logo

bar

पछिल्ला तीन वर्षमा जडीबुटी निर्यात घट्दै

वीरेन्द्र ओली/नयाँ पत्रिका काठमाडौं, ४ पुस | पुष ०४, २०७४

जडीबुटीको प्रशोधन गर्न ल्याबलगायत उपकरणको अभाव भयो : व्यवसायी

नेपालबाट पछिल्ला तीन वर्षमा जडीबुटी निर्यात घट्दै गएको छ । केही मात्रामा स्वदेशमै जडीबुटी प्रशोधन हुन थालेपछि निर्यात घटेको हुन सक्ने व्यवसायीको अनुमान छ ।

तीन वर्षअघि वार्षिक एक अर्ब ६२ करोड ६१ लाखको जडीबुटी निर्यात हुँदै आएको थियो । गत आर्थिक वर्षमा घटेर ९९ करोड ५६ लाख ४७ हजारको जडीबुटी निर्यात भएको व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रले जनाएको छ । यस्तै, चालू आर्थिक वर्षको दुई महिनामा १० करोड ४७ लाख ८० हजारको जडीबुटी निर्यात भएको छ । गत आर्थिक वर्षको दुई महिनामा २६ करोड २९ लाख २५ हजारको जडीबुटी निर्यात भएको थियो ।

गत वर्षको दुई महिना र चालू आर्थिक वर्षको दुई महिनाको निर्यातको अवस्थालाई हेर्दा जडीबुटी निर्यात घट्ने देखिएको छ । यसरी निर्यात हुने जडीबुटीमा जंगलमा पाइने र घरमा लगाइने पर्दछन् । जडीबुटीलाई स्वदेशमै प्रशोधन गरी निर्यात गर्न नसक्दा नेपाललाई अर्बौं घाटा हुने गरेको विज्ञहरूको भनाइ छ ।

नेपालले जडीबुटी प्रशोधन गर्न नसक्दा कौडीको भाउमा विदेश निर्यात हुने गरेको छ । स्वदेशमा जडीबुटी प्रशोधन गरी निर्यात गर्न सक्ने अवस्था नभएपछि नेपालले सस्तो मूल्यमा कच्चापदार्थ निर्यात गर्दै आएको छ । नेपालले सस्तोमा कच्चापदार्थ निर्यात गर्ने र महँगोमा औषधि खरिद गर्ने गरेको छ ।

उपकरण भएन : व्यवसायी
जडीबुटीको प्रशोधन गर्ने ल्याब तथा उपकरणको अभाव हुँदा कच्चापदार्थ निर्यात गर्नुपरेको जडीबुटी व्यापार संघका महासचिव टंकप्रसाद शर्माले बताए । ‘हामी अहिले प्रशोधनको नाममा १०-१२ प्रकारका जडीबुटीको तेल निकालेर निर्यात गर्छौं,’ शर्माले नयाँ पत्रिकासँग भने, ‘अन्य जडीबुटीको प्रशोधन गरेर तेल, धुलो पाउडर वा लेदो के निकाल्ने भन्ने विषयमा ज्ञान नै छैन । कुन जडीबुटीको के प्रशोधन गर्ने र कुन औषधिका लागि प्रयोग हुन्छ भन्ने जानकारी छैन ।’ नेपालबाट कच्चापदार्थका रूपमा जडीबुटीको निर्यात गर्दा झन्झट नभएको शर्माले बताए । तर, उनले प्रशोधन गरेर निर्यात गर्ने अवस्थामा अत्यन्तै झन्झट हुने भएकाले कच्चापदार्थ धेरै निर्यात हुने गरेको बताए । नेपालभित्रै पनि जडीबुटीको व्यपार गर्न कानुनी झमेला उत्तिकै रहेको व्यवसायीको भनाइ छ । नेपालले जडीबुटी प्रशोधन गर्न नसक्नुमा दक्ष जनशक्ति र प्रविधि अभावलगायत समस्या छन् ।

पश्चिमी क्षेत्रमा धेरै जडीबुटी
नेपालको मध्यपश्चिम र सुदूरपश्चिम क्षेत्रका हिमाली र पहाडी जिल्लामा धेरै जडीबुटी पाइन्छ । डोल्पा, हुम्ला, जुम्ला, कालिकोट र मुगु जडीबुटीको खानी नै रहेको जडीबुटी व्यापार संघका महासचिव टंकप्रसाद शर्माले बताए । धेरैजसो नेपालका जडीबुटी भारत, पाकिस्तान चीनलगायत देशमा निर्यात हुने गरेको छ ।

निर्यात हुने जडीबुटी
नेपालबाट निर्यात हुने जडीबुटीमा निम्बुर, रिट्ठा, सतावर, पदमचाल्नो, तेजपत्ता, दालचिनीको बोक्रा, जटामसी, सुगन्धवाल, यार्सागुम्बा, चिराइतो, कुट्की, सिरौलालगायत छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचारहरु

लोकप्रिय समाचारहरु