logo

bar

बैंकिङ कसुरमा सेनाका सहायक रथी पनि तानिए

टेकराज थामी/नयाँ पत्रिका काठमाडौं, ४ पुस | पुष ०४, २०७४

बैंकको न्युरोड शाखाबाट हिनामिना गरिएको करिब पाँच करोडमध्ये ३३ लाख सहायक रथी विष्टको बैंक खातामा

कृषि विकास बैंकको रकम हिनामिना प्रकरणमा नेपाली सेनाका बहालवाला सहायक रथी डा. रमेश विष्ट पनि मुछिएका छन् । बैंकको न्युरोड शाखाबाट हिनामिना गरिएको करिब पाँच करोडमध्ये ३३ लाख सहायक रथी विष्टको बैंक खातामा पाइएपछि उनीमाथि अनुसन्धान सुरु भएको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) का प्रमुख डिआइजी पुष्कर कार्कीले बैंकबाट हिनामिना भएकोमध्ये ३३ लाख सहायक रथी विष्टको खातामा भेटिएको बताए । ‘कृषि विकास बैंक न्युरोड शाखामा हिनामिना भएको रकममध्ये केही सहायक रथी विष्टको बैंक खातामा भेटियो । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको छ,’ उनले भने ।

पुष्टि भए कारबाही हुन्छ : सैनिक प्रवक्ता
बैंकको रकम हिनामिना प्रकरणमा नाम मुछिए पनि प्रहरीले विष्टलाई पक्राउ गर्न सकेको छैन । हिनामिना भएको रकम खोज्दै जाने क्रममा सहायक रथी विष्ट पनि अनुसन्धानमा तानिएको प्रहरीको भनाइ छ । नेपाली सेनाका प्रवक्ता सहायक रथी नैनराज दाहालले घटना सम्बन्धमा अनुसन्धान भइरहेको बताए । ‘बैंकको रकम हिनामिना सम्बन्धमा सेनाका जिम्मेवार अधिकारी मुछिएको भन्ने सूचना प्राप्त भएको छ । घटनाबारे जाँचबुझ हुँदै छ । पुष्टि भए कारबाही अघि बढाइनेछ,’ उनले भने ।

ग्राहकले जम्मा गरेको रकम पेन्डिङ देखाएर आपसमा बाँडचुँड
बैंकको न्युरोडस्थित शाखा कार्यालयबाट चार करोड ९१ लाख हिनामिना भएको थियो । प्रहरीका अनुसार घटना मुख्य योजनाकार नागार्जुन– १ का ३२ वर्षीया दीपिका रेग्मी हुन् । उनी बैँकमा सहायक ट्रेलरका रूपमा कार्यरत थिइन् । घटनामा संलग्न काठमाडौं– ३२ का प्रेमहरि ढुंगेल, टोखा– ८ का गोपाल गिरी, चन्द्रागिरी– ५ का महेश्वर मरहट्ठा, काठमाडौं– १६ का प्रकाश घतानी र काठमाडौं– ३२ का रमेशकुमार थापालाई प्रहरीले पक्राउ गरिसकेको छ ।

प्रहरीका अनुसार उनीहरूले विभिन्न बैंक तथा व्यक्तिबाट चेकमार्फत जम्मा गरिएको रकम पेन्डिङ देखाई आपसमा बाँडेका थिए । यसका लागि उनीहरूले पहिलो चरणमा ग्राहकबाट जम्मा भएको चेक ग्राहककै बैंक खातामा जम्मा गरिदिन्थे । प्रमाणका रूपमा रिसिप पेपर पनि दिन्थे । तर, सो रकम दीपिका रेग्मी वा उनको आफन्तको बैंक खातामा जम्मा गर्थे । पक्राउ परेका रेग्मीसहित सबैलाई बैंकिङ कसुर ऐनअन्तर्गत मुद्दा चलाइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचारहरु

लोकप्रिय समाचारहरु