूबाट ८८ लाख ६८ हजार आठ सय ५० रुपैयाँ, ७३ हजार पाँच सय ८० अमेरिकी डलर, ६४ हजार एक सय ७५ युरो र विभिन्न बैंकका एक हजार तीन सय २६ एटिएम कार्ड बरामद भएका छन् ।

तपाईको प्रतिक्रिया