logo

bar

न्यायपरिषद्लाई राजनीतिक अस्थिरताले प्रभाव पार्दैन : प्रधानन्यायाधीश

नयाँ पत्रिका काठमाडौं, ४ पुस | पुष ०४, २०७४

प्रधानन्यायाधीश गोपाल पराजुलीले वर्तमान राजनीतिक परिवर्तनले न्यायालयको काम प्रभावित हुन नसक्ने बताएका छन् । न्यायपरिषद्को २७औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले राजनीतिक संक्रमणको जस्तोसुकै परिस्थितिमा पनि न्यायालयलाई कुनै असर नपर्ने बताए ।

न्यायालयले स्वतन्त्र र निष्पक्ष भएर काम गर्ने भएकाले नेपालको वर्तमान राजनीतिक उतारचढावले न्यायिक निर्णयमा कुनै असर नगर्ने उनको भनाइ छ । तथ्यगत आधारमा काम गर्ने भएकाले न्यायालय सधैँ राजनीतिबाट टाढा रहने उनले बताए । ‘न्यायपरिषद्ले कार्यकारी वा राजनीतिक प्रकृतिको कुनै निकायको हस्तक्षेप वा प्रभावबाट मुक्त भएर काम गर्नेछ,’ प्रधानन्यायाधीश पराजुलीले भने, ‘स्वतन्त्र तथा संवैधानिक अंग भएकाले न्यायालयले मूल्य–मान्यतामा रहेर कार्य सम्पादन गर्नेछ ।’

प्रधानन्यायाधीश पराजुलीले इतिहासमा पहिलोपटक जिल्ला न्यायाधीशहरूको प्रतियोगितात्मक लिखित परीक्षामार्फत नियुक्ति गर्ने प्रक्रिया अगाडि बढाएको बताए । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री यज्ञबहादुर थापाले न्यायाधीशको सरुवालाई व्यवस्थित बनाउने हेतुले न्यायपरिषद् नियमावली २०७४ ले क्यालेन्डर प्रणालीको व्यवस्था गरेको बताए । उनले न्यायाधीश नियुक्तिको व्यवस्थालाई पनि संविधानअनुकूल हुने गरी कार्यान्वयन गरिएको बताए ।

न्यायपरिषद् दिवसका अवसरमा परिषद्ले उच्च र जिल्ला अदालतका दुई-दुईजना न्यायाधीशलाई सम्मान गरेको छ । न्यायपरिषद् दिवसमा उच्च अदालत विराटनगर इलाम इजलासका न्यायाधीश प्रकाशचन्द्र गजुरेल, उच्च अदालत पाटनमा कार्यरत न्यायाधीश नीता गौतम, अछाम जिल्ला अदालतका न्यायाधीश धर्मराज पौडेल र नवलपुर जिल्ला अदालतका न्यायाधीश विदुर कोइरालालाई सम्मान गरियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचारहरु

लोकप्रिय समाचारहरु